जसका लागि पहिलो महिनावारी बन्यो ‘उत्सव’
दैलेख : महिनावारी प्राकृतिक र नियमित प्रक्रिया हो, सृष्टिलाई निरन्तरता दिने पवित्र प्रक्रिया हो । तर कर्णाली र सुदूरका गाउँबस्तीमा महिनावारीबारे गलत मान्यता स्थापित छ ।
धार्मिक अन्धविश्वासकै कारण महिला तथा किशोरीहरू महिनावारीका बेला घरभित्र पस्नसम्म पाउँदैनन् । देवता रिसाउने, अनर्थ हुने अन्धविश्वासले महिनावारीको अवधिसम्म महिला तथा किशोरीहरू घरदेखि टाढा अलग्गै असुरक्षित स्थानमा रात कटाउन बाध्य छन् । यो अवधिमा बस्नका लागि बनाइएका स्थान जीर्ण, साँघुरो, अँध्यारो र जोखिमयुक्त हुन्छ ।
जहाँ जंगली तथा पाल्तु जनावर, सर्प, किराको जोखिम उच्च हुन्छ । अनि अकालमै ज्यान गुमाउन बाध्य भइरहेका छन् महिला तथा किशोरी । यसको पछिल्लो उदाहरण हो, अछामको घटना । अछामको पञ्चदेवल विनायक नगरपालिका–८ बरालाको सेरापानीस्थित चुरेखोली टोलमा महिनावारी बार्न त्रिपालमा बसेकी एक महिला र एक बालिकाको ढुंगाले लागेर मृत्यु भएको थियो ।
पहिलोपटक महिनावारी हुँदा त किशोरीहरूले कष्टकर दैनिकी बिताउन बाध्य हुन्छन् । पहिलोपटकको महिनावारी हुँदा ‘घरका बुबा, दाजुभाइसहित कुनै पनि पुरुषले देख्नुहुन्न’ भन्ने परम्परागत मान्यता छ । अप्रत्यासित रूपमा महिनावारी हुँदा किशोरीहरूमा मनमा भय उत्पन्न हुन्छ, सोही समयमा एकान्तमा बस्न बाध्य हुन्छन् । तर, केही घरपरिवारले यस्ता मान्यताहरूलाई चिर्दै आएका छन् । अनि सामाजिक रूपमा उदाहरणीय बनेका छन् ।
त्यसमध्येकी एक हुन्, १२ वर्षीया स्मारिका बुढा । वीरेन्द्रनगर सुर्खेतमा बस्दै आएकी स्मारिका कक्षा ६ मा अध्ययनरत छिन् । उनी शनिबार पहिलोपटक महिनावारी भइन् । उनको पहिलो महिनावारीमा परिवारले उत्सव मनाए । स्मारिकाकी आमा मनीषा ओली सामाजिक कार्यमा सक्रिय छिन् । मनीषाले छोरी पहिलोपटक महिनावारी भएपछि उत्सव मनाउने निधो गरिन् । घरका बुबा, दाजुभाइलगायत कोही पनि पुरुषहरूले देख्नुहुँदैन भन्ने मान्यतालाई चुनौती दिँदै स्मारिकाको पहिलो महिनावारी उत्सव बन्यो ।
सो अवसरमा स्मारिकाका हजुरबुबा गुराँस गाउँपालिका–६ पिलाडीका ६२ वर्षीय रतिमान ओलीसहितको परिवारले उत्सव मनाए । महत्वपूर्ण त के हो भने, रतिमान कुल देवताका पुजारी हुन् । पूजारीले नै पहिलो महिनावारी भएकी नातिनीलाई टीका लगाउने बनाउन छोरी मनीषाले मानसिक रूपमा तयार पारिन् । मनीषा भन्छिन् ‘छोरी स्मारिकाको पहिलो महिनावारी हुँदा बुबालाई नै बोलाउँछु भन्ने सोचेकी थिएँ, महिनावारी प्राकृतिक कुरा हो, विभेद गर्नुहुन्न भनेर पहिले नै बुझाएकी थिएँ, बुबालाई बोलाएँ आउनुभयो अनि खुसीसाथ टीका लगाइदिनुभयो ।’
स्मारिका महिनावारी भएको पहिलो दिन शनिबार आफ्नै घरमा आयोजना गरेको उत्सव जन्मदिन मनाए जस्तै उत्साहपूर्ण वन्यो । स्मारिकाकी आमा मनीषाले निम्तो स्विकारेर टोलछिमेकका आफ्नत र शुभ चिन्तकहरूसमेत पुगेका थिए । सामाजिक चेतनाका निम्ति छोरीको पहिलो महिनावारी उत्सव मनाएको मनीषा बताउँछिन् । मनीषा सोसेक नेपालमा सशक्त महिला समृद्ध नेपाल परियोजनामा फिल्ड अधिकृत पदमा कार्यरत छिन् । मनीषाका श्रीमान् नेपाल प्रहरीमा कार्यरत छन् ।
मर्यादित महिनावारी अभियानको संस्थापक तथा अभियन्ता डा. राधा पौडेल भन्छिन् ‘हरेक महिनवारी उत्सव हो, महिनावारी हुनेहरू मान्छे भएर बाँच्न पाउने उनीहरूको मानवअधिकार तथा संवैधानिक अधिकार हो, महिनावारी गर्व, शक्ति, सृष्टि र निरोगिताको प्रमाण हो ।’ कर्णाली जस्तो विकट ठाउँमा कुल देवताका पुजारी बाजेले नै नातिनीको पहिलो महिनावारीमा टीका लगाइ उत्सव मनाउनुले समाजमा सकारात्मक सन्देश गएको डा. पौडेल बताउँछिन् ।
प्रतिक्रिया दिनुहोस !