जब दुःख पाइन्छ तब सिर्जना फुर्दो रहेछ

जब दुःख पाइन्छ तब सिर्जना फुर्दो रहेछ

हामी जहाँ रहे पनि नेपाली हौं हाम्रो रगतमा नेपाली भाषा, संस्कृति रमाटोको भावना मिसिएको छ।

उनी बाल्यकालमै जन्मभूमिबाट लखेटिए । तर, सपनालाई कहिल्यै विस्थापित हुन दिएनन् । शरणार्थी शिविरको छाप्रोभित्र जन्मिएको सिर्जनाशक्ति आज पश्चिमा व्यस्त जीवनभित्र पनि गुञ्जिरहेकै छ । भुटानबाट निष्कासित भएर झापाको खुदुनाबारी शरणार्थी शिविरमा १८ वर्ष बिताएका खड्का गजमेर अहिले अमेरिकामा बस्छन् ।

उनका गीतहरूमा भने अझै नेपाली माटोको गन्ध, विस्थापनको पीडा र देशप्रेमको आत्मा बगिरहेको हुन्छ । यो त्यही कथा हो—एक लखेटिएका बालकबाट सिर्जनशील गायकसम्मको यात्राको । र, त्यो यात्रा वृत्ताान्त विस्नप्रसाद न्यौपानेका प्रश्नहरूमार्फत यसरी प्रस्फुटन भएको छ–

तपाईंको बाल्यकाल कस्तो रह्यो ? आज सम्झिँदा के देख्नुहुन्छ ?    

मेरो जन्म भुटानको सान्डुप जोङ्खर जिल्लामा भएको हो । बाल्यकाल करिब ९ वर्षसम्म उतै बित्यो । त्यहाँ हाम्रो आफ्नै घर थियो । गाईबस्तु थिए । गाउँका साथीहरू थिए । मेरो बाल्यकालमा खेल्ने ठाउँ थियो, गाईबस्तु चराउने जंगल थियो । रमाइलो गर्न सकिने छिमेकीहरूसँगको सम्बन्ध थियो । ती सबै त्यहीँ छुटे ।
 
जन्मभूमि छोड्नुपर्ने बाध्यता कसरी आयो ? आखिर किन छाड्नुपर्‍यो भुटान ?    
जन्मभूमि छाड्ने चाहना त कसैको हुँदैन । तर, परिस्थितिले बाध्य बनायो । भुटानमा हामीलाई नेपाली भाषा बोल्न पाउने अधिकार थिएन । नेपाली संस्कृति मान्न अनुमति थिएन । एउटै भाषा, एउटै जात भन्ने नीति थियो भुटान सरकारले लादेको । अरू भाषा र संस्कृति मान्ने व्यक्तिहरूलाई दैनिक आधारमा यातना दिइन्थ्यो । भुटानी आर्मीहरू बस्तीमा आएर मानिसहरूलाई अनाहकमा कुटपिट गर्थे । त्यस्तो बर्बर अवस्थामा हामीले पनि भुटान छाड्नै पर्‍यो । सन् १९९३ मा भारत हुँदै नेपाल भागेर आयौं । यहाँको सरकारले हामीलाई शरण दियो । र, झापा जिल्लाको खुदुनाबारी शरणार्थी शिविरमा बस्यौं ।
 
शरणार्थी शिविरमा बिताएको लामो समय तपाईं कसरी सम्झनुहुन्छ ?    
भुटानमा हाम्रो आफ्नै जमिन थियो, घर थियो, गाईबस्तु थिए, आफ्नो उत्पादन थियो । तर, जब हामी त्यहाँबाट भागेर आयौं, सबै त्यहीं छोडियो । घरमा भएको अन्न र गाईबस्तु केही भारतमा रहेका नेपालीहरूलाई बेचियो, केही त सित्तैमा बाँडियो पनि । नेपाल एकदमै खाली हात आएका थियौं । सन् १९९३ देखि २०१० सम्मको करिब १८ वर्ष शिविरमा बितायौं । त्यो समय दुःख, कष्ट, अभाव र समस्याले भरिएको थियो । मलाई लाग्थ्यो— मेरो जीवन सायद यस्तै कष्टमै बित्नेछ ।

सरकारबाट मापन गरेर दिइएको थोरै खाद्यान्न, सबै परिवारका लागि सुत्न नपुग्ने सानो छाप्रो, रमाइलो गर्ने उमेरमा साथीभाइ नभएको समाज— यी सबै अहिले सम्झिँदा मन भक्कानिन्छ । तर, त्यहीं बस्दाबस्दै मैले विभिन्न विधामा सिर्जना गर्न थालें । खुदुनाबारी शरणार्थी शिविरमै मैले सयौं कविता, दर्जनौं गीत लेखेको छु । अहिले पनि लाग्छ— ‘जब मानिस दुःखमा हुन्छ, तब सिर्जना फुर्छ ।’दुःखको समयमा सुखको कल्पना गर्न सक्नुहुन्थ्यो ? आशा टिकाउन सकिन्थ्यो ?    
दुःखको बेलामा सुखको कल्पना गर्न नसक्नु स्वाभाविक हो । तर, जति ठूलो संकट आइपरे पनि आशालाई कहिल्यै मर्न दिनुहुँदैन । जब मानिस दुःखमा पनि आशा जिउँदो राखेर संघर्ष गर्न थाल्छ, ऊ एक दिन सुखको उज्यालोमा पुग्छ ।

मेरो जीवनमा पनि यस्तै भयो । धेरै मानिसहरू शरणार्थी शिविरको कष्टकर जीवनबाट भागेर कालापहाडलगायत स्थानतिर भौंतारिए । पछि उनीहरू पुनर्वासमा परेनन् । तर, हामीले १८ वर्षसम्म आशाको दियो निभ्न दिएनौं । खुदुनाबारीमा नै संघर्ष गर्‍यौं । सन् २०१० मा अमेरिका गयौं । अहिले राम्रो काम, राम्रो कमाइ, खुसी परिवार सबै छ । त्यसैले म भन्छु— जीवनमा दुःख आउँछ, तर आशा मार्न हुँदैन । संघर्ष छाड्नै हुँदैन । 
 
तपाईंको सिर्जनाको यात्रा कस्तो रह्यो ? गीत संगीतमा कहाँसम्म पुग्नुभयो ?    
मेरो विचारमा मानिस दुःखमा हुँदा सिर्जनाको बाढी नै आउँछ । जब मानिस सुखी, बिलासी बन्दै जान्छ, तब सिर्जना कम हुने रहेछ । नेपालबाट पुनर्वास भएर अमेरिका पुगेपछि सन् २०१६ मा मैले गीत एल्बम ‘काली’ निकालें । त्यस एल्बममा सातवटा गीत थिए । दुई गीत साथीहरूले रचना र संगीतबद्ध गरेका थिए भने पाँच गीत मेरो आफ्नै शब्द, संगीत र स्वरमा थिए । 
 
तपाईंका गीतहरूमा माया प्रेम र देशप्रेम किन प्रबल हुन्छन् ?    
जसरी मानिसले जीवनमा संघर्ष गर्छ, त्यसरी नै सिर्जना पनि त्यहींबाट जन्मिन्छ । मेरो बाल्यकालका साथीहरूप्रति प्रेम, जन्मभूमिप्रति माया, शरणार्थी शिविरमा बिताएको जीवन, नेपाली भाषा, भेषभूषा, संस्कृतिप्रति घनिष्ट सम्बन्ध र परदेशी जीवन— यी सबैले मेरा सिर्जनालाई आकार दिएका छन् । मेरा गीतहरूमा हजारौं नेपालीहरूको कथा झल्किन्छ, जो आफ्नो परिवार, साथीहरू र जन्मभूमिबाट टाढिएका छन् । उनीहरूको भावनाको प्रतिबिम्ब मेरो गीतहरूमा छ । त्यसैले मेरो गीतहरूमा माया र देशप्रेम प्रबल छन् ।
 
अमेरिका बस्दा पनि नेपाली गीत–संगीतप्रतिको माया किन यति प्रबल छ ?    

मानिस जहाँ बसे पनि आफ्नो माटो र संस्कृति कहिल्यै छाड्दैन । हामी अमेरिकामा पनि नेपाली गीत–संगीतका कार्यक्रमहरू आयोजना गर्छौं । प्रत्येक विदाका दिनहरूमा विभिन्न शहरहरूमा सांगीतिक कार्यक्रमहरू आयोजना हुन्छन्, जहाँ नेपाली कलाकारहरूलाई पनि निमन्त्रणा गरिन्छ । अहिले अमेरिकाका हरेक सहरमा नेपाली समाज सशक्त छ ।

सांगीतिक कार्यक्रममा नेपालीहरूको सहभागिता निकै प्रभावशाली हुन्छ । नेपालजस्तै यहाँ पनि नेपालीबीच माया, सद्भाव र आफ्नोपनता उत्तिकै प्रबल छ । यसले मलाई पनि नेपाली गीत–संगीतमा लागिरहन प्रोत्साहित गर्छ । यद्यपि, खुदुनाबारी शरणार्थी शिविरमा जस्तो सिर्जना अहिले कम हुन्छ । त्यो बेला बिहान एक, साँझ एक सिर्जना हुन्थ्यो । अहिले स्रोत–साधन प्रशस्त भए पनि त्यस्तो समय र ऊर्जा पाइँदैन । तर, समय मिलाएर नयाँ गीतहरू निकालिरहेछु । नेपाल आउँदा एउटा गीत रेकर्ड गरेर मात्रै फर्कन्छु ।
 
अमेरिका पुगेपछि पनि किन बारम्बार खुदुनाबारी शरणार्थी शिविर फर्कनुहुन्छ ?    
म सकेसम्म हरेक वर्ष नेपाल आउँछु । यहाँ आउँदा मेरो विगत सम्झिन्छु । दुःखले भरिएको त्यो समय, जसले मलाई आज यो स्थानमा ल्यायो, त्यो मेरा लागि महत्वपूर्ण छ । काठमाडौं ओर्लंदा खुसी लाग्छ । तर, झापा, भद्रपुर पुगेपछि गाउँको अनुभूति हुन्छ । खुदुनाबारी पुग्दा अहिले त्यहाँ जंगल मात्र छ, र छाप्राहरूको भग्नावशेष । त्यहाँ पुगेर म आफ्नो परिवारको पुरानो छाप्रो र छिमेकीहरू सम्झन्छु । त्यो ठाउँमा उभिँदा जीवनमा थप हौसला, साहस र ऊर्जा पाइन्छ । मेरा छोराछोरीलाई अमेरिका मन पर्ला, तर मलाई भुटान र नेपाल अझै प्रिय छन् । त्यसैले म हरेक वर्ष नेपाल र खुदुनाबारी शरणार्थी शिविर घुम्न आउँछु ।
 
तपाईंको दृष्टिमा ‘देशप्रेम’ के हो ? यसलाई कसरी अनुभूति गर्ने ?    
देशप्रेम भनेको आफ्नो देश, यसको संस्कृति, इतिहास, प्रकृति र जनताप्रति गहिरो माया, सम्मान र समर्पणको भावना हो । यो केवल भौगोलिक सीमामा मात्र सीमित छैन । देशप्रेमले देशको कल्याण, एकता र प्रगतिका लागि योगदान गर्ने इच्छा र जिम्मेवारीलाई झल्काउँछ । यो भावना व्यक्तिलाई आफ्नो समुदाय र राष्ट्रको हितका लागि सकारात्मक काम गर्न प्रेरित गर्छ । चाहे त्यो सामाजिक सेवा होस्, वातावरण संरक्षण होस् वा राष्ट्रिय मूल्य र सिद्धान्तको सम्मान होस् । देशप्रेम स्वार्थरहित हुन्छ र विविधतामा एकता, सामूहिक उन्नतिलाई प्राथमिकता दिन्छ । त्यसैले परदेशीहरूले आफ्नो देश भ्रमण गर्ने, सहयोग गर्ने र केही न केही योगदान गर्ने गछन्—यी सबै देशप्रेमकै अभिव्यक्ति हुन् ।
 
तपाईंको संगीत र सिर्जनामा परदेशी जीवनको प्रभाव कस्तो देखिन्छ ?    
अमेरिकामा बसेपछि मेरो सिर्जनामा परदेशी जीवनको अनुभूति प्रस्टै छ । जहाँ परिवार, साथीभाइदेखि टाढा हुनुपर्छ, त्यो वेदना र एक्लोपन मेरो गीतहरूमा झल्किन्छ । मेरो गीतहरूमा माटोप्रतिको माया र परदेशमा जिएर पाएको अनुभूतिले मि ि  श्रत भाव छ । म आफ्नो भाषा, संस्कृति र परम्परालाई जोगाइराख्न लगातार प्रयास गर्छु । यही कारणले गर्दा मेरा गीतहरूमा नेपालीपनको मिठास अझ प्रबल हुन्छ ।
 
शरणार्थी शिविरको जीवनले तपाईंलाई कुन–कुन कुरा सिकायो ?
शरणार्थी शिविरले मलाई धैर्य, सहिष्णुता र आशावाद सिकायो । त्यहाँ अभाव र कठिनाइका बाबजुद हामीले कसरी मिलेर जिउन सकिन्छ, सँगै बसेर एकअर्कालाई सहयोग गर्न सकिन्छ भन्ने पाठ पाएँ । त्यो जीवनले संघर्षको महत्व र आशा कहिल्यै नतोड्ने मनोबल सिकायो । आज पनि ती अनुभव मेरो जीवनको मार्गदर्शक हुन् ।
 
तपाईंका गीतहरूमा ‘देशप्रेम’ र ‘माया प्रेम’ बाहेक अन्य कुनै विषयवस्तु पनि छ ?    
मेरो गीतहरूमा जीवनका विभिन्न पाटो देखिन्छन्, दुःख, संघर्ष, प्रेम, आशा र सामाजिक समानता विषयहरू पनि । तर, मेरो मुख्य भाव देशप्रेम र माया प्रेम नै हुन्, किनभने ती भावनाहरूले मेरो सिर्जनालाई बल दिन्छन् र  स्रोतासँग सजिलै जोडिन्छन् ।
 
तपाईंका लागि ‘सफलता’ को के अर्थ छ ?    
मेरा लागि सफलता भनेको संघर्षका बाबजुद पनि आफ्नो पहिचान र संस्कृतिलाई बचाइराख्नु हो । आर्थिक उन्नति त महत्वपूर्ण हो नै, तर त्यसभन्दा पनि महत्वपूर्ण छ– आफ्नो गीत, आफ्नो भाषा र आफ्नो माटोमा प्रेम जोगाउनु । सफल त्यो हो जो आफ्नो दुःख, पीडालाई सिर्जनामा परिणत गर्न सक्छ र समाजमा सकारात्मक प्रभाव पार्न सक्छ ।
 
भविष्यमा तपाईंले कस्तो सिर्जना गर्न चाहनुहुन्छ ? नयाँ योजना के छन् ?    
म अझै पनि गीतहरूमार्फत आफ्नो कहानी र अरू नेपालीहरूको कथा बताउन चाहन्छु । अहिले डिजिटल माध्यमहरूमार्फत धेरै नयाँ तरिकाले संगीत प्रस्तुत गर्न सकिन्छ, त्यसमा म आफूलाई अझ सक्रिय बनाउने सोचमा छु । साथै नयाँ पुस्तासँग जोडेर नेपाली गीतसंगीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने मेरो चाहना छ । मेरो लक्ष्य छ– मेरो सिर्जनाले नेपाली समाजमा सद्भाव, प्रेम र एकताको सन्देश फैलाओस् ।
 
अन्त्यमा, केही भन्न चाहनुहुन्छ ?    
विशेष केही छैन । तर मेरो विगत सम्झिने अवसर दिनुभएकामा तपाईं र अन्नपूर्ण पोस्ट्लाई धन्यवाद दिन चाहन्छु । हामी जहाँ रहे पनि नेपाली हौं । हाम्रो रगतमा नेपाली भाषा, संस्कृति र माटोको भावना मिसिएको छ । यसले हामीबीच सहकार्य आवश्यक बनाउँछ । कर्म जहाँ गरे पनि नेपाल, नेपाली गीत–संगीत र समाजप्रति जिम्मेवारी हाम्रो कर्तव्य हो । मैले एउटा गीतमै, गाएको छु– 
जहाँ गए पनि म जहाँ भए पनि
मेरो देश... सबैभन्दा माथि छ !

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.