अनि उठ्यो ‘जुरुक्कै कर्नाली’
काठमाडौं : झर्यो टोपी भुइँमा हजुर निहुँरिँदा शिर
‘जदौ हजुर’ नामक ब्याण्डले अभिनयसहित प्रस्तुत गरेको यो गीतले सबैलाई भावुक बनायो । नेपाल प्रज्ञा प्रतिष्ठानको बृहद् सभाहलमा अटाइनअटाइ देखिएका दर्शकका आँखा रसाए । ५ महिना, ५ गते, ५ बार र ५ बजे आयोजना गरेको सिस्नोपानी नेपालको ‘जुरुक्क कर्नाली’ कार्यक्रममा लगत्तै अर्को गीत बज्यो, ‘... जुरुक्क उठ्छ कर्नाली...’, जसमा वरिष्ठ कलाकार मिथिला शर्मा लगायतका कलाकारले उस्तै अभिनय गरे, ‘मान्ठ हुँ म मान्ठ हुँ म मान्ठ जुर्मुराउँछ...।’
‘जुरुक्क कर्नाली’ कार्यक्रमको नारा थियो, ‘यता हेर्यो यतै स्वर्ग, उतै स्वर्ग जस्तो । कहिले लाग्ला कर्नालीलाई देशमै छु म जस्तो ।।’ प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यमा भएको सिस्नुपानीको यो कार्यक्रमले मन्त्रीहरू, सांसदहरू, नेतृत्वमा बस्नेहरू, नेताहरू, उच्चपदस्थ कर्मचारीहरू, सबै क्षेत्रबाट प्रतिनिधित्व गर्नेहरू, सातै प्रदेश र ७५३ वटै पालिकाबाट आउने बुद्धिजीविहरू आदि सबैलाई एकपटक सुदूर पश्चिममा रहेको ‘कर्नाली’बारे सोच्न बाध्य बनायो ।
‘देखेको कर्नाली के हो ? , खोजेको कर्नाली के हो ?’ भन्दै कार्यक्रम प्रस्तोताले बोलाए माधव चौलागाईंलाई । उनले कर्नालीको वृत्तान्त बताए ः आजको कर्नाली हिजोको कर्नाली होइन, बचेको अवशेषमात्र हो । रुख देखिन्छ जसरी जरा देखिँदैन, त्यसरी देखिन्छ नेपाल तर देखिँदैन कर्नाली । स्वर्ण युगबाट कर्नाली शून्य युगमा पुगेको छ तर त्यो शून्यअघि अंक थपिदिने कोही भएन । नेपालमा लोकतन्त्र आएपछि कर्नाली कोमाबाट आईसीयूमा सम्म आयो तर बेडमा अझै पुगेको छैन ।
गणतन्त्र आए पनि सिंहदरबारबाट कर्नाली छ्यांग देखिएको छैन । चौलागाईं लगातार बोलिरहेः जडिबुटी बेच्दाबेच्दै गरिब हुन्छौं हामी, ऊ हाम्रै जडिबुटी बेचेर धनी । ठूलो कर्नाली लुलो भएको छ । किनभने अर्बाैंको बजेको केवल ३ प्रतिशत बजेट सुँघ्न पाउँछ कर्नाली । किनभने बजेट पकाउने सरकारी भान्छामा छैनन् कर्नालीका मान्छे । किनभने हेरेर र सम्झेर मर्छन् स्वास्थ्यचौकी कर्नालीवासी । किनभने हात्तीजत्रो कर्नाली सिंहदरबारबाट हेर्दा मुसोजत्रो देखिन्छ । २२ हजार मेगावाटको सम्भावना भएको कर्नालीमा १७ मेगावाटमात्र बिजुली उत्पादन हुन्छ । नुनका, ऊनका र सुनका सम्म कथा छन्, के छैन कर्नालीमा ? स्टेजमा मित्रबहादुर जैसी आए र व्यंग्यात्मक प्रस्तुति दिए, ‘सदरमुकाम सुर्खेतमा राखिएको छ । तल सुर्खेतमै फाइल अडकएपछि माथि हुम्ला, जुम्ला, डोल्पाको विकास कसरी हुन्छ ? राजधानी सुर्खेतमा राखेर हुम्लालाई के फाइदा ?’ ‘कर्नालीलाई हुँदाहुँदा गुगलले समेत हेपेको छ, स्ट्रिट भ्यूले सारा नेपालको नयाँ दृश्य देखाउँदा कर्नालीको पुरानै छ’, उनले व्यंग्यसँगै सम्भावनाको ढोका पनि खोले, ‘विगत जे भए पनि अब कर्नालीका हरेक घर होमस्टे बनून्, हरेक डाँडा पर्यटकले भरियुन् ।’
कार्यक्रम प्रस्तोता सरोज घिमिरेले कारुणिक कुरा गरे, ‘कर्नालीका पुल अनि सडक हेर्दा विकासले पनि आधा बाटोमै बसेर चिया खाइरहेछ जस्तो लाग्ने ।’ उनले बोलाएपछि आए चक्र दवाडी ‘काम न काज’ लिएर । एआईसँग जिस्कन थालेपछि उताबाट मनोज गजुरेल एआई बनेर पर्दामा झुल्किए । साथमा मिसिएका रघु त्रिपाठीसमेतले कर्नालीका अनेक कुरा गरेर सयौं दर्शकलाई भरपूर व्यंग्यात्मक प्रस्तुति दिए । ‘कर्नाली छ, कर्नाली छैन’ शीर्षकको चोटिलो तर लामै कविता वाचन गरे अर्जुन पराजुलीले । शिशिर योगीले ‘कर्नाली पारी, छैन खेतबारी, रुखो छ टारी...’ बोलको गीतले सबैको ध्यान ताने ।
सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेले गोपालप्रसाद रिमालको कविताको शैलीमा कर्नालीको भोलिको सम्भावना देखाए । त्यसअघि नै सिस्नुपानीका धीरेन्द्र प्रेमर्षी र टंक आचार्यले कर्नालीको कहरबारेको कविता गाएरै सबैलाई मन्त्रमुग्ध पार्दै सोच्न बाध्य पारे । माओवादी नेता जनार्दन शर्मा प्रभाकरले समेत मयुर नाँचमा अभिनय गरे भने बबिता विष्टले कर्नालीबारेको गम्भीर गजल बाचन गरिन् ।
‘हामीले चलचित्रमा, पुस्तकमा, समाचारमा कर्नालीलाई भोको र गरिब देख्यौं । वास्तवमा कर्नाली सबैभन्दा समृद्ध रहेछ । भ्यूज र न्यूज चाहनेले कर्नालीको वैंश होइन, बिराम मात्र देख्दारहेछन् । देलेखमा तेल भेटिएको छ, हिल्सामा बाटो पुगेको छ, कर्नाली सम्पदैसम्पदाले भरिएको छ’, प्रस्तोता घिमिरेले जुरुक्क कर्नालीको बिट मार्दै भने, ‘दस दिनमा नपुगिने कर्नाली दुई दिनमा पुगिने भएको छ । जलस्रोतको खानी कर्नाली । कर्नालीको अन्नले विश्वकै बजार पाओस् । कर्नालीको बिजुलीले संसार उज्यालो होस् ।’
प्रतिक्रिया दिनुहोस !