आमा गुमाएको दुई दिनको शिशु : काख त छ, तर ममता छैन
मुगु : बुधबार बिहान ११ बजे घरमै सुत्केरी भएकी सोरु गाउँपालिका–८, रुमा गाउँकी ३४ वर्षीया सुनिता बुढाले छोरा जन्माइन्। शिशुको पहिलो रुवाइसँगै घरमा शोकको रुवाबासी मिसियो। नवजातले आमाको दूध चुस्ने मौका पाउनुअघि नै आमाको प्राण गयो। जीवनको प्रारम्भका दिनहरूमा उसले बाबु र परिवारको काख त पाउला, तर आमाको मायालु स्पर्श कहिल्यै पाउने छैन।
सुनिताले घरमै छोरा जन्माएपछि सालनाल नझरेका कारण उनलाई तत्कालै उपचारका लागि एक घण्टा टाढा रहेको सीप प्रसूति केन्द्र लगिएको थियो। अत्यधिक रक्तस्राव सुरु भएपछि केन्द्रले थप उपचारका लागि जिल्ला अस्पताल पठाउन सिफारिस गर्यो। राति १० बजे मात्र जिल्ला अस्पताल पुगेकी सुनिताको अवस्था गम्भीर बन्दै गयो। अन्ततः बिहीबार दिउँसो ३ बजे उपचारकै क्रममा उनको मृत्यु भयो। यससँगै दुई दिनको शिशुले आमाको दूध चाख्न नपाई अरूको काखमा हुर्कनुपर्ने बाध्यताको सिकार हुनुपर्यो।
आमा गुमाएका शिशुका बुबा लालबहादुर रावल गाउँकै कुल देवताको धामी हुन्। धामी भएकै कारण उनी गाउँबाहिरको खोला पार गरेर अन्यत्र जान नमिल्ने धार्मिक मान्यता छ। यस्तो बाध्यताबीच घरमा अब १२ वर्षको दाजु, ९ वर्षकी दिदी, वृद्ध बाजे–बज्यै र आमाको दूध नचाख्दै आमाविहीन बनेका नवजात शिशुमात्रै बाँकी छन्।
६० वर्षीय नन्दसिंह रावल (शिशुका हजुरबुवा) ले नातिलाई काखमा च्याप्दै बुहारीलाई उपचारका लागि जिल्ला अस्पताल पु¥याएका थिए। अस्पताल पुग्दा उनले ठूलो आशा बोकेका थिए, ‘बुहारी बाँच्छिन्, नातिले आमाको माया पाउँछ।’ उनको त्यो आशा चकनाचुर भयो र घर फर्कंदा उनको काँधमा बुहारीको शव र हातमा दुई दिनको नाति मात्रै थियो।
अब परिवारले सबैभन्दा गम्भीर प्रश्नको सामना गर्नुपर्नेछ, ‘आमाको माया र दूध नपाएको यो शिशुको पालन–पोषण कसरी गर्ने ? ’ वृद्ध बाजे–बज्यैको उमेर, धामी बुबाको धार्मिक बन्धन र घरको आर्थिक अवस्था सबै चुनौती बनेका छन्। यो एउटा परिवारको मात्र पीडा होइन, स्वास्थ्यमाथिको पहुँचको अभाव र सामाजिक संरचनाले सिर्जना गरेको साझा पीडा हो। जसको घाउ नवजात शिशुले जीवनभर बोकेर हिँड्नुपर्ने सोही वडाका पूर्ववडाध्यक्ष जनक रावलले बताए।
मृतक सुनिताकी आफन्त हाँसादेवी रावलका अनुसार जन्मेदेखि नै आमाको दूध नचाखेको शिशुलाई अहिले उनकी फुपूले काखमा च्यापेर दूध चुसाएकी छिन्। आफ्नै दुई वर्षको बच्चालाईसमेत पर्याप्त दूध पुग्न नसकेको अवस्थामा उनले भतिजोलाई समेत कसरी दूध पुर्याउने भन्ने चिन्ता उस्तै छ। ‘आमाको अभावले जन्मजातै असहाय बनेको शिशुको भविष्य यतिबेला अनिश्चितताको अन्धकारमा धकेलिएको छ’, हाँसाले दुःख पोखिन्।
बुधबार राति १० बजे अस्पताल पुगेकी सुनितालाई चिकित्सकहरूले परीक्षण गर्दा उनको शरीरमा अत्यधिक रक्तस्रावले गर्दा जम्मा दुई प्वाइन्ट मात्र रगत बाँकी रहेको देखियो। जीवन बचाउन तत्कालै रगत चढाउनै पर्ने अवस्था थियो। जिल्ला अस्पतालमा ब्लड बैंक थिएन। बाध्य भई चिकित्सकले सामाजिक सञ्जालमार्फत रगत माग्दा पाँच जना युवाले अग्रसर भएर रगत दिन सहमति जनाए। आवश्यक रगतको व्यवस्था भएलगत्तै चिकित्सकले उनलाई बचाउन भरमग्दुर प्रयास गरे।
अवस्था झन् जटिल हुँदै गयो। थप उपचारका लागि हेलिकप्टरमार्फत सुविधा सम्पन्न अस्पताल लैजाने तयारी भइरहेकै बेला उनको जीवनको दियो निभ्यो। आमा बन्ने खुसीसँगै संघर्ष गरिरहेकी ३४ वर्षीया सुनिता अन्ततः जीवनसँगै हारिन्। उनको निधनसँगै आमाको दूध चाख्न नपाएका दुई दिनको शिशु सधैंका लागि आमाबिहीन भए।
प्रतिक्रिया दिनुहोस !