प्लास्टिक फोहोरको चपेटामा फेवा ताल

सरकारले ४० माइक्रोनभन्दा कम तौलका प्लास्टिक झोला निर्मूल पार्ने गरी कानुन ल्याए पनि कार्यान्वयन पक्ष फितलो
पोखरा : पोखराको गाईघाट क्षेत्रको प्लास्टिक प्रदूषणले फेवाताल आक्रान्त बनेको छ। विन्ध्यवासिनीबाट आउने भलपानीले सडक वरपर र फिर्के खोलामा फ्याँकिएका प्लास्टिकजन्य फोहोर खोला हुँदै फेवा तालमा पुगेर विसर्जन हुन्छ। बुलौदी फिर्के खोलाले बगाएर प्लास्टिकजन्य फोहोर थुपार्दा ताल सबैभन्दा धेरै प्रदूषण हुन्छ।
तालको मुहान क्षेत्रमा पनि सिमसार पुरेर घडेरी बनाउने र बस्ती बस्ने क्रम बढेको छ। यससँगै तालको मुख्य स्रोत हर्पन खोला हुँदै प्लास्टिकजन्य फोहोर तालमा थुप्रने क्रम बढेको छ। सिमसार क्षेत्र पुर्दा त्यही माटो फेवामा पुगेर तालको सतह घट्दो क्रममा छ। वर्षा याममा मुहानमा जाने पहिरो हर्पन हुँदै तालमा पस्दा ताल साँगुरिँदै गएको छ।
बियरका बोतललगायत सिसा कवाडीमा बिक्री नहुने भएपछि त्यसले पनि ताल प्रदूषणको चपेटामा परेको छ। ताल किनारमा बियर खाएर बोतल फुटालेर हिँड्नेसम्मका व्यवहारले ताल र सिमसार क्षेत्रमा सिसाबाट हुने प्रदूषण बढेको छ। नागरिकस्तरबाटै जथाभावी रूपमा फोहोर फाल्न हुँदैन भन्ने भावना विकास नहुँदासम्म महानगरपालिका एक्लैले प्लास्टिकजन्य फोहोर नियन्त्रण गर्न सम्भव नहुने पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले बताइन्।
सरकारले ४० माइक्रोनभन्दा कम तौल भएका प्लास्टिकको झोला निर्मूल पार्ने गरी कानुन ल्याए पनि कार्यान्वयन पक्षमा भने सफलता मिलेको छैन। त्यसैले पनि पोखराका प्राकृतिक स्रोत फेवाताल, सेती नदी, खोलाहरू र अन्य तालहरू प्लास्टिक जन्य प्रदूषणको चपेटामा परेका छन्। कृषि भूमि र खेतबारी प्लास्टिकले ढाकिएको अवस्थामा उत्पादन घट्ने पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरिया बताउँछन्।
सरकारले यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्लास्टिकको उपयोग कम गराउन मधु तथा गुट्खाको खोलको विकल्पमा कागज वा कपडा हुनुपर्ने भनेको छ। नीति नियम बन्ने तर कार्यान्वयनमा चुक्ने समस्याले वातावरण प्रदूषण बढ्दो क्रममा देखिन्छ। पोखरामा बेला–बेलामा फेवाताल, फिर्के, बुलौदीलगायतका खोला नदी सफा गरिन्छ तर फोहोर जथाभावी फाल्ने क्रम भने अझै घटेको छैन। सचेतना कार्यक्रम गरिन्छ तर स्थानीयले फोहोरको उचित व्यवस्थापनमा ध्यान दिएको भने पाइँदैन। त्यसैले गर्दा पोखराका पानीका स्रोत, खेत, बारी, जंगल चौरहरू प्लास्टिक प्रदूषणको चपेटामा परेका छन्।
प्लास्टिक जलाउने समेत गरिन्छ। यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने छातीरोग विशेषज्ञ डा. सिपी आचार्य बताउँछन्। प्लास्टिक पोल्दा आउने धुवाँले क्यान्सरजस्ता रोगहरू लाग्ने पनि उनले बताए। प्लास्टिक जन्य फोहोरले मानव स्वास्थ्य, पानी, कृषिभूमि लगायतमा प्रत्यक्ष असर गर्ने भए पनि यसको नियन्त्रण हुन सकेको छैन। फेवातालको सतहमा फैलिएको प्लास्टिक भित्र माछा छिर्दा माछा बेरिएर बाहिर निस्कन नसकेर मरेको अवस्थामा पनि भेटिने गरेको ३९ वर्षदेखि गाईघाट क्षेत्रमा माछा मार्ने पेसा गर्दै आएकी भगवती रनपालले सुनाइन्।
प्रतिक्रिया दिनुहोस !
