‘भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’
धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान देशकै ठूलो स्वास्थ्य संस्था हो । यहाँ चिकित्सा शिक्षा, अनुसन्धान, विशेषज्ञ चिकित्सकले सबै प्रकारका स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् । नेपाल सरकार र भारत सरकारको साझेदारीमा स्थापना गरिएको बीपी प्रतिष्ठान चिकित्सा शिक्षा र स्वास्थ्य उपचारमा देशमा मात्रै नभएर एसियामै अब्बल मानिन्छ ।
पछिल्लो समय राजनीतिक हस्तक्षेपले बीपी प्रतिष्ठान धराशायी बनेको छ । सरकारले सही व्यक्तिलाई प्रतिष्ठानको पदाधिकारी नियुक्ति नगरेका कारण प्रतिष्ठान भ्रष्टाचारमा समेत चुर्लुम्म डुबेको छ । भ्रष्टाचारले थलिएको प्रतिष्ठानमा काम गर्ने इमानदार चिकित्सक र नर्सहरू बीपी छाडेर अन्यत्र जान थालेका छन् । आर्थिक रूपमा धराशायी बनेका कारण यहाँ कार्यरत कर्मचारीलाई समयमा तलब खुवाउन नसकेको प्रतिष्ठानलाई पदाधिकारीहरूले चुस्तदुरुस्त तरिकाले सञ्चालन गर्न सकेका छैनन् । चिकित्सकले यहाँ आउने सबै बिरामीको उपचार गर्न नसकेका कारण चर्को मूल्य खर्च गरेर बिरामीहरू अन्यत्र जान बाध्य छन् ।
सरकारले हालसालै धरानका स्थानीयसमेत रहेका प्राडा. विक्रमप्रसाद श्रेष्ठलाई प्रतिष्ठानको उपकुलपति नियुक्त गरेको छ । श्रेष्ठको नियुक्तिले प्रतिष्ठान सुधार हुनेमा सबैले विश्वास लिएका छन् । बीपी प्रतिष्ठान सुधार र भावी कार्ययोजनाका विषयमा नवनियुक्त उपकुलपति प्राडा. श्रेष्ठसँग अन्नपूर्णकर्मी रत्नप्रसाद आचार्यले गरेको कुराकानी ।
बीपी प्रतिष्ठानको उपकुलपति हुनुभयो, कस्तो अनुभूति भइरहेको छ ?
खुसी लागेको छ । प्रतिष्ठानको अनेक चुनौतीसामु अवसर पनि प्राप्त भएको छ । मैले सबै चुनौतीको सामना गरी प्रतिष्ठानको हितमा काम गर्ने संकल्प लिएको छु ।
उपकुलपति बन्ने रेसमा धेरै डाक्टर लागिपरेका थिए, कसरी बाजी मार्नुभयो नि ?
यो राजनीतिक नियुक्ति हो । स्वास्थ्य मन्त्रालयले बीपी प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो । २५ वर्ष यहीँ सेवा गरेको र एकपटक शिक्षाध्यक्ष भइसकेको र स्थानीयसमेत रहेको हुनाले आफूले उम्मेदवारको दाबी गरी दरखास्त दिएको थिएँ । मेरो कामको मूल्यांकन गरी सरकारले नियुक्ति दिएको ठानेको छु ।
यस अगाडि प्रतिष्ठानको पदाधिकारी नियुक्ति गर्दा पैसा बुझाएपछि मात्र गरिन्थ्यो, तपाईंले पनि कहीँ पैसा बुझाएर त नियुक्ति पाउनुभएको होइन ?
विगतमा के–के भयो म जानकार छैन । यसपटक मलाई निःस्वार्थ रूपमा उपकुलपति नियुक्त गरिएको हो । म पैसा खुवाएर उपकुलपति बनेको होइन । म प्रतिष्ठान सुधार्नका लागि नियुक्ति भएर आएको हँु ।
बीपी प्रतिष्ठान सुधार्न तपाईंको भावी कार्ययोजना के के छन् ?
बीपीको चिकित्सा शिक्षा, अनुसन्धान र स्वास्थ्य सेवालाई समयसापेक्ष बनाउनेछु । शिक्षामा सुधार गर्नका लागि शिक्षाको कमजोर मनोबलमा सुधार गर्न जरूरी ठानेको छु । शिक्षको सेवासुविधामा सुधार, नियमित तालिम र शैक्षिक प्रशासनलाई चुस्त बनाउनेछु ।
स्वास्थ्य सेवामा अति आवश्यक उपकरण प्राप्तिका लागि पहल, अस्पतालमा बिरामीको भीडको व्यवस्थापन, बिरामीलाई असल व्यवहार गर्ने संस्कारको विकास गर्नेछु । चिकित्सा अनुसन्धानको स्वीकृतिका लागि नियमित बैठक बस्ने, अनुसन्धानका लागि अनुदान दिने, अनुसन्धानको सीप सिकाउन नियमित तालिम दिने व्यवस्था गर्नेछु ।
स्वास्थ्य उपचारमा कमजोर बनेको प्रतिष्ठानको साख फर्काउन अब के गर्नुहुन्छ ?
दक्ष जनशक्तिलाई पलायन हुनबाट रोक्ने र जनशक्ति थप गरी यहाँ आउने बिरामीलाई यही उपचार गर्ने व्यवस्था गर्नेछु । विगतमा भएका कमजोरीलाई सुधार गरी बिरामीको सफल उपचार गर्ने र उपचार सेवा विस्तार गरी प्रतिष्ठानको साख फर्काउन लाग्नेछु ।
बीपी प्रतिष्ठानमा पर्याप्त चिकित्सक र उपकरण हुँदा पनि उपचारका लागि आउने बिरामीहरूलाई अन्य अस्पतालमा रेफर गरिन्छ किन ?
बीपी प्रतिष्ठानमा बिरामीको उपचार गर्न प्रतिष्ठान सक्षम छ । हामीले रेफर गर्नुभन्दा पनि अन्य अस्पतालले रेफर गरेका बिरामीहरूको उपचार गरिरहेका छौं । यदि यहाँका चिकित्सकहरूले यस्तो काम गरेको पाइए उनीहरूलाई कारबाही गरी नियन्त्रण गर्न लाग्नेछु । यहाँ उपचार सम्भव नभएको बिरामीहरूलाई मात्र अन्यत्र रेफर गर्ने गरिएको छ ।
बीपी प्रतिष्ठानमा सुत्केरी गराउन आउने गर्भवती महिलालाई भर्ना नलिएर अन्यत्र पठाउने गरिएको छ नि, किन ?
प्रतिष्ठानको प्रसूति वार्डमा बिरामीको चाप अत्यधिक छ । हामीले एउटा बेडमा दुई जनासम्म गर्भवती महिला राखेर उपचार गरिरहेका छौं । चाप थेग्न नसकेर केही बिरामीलाई अन्यत्र पठाएको साँचो हो । नयाँ एमसीएच भवन सञ्चालन भएपछि यसको समाधान हुनेछ ।
क्यान्सरजस्ता अन्य प्राणघातक रोगको उपचार विस्तारमा तपाईंको योजना के छ ?
हामीले प्रतिष्ठानको स्वास्थ्य सेवा विस्तारमा क्यान्सर, मिर्गौला प्रत्यारोपणलगायतका प्राणघातक रोगहरूको सेवा विस्तार गर्ने दीर्घकालीन योजना बनाएका छौं ।
बीपी प्रतिष्ठानमा धरानवासीलाई उपचारमा के–के सुविधा दिलाउनु हुन्छ ?
धरानवासीलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन नगर अस्पतालको खाँचो छ । त्यसका लागि छाताचोकमा रहेको प्रतिष्ठानको जग्गामा नगर अस्पताल बनाउन पहल गरी धरानवासीलाई स्वास्थ्य उपचारमा सुविधा प्रदान गर्नेछु ।
प्रतिष्ठानको रेडियोलोजी विभागबाट हुने एक्सरे, भिडियो एक्सरे, सिटीस्क्यान र एमआरआई सेवा लिन महिनौं कुर्नुपर्छ । यो सेवालाई तत्काल दिन के योजना बनाउनु भएको छ ?
प्रतिष्ठानको समस्या यो पनि हो । यो समस्या हल गर्न नयाँ उपकरण खरिद गर्न सरकारसँग बजेट मागेर हल गर्ने योजना बनाएको छु ।
सरकारी अस्पतालको सेवाप्रति जनस्तरमा अविश्वास छ, किन यस्तो भइरहेको छ ?
बीपी प्रतिष्ठानमा जनताको खासै अविश्वास देखिँदैन । बीपीको विश्वासले नै यहाँ बिरामीको चाप दैनिक बढिरहेको छ । यस्तो जनगुनासो आउन नदिन सरकारले पनि सरकारी अस्पताललाई आवश्यक सहयोग र उच्च निगरानीमा राख्न जरूरी छ ।
प्रतिष्ठानमा जागिर खाएर प्रतिष्ठानको अहित चाहने, काम नगर्ने चिकित्सक र कर्मचारीलाई के गर्नुहुन्छ ?
प्रतिष्ठान राम्रो बनाउने भनेको यहाँका चिकित्सक र कर्मचारीले नै हो । पहिले त सबैलाई इमान्दारिताका साथ काम गर्न अनुरोध गर्नेछु । प्रतिष्ठानमा रहेर नियमविपरीत काम गर्नेहरूलाई कानुनी दायरामा ल्याएर आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ ।
आर्थिक अवस्था कमजोर भएर प्रतिष्ठानमा उपचार गराउन आउने बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गर्नुहुन्छ ?
गरिबीका कारण उपचार नपाएर कसैको पनि ज्यान जानु हुँदैन । सरकारको पोलिसीअनुसार आर्थिक अवस्था कमजोर भएका बिरामीहरूको उपचारका लागि राहत प्रदान गरिनेछ ।
देशका विभिन्न मेडिकल कलेजहरूमा भर्खरै सरकारले एमबीबीएसलगायतमा सिटहरू बढाएको छ । तर प्रतिष्ठानजस्तो ठूलो संस्था जहाँ सबैभन्दा बढी चिकित्सक तथा संरचना छन्, यहाँ सिटहरू किन बढाइएनन् ?
यसमा सरकारले प्रतिष्ठानलाई अन्याय गरेकै हो । देशको सबैभन्दा ठूलो र सुविधा सम्पन्न बीपी प्रतिष्ठानलाई सिट संख्या नबढाउनुले मारमा परेका छौं । यसमा म सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु । आज मात्र मन्त्रीज्यूसँग कुरा पनि भएको छ । ३० सिट बढाइएको जानकारी दिनु भएको छ ।
आर्थिक रूपमा अप्ठ्यारो परिस्थितिमा रहेको प्रतिष्ठानको अहिलेको अवस्थालाई कसरी समाधान गर्ने योजना बनाउनुभएको छ ?
यहाँ हुन सक्ने भ्रष्टाचारको नियन्त्रण, सरकारले दिएको अनुदानको सदुपयोग, मितव्ययी संस्कारको विकास, दानदातव्यको आह्वान, विदेशी विद्यार्थीको कोटा बढाउने र आन्तरिक आयस्रोतको वृद्धि गरी समस्या समाधान गर्नेछु ।
- बीपी प्रतिष्ठानमा बिरामीको उपचार गर्न प्रतिष्ठान सक्षम छ । हामीले रेफर गर्नुभन्दा पनि अन्य अस्पतालले रेफर गरेका बिरामीहरूको उपचार गरिरहेका छौं।
- बीपीको चिकित्सा शिक्षा, अनुसन्धान र स्वास्थ्य सेवालाई समयसापेक्ष बनाउनेछु । शिक्षामा सुधार गर्नका लागि शिक्षाको कमजोर मनोबलमा सुधार गर्न जरूरी ठानेको छु।
- विगतमा भएका कमजोरीलाई सुधार गरी बिरामीको सफल उपचार गर्ने र उपचार सेवा विस्तार गरी प्रतिष्ठानको साख फर्काउन लाग्नेछु।
- हामीले प्रतिष्ठानको स्वास्थ्य सेवा विस्तारमा क्यान्सर, मिर्गौला प्रत्यारोपणलगायतका प्राणघातक रोगहरूको सेवा विस्तार गर्ने दीर्घकालीन योजना बनाएका छौं।
आर्थिक सम्भावना राम्रो रहेका क्षेत्रहरू जस्तै फार्मेसी, ल्याव, अपरेसन थिएटरहरूबाट हुन सक्ने आम्दानी बढाउन के कस्तो पहल गर्ने योजना छ ?
फार्मेसीलाई पूर्णरूपमा सञ्चालनमा ल्याइ बिरामीलाई आवश्यक औषधि प्रतिष्ठानमै उपलब्ध गराइनेछ । ल्यावलाई आधुनिकीकरण गरी सेवा विस्तार गर्ने र अप्रेसन गर्नुपर्ने बिरामीलाई तत्काल सेवा दिएर आन्तरिक आम्दानी बढाउने योजना छ ।
नयाँ एमसीएच भवनमा सेवा विस्तार कहिलेदेखि सुरु गर्ने सोच छ ?
प्रतिष्ठानमा गर्भवती महिला र बच्चाको उपचारलाई सहज बनाउन मातृ तथा शिशु स्याहार केन्द्र (एमसीएच) भवन निर्माण गरिएको हो । यो भवन निर्माण सम्पन्नका लागि अन्तिम चरणमा पुगेको छ । अब हामीले ४०० बेडको सेवा चाँडै नै विस्तार गरी थप सेवा सुचारु गर्नेछौं ।
बीपी प्रतिष्ठान भ्रष्टाचारले थलिएको छ, यसबाट कसरी उन्मुक्ति पाउला ?
विगतमा भएका आर्थिक अनियमितताका घटनाको अख्तियारले छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाएको सर्वविदितै छ । भ्रष्टाचारमा संलग्न व्यक्तिहरू कारबाहीका भागीदार पनि भइसकेका छन् । मेरो कार्यकालमा म आफू पनि भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि भ्रष्टाचार गर्न दिन्नँ । मेरो पाँचवर्षे कार्यकालमा बीपी प्रतिष्ठानलाई भ्रष्टाचार मुक्त बनाइ सुशासन कायम गराउने प्रतिबद्धता जनाउँछु ।
अन्त्यमा केही ?
म उपकुलपति बनेको काम गर्नलाई हो । म पदमा रहँदा र नरहँदा समेत इमान्दारीपूर्वक काम गर्नेछु । प्रतिष्ठानलाई राम्रो बनाउन म मात्र हैन हामी भएर सबैले इमान्दारीपूर्वक काम गर्न सबैलाई अनुरोध गर्छु ।
प्रतिक्रिया दिनुहोस !