कर्णाली प्रदेश स्थापना दिवस : प्रदेशको अवस्था बदल्नुपर्नेमा जोड
दैलेख : कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना तथा सहिद दिवस मनाएको छ। बुधबार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई प्रदेश प्रमुख, सभामुख, मुख्यमन्त्री, पूर्व मुख्यमन्त्री लगायतले सम्बोधन गरेका छन्।
कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले यहाँका जनताको त्याग र बलिदानबाट कर्णाली प्रदेशको जन्म भएको बताए। उनले प्रदेश स्थापनार्थ जीवन गुमाएका सहिदहरू सपना पुरा गर्न जनताको हित र अधिकार रक्षा हुनेगरी काम गर्न सरकारलाई आग्रह गरे। मुलुक संघीयतामा गएसँगै कर्णालीजस्ता पिछडिएका क्षेत्रको विकासमात्र नभई नागरिकको जीवनस्तरमाथि उठेको प्रदेश प्रमुख जोशीको दाबी छ।
‘अब कर्णालीले संघसँग केही दिएन भनेर गुनासो गरिरहनुपर्छ जस्तो लाग्दैन। हामीसँग भएको स्रोतसाधनको भरपुर उपयोग गर्ने क्षमता बढाऔँ,’उनले भने ।
मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको विकास र समृद्धिको यात्रामा कर्णालीवासीको सहकार्य अपरिहार्य रहेको बताए। कर्णाली अझै पनि भौगोलिक विकटता, पूर्वाधारको कमी स्वास्थ्य तथा शिक्षा सेवामा असमानता, रोजगारी अभाव जस्ता चुनौतीबिच उभिएको उनको भनाई छ । ‘यी चुनौतीलाई अवसरमा बदल्ने दृढ संकल्प हामीसँग छ। सुशासन र सामाजिक न्यायका आधारमा कर्णालीलाई विकास र समृद्धिको बाटोतर्फ अघि बढाउन प्रतिबद्ध छौँ। यस यात्रामा सरकार मात्र नभई सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज र सम्पूर्ण कर्णालीवासीको सक्रिय सहकार्य अपरिहार्य रहन्छ,’ मुख्यमन्त्री कँडेलले भने ।
विकास, समृद्धि र सामाजिक न्याययुक्त कर्णाली साझा गन्तव्य रहेको बताउँदै मुख्यमन्त्री कँडेलले कर्णालीवासीको संयुक्त प्रयास, एकता र दृढ इच्छाशक्ति गन्तव्यसम्म पुग्ने मार्ग भएको औँल्याए।
सभामुख नन्दा गुरुङले कर्णालीवासीको संघर्षबाट कान्छो भएर जन्मिएपनि प्रदेशको नामकरणमा कर्णालीले जेठो रूपमा स्थापित गरेको बताइन्। उनले संघीयता कार्यान्वयनपश्चात् सबै वर्ग जाति, भेग, क्षेत्रको उत्थानमा सहयोग पुगेको बताइन्।
प्रतिक्रिया दिनुहोस !