तिज गीतले कोरेको समयको पदचाप
तिज पर्वको अवसरमा नारीहरू मिलेर गाइने गीत नै तिज गीत हो। भदौरे गीतको उपनामले चिनिने तिज गीत सामूहिक रूपमा गाइन्छ। आँगन, चौर, मन्दिर र चोकहरूमा भेला भई ताली पिटेर गाउने तिज गीतमा चेलीबेटीहरूका पीडा, आँसु, उत्पीडन र सुस्केराहरू भेटिन्छन्। कर्मघरको दुःखेसो र जन्मघरको सुखेसोमा तरंगित तिज गीतमा विशेषगरी नारीहरूका विलाप र क्रन्दन नै मुख्यरूपमा अभिव्यक्त भएको पाइन्छ।
एउटा समय थियो, त्यो समयमा नारीहरू विवाह गरेर गएपछि सासूको अधीनमा बस्नुपथ्र्यो। नन्दआमाजूका चित्त बुझाउन अनेक प्रयास गर्नुपथ्र्यो। दिनभरि घाँसदाउरा, चुलोचौको गर्नुपर्ने रातभरि सासू, नन्दआमाजूले ‘भयो’ नभनुन्जेलसम्म उहाँहरूलाई तेल लगाउनुपर्ने, त्यसपछि श्रीमान्को सेवा गर्नुपर्ने कहालीलाग्दो समय बिताएका नारीहरू नारीद्वारा नै उत्पीडनमा परेका थिए। कहिले त तेल लगाउँदा लगाउँदै उज्यालो हुन्थ्यो। आँखा झिमिक्क गर्न पाइन्नथ्यो। ओछ्यानमा नपुगी घरधन्दातिर लाग्नुपथ्र्यो। हरेक घरका नारीहरूको वास्तविकता यही थियो।
नारीका आवाज निर्धक्कसँग सुन्ने त्यस्तो कुनै ठाउँ थिएन। थियो त वर्षा ऋतुमा आउने एक पर्व– तिज। तिजमा नारीहरू माइत आए। बर्खे भेल बगे जसरी बगे। जसरी बर्खाको समयमा खोल्सोले खोलोको रूप लिएर किनारामा भेटिएका सबै कुरा बगाउँछ, त्यसरी नै नारीहरूले पनि आफूले घरमा भोगेका दुःख र वेदना माइतीमा आमा, दिदीबहिनी र साथीसमक्ष बगाए। सबै नारीका भोगाइ उस्तै थिए। पीडा उस्तै थिए। सबै उसैगरी दर्किए जसरी मेघ गर्जिएपछि आकाश अँध्यारो अनुहार लगाएर दर्किन्छ। नारीहरूले तिज पर्वमा मनमा भएका सबै उकुसमुकुस पोख्थे। माइतीघरमा जम्मा भएर कर्मघरमा आफूले भोगेका दुःखलाई गीतको भाकामा उनेर पर्व मनाउँथे। वर्षको एक दिन मनको घाउमा जम्मा भएको सबै पिप निचोर्थे र हलुका भएर जुन बाटो आउँथे उही बाटो फर्किन्थे।
शिक्षा र चेतनाको उज्यालो चाख्न नपाएका नारीहरू आफूलाई सासू र नन्दआमाजूले जस्तो व्यवहार गरे त्यस्तै व्यवहार बुहारीलाई गर्न थाले। समयको घट्टसँगै नारीहरूले नै नारीहरूलाई पिँधीरहे। यसरी पिँधे जसरी पितृसत्ताले निर्देशन गर्यो। पितृसत्ताले नारीको स्वतन्त्रता मन पराउँदैन। नारीकोे आवान सुन्न चाहँदैन। नारी नारीको मेलमिलापको चाहना राख्दैन। त्यही चाहनाअनुसार नारीहरू पुरुषसत्तालाई मलजल गरिरहे। आफ्नो अधिकार र कर्तव्यलाई उल्टो पारेर सिलाइरहे। माइतीमा नन्दआमाजू बनेर भाउजूबुहारीलाई सताइरहे। घरमा बुहारी बनेर किनारामा परे। फेरि सासू बनेर केन्द्रमा बसे र बुहारीलाई परिधिमा धकेले।
पहिले पहिले नारीले मात्र गाउने तिज गीत अहिले पुरुषले पनि गाउन थालेका छन्। केही गीतमा नारी र पुरुषको सहकार्य, सहयोग र सद्भाव देखिन्छ भने धेरैजसो गीतमा समाज परिवर्तनको स्वर मुखरित भएको पाइँदैन। नारीमनको भावना छैन। कुनै संवेदना छैन। छ त केवल अतिरञ्जित शब्दहरू। मनोरञ्जनमा मात्र सीमित गीतहरूले मौलिकपन गुमाएका छन्। तिजको वास्तविक रूप हराउँदै गएको छ। गाउँका आँगन, मन्दिर र चोकमा नारीहरू आवाज बन्द गरेर बजारिया गीत घन्काउँदै मनोरञ्जन लिन थालेका छन्। तिज पर्वको नाउँमा गीतमा व्यापार गर्नेहरूले तिजको मौलिकता मेटाएका छन्। पर्वको नाम बेचेर पैसा कमाउने धन्दामा लागेका छन्।
समय परिवर्तनसँगै नारीहरू शिक्षित हुन थाले। शिक्षित नारीका चेतना पहिलेभन्दा फरक हुन थाल्यो। केटाको अनुहार नचिन्दै विवाहमण्डपमा बस्ने चलन हराउँदै गयो। नारीहरू पुरुषसँगै घरबाहिर काममा निस्किन थाले। घरको आर्थिक भार आफैंले सम्हाल्न थाले। मन परेको मान्छेलाई अपनाउन थाले। मन नमिलेपछि आआफ्नो बाटो समातेर हिँड्न पनि थाले। यति हुँदा पनि पितृसत्ताले नारीको प्रगतिलाई सहजै स्वीकार गर्न सकिरहेको छैन। नारीका प्रतिभालाई देखावटी सम्मानको लेप लगाएको छ तर आत्मिक सम्मान दिन सकेको छैन। पुरुषमैत्री समाजले पहिले नारीलाई नारी नै प्रयोग गरेर अधीनस्थ गर्यो। अहिले नारी र पुरुष दुबैले नारीलाई गीत, विज्ञापन, मनोरञ्जनलगायतका विभिन्न बहानामा प्रयोग गरेर वस्तुकरण गरिरहेको छ। नारीको स्वर, शरीर र सौन्दर्यलाई बजारमा बेचिरहेको छ। नारीले निर्धक्क भएर मनको आवाज व्यक्त गर्न पाउने तिज पर्वमा समेत हस्तक्षेप गरेर नारीको स्वतन्त्रता हरण गरेको छ।
तिज पर्वमा गाइने गीतले नारीको वास्तविक अवस्थाको चित्रण गर्दछ। समय परिवर्तन भए, नभएको मापन गर्ने साधनको रूपमा पनि सो पर्वमा गाइने गीतलाई लिन सकिन्छ। गीत रचना गर्ने आधार समाज हो। समाजमा देखिएका चित्र र चरित्रलाई रचनाकारले कविता, कथा, गीतजस्ता विधाको माध्यमबाट बाहिर ल्याउँछन्। तिज पर्वलाई नारीकेन्द्रित पर्वको रूपमा लिइने हुनाले यस पर्वमा बजाइने गीतमा नारीका भोगाइलाई विशेष प्राथमिकता दिइन्छ। धेरैले तिज पर्वसँग सम्बन्धित रहेर गीत लेखेका छन्। धेरैले गाएका छन्।
तर श्रीमान्ले लेखेको गीत श्रीमती गाउने कुरा भने संयोगले मात्र जुराउँछ। सुन्दरमणि÷श्रीमान् र विष्णुमाझी÷सुन्दरमणिकी श्रीमतीले २०८१ सालमा बजारमा ल्याएको आइन् आमा ओई तिज गीतको सन्दर्भ र त्यस गीतको भाव बुझ्दा आज पनि नारीहरू उही पुरानै जीवनशैलीमा जीवन बिताउन बाध्य छन्। पुरुषले नारीलाई हेर्ने दृष्टिकोणमा कुनै पनि परिवर्तन आएको पाइँदैन। उक्त ‘आइन् आमा ओई’ बोलको गीतमा प्रस्तुत गरिएको विषयवस्तुले सो कुरालाई प्रस्ट पारेको छ।
जस्तै ः ‘आइन् आमा ओई यो तिजमा, एकै झल्को देख्न मन छ, तिम्रो आँगन टेक्न मन छ...’ प्रस्तुत गीतको ‘आइन् आमा ओई यो तिजमा’ ले समग्र गीतको भावलाई प्रतिनिधित्व गरेको छ। वर्षको एकचोटि जसरी पनि माइत पुग्ने नारीको अधिकार हनन् भएको कुरा व्यक्त भएको सन्दर्भले पुष्टि गरेको छ। विवाहित नारीका लागि विशेष मानिने तिज पर्वमा माइत जान नपाउँदा एकै झल्को भए पनि आमालाई देख्न मन भएको र माइतीको आँगनमा टेक्न मन भएको नारी मनको अनुभूतिलाई उक्त अन्तराले प्रस्ट पारेको छ।
विवाह संस्कारको चलनमा गरगहना देखाउने आधुनिकताले प्रवेश गरेको छ। मारे पाप पाले पुण्य भनेर छोरीलाई परपुरुषसँग साथ लगाएर पठाउने चलन परिवर्तन भएको छैन। विवाह गरेर पठाउने समयमा आज पनि आमाबुवाले छोरीलाई तिमीलाई सहज हुन्जेलसम्म बस्नू, असहज भएका माइतीको ढोका खुलै छ भनेर स्पष्ट भन्न सकेका छैनन्। छोरीहरूले पनि आफूले भोगेको पीडा माइतीमा बताउन सकेका छैनन्। बाबुआमाको इज्जत जान्छ भन्ने डरले जस्तोसुकै दुःख पाए पनि विवाहित छोरीहरू माइतीमा आएर बस्न सकेका छैनन् भन्ने कुरा सोही विष्णु माझीले गाएको आइन् आमा ओई बोलको तिज गीतमा यसरी प्रकट भएको छ ः ‘लाइछु खाइछु भोकी छैन, टाउको ठोकी रोकी छैन। तिम्रो वचन फाल्या छैन, ज्वाइँले सौता हाल्या छैन।’
प्रस्तुत गीतको अन्तरामा विवाहित नारीले आफूले श्रीमान्द्वारा पाएको दुःख आमालाई नबताएको प्रसंग छ। लाउन र खान नपाएको, टाउको ठोकी रोएको, आमाको वचन नफालेको, श्रीमान्ले सौता हालेको कुरालाई व्यंग्यात्मक रूपमा प्रस्तुत गर्दै विवाहित नारीले पराइघरमा भोगेको भोगाइलाई प्रस्ट पारिएको छ। ‘मेरो संसार यही मानिछु, जे सिकायौ त्यही मानिछु’ यस अन्तरामा पनि नारीहरू पराइघरको बन्धनबाट मुक्त हुन नसकेको विषय छ। यहाँ आफूभन्दा ठूलाले जे सिकायो त्यही कुरालाई सत्य ठान्नुपर्ने र त्यसलाई नै मान्नुपर्ने संस्कार हाबी भएको देखिन्छ। विवाहित नारीले पराइघरलाई संसार ठान्नुपर्ने संस्कारका कारण पुरुषहिंसा हुँदा पनि नारीले आवाजविहीन भएर बाँच्नुपर्ने पुरुषमैत्री समाजको यथार्थ चित्रण गरिएको छ।
नारीहरूले आज पनि पुरुषको दमन सहेर बस्नुपर्ने बाध्यता छ। नियम कानुन लेखिएका ठेलीमा नारीको अधिकार र स्वतन्त्रतालाई स्थान दिए पनि वास्तविक जीवनका केही अपवादबाहेक धेरै नारी उही परम्परावादी सोच र संस्कारका सिकार भएका छन्। आफ्नो रहरलाई बन्धकी बनाएर पराइघरको इसारामा चल्नुपर्ने बाध्यात्मक अवस्था र सो अवस्थालाई जोगाइराख्ने संस्कारका कारण नारीहरू दमित र शोषित भइरहेको कुरा विष्णु माझीले गाएको गीतले प्रस्ट पारेको छ। छोरीले जन्मथलो छोडेर पराइघर जानुपर्ने बाध्यता र त्यहाँ उनीहरूले भोगेका मानसिक र शारीरिक हिंसाको यथार्थ चित्रण प्रस्तुत गीतमा व्यक्त भएको पाइन्छ। नेपाली समाज पुरुषमैत्री र रुढिग्रस्त भएका कारण अधिकांश महिलाहरू शोषण र दमन भोग्न विवश थिए र अहिले पनि छन् भन्ने कुरा प्रकट भएको छ।
तिज पर्वले समाजमा नारीको अवस्था कस्तो छ भनेर अनुमान गर्न मद्दत गर्छ। तिजमा अहिले पहिलेजस्तो नारीका पीडित स्वरमात्र गुञ्जिँदैनन्। प्रतिरोधी चेतना पनि प्रस्तुत हुन थालेका छन्। प्रविधिको विकास भएसँगै नारीहरूले माइतीमा आफ्नो कुरा तिजमा मात्र व्यक्त नगरी जुनसुकै समयमा पनि बताउन सक्ने भएका छन्। सञ्चारमाध्यमले समाजको यथार्थलाई पलभरमै संसारभर पुर्याइरहेका छन्। नारीहरू पनि सचेत भएका छन्। तर विडम्बना आज शिक्षित र सचेत नारीहरू नै पुरुष हिंसाका परेका छन्। आजको समाज पनि पुरानै परम्परावादी समाजको यथार्थ बोकेर बाँचिरहेको छ। विष्णुले गाएको गीत उनकै श्रीमान् सुन्दरमणिले रचना गरेका हुन्। सुन्दरमणिहरू नारीलाई गीतमा प्रयोग गरिएका शब्दकै संसारमा देख्न चाहन्छन्।
आफ्नो इसारामा नचाउन चाहन्छन्। त्यसो नहुँदो हो त माझीहरूले गाउने हरेक तिज गीतमा किन नारीका पीडा मात्र सुनिन्छन्। के ती मणिहरूले नारीलाई सशक्त बनाएर प्रस्तुत गर्न सक्दैनन् ? कथा, कविता, गीतलगायत कुनै पनि रचना समाजको ऐना हो र समाजलाई सही गन्तव्यतर्फ लैजान प्ररित गर्ने माध्यम पनि होे। हिजोको जस्तो रुढिवादी र परम्परावादी समाजको परिकल्पना आजका पुस्ताले चाहँदैनन्। राम्रा संस्कार स्थापित हुनुपर्छ र नराम्रा संस्कार विस्थापित हुँदै जानुपर्छ। यसर्थ सुन्दर समाजको परिकल्पना गरौं। नारी र पुरुष मानव सृष्टि जोगाउने आधार हुन्। दुबै मिले घर बन्छ, परिवार बन्छ, समाज बन्छ अनि समग्र देश बन्छ। त्यसैले बन्ने कुरामा समर्थन गरौं। भत्कने कुरालाई बिर्सिंदै जाऔं।
प्रतिक्रिया दिनुहोस !