मानसरोवर जान सहज रुट हुम्ला, भारतीय पर्यटकले भरिभराउ
वीरेन्द्रनगर : बाँकेको नेपालगन्ज पुरानै चलायमान सहर हो । मानसरोवर जाने भारतीय यात्रीका कारण नेपालगन्ज विमानस्थल दैनिकजसो व्यस्त छ । नेपालगन्जबाट हुम्लाको सिमीकोटसम्म हवाई सेवा सञ्चालनमा छ ।
तारा, सीता र समिट एयरलाइन्स नेपालगन्जबाट सिमीकोट र सिमीकोटबाट नेपालगन्जमा तीर्थयात्री ओसार्नमै व्यस्त छन् । छोटो दूरीबाट सहज रूपमा मानसरोवर यात्रा गर्न सकिने भएकाले भारतीय तीर्थयात्री पनि यही रुट प्रयोग गर्ने गर्छन् । यस्तै, चीन, तिब्बत, भुटान र श्रीलंकाका पर्यटक/तीर्थयात्री पनि यही बाटोबाट मानसरोवर आउजाउ गर्न रुचाउँछन् । त्यसैकारण मानसरोवर आउजाउ गर्ने तीर्थयात्री/पर्यटकले हुम्ला गुल्जार बनेको छ । यहाँका होटेल/रेस्टुरेन्ट भरिभराउ छन् । तर, पूर्वाधारको अभावमा तीर्थयात्री/पर्यटकले गुणस्तरीय सेवा/सुविधा भने पाउन सकेका छैनन् ।
मानसरोवर जानेको ताँती
कैलाश यात्रामा सहभागीहरूका लागि यात्रा केवल दर्शनमात्र होइन । आत्म–अनुशासन, संयम र समर्पणको अभ्यास पनि हो । उचाइ, चिसो, थकान र कठिनाइबीच यात्रुहरू धार्मिक गीत, मन्त्र, ध्यान र योगमार्फत शरीर र आत्मालाई सन्तुलनमा राख्ने प्रयास गर्छन् । सयौं किलोमिटरको यात्रा गर्दै कैलाश–मानसरोवरको एक झलक पाउनु जीवनकै ठूलो उपलब्धि ठानिन्छ ।
कैलाश मानसरोवर भ्रमण गराउने सिम्रिक एयरका प्रतिनिधि कमल गौतमले भने, ‘कैलाश दर्शन गर्न जानका लागि नेपालगन्जबाट जहाजमा हुम्ला र हुम्लाबाट नेपाल चीन सीमासम्म हेलिकोप्टरबाट सहजै जान सकिन्छ । गाडीमा जानेहरूका लागि पनि हुम्ला राष्ट्रिय राजमार्गमा जोडिएसँगै थप सहज बनेको छ । अझ कर्णाली प्रदेशले सुर्खेत विमानस्थलबाटै हवाई सेवा सञ्चालन गर्न सकेमा थप सहज हुन्छ । मानसरोबर कर्णालीको मात्र नभई देशकै धार्मिक पर्यटनका लागि उत्कृष्ट गन्तव्य हो । जसमा धेरै तीर्थालुहरूको रोजाइको गन्तव्य हो । यसलाई सरकारले व्यवस्थित बनाउन सरोकारवालाहरूको सहकार्यमा आवश्यक पूर्वाधार विकास र सेवा विस्तारका लागि पहलकदमी लिनुपर्ने जरुरी छ ।’
कसरी जाने कैलाश मानसरोवर ?
नेपालको हिमाली जिल्ला हुम्ला कैलाश–मानसरोवर यात्रा प्रवेशद्वार हो । सिमीकोटबाट हेलिकोप्टर र पैदलयात्रा हुँदै हिल्सा पार गरेर तिब्बत प्रवेश गरिन्छ । सीमित पूर्वाधार, उच्च हिमाली मौसम, कठिन भूगोलका बाबजुद, यहाँको प्राकृतिक सुन्दरता र मानवताले यात्रुहरूको मन जित्छ । हिमालको फेदीमा अवस्थित सिमीकोट, लिमी, यालबांगजस्ता बस्तीहरू सांस्कृतिक रूपमा महŒवपूर्ण छन् । हुम्लाका पर्यटन व्यवसायी तेन्जिङ लामाले भने, ‘नेपालगन्जबाट हवाई सेवामा सहजै हुम्ला जान सकिन्छ । हुम्लाबाट हेलिकोप्टर र गाडी दुवै सेवासुविधा पर्यटकहरूका लागि छन् । कर्णाली करिडोरको स्तरोन्नति भएमा थप सहज हुने अवस्था छ ।’
उनका अनुसार नेपालगन्जबाट सिमीकोट हुँदै कैलाश मानसरोवर जान चाहने यात्रुहरूका लागि हाल विभिन्न यातायात सेवाहरूको संयोजन गरी यात्रालाई सहज बनाइएको छ । यो यात्रा विशेषगरी धार्मिक आस्थासँग जोडिएको भए पनि साहसिक यात्राको दृष्टिले पनि निकै महŒवपूर्ण मानिन्छ । सिमीकोट हुम्ला जिल्लाको मुख्य केन्द्र हो र त्यहाँसम्म पुग्नका लागि नेपालगन्जबाट विमानमार्फत यात्रा गरिन्छ । नेपालगन्ज—सिमीकोट मार्ग सिधा उडानद्वारा सेवा दिइन्छ, र मौसमअनुकूल भएमा दैनिक उडान उपलब्ध हुन्छ । यस मार्गमा तारा एयर, सीता एयर, र समिट एयरलगायत निजी वायुसेवाले नियमित उडान सञ्चालन गरिरहेका छन् । नेपालगन्जबाट करिब एक घण्टाको उडानमा सिमीकोट पुगिन्छ ।
सिमीकोटबाट हिल्सा नाका हुँदै तिब्बत प्रवेश गर्नुपर्छ । सिमीकोट—हिल्सा मार्ग अत्यन्तै विकट भए पनि हालका वर्षहरूमा हेलिकोप्टर सेवाको उपलब्धताले यो यात्रा निकै सहज बनाएको छ । सिमीकोटबाट हिल्सा नाकासम्मको दूरी करिब ३० मिनेटको हेलिकोप्टर उडानमा पूरा गर्न सकिन्छ । मौसम सफा रहेमा हेलिकोप्टर सेवाले यात्रुहरूलाई सिधै हिल्सा पुर्याउने सुविधा दिन्छन् । जसले समय र शारीरिक थकान दुवै घटाउँछ । कतिपय अवस्थामा सिमीकोटदेखि हिल्सासम्म पैदल यात्रा गर्ने वा घोडा चढेर जान पनि सकिन्छ ।
हिल्सा पुगेपछि तिब्बती सीमा पार गरेर चीनको ताक्लाकोट (पुराङ) प्रवेश गर्नुपर्छ । जुन कैलाश मानसरोवर जाने मुख्य मार्ग हो । ताक्लाकोटबाट मानसरोवर र कैलाशसम्म सवारीसाधन (जिप, मिनी बस आदि)मार्फत जान सकिन्छ । चीन सरकारले बनाएका राम्रा सडकका कारण यो यात्रा अब पहिलाजस्तो कठिन छैन । करिब ३–४ घण्टामा सवारीमार्फत त्यहाँ पुग्न सकिन्छ । मानसरोवर ताल नजिकैको तटीय क्षेत्रमा बसोबासका लागि विशेष धर्मशाला वा तम्बु व्यवस्थापन गरिएका छन् । मानसरोवरमा स्नान, ध्यान र पूजापछि कैलाश पर्वतको परिक्रमा सुरु गरिन्छ । कैलाश परिक्रमा सामान्यतया तीन दिनमा सम्पन्न गरिन्छ, जसमा डार्चेनदेखि यमद्वार, डोल्मा पास हुँदै फर्केर डार्चेन पुग्ने मार्ग समावेश हुन्छ । यो मार्ग कठिन भए तापनि धार्मिक श्रद्धाका कारण यात्रुहरू जोशका साथ पूरा गर्छन् । परिक्रमा गर्ने क्रममा घोडा भाडामा लिन सकिन्छ ।
नेपालगन्जबाट सिमीकोट, त्यहाँबाट हेलिकोप्टरद्वारा हिल्सा, र त्यसपछि चीनको सडकमार्ग हुँदै कैलाश मानसरोवर पुग्ने यात्राले अब धार्मिक यात्रालाई आधुनिक सुविधासँग जोडेको छ । यस्ता यातायात संयोजनहरूले वृद्ध, बालबालिका र स्वास्थ्य समस्या भएकाहरूलाई समेत यात्रामा सहभागी गराउने अवसर प्रदान गरेको छ । यो यात्रा गर्नुअघि आवश्यक भिसा, ट्राभल परमिट, स्वास्थ्य प्रमाणपत्र र उच्च स्थानको मौसम सहन सक्ने क्षमता हुनु आवश्यक छ ।
हुम्ला बाह्य धार्मिक पर्यटक बढ्दै
मानसरोवार आउजाउका लागि हुम्लामा दैनिक सयौं यात्रु आउने गरेका छन् । हुम्लाका होटेल बुक हुने, गाइड र यातायात सेवा पूर्णरूपमा सक्रिय हुने क्रम तीव्र भएको छ । भारतीय तीर्थयात्री विशेष आकर्षणका साथ आउने गरेका छन् । यसले हुम्लाको पर्यटन अर्थतन्त्रलाई एकाएक पुनर्जीवित बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी इन्स्पेक्टर विष्णुप्रसाद श्रेष्ठका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कैलाश मानसरोवर दर्शनका लागि २ हजार ४ सय ७४ जना पर्यटकहरू आए । जसमा भारतीय पर्यटक मात्र २ हजार १४ जना थिए । अन्य देशका ४ सय ६० जना आए । चालु आर्थिक वर्षको साउन महिनाको २६ सम्म १ हजार २४ जना आइसकेका छन् । जसमा भारतका १ हजार ७ जना र अन्य मुलुकका १७ जना छन् । यो संख्या अझै बढ्छ ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले पछिल्लो समय कैलाश मानसरोवर जाने पर्यटकहरूको संख्या निकै वृद्धि भएकाले सुरक्षा व्यवस्था पनि कडा पारिएको बताए । उनका अनुसार कैलाश मानसरोवर जाने सहज बाटो हुम्ला भएकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो हुन्छ । उनीहरूलाई पूर्णरूपमा सुरक्षित यात्रा बनाउन ठाउँठाउँमा प्रहरी, बिरामी पर्दा हवाई सेवामार्फत उद्धार र सुविधायुक्त ठाउँमा उपचार गर्न पुर्याउने व्यवस्था मिलाइएको छ । जिल्ला सुरक्षा समितिले पर्यटकको सुरक्षका विषयमा पटकपटक छलफल गरी जिल्लामा रहेका सबै सुरक्षा निकायलाई तयार गरिएको छ । पर्यटन व्यवसायीहरूले पनि जिल्ला प्रशासनसँगसमेत समन्वय गरेर पर्यटकहरूको भ्रमण गराउने गरेका छन् । हुम्लामा कोभिडपछि सुस्ताएको पर्यटन व्यवसाय जागेको छ । यसले यहाँको आर्थिक गतिविधि पनि बढाएको छ ।
संस्कृति हस्तान्तरणको संगम कैलाश मानसरोवर
कैलाश मानसरोवर धार्मिक तीर्थस्थलमात्रै नभई यसले सांस्कृतिक सम्बन्धलाई पनि गहन बनाएको छ । विभिन्न मुलुकका तीर्थयात्रीबीच भाषा, परम्परा, संस्कार आदानप्रदान हुँदै गएको छ । त्यहाँको तिब्बती संस्कृति, नेपाली पाहुनचार र भारतीय भक्ति संस्कार एकआपसमा मिसिन्छन् ।
चीन, भारत र नेपाल एसियाका पुराना सभ्यता भएका मुलुक हुन् । जसले आपसमा भाषा, संस्कृति, र परम्पराको गहिरो सम्बन्ध स्थापित गर्दै आएका छन् । यी देशहरूबीच प्राचीन कालदेखि नै सांस्कृतिक आदानप्रदान हुँदै आएको छ । जसले परस्पर जनस्तरको सम्बन्धलाई अझ बलियो बनाएको छ ।
त्यसलाई कैलाश मानसरोवरले पनि थप मलजल गरेको छ । भारतबाट नेपालमा हिन्दु धर्म, संस्कृत भाषा, योग, आयुर्वेद र विभिन्न चाडपर्वहरू जस्तै दसैं, तिहार, र होलीको प्रभाव परेको छ । त्यसैगरी, चीनबाट बौद्ध धर्म, विशेषगरी महायान परम्परा नेपालमा भित्रिएको हो । जुन तामाङ, शेर्पा, गुरुङ, र भोटे समुदायमा विशेष रूपमा प्रचलित छ ।
भाषाको दृष्टिले हेर्दा पनि यी देशहरूमा एकअर्काको भाषा र लिपिको प्रभाव देखिन्छ । चीनको तिब्बती लिपि, भारतको देवनागरी लिपि र नेपालमा प्रयोग हुने देवनागरी र तिब्बती लिपिहरूले एकअर्कामा आदानप्रदान गरेका छन् । चिनियाँ बौद्ध धर्मशास्त्रहरू संस्कृतबाट अनुवाद गरिएको इतिहास छ । परम्परा र कलाको क्षेत्रमा पनि आदानप्रदान उल्लेखनीय छ । नेपाली शैलीका स्तूपहरू चीन र भारतमा समेत देख्न पाइन्छ ।
कैलाश मानसरोवरमा हुने सम्पर्कले पनि सांस्कृतिक सम्बन्धलाई बलियो बनाएको छ । चीन, भारत र नेपालबीचको भाषा, संस्कृति, र परम्पराको आदान–प्रदानले आपसी समझदारी, सहिष्णुता र सहयोगलाई मजबुत बनाएको छ ।
कैलाश मानसरोवर जाने हुम्ला सदरमुकाम सिमीकोट विमानस्थलमा यात्रुको चाप । तस्बिर सौजन्य : कमल गौतम
कर्णालीमा पर्यटक आगमन ११ प्रतिशतले बढ्यो
नेपाल राष्ट्र बैंक कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक अध्ययन प्रतिवेदनले विगतको तुलनामा कर्णालीमा पर्यटकको आवागमन ११ प्रतिशतले वृद्धि भएको देखाएको छ । राष्ट्र बैंकका अनुसार, आव २०८१/०८२ को साउनदेखि पुस महिना अर्थात् ६ महिनाको अवधिमा ५ लाख ७९ हजार ९ सय ४३ पर्यटक कर्णाली भित्रिएका छन् । कर्णाली प्रदेशस्थित नमुना छनोटमा परेका होटेलहरूबाट प्राप्त तथ्यांकका आधारमा समग्र कर्णाली प्रदेशको होटेल तथा पर्यटन व्यवसायको अवस्था विश्लेषणका आधारमा राष्ट्र बैंकले यो तथ्यांक निकालेको हो ।
यसमा भारतबाट १२ दशमलव ८२, चीनबाट ३ दशमलव ६९ र तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या १३ दशमलव ३४ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ । यस अवधिमा कर्णाली प्रदेशमा समग्रमा पर्यटन आगमन संख्या गत अवधिको तुलनामा ११ दशमलव ०९ प्रतिशतले वृद्धि भएको देखिन्छ । आव २०८०/०८१ को यही अवधिमा ८ दशमलव ६४ प्रतिशतले वृद्धि भएको भारतीय पर्यटक आगमनको संख्या आव २०८१/०८२ को साउनदेखि पुस महिनाको अवधिमा १२ दशमलव ८२ प्रतिशतले वृद्धि भएको छ । यस्तै, आव २०८०/०८१ मा १४ दशमलव ४० प्रतिशतले वृद्धि भएको चिनियाँ पर्यटक आगमनको संख्यामा समीक्षा अवधिमा तीन दशमलव ६९ प्रतिशतले वृृद्धि भएको तथ्यांकमा उल्लेख छ ।
कर्णाली प्रदेश सरकारले यहाँको पर्यटन प्रवर्धन र विकासलाई मुख्य प्राथमिकतामा राखेको छ । जसअन्तर्गत प्रदेश सरकारले कर्णालीको पर्यटन प्रवर्धन र विकासमा काम गर्न छुट्टै पर्यटन प्रवर्धन विकास समिति नै स्थापना गरेको छ । गत वैशाखमा स्थापना भएको उक्त समितिले पूर्णता पाउनासाथ पर्यटन प्रवर्धन तथा विकासका कामहरू योजनाबद्ध अघि बढाउने प्रदेश सरकारको तयारी छ । कर्णालीका १० वटै जिल्लाका पर्यटकीय क्षेत्रलाई चिनाउने सूचना बोर्डदेखि सबै जिल्लालाई जोड्न पर्यटन सर्किटको अवधारणमा काम गरिनेछ । प्रदेश सरकारले चालु आव २०८२/०८३ बाट कर्णालीको पर्यटन प्रवर्धन गर्न ‘संसारको गन्तव्य नेपाल, नेपालको गन्तव्य कर्णाली’ सोचका साथ दिगो पूर्वाधार तथा गुणस्तरीय पर्यटन सेवाको विकासमा जोड दिएको छ ।
कैलाश पर्वतको दर्शनका लागि हुम्लामा तीर्थयात्रीको ताँती लागेको छ । पछिल्लो समय भारतीय तीर्थयात्रुहरूको चापले हुम्ला भरिभराउ छ । यसको व्यापक प्रचारप्रसार भए पाहुनाको सत्कार गर्न भ्याइनभ्याइँ हुने अवस्था छ ।
विजय लामा, पर्यटन व्यवसायी, हुम्लापछिल्लो समय कैलाश मानसरोवर जाने पर्यटकहरूको संख्या निकै वृद्धि भएकाले सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । कैलाश मानसरोवर जाने सहज बाटो हुम्ला भएकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो नै हुने गरेको छ ।
नारायण पाण्डेय, प्रमुख जिल्ला अधिकारी, हुम्लाकैलाश दर्शन गर्न जानका लागि नेपालगन्जबाट जहाजमा हुम्ला र हुम्लाबाट नेपाल–चीन सीमासम्म हेलिकोप्टरबाट सहजै यात्रा गर्न सकिन्छ । गाडीमा जानेहरूका लागि पनि हुम्ला राष्ट्रिय राजमार्गमा जोडिएसँगै थप सहज बनेको छ । अझ कर्णाली प्रदेशले सुर्खेत विमानस्थलबाटै हवाई सेवा सञ्चालन गर्न सकेमा थप सहज हुन्छ ।
कमल गौतम, सिम्रिक एयरका प्रतिनिधि
पर्यटन पूर्वाधारको अभाव
हुम्ला हुँदै कैलाश जाने मार्गमा शौचालय, खानेपानी, सञ्चार सेवा, स्वास्थ्य सेवाजस्ता आधारभूत पूर्वाधारको अझै अभाव छ । पूर्वाधारको अभावमा यात्रुहरूले कष्ट व्यहोरिरहेका छन् । तौलिया, नुहाउने सुविधा, वाइफाइको खोजीमा पर्यटकहरू होटेलहरू परिवर्तन गर्न बाध्य हुन्छन् । भर्खरै ट्र्याक खोलिएको कर्णाली करिडोरको स्तरोन्नति हुनै बाँकी छ ।
नागरिक समाजका अगुवा अंग बोहोराले भने, ‘कैलाश मानसरोवर जानका लागि यातायात सेवा प्रभावकारी बनाउनु आवश्यक छ । कर्णाली करिडोरको स्तरोन्नतिको काम भइरहेको छ । यसलाई तीव्र गतिमा गर्ने हो र ठाउँठाउँमा होटेल, रेस्टुरेन्ट, खानेपानी धारा, शौचालयजस्ता आधारभूत सेवाहरू थप गर्नुपर्ने आवश्यकता छ ।’
सडक, पुल, स्वास्थ्य सेवा, शिक्षा, खानेपानी, बिजुली, सञ्चारजस्ता आधारभूत पूर्वाधारहरूको विकास अपेक्षित रूपमा हुन नसक्दा पर्यटकहरूले असुविधा महसुस गर्ने गरेका छन् । सञ्चार प्रविधिको पहुँच विस्तार भए पनि पहाडी तथा दुर्गम क्षेत्रहरूमा इन्टरनेट, मोबाइल नेटवर्कलगायत सेवाहरू अझै अस्थिर र कमजोर छन् । खानेपानी तथा सरसफाइको अवस्था पनि सन्तोषजनक छैन । अधिकांश गाउँहरूमा सुरक्षित खानेपानीको व्यवस्था छैन । जसले स्वास्थ्यमा गम्भीर असर पार्ने गरेको छ ।
भौतिक पूर्वाधारको समुचित विकास नगरी पर्यटन प्रवर्धन गर्न सहज छैन । जसका लागि सरकारले हुम्लाबाट कैलाश मानसरोवर जाने रुटमा पूर्वाधार विकासमा प्राथमिकता दिनु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस !