नेदरल्यान्ड्समा नेपालीपनको उज्यालो
नेदरल्यान्ड्सको द हेग सहरमा तीन दिनसम्म एउटा अनौठो ऊर्जा सहरको मुटुमा धड्कियो । गत जून महिनामा भएको छैटौं अन्तर्राष्ट्रिय सिर्जनात्मक सम्मेलन, नेपाली भाषा, साहित्य, संस्कृति र चेतनालाई विश्वमञ्चमा उभ्याउने अभियान थियो।
जसको अगुवाइ साहित्यिक चिन्तक डा. डीपी शर्मा मैनालीले गरेका थिए। भूटानमा जन्मेका, र नेदरल्यान्ड्सलाई कर्मभूमि बनाएका मैनालीसँग अन्नपूर्णकर्मीले गरेको यो संवाद, सम्मेलनको मात्र होइन–एक प्रवासी आत्माको कथा पनि हो।
तपाईंलाई छोटकरीमा चिन्नुपर्ने हो भने, के भन्नुहुन्छ ?
छैटौं अन्तर्राष्ट्रिय सिर्जनात्मक सम्मेलन किन खास ?
यो कार्यक्रम सम्मेलन मात्र थिएन संस्कृतिक आत्मस्मरण थियो। ‘नेपाली सिर्जनशीलता’ भन्ने सूत्रलाई हामीले विश्व चिन्तनसँग गाँसेर एउटा चेतनाको अभियान बनायौं। जहाँ नेपालीपन गर्व थियो, नारा थिएन।
के नयाँ भयो यसपटक ?
यसपटक हामीले ‘स्वीकारोक्ति दर्शन’, ‘पृथ्वीको आवाज’, ‘बाल रचनात्मकता’ जस्ता कार्यक्रमहरू ल्यायौं। विज्ञान, साहित्य र मानवताबीच संवाद सम्भव छ भन्ने सन्देश दियौं। नेपाली सम्मेलनले पहिलोपटक १२–१६ वर्षका किशोरहरूलाई प्यानलिस्ट बनायो। त्यो मात्र होइन, उनीहरूको दृष्टिकोणले पुरै सम्मेलनलाई नै नयाँ ऊर्जा दियो।
बालबालिकालाई यसरी केन्द्रित गर्ने सोच कहाँबाट आयो ?
हामी धेरैजसो सम्मेलनमा भूतपूर्व पुस्ताका चिन्तन सुन्छौं। तर भविष्य कसले बोल्छ ? त्यसैले यसपटक हामीले उनीहरूलाई ‘दयाको विषय’ मा लेख्न आमन्त्रण गर्यौं। उनीहरूले देखाएको दृष्टि, आत्मस्वीकृति र सहिष्णुताको भाव–त्यो अद्भुत थियो। हामीले उनीहरूलाई सुनेनौं मात्र,
मञ्चमै उभ्यायौं।
पुस्तान्तरणको कुरा गर्नुभयो, तर त्यो व्यवहारमा कसरी सम्भव भयो ?
पुस्तान्तरण तब सम्भव हुन्छ, जब संवादले सेतु बनाउँछ। हामीले दोस्रो र तेस्रो पुस्ताका प्रवासी नेपालीलाई एउटै मञ्चमा ल्यायौं। अनुभूति साझा भए, भिन्नता मिठास वन्यो। सम्मेलनले प्रमाणित गर्यो–नेपालीपन रक्तसम्बन्ध होइन, भावनात्मक उत्तराधिकार हो।
संस्थागत रूपमा जीबीएलओले के योगदान दियो ?
संस्था भनेको भवन होइन, भाव हो। सन् २००९ देखि, जीबीएलओले विश्वभरका नेपाली भाषी स्रष्टाहरूलाई जोड्यो। दर्जनौं अन्तर्राष्ट्रिय सम्मेलनहरू गर्यो। यिनै प्रयासहरूले हामी प्रवासी भएर पनि आफ्ना जरा सजीव राख्न सकेका छौं।
अझ के गर्न सकिन्छ ?
म सल्लाह दिन्छु–अब हामीले तीनवटा कुरा गर्नुपर्छः
१. डिजिटल साहित्य सँग्रहालय – जहाँ प्रवासी नेपाली सिर्जनाहरू संरक्षित रहुन्।
२. अनलाइन नेपाली भाषा पाठ्यक्रम – नयाँ पुस्ताका लागि पहुँचयोग्य शिक्षण सामग्री।
३. युवा नेतृत्व तालिम – ताकि भाषा र संस्कृतिमा नेतृत्वको जग बसोस्।
स्वीकारोक्ति दर्शनबारे अलिक खुलाउनुहुन्छ ?
यो दर्शन श्री डेनजम साम्पाङको सोच हो। जहाँ आत्मपहिचान र सामाजिक समझदारीको समन्वय हुन्छ। हामीले यसलाई बालबालिकासँग सम्वादमार्फत अघि बढायौं।
अन्तर्राष्ट्रिय सहभागिता कत्तिको उत्साहजनक रह्यो ?
१६ देशका प्रतिनिधिहरू सहभागी भए। सहभागिता संख्यामा मात्र होइन, आत्मीयतामा थियो। हामी सबैले एउटै कुरा मानेका थियौं ‘हामी नेपाली हौं, र यो हाम्रो साझा सपना हो।’
कार्यक्रमको व्यवस्थापन स्रोतहरू कहाँबाट जुटाइयो ?
सुरुमा संस्थाका सदस्यहरूले आफैंंले आर्थिक योगदान गरे। अमेरिका र युरोपका व्यवसायी साथीहरूले पनि सहयोग पुर्याए। कार्यक्रम खर्चिलो होइन, विचारप्रधान बनाउने लक्ष्य थियो। स्थानीय विश्वविद्यालयहरूले कार्यक्रमस्थल निःशुल्क दिए। हामीले सस्तोमा ठूलो काम गर्र्यौं।
तपाईंलाई यस्तो अभियानमा लाग्न प्रेरणा दिने शक्ति के हो ?
म नेपाली भाषाको प्रेममा छु। अनि त्यो भाषा बोल्ने, बुझ्ने, महसुस गर्ने पुस्ताहरू जोगाउन चाहन्छु। प्रवासमा हुर्कँदै गरेका बालबालिकाले जब ‘म नेपाली हुँ’ भनेर गर्व गर्छन्, त्यो मेरो सफलताको सबैभन्दा ठूलो प्रमाण हो।
युवाहरूलाई तपाईंको सन्देश ?
तपाईंहरू फरक हुनुहोस्, तर सतर्क। आत्मस्वीकृतिमा गर्व गर्नुहोस्, आलोचनामा रचनात्मक बनौं। डिजिटल युगमा ज्ञान सहज छ, तर मूल्यहरू अझै कमाइ गर्नुपर्छ। पहिचान भनेको लुगा होइन, मनको आभा हो– त्यो चामत्कारिक हुन्छ, जब सम्मान र आत्मसम्मानसँग जोडिन्छ।
जीआईसीसीको भविष्य कस्तो देख्नुहुन्छ ?
मेरो दृष्टिमा यो सम्मेलन अब संस्थागत सीमाभन्दा पर जानुपर्छ। यो एउटा अन्तर्राष्ट्रिय सिर्जनात्मक आन्दोलन बन्न सक्छ। जहाँ भाषा, विज्ञान, दर्शन र मानवता सँगसँगै अघि बढुन्। म अध्यक्ष हैन, तर यो चेतनाको एक सच्चा सहयोगी बन्न तयार छु।
अन्त्यमा, कुनै अपुरा कुरा ?
केही बाँकी छैन जस्तो लाग्छ। तर सिकाइ कहिल्यै समाप्त हुँदैन। तपाईंले अझ केही देख्नुभएको छ भने म सुन्न र बुझ्न तयार छु। र अन्तमा, मेरो तर्फबाट द हेगमा हुने आगामी सिर्जनात्मक यात्राका लागिसबैलाई हार्दिक आमन्त्रण।
प्रस्तुति : अर्जुन प्रधान
प्रतिक्रिया दिनुहोस !