मानसरोवर जान सहज रुट हुम्ला, भारतीय पर्यटकले भरिभराउ

मानसरोवर जान सहज रुट हुम्ला, भारतीय पर्यटकले भरिभराउ

वीरेन्द्रनगर : बाँकेको नेपालगन्ज पुरानै चलायमान सहर हो । मानसरोवर जाने भारतीय यात्रीका कारण नेपालगन्ज विमानस्थल दैनिकजसो व्यस्त छ । नेपालगन्जबाट हुम्लाको सिमीकोटसम्म हवाई सेवा सञ्चालनमा छ ।

तारा, सीता र समिट एयरलाइन्स नेपालगन्जबाट सिमीकोट र सिमीकोटबाट नेपालगन्जमा तीर्थयात्री ओसार्नमै व्यस्त छन् । छोटो दूरीबाट सहज रूपमा मानसरोवर यात्रा गर्न सकिने भएकाले भारतीय तीर्थयात्री पनि यही रुट प्रयोग गर्ने गर्छन् । यस्तै, चीन, तिब्बत, भुटान र श्रीलंकाका पर्यटक/तीर्थयात्री पनि यही बाटोबाट मानसरोवर आउजाउ गर्न रुचाउँछन् । त्यसैकारण मानसरोवर आउजाउ गर्ने तीर्थयात्री/पर्यटकले हुम्ला गुल्जार बनेको छ । यहाँका होटेल/रेस्टुरेन्ट भरिभराउ छन् । तर, पूर्वाधारको अभावमा तीर्थयात्री/पर्यटकले गुणस्तरीय सेवा/सुविधा भने पाउन सकेका छैनन् ।

मानसरोवर जानेको ताँती

कैलाश पर्वत हिन्दु, बौद्ध, जैन र बोन धर्ममा अत्यन्त पवित्र मानिन्छ । हिन्दुहरूका लागि भगवान् शिवको निवासस्थल, बौद्ध धर्मावलम्बीहरूका लागि भगवान् चन्द्रेशको निवास, जैनहरूका लागि तीर्थंकर ऋषभनाथको निर्वाणस्थल र बोन धर्ममा पवित्रतम शिखरको रूपमा पूजिन्छ । मानसरोवर ताललाई स्वर्गीय शुद्धताको स्रोत मानिन्छ । जहाँ स्नान गरेपछि पुण्यप्राप्ति हुने र जन्म–जन्मान्तसम्मका पाप पखालिने जनविश्वास छ । हुम्लाका पर्यटन व्यवसायी विजय लामाले भने, ‘कैलाश पर्वत जाने–आउनेको हुम्लामा ताँती नै लागिरहेको छ । पछिल्लो समय भारतीय तीर्थयात्रुहरूको चापले हुम्ला भरिभराउ बनेको छ । यसको प्रचारप्रसार भएमा पाहुनाको सत्कार गर्न भ्याइनभ्याइँ हुने अवस्था छ ।’

कैलाश यात्रामा सहभागीहरूका लागि यात्रा केवल दर्शनमात्र होइन । आत्म–अनुशासन, संयम र समर्पणको अभ्यास पनि हो । उचाइ, चिसो, थकान र कठिनाइबीच यात्रुहरू धार्मिक गीत, मन्त्र, ध्यान र योगमार्फत शरीर र आत्मालाई सन्तुलनमा राख्ने प्रयास गर्छन् । सयौं किलोमिटरको यात्रा गर्दै कैलाश–मानसरोवरको एक झलक पाउनु जीवनकै ठूलो उपलब्धि ठानिन्छ ।

कैलाश मानसरोवर भ्रमण गराउने सिम्रिक एयरका प्रतिनिधि कमल गौतमले भने, ‘कैलाश दर्शन गर्न जानका लागि नेपालगन्जबाट जहाजमा हुम्ला र हुम्लाबाट नेपाल चीन सीमासम्म हेलिकोप्टरबाट सहजै जान सकिन्छ । गाडीमा जानेहरूका लागि पनि हुम्ला राष्ट्रिय राजमार्गमा जोडिएसँगै थप सहज बनेको छ । अझ कर्णाली प्रदेशले सुर्खेत विमानस्थलबाटै हवाई सेवा सञ्चालन गर्न सकेमा थप सहज हुन्छ । मानसरोबर कर्णालीको मात्र नभई देशकै धार्मिक पर्यटनका लागि उत्कृष्ट गन्तव्य हो । जसमा धेरै तीर्थालुहरूको रोजाइको गन्तव्य हो । यसलाई सरकारले व्यवस्थित बनाउन सरोकारवालाहरूको सहकार्यमा आवश्यक पूर्वाधार विकास र सेवा विस्तारका लागि पहलकदमी लिनुपर्ने जरुरी छ ।’

कसरी जाने कैलाश मानसरोवर ? 
नेपालको हिमाली जिल्ला हुम्ला कैलाश–मानसरोवर यात्रा प्रवेशद्वार हो । सिमीकोटबाट हेलिकोप्टर र पैदलयात्रा हुँदै हिल्सा पार गरेर तिब्बत प्रवेश गरिन्छ । सीमित पूर्वाधार, उच्च हिमाली मौसम, कठिन भूगोलका बाबजुद, यहाँको प्राकृतिक सुन्दरता र मानवताले यात्रुहरूको मन जित्छ । हिमालको फेदीमा अवस्थित सिमीकोट, लिमी, यालबांगजस्ता बस्तीहरू सांस्कृतिक रूपमा महŒवपूर्ण छन् । हुम्लाका पर्यटन व्यवसायी तेन्जिङ लामाले भने, ‘नेपालगन्जबाट हवाई सेवामा सहजै हुम्ला जान सकिन्छ । हुम्लाबाट हेलिकोप्टर र गाडी दुवै सेवासुविधा पर्यटकहरूका लागि छन् । कर्णाली करिडोरको स्तरोन्नति भएमा थप सहज हुने अवस्था छ ।’null

उनका अनुसार नेपालगन्जबाट सिमीकोट हुँदै कैलाश मानसरोवर जान चाहने यात्रुहरूका लागि हाल विभिन्न यातायात सेवाहरूको संयोजन गरी यात्रालाई सहज बनाइएको छ । यो यात्रा विशेषगरी धार्मिक आस्थासँग जोडिएको भए पनि साहसिक यात्राको दृष्टिले पनि निकै महŒवपूर्ण मानिन्छ । सिमीकोट हुम्ला जिल्लाको मुख्य केन्द्र हो र त्यहाँसम्म पुग्नका लागि नेपालगन्जबाट विमानमार्फत यात्रा गरिन्छ । नेपालगन्ज—सिमीकोट मार्ग सिधा उडानद्वारा सेवा दिइन्छ, र मौसमअनुकूल भएमा दैनिक उडान उपलब्ध हुन्छ । यस मार्गमा तारा एयर, सीता एयर, र समिट एयरलगायत निजी वायुसेवाले नियमित उडान सञ्चालन गरिरहेका छन् । नेपालगन्जबाट करिब एक घण्टाको उडानमा सिमीकोट पुगिन्छ ।

सिमीकोटबाट हिल्सा नाका हुँदै तिब्बत प्रवेश गर्नुपर्छ । सिमीकोट—हिल्सा मार्ग अत्यन्तै विकट भए पनि हालका वर्षहरूमा हेलिकोप्टर सेवाको उपलब्धताले यो यात्रा निकै सहज बनाएको छ । सिमीकोटबाट हिल्सा नाकासम्मको दूरी करिब ३० मिनेटको हेलिकोप्टर उडानमा पूरा गर्न सकिन्छ । मौसम सफा रहेमा हेलिकोप्टर सेवाले यात्रुहरूलाई सिधै हिल्सा पुर्‍याउने सुविधा दिन्छन् । जसले समय र शारीरिक थकान दुवै घटाउँछ । कतिपय अवस्थामा सिमीकोटदेखि हिल्सासम्म पैदल यात्रा गर्ने वा घोडा चढेर जान पनि सकिन्छ ।

हिल्सा पुगेपछि तिब्बती सीमा पार गरेर चीनको ताक्लाकोट (पुराङ) प्रवेश गर्नुपर्छ । जुन कैलाश मानसरोवर जाने मुख्य मार्ग हो । ताक्लाकोटबाट मानसरोवर र कैलाशसम्म सवारीसाधन (जिप, मिनी बस आदि)मार्फत जान सकिन्छ । चीन सरकारले बनाएका राम्रा सडकका कारण यो यात्रा अब पहिलाजस्तो कठिन छैन । करिब ३–४ घण्टामा सवारीमार्फत त्यहाँ पुग्न सकिन्छ । मानसरोवर ताल नजिकैको तटीय क्षेत्रमा बसोबासका लागि विशेष धर्मशाला वा तम्बु व्यवस्थापन गरिएका छन् ।  मानसरोवरमा स्नान, ध्यान र पूजापछि कैलाश पर्वतको परिक्रमा सुरु गरिन्छ । कैलाश परिक्रमा सामान्यतया तीन दिनमा सम्पन्न गरिन्छ, जसमा डार्चेनदेखि यमद्वार, डोल्मा पास हुँदै फर्केर डार्चेन पुग्ने मार्ग समावेश हुन्छ । यो मार्ग कठिन भए तापनि धार्मिक श्रद्धाका कारण यात्रुहरू जोशका साथ पूरा गर्छन् । परिक्रमा गर्ने क्रममा घोडा भाडामा लिन सकिन्छ ।

नेपालगन्जबाट सिमीकोट, त्यहाँबाट हेलिकोप्टरद्वारा हिल्सा, र त्यसपछि चीनको सडकमार्ग हुँदै कैलाश मानसरोवर पुग्ने यात्राले अब धार्मिक यात्रालाई आधुनिक सुविधासँग जोडेको छ । यस्ता यातायात संयोजनहरूले वृद्ध, बालबालिका र स्वास्थ्य समस्या भएकाहरूलाई समेत यात्रामा सहभागी गराउने अवसर प्रदान गरेको छ । यो यात्रा गर्नुअघि आवश्यक भिसा, ट्राभल परमिट, स्वास्थ्य प्रमाणपत्र र उच्च स्थानको मौसम सहन सक्ने क्षमता हुनु आवश्यक छ । 

हुम्ला बाह्य धार्मिक पर्यटक बढ्दै 
मानसरोवार आउजाउका लागि हुम्लामा दैनिक सयौं यात्रु आउने गरेका छन् । हुम्लाका होटेल बुक हुने, गाइड र यातायात सेवा पूर्णरूपमा सक्रिय हुने क्रम तीव्र भएको छ । भारतीय तीर्थयात्री विशेष आकर्षणका साथ आउने गरेका छन् । यसले हुम्लाको पर्यटन अर्थतन्त्रलाई एकाएक पुनर्जीवित बनाएको छ । 

जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी इन्स्पेक्टर विष्णुप्रसाद श्रेष्ठका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कैलाश मानसरोवर दर्शनका लागि २ हजार ४ सय ७४ जना पर्यटकहरू आए । जसमा भारतीय पर्यटक मात्र २ हजार १४ जना थिए । अन्य देशका ४ सय ६० जना आए । चालु आर्थिक वर्षको साउन महिनाको २६ सम्म १ हजार २४ जना आइसकेका छन् । जसमा भारतका १ हजार ७ जना र अन्य मुलुकका १७ जना छन् । यो संख्या अझै बढ्छ । 

हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले पछिल्लो समय कैलाश मानसरोवर जाने पर्यटकहरूको संख्या निकै वृद्धि भएकाले सुरक्षा व्यवस्था पनि कडा पारिएको बताए । उनका अनुसार कैलाश मानसरोवर जाने सहज बाटो हुम्ला भएकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो हुन्छ । उनीहरूलाई पूर्णरूपमा सुरक्षित यात्रा बनाउन ठाउँठाउँमा प्रहरी, बिरामी पर्दा हवाई सेवामार्फत उद्धार र सुविधायुक्त ठाउँमा उपचार गर्न पुर्‍याउने व्यवस्था मिलाइएको छ । जिल्ला सुरक्षा समितिले पर्यटकको सुरक्षका विषयमा पटकपटक छलफल गरी जिल्लामा रहेका सबै सुरक्षा निकायलाई तयार गरिएको छ । पर्यटन व्यवसायीहरूले पनि जिल्ला प्रशासनसँगसमेत समन्वय गरेर पर्यटकहरूको भ्रमण गराउने गरेका छन् । हुम्लामा कोभिडपछि सुस्ताएको पर्यटन व्यवसाय जागेको छ । यसले यहाँको आर्थिक गतिविधि पनि बढाएको छ ।

संस्कृति हस्तान्तरणको संगम कैलाश मानसरोवर 
कैलाश मानसरोवर धार्मिक तीर्थस्थलमात्रै नभई यसले सांस्कृतिक सम्बन्धलाई पनि गहन बनाएको छ । विभिन्न मुलुकका तीर्थयात्रीबीच भाषा, परम्परा, संस्कार आदानप्रदान हुँदै गएको छ । त्यहाँको तिब्बती संस्कृति, नेपाली पाहुनचार र भारतीय भक्ति संस्कार एकआपसमा मिसिन्छन् ।

चीन, भारत र नेपाल एसियाका पुराना सभ्यता भएका मुलुक हुन् । जसले आपसमा भाषा, संस्कृति, र परम्पराको गहिरो सम्बन्ध स्थापित गर्दै आएका छन् । यी देशहरूबीच प्राचीन कालदेखि नै सांस्कृतिक आदानप्रदान हुँदै आएको छ । जसले परस्पर जनस्तरको सम्बन्धलाई अझ बलियो बनाएको छ ।
त्यसलाई कैलाश मानसरोवरले पनि थप मलजल गरेको छ । भारतबाट नेपालमा हिन्दु धर्म, संस्कृत भाषा, योग, आयुर्वेद र विभिन्न चाडपर्वहरू जस्तै दसैं, तिहार, र होलीको प्रभाव परेको छ । त्यसैगरी, चीनबाट बौद्ध धर्म, विशेषगरी महायान परम्परा नेपालमा भित्रिएको हो । जुन तामाङ, शेर्पा, गुरुङ, र भोटे समुदायमा विशेष रूपमा प्रचलित छ ।

भाषाको दृष्टिले हेर्दा पनि यी देशहरूमा एकअर्काको भाषा र लिपिको प्रभाव देखिन्छ । चीनको तिब्बती लिपि, भारतको देवनागरी लिपि र नेपालमा प्रयोग हुने देवनागरी र तिब्बती लिपिहरूले एकअर्कामा आदानप्रदान गरेका छन् । चिनियाँ बौद्ध धर्मशास्त्रहरू संस्कृतबाट अनुवाद गरिएको इतिहास छ । परम्परा र कलाको क्षेत्रमा पनि आदानप्रदान उल्लेखनीय छ । नेपाली शैलीका स्तूपहरू चीन र भारतमा समेत देख्न पाइन्छ ।

कैलाश मानसरोवरमा हुने सम्पर्कले पनि सांस्कृतिक सम्बन्धलाई बलियो बनाएको छ । चीन, भारत र नेपालबीचको भाषा, संस्कृति, र परम्पराको आदान–प्रदानले आपसी समझदारी, सहिष्णुता र सहयोगलाई मजबुत बनाएको छ ।

nullकैलाश मानसरोवर जाने हुम्ला सदरमुकाम सिमीकोट विमानस्थलमा यात्रुको चाप ।  तस्बिर सौजन्य : कमल गौतम

कर्णालीमा पर्यटक आगमन ११ प्रतिशतले बढ्यो
नेपाल राष्ट्र बैंक कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक अध्ययन प्रतिवेदनले विगतको तुलनामा कर्णालीमा पर्यटकको आवागमन ११ प्रतिशतले वृद्धि भएको देखाएको छ । राष्ट्र बैंकका अनुसार, आव २०८१/०८२ को साउनदेखि पुस महिना अर्थात् ६ महिनाको अवधिमा ५ लाख ७९ हजार ९ सय ४३ पर्यटक कर्णाली भित्रिएका छन् । कर्णाली प्रदेशस्थित नमुना छनोटमा परेका होटेलहरूबाट प्राप्त तथ्यांकका आधारमा समग्र कर्णाली प्रदेशको होटेल तथा पर्यटन व्यवसायको अवस्था विश्लेषणका आधारमा राष्ट्र बैंकले यो तथ्यांक निकालेको हो । 

यसमा भारतबाट १२ दशमलव ८२, चीनबाट ३ दशमलव ६९ र तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या १३ दशमलव ३४ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ । यस अवधिमा कर्णाली प्रदेशमा समग्रमा पर्यटन आगमन संख्या गत अवधिको तुलनामा ११ दशमलव ०९ प्रतिशतले वृद्धि भएको देखिन्छ । आव २०८०/०८१ को यही अवधिमा ८ दशमलव ६४ प्रतिशतले वृद्धि भएको भारतीय पर्यटक आगमनको संख्या आव २०८१/०८२ को साउनदेखि पुस महिनाको अवधिमा १२ दशमलव ८२ प्रतिशतले वृद्धि भएको छ । यस्तै, आव २०८०/०८१ मा १४ दशमलव ४० प्रतिशतले वृद्धि भएको चिनियाँ पर्यटक आगमनको संख्यामा समीक्षा अवधिमा तीन दशमलव ६९ प्रतिशतले वृृद्धि भएको तथ्यांकमा उल्लेख छ ।

कर्णाली प्रदेश सरकारले यहाँको पर्यटन प्रवर्धन र विकासलाई मुख्य प्राथमिकतामा राखेको छ । जसअन्तर्गत प्रदेश सरकारले कर्णालीको पर्यटन प्रवर्धन र विकासमा काम गर्न छुट्टै पर्यटन प्रवर्धन विकास समिति नै स्थापना गरेको छ । गत वैशाखमा स्थापना भएको उक्त समितिले पूर्णता पाउनासाथ पर्यटन प्रवर्धन तथा विकासका कामहरू योजनाबद्ध अघि बढाउने प्रदेश सरकारको तयारी छ । कर्णालीका १० वटै जिल्लाका पर्यटकीय क्षेत्रलाई चिनाउने सूचना बोर्डदेखि सबै जिल्लालाई जोड्न पर्यटन सर्किटको अवधारणमा काम गरिनेछ । प्रदेश सरकारले चालु आव २०८२/०८३ बाट कर्णालीको पर्यटन प्रवर्धन गर्न ‘संसारको गन्तव्य नेपाल, नेपालको गन्तव्य कर्णाली’ सोचका साथ दिगो पूर्वाधार तथा गुणस्तरीय पर्यटन सेवाको विकासमा जोड दिएको छ ।

कैलाश पर्वतको दर्शनका लागि हुम्लामा तीर्थयात्रीको ताँती लागेको छ । पछिल्लो समय भारतीय तीर्थयात्रुहरूको चापले हुम्ला भरिभराउ छ । यसको व्यापक प्रचारप्रसार भए पाहुनाको सत्कार गर्न भ्याइनभ्याइँ हुने अवस्था छ ।
विजय लामा, पर्यटन व्यवसायी, हुम्ला

पछिल्लो समय कैलाश मानसरोवर जाने पर्यटकहरूको संख्या निकै वृद्धि भएकाले सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । कैलाश मानसरोवर जाने सहज बाटो हुम्ला भएकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो नै हुने गरेको छ ।
नारायण पाण्डेय, प्रमुख जिल्ला अधिकारी, हुम्ला

कैलाश दर्शन गर्न जानका लागि नेपालगन्जबाट जहाजमा हुम्ला र हुम्लाबाट नेपाल–चीन सीमासम्म हेलिकोप्टरबाट सहजै यात्रा गर्न सकिन्छ । गाडीमा जानेहरूका लागि पनि हुम्ला राष्ट्रिय राजमार्गमा जोडिएसँगै थप सहज बनेको छ । अझ कर्णाली प्रदेशले सुर्खेत विमानस्थलबाटै हवाई सेवा सञ्चालन गर्न सकेमा थप सहज हुन्छ ।
कमल गौतम, सिम्रिक एयरका प्रतिनिधि 

पर्यटन पूर्वाधारको अभाव 
हुम्ला हुँदै कैलाश जाने मार्गमा शौचालय, खानेपानी, सञ्चार सेवा, स्वास्थ्य सेवाजस्ता आधारभूत पूर्वाधारको अझै अभाव छ । पूर्वाधारको अभावमा यात्रुहरूले कष्ट व्यहोरिरहेका छन् । तौलिया, नुहाउने सुविधा, वाइफाइको खोजीमा पर्यटकहरू होटेलहरू परिवर्तन गर्न बाध्य हुन्छन् । भर्खरै ट्र्याक खोलिएको कर्णाली करिडोरको स्तरोन्नति हुनै बाँकी छ ।

नागरिक समाजका अगुवा अंग बोहोराले भने, ‘कैलाश मानसरोवर जानका लागि यातायात सेवा प्रभावकारी बनाउनु आवश्यक छ । कर्णाली करिडोरको स्तरोन्नतिको काम भइरहेको छ । यसलाई तीव्र गतिमा गर्ने हो र ठाउँठाउँमा होटेल, रेस्टुरेन्ट, खानेपानी धारा, शौचालयजस्ता आधारभूत सेवाहरू थप गर्नुपर्ने आवश्यकता छ ।’

सडक, पुल, स्वास्थ्य सेवा, शिक्षा, खानेपानी, बिजुली, सञ्चारजस्ता आधारभूत पूर्वाधारहरूको विकास अपेक्षित रूपमा हुन नसक्दा पर्यटकहरूले असुविधा महसुस गर्ने गरेका छन् । सञ्चार प्रविधिको पहुँच विस्तार भए पनि पहाडी तथा दुर्गम क्षेत्रहरूमा इन्टरनेट, मोबाइल नेटवर्कलगायत सेवाहरू अझै अस्थिर र कमजोर छन् । खानेपानी तथा सरसफाइको अवस्था पनि सन्तोषजनक छैन । अधिकांश गाउँहरूमा सुरक्षित खानेपानीको व्यवस्था छैन । जसले स्वास्थ्यमा गम्भीर असर पार्ने गरेको छ ।

भौतिक पूर्वाधारको समुचित विकास नगरी पर्यटन प्रवर्धन गर्न सहज छैन । जसका लागि सरकारले हुम्लाबाट कैलाश मानसरोवर जाने रुटमा पूर्वाधार विकासमा प्राथमिकता दिनु आवश्यक छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.