नाडा अटो शो, प्रविधिमा सम्भावनाको संकेत हो : अध्यक्ष चौधरी
दुई दशकभन्दा बढीको निरन्तरतालाई कायम राख्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले राजधानीको भृकुटीमण्डपमा आउँदो भदौ ३ गतेदेखि ८ गतेसम्म १७औं संस्करणको रूपमा नाडा अटो शो–२०२५ गर्ने भएको छ । यसैक्रममा समग्र अटोमोबाइल्स व्यवसायको अवस्था, विश्वव्यापी रूपमा भित्रिएका अत्याधुनिक प्रविधि, सरकारले नीतिगत रूपमा गरेको सहजीकरणदेखि प्रदर्शनीबाट उपभोक्ताले लिने लाभ तथा व्यवसाय प्रवर्धनलगायतबारे नाडाका अध्यक्ष करण चौधरीसँग अन्नपूर्णकर्मी ममता थापाले गरेको कुराकानी :
नाडाले यसपटक उड्ने कारदेखि रोबोटसम्म प्रदर्शनीमा राख्दै इतिहास रच्दैछ भन्ने चर्चा छ । यो सोच कहाँबाट आयो ?
के यस्ता प्रविधि केवल देखाउन मात्र हो, कि व्यावसायिक प्रयोगमा ल्याउने योजना पनि छ ?
वर्तमानमा यो पहल अवलोकन र चेतना अभिवृद्धिका लागि हो । तर यदि सकारात्मक प्रतिक्रिया आयो भने, भविष्यमा हामी यसलाई व्यावसायिक प्रयोगमा लैजान सक्ने सम्भावना पनि खुला राखेका छौं । बजार तयार हुँदैछ र प्रविधिप्रति चासो बढ्दैछ । नाडाले त्यो चासोलाई सम्भावनामा रूपान्तरण गर्न भूमिका खेल्नेछ ।
उपभोक्ताले भदौ ३ देखि ८ गतेभित्र नाडा अटो शोमा के–के लाभ लिन सक्नेछन् ?
यसपटक एक सयभन्दा बढी ब्रान्डहरूको सहभागिता रहनेछ । ग्राहकले एउटै छानामुनि गाडी, मोटरसाइकल, लाइट कमर्सियल सवारीदेखि कम्पोनेन्ट्स र एसेसोरीसम्म हेर्न पाउनु हुनेछ । नयाँ मोडल, अफर, फाइनान्सिङ स्किम, एक्सचेन्ज अफर, इन्स्टेन्ट बुकिङ सुविधा आदिबाट उपभोक्ताले प्रत्यक्ष लाभ लिन सक्नेछन् । यो केवल गाडी हेर्ने ठाउँ होइन, निर्णय लिन सहयोग गर्ने व्यापारिक प्लेटफर्म हो ।
केही विद्युतीय सवारी (ईभी) ब्रान्डको सेवा, स्पेयर पाट्र्स अभाव र बिक्रेता बन्द भएको गुनासो छ । नाडाको दृष्टिकोण के छ ?
उपभोक्ताका गुनासोहरू पूर्णतः यथार्थमा आधारित छन् । प्रविधिको आयातसँगै सेवाको सञ्जाल पनि विकसित हुनु अत्यावश्यक हुन्छ । नाडाले सधैंजसो यस विषयमा सम्बन्धित निकाय र सदस्य कम्पनीहरूसँग गम्भीर संवाद गर्दै आएको छ । हामी सेवाको मापदण्ड सुनिश्चित गर्न नीति निर्मातासँग पनि सहकार्य गरिरहेका छौं ।
विगतका नाडा अटो शोहरूले कस्तो प्रभाव पारेका छन् ?
हाम्रो प्रत्येक संस्करणले केवल करोडौंको कारोबार मात्रै गरेको छैन, नीति संवाद, औद्योगिक आत्मविश्वास र उपभोक्ताको जानकारीको स्तरलाई समेत उल्लेखनीय रूपमा उकासेको छ । यो एकमात्र यस्तो शो हो जहाँ ग्राहक, व्यवसायी, सरकार र प्रविधिकर्मी एउटै छानामुनि भेटिन्छन् ।
स्टल संख्या, आगन्तुक र अनुमानित कारोबार कस्तो रहनेछ ? हेभी इक्विपमेन्ट समावेश हुनेछ ?
यसपटक करिब १ सय ५० भन्दा बढी स्टल रहनेछन् । जसमा चारपांग्रे, दुईपांग्रे, कम्पोनेन्ट्स, तथा हेभी इक्विपमेन्ट ब्रान्डहरूले भाग लिनेछन् । हामीले हेभी इक्विपमेन्टका लागि छुट्टै स्थान व्यवस्था गरेका छौं । अनुमानित आगन्तुक संख्या एक लाखभन्दा बढी र कारोबार करोडौंमा पुग्ने अपेक्षा गरेका छौं ।
नयाँ प्रतिस्पर्धी शोहरूको उदयले चुनौती दिएको छ भन्ने भनाइ छ । तपाईंको धारणा ?
हामी प्रतिस्पर्धालाई सकारात्मक रूपमा लिन्छौं । तर नाडा अटो शो केवल प्रदर्शनी होइन, यो देशको अटोमोबाइल क्षेत्रको संस्थागत पहिचान हो । यो संस्था २५ वर्षदेखि उद्योगको प्रतिनिधि बनेर खडा छ । हामी नक्कल होइन, नेतृत्वमा विश्वास गर्छौं । यही नाडाको मौलिकता हो ।
अटो बजारको अहिलेको अवस्था कस्तो देखिन्छ ?
कोभिडपछिको मन्दी हट्दैछ । साना गाडी र ईभीमा माग फर्किएको छ । तर अझै ठूला सेग्मेन्टमा संरचनात्मक सुधारको खाँचो छ । कर संरचना, नीति स्थायित्व र आयात प्रक्रियामा सहजता ल्याउन सकेमा बजारमा अझ गतिशीलता आउनेछ ।
पूर्वाधार विस्तारको अवस्थाले अटो उद्योगलाई कस्तो प्रभाव पारिरहेको छ ?
सडकको गुणस्तर, चार्जिङ स्टेसन र ट्राफिक व्यवस्थापनजस्ता पूर्वाधारहरूले सवारी क्षेत्रमा सिधा प्रभाव पार्छ । हामीले सधैं सरकारसँग आग्रह गर्दै आएका छौं कि पूर्वाधारलाई अब प्राथमिकताको विषय बनाइनुपर्छ । विकास भनेको केवल सडक बनाउने होइन, गन्तव्यसम्म सुरक्षित र सहज पुग्न सक्ने वातावरण बनाउने पनि हो ।
हायर पर्चेज कर्जा घटिरहेको तथ्यांक आएको छ । माग घटेको हो र ?
विगतको तुलनामा हायर पर्चेज कर्जाको हिस्सा केही घटेको हो, तर यसलाई स्थायी कमजोरीको संकेत भन्न सकिन्न । ग्राहकमा अनिश्चितता, मूल्य–अनुकूलता र नीतिगत अस्पष्टताले प्रभाव पारेको हो । तर बैंकहरूसँग पर्याप्त तरलता छ र बजार पुनः सक्रिय हुँदैछ ।
आयात, स्टक र बिक्री सन्तुलनमा छ ?
पेट्रोलियम पदार्थको आयातको अनुपात हेर्दा बजारमा सुधार देखिन्छ । तर, यो सेग्मेन्टअनुसार फरक देखिन्छ । कसैको स्टक छ, कसैको बिक्री राम्रो भइरहेको छ । बजार सन्तुलनमा फर्किंदै छ भन्ने संकेतहरू देखिएका छन् ।
मूल्य असमानता र वितरण कम्पनीमाथि उठेका आरोपहरूबारे के भन्नुहुन्छ ?
यो विषय संवेदनशील छ । हामी नाडाका सदस्यहरूले सधैं पारदर्शिता, गुणस्तर र मूल्य सन्तुलनमा ध्यान दिने गरेका छौं । तर केही आयातकर्ताका कारण बजारमा नकारात्मक धारणा बनेको हो । यो प्रतिस्पर्धा र पारदर्शिताबाट मात्रै समाधान हुन सक्छ ।
मूल्य पारदर्शिता र उपभोक्ताको विश्वासलाई कसरी कायम राख्न सकिएला त ?
नाडा पारदर्शी मूल्य संरचनाको पक्षमा छ । अनलाइन मूल्य सूची, सेवा सुनिश्चितता र ब्रान्ड प्रतिबद्धता यी सबै कुराहरूले उपभोक्ताको विश्वास जित्न मद्दत गर्छन् । प्रतिस्पर्धा स्वभाविक रूपमा मूल्य नियन्त्रणको उपाय हो ।
गाडी खरिदमा उपभोक्ताको जीवनभरको बचत खर्च हुन्छ भन्ने आलोचना छ, के भन्नुहुन्छ ?
हामी स्वीकार गर्छौं कि सवारी खरिद अधिकांश नेपालीका लागि ठूलो निर्णय हो । त्यसैले हामी रेस्पोन्सिवल मोबिलिटीको अभियान अघि सार्दैछौं । जहाँ मूल्य, सुविधा र सामाजिक उत्तरदायित्वको सन्तुलनमा ध्यान दिइन्छ । हामी भविष्यमा सामाजिक–आर्थिक दृष्टिले व्यावहारिक अवधारणा निर्माणतर्फ अघि बढिरहेका छौं ।
भृकुटीमण्डप स्तरीकरणको प्रक्रिया कहिले देखिन्छ ?
बजेट घोषणामा भृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बनाउने भनिएको छ, जुन स्वागतयोग्य कुरा हो । तर योजनामात्रै होइन, कार्यान्वयन कहिले हुन्छ भन्ने प्रश्न उठेको छ । नाडाले सरकारसँग सहकार्य गर्दै कार्यान्वयनमा तीव्रता ल्याउन निरन्तर पहल गरिरहेको छ ।
अन्त्यमा तपाईंको सन्देश ?
नाडा अटो शो २०२५ केवल प्रदर्शनी होइन । यो नेपालको सम्भावना, गति र भविष्यप्रतिको विश्वासको उत्सव हो । म सम्पूर्ण उपभोक्ता, व्यवसायी, सञ्चारकर्मी र नीति निर्मातालाई हार्दिक आमन्त्रण गर्न चाहन्छु । आउनुहोस्, नाडाबाट नेपाल हिँडेको यात्रा अनुभूत गरौं ।
प्रतिक्रिया दिनुहोस !