बढेको छ महिलामा मापसे
पछिल्लो समय काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको संख्या बढ्दै गएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीमा आव २०७४/७५ मा ३२६ महिलाले मापसेसम्बन्धी चेतनामूलक कक्षा लिए। चालु आवमा यो संख्या तेब्बर भइसकेको छ। पछिल्लो समय मापसे गरेर सवारीसाधन हाँक्ने महिलाको संख्या ह्वात्तै बढेको छ। समाजको प्रतिविम्ब सवारी चालकका रूपमा देखिएको छ। पाश्चात्य र आधुनिकताले मापसे बढे पनि प्रहरीले जाँच गर्दैन भन्ने मानसिकताले बढी प्रश्रय पाएको छ।
२०६८ मंसिर १७ देखि सवारी दुर्घटना र अपराध न्यूनीकरण गर्ने उद्देश्यले रातमा ९ बजेपछि सवारी चलाउनेमा लक्षित मादक पदार्थ सेवन–मापसे अभियान थालियो। मुखै सुँघेर मापसे कार्बाही गर्दै आएको प्रहरीले चैत्र १५ देखि ब्रेथलाइजर प्रयोग गर्न पाएका थिए। रात्रिकालीन व्यवसायी तथा मदिरा कारोबारी भने चौपट भएको भन्दै विरोध गर्थे। वार्षिक १० अर्ब बढीको लगानी तथा ५ लाख संलग्न व्यापारमा ७५, माछामासुको कारोबारमा ७० र मदिराको व्यापारमा ५० प्रतिशत घटेको आँकडा दिएका थिए। रगतमा अल्कोहलको मात्रा जापान र भारतमा ०.०३, चीन, नर्वे र स्वीडेनमा ०.०२, अमेरिका, क्यानडा, सिंगापुर, मलेसिया र न्युजिल्यान्डमा ०.०८ लाई सुरक्षित मात्रा मानिन्छ भने पाकिस्तान, बंगलादेश र नेपालमा शून्य सहनशीलता छ।
विश्व स्वास्थ्य संगठनका अनुसार अल्कोहलले विश्वमा सबैभन्दा बढी रोगको भार ओगट्दै नसर्ने रोगहरूको कारकमा चौथो छ, वार्षिक २५ लाख बढी मानिसलाई मृत्यृवरण गराउँछ मापसेले। १५ देखि २९ वर्ष उमेरका ३ लाख २० हजारको मृत्यु गराउँछ जुन उक्त उमेरसमूहको कुल मृत्युको ९ प्रतिशत हो। नेपालमा ३१.३ प्रतिशत पुरुष तथा १६.५ प्रतिशत महिलाले मदिरा सेवन गर्ने गर्छन्। एक तिहाइ बढी उत्पादनशील जनशक्ति मदिरामा लिप्त छन्। सहरी क्षेत्रमा आधाभन्दा बढीले मद्यपान सेवन गर्छन्, जसमा १४ प्रतिशतलाई त मदिरा सेवन नगरी जीवन नै चल्दैन। जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार मादक पदार्थ पिउने पुरुषका ७० प्रतिशत श्रीमती शारीरिक र यौनजन्य हिंसाका सिकार छन्।
मादक पदार्थ पिएपछि पेट र सानो आन्द्रामा कुनै परिवर्तन नभई जस्ताको तस्तै पाँच मिनटभित्रै सोसिई रगतमा पुग्छ। शरीरमा ३० मिलिग्राम अल्कोहल भएमा अलि खुसी, ५० मिलिग्राम भएमा हिँडडुलमा सामान्य गडबडी र एक सय मिलिग्राम भएमा देख्नेगरी खुट्टा लट्पटिने हुन्छ भने दुई सय मिलिग्राम भएमा झुम्म पर्ने र बिर्सने हुन्छ। तीन सय मिलिग्राम मादक पदार्थ शरीरमा भएमा पूरै ढल्ने अवस्थामा पुग्छ। चार सय मिलिग्रामले गहिरो निद्रामा पर्छ र मृत्युसमेत हुनसक्छ। रगतमा पुगेको अल्कोहल २ देखि १० प्रतिशत श्वासप्रश्वास–फोक्सोबाट, पिसाब र पसिनाबाट निष्कासन हुन्छ भने बाँकी ९० प्रतिशत बढी कलेजोमा सञ्चित भई नकारात्मक असर देखाउँछ। महिलाको शरीरको तौल पुरुषको तुलनामा कम तथा बोसोको मात्रा ज्यादा हुने भएकाले समान मात्रामा मदिरा पिउँदा पनि महिलाको रगतमा मादक पदार्थको मात्रा ज्यादा हुन्छ र ज्यादा नकारात्मक असर पार्छ। मादक पदार्थमा ठूलो शक्ति छ, शरीरको अंगप्रत्यंगलाई क्षत्विक्षत बनाउन सक्छ। मान्छेलाई पशु बनाउन सक्छ। परिवारमा तोडफोड ल्याउन सक्छ। समाजलाई नष्ट पार्न सक्छ।
सामान्यको तुलनामा मापसे गरी सवारी चलाउँदा मादक पदार्थको रगतमा मात्रा ८०, १०० र २०० मिलिग्राम प्रतिसय मिलिलिटरमा सवारी दुर्घटना हुने सम्भावना क्रमश ५, १० र २० गुणा बढी हुन्छ। मादक पदार्थले त्यति असर नगर्ने, अनुभवी चालकमा क्रमशः २, ५ र १० गुणा बढी रहन्छ। शरीरमा मादक पदार्थको मात्रा जति बढ्छ, त्यही अनुपातमा सवारी दुर्घटनाको सम्भावनामा वृद्धि हुन्छ। मादक पदार्थले झुटो आत्मविश्वास बढाई जोखिममा होमिने सम्भावना बढाउँछ। सवारी राम्ररी नचलाएका बेला पनि राम्ररी चलाएको अनुभव हुन्छ। चालकलाई आवेशयुक्त बनाउँछ। सवारी चलाउँदा मांसपेशी र प्रणालीबीच हुनुपर्ने समन्वयमा असर पार्छ।
आवश्यकता र अवस्थाअनुसार शरीरमा स्वचालित हुनुपर्र्ने रिफ्लेक्स एक्सनमा ढिलाइ हुन्छ। फिल्ड अफ भिजन साँघुरो हुन्छ। विभिन्न रङ त्यसमा पनि रातो रङ छुट्ट्याउने क्षमतामा कमी आउँछ। सवारीको गति र दूरीअनुसार समय अड्कल गर्न सक्ने क्षमतामा कमी आउँछ। सवारी धेरै गतिमा जाँदा पनि कम गतिमा गएको अनुभव हुन्छ र अरू तीव्र गतिमा चलाउने सम्भावना हुन्छ। एकदमै उज्यालो हेरेर आँखाको दृष्टि पहिलेको अवस्थामा आउन समय बढी लाग्छ। तसर्थ यसले सडक दुर्घटना निम्त्याउन मात्तिनुपर्छ भन्ने छैन। सवारी चलाउन तल्लो सुरक्षित सीमा हँुदैन, सुरक्षित सीमा भनेको सेवन नै नगर्नु हो।
अन्तमा, त्यसो त नेपालमा सवारी तथा यातायात व्यवस्था ऐन २०४८ को दफा १४२ अनुसार सवारी चालकले मादक वा लागुपदार्थ सेवन गर्न पाइँदैन। तथापि हाल ट्राफिक प्रहरीले कसैले होसै नहुने गरी मापसे गरेर सवारी चलाए एक हजार जरिवाना, एक रात हिरासतमा राख्ने र भोलिपल्ट मापसेबारे जनचेतना कक्षा दिएर आफन्तको जिम्मामा छोड्छ भने सामान्य मापसे गरेकोमा एक हजार जरिवाना त हुन्छ तर हिरासतमा राखिँदैन। भोलिपल्ट कागजपत्र लिएर जनचेतना कक्षामा आउनुपर्छ। अमेरिकामा मादकपदार्थ तीन दशकअघि सवारी दुर्घटनाको ६० प्रतिशत कारक थियो भने हाल नगन्य, यसो हुनुमा कडाइका साथ नियम पालना हुनु हो। तसर्थ नसर्ने रोगको भार कम गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न नियम, कानुन कार्यान्वयन गर्न गराउन एक स्वरका साथ लाग्नैपर्छ।
प्रतिक्रिया दिनुहोस !