को बने मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन–२ को विजेता ?
पाटन : मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन–२ को विजेता घोषणा भएको छ। इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित ग्राण्ड फिनालेबाट मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ, मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ घोषणा भएको हो।
विजेताले जनही रु एक करोड नगद पुरस्कारसहित रु २५ लाख बराबरको जीवन बिमा, हवाई टिकटका साथमा विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।
मेरो डान्स युनिभर्सको फस्ट रनरअप भई अमृता राईले रु २५ लाख नगदसहित सिटिजन्स लाइफबाट रु २० लाख बराबरको जीवन बिमा प्राप्त गरिन्।
सेकेन्ड रनरअप भई सीतु महर्जनले रु १० लाखसहित रु १५ लाखबराबरको जीवन बिमा प्राप्त गरिन् । थर्ड रनरअप सुरज सिंजाली मगरले रु छ लाख नगदसहित रु १० लाखबराबरको जीवन बिमा तथा फोर्थ रनरअप सुशना कोइरालाले रु पाँच लाख नगद, रु १० लाखबराबरको जीवन बिमा प्राप्त गरे।
फिप्थ रनरअफ साजन पाख्रिन तामाङले नगद रु चार लाख र रु १० लाखबराबरको जीवन बिमा प्राप्त गरे।
यसैगरी मेरो भ्वाइस युनिभर्सको फस्ट रनरअप भई टोपराज तामाङले रु २५ लाख नगदसहित रु २० लाख बराबरको जीवन बिमा तथा सेकेन्ड रनरअप जुनु प्रसाईँले रु १० लाख र १५ लाख बराबरको जीवन बिमा प्राप्त गरे। थर्ड रनरअप वाङ्गे गुरुङले रु छ लाख र सिटिजन्स लाइफबाट रु १० लाखबराबरको जीवन बिमा, फोर्थ रनरअप प्रशान्त पोखरेलले रु पाँच लाख नगद, रु १० लाखबराबरको बिमा तथा फिप्थ रनरअप दीपराज राईले नगद रु चार लाख तथा सिटिजन्स लाइफबाट रु १० लाखबराबरको बिमा प्राप्त गरे ।
कल्चरल ग्रुप डान्स प्रतिस्पर्धामा भुटनिज रेफुजी डान्स ग्रुपले विजेता भई रु २५ लाख र गिफ्ट ह्याम्पर प्राप्त गरेको छ भने फस्ट रनरअप कल्चरल ग्रुप डान्समा मनास्लु वर्ड कलेजले रु १५ लाख प्राप्त गरेको छ ।
त्यसैगरी, युमा महारानी नृत्य समूह सेकेन्ड रनरअप हुन सफल भइ रु १० लाख प्राप्त गरेको छ । थर्ड रनरअप भएर नेपाल प्रहरीले रु पाँच लाख प्राप्त गरेको छ भने सामूहिक नृत्यतर्फ तरेली सांस्कृतिक ग्रुपले फोर्थ अनरअप भई रु तीन लाख पुरस्कार प्राप्त गरेको छ ।
विजेतालाई सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायतले पुरस्कार तथा ट्रफी प्रदान गरे।
प्रतिक्रिया दिनुहोस !