सिनेमामा कृत्रिम बुद्धिमत्ता
सिनेमा केवल एक दृश्य माध्यम होइन । यो समय, समाज र सम्भावनाको ऐना हो । मानव सभ्यताको विकासक्रममा हाम्रा सपना, डर, कल्पना र विज्ञानले जुन रूप लिएका छन्, तिनीहरू धेरैजसो चलचित्रमै पहिले देखिएका छन् । तपाईंले चन्द्रमामा यात्रा गर्नुअघि, सिनेमा चन्द्रमामा पुगिसकेको थियो । तपाईंले रोबोटिक प्रेम, आर्टिफिसियल इन्टेलिजेन्स, भर्चुअल जीवनको अनुभव समाजमा पाउनुअघि, चलचित्रले त्यो सबै देखाइसकेको थियो ।
चलचित्र केवल वर्तमानको प्रतिविम्ब होइन, सम्भावित भविष्यको अन्तरदृष्टि हो। सिनेमाले भविष्य देख्छ, समाज त्यो पछ्याउँछ।
समाजको दर्पण, कल्पनाको पंख
सिनेमा केवल आजको कथा भन्ने माध्यम होइन । यो भविष्यको खाका तयार गर्ने माध्यम हो । यो समयभन्दा एक कदम अगाडि सधैं रहन्छ । इतिहासले सिनेमा मात्र मनोरञ्जन नभएर सशक्त कूटनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक र मनोवैज्ञानिक शक्ति भएको प्रमाण दिएको छ । नेपालको सन्दर्भमा, अहिलेको समय चलचित्र, कला र प्रविधिको अन्तरसम्बन्धमाथि पुनर्विचार गर्ने महŒवपूर्ण घडी हो । हाम्रो सिनेमा एउटा यस्तो मोडमा छ, जहाँ यसले विश्व प्रविधिको तालमेल गर्दै राष्ट्रिय चेतनाको आधार बन्ने क्षमता राख्छ । यो लेखमा हामी सिनेमा र एआईको सम्बन्ध, सिनेमा इतिहास, समाजमा यसको गहिरो प्रभाव र नेपाली सन्दर्भमा यसको सम्भाव्य भविष्यलाई विश्लेषण गर्नेछौं ।
सिनेमाको ऐतिहासिक यात्रा : युरोपदेखि काठमाडौंसम्म
सिनेमा सन् १८९५ मा ल्युमियर ब्रदर्सको ‘ट्रेन अराइभ्स एट अ स्टेसन’ नामक मूक चलचित्रबाट सुरु भएको हो । प्रारम्भमा एक मिनेटका दृश्यहरूले लाखौं मानिसलाई चकित पार्थे । त्यो समय यथार्थको प्रक्षेपण नै सबैभन्दा ठूलो चमत्कार थियो । त्यसपछि ध्वनि, रंग, कथा, चरित्र, सम्पादन र अन्तत: डिजिटल प्रविधिहरूले सिनेमालाई भौतिक माध्यमबाट संवेदनशील, दार्शनिक र प्रविधिमैत्री बनायो । आज हलिउड, युरोपेली सिनेमा घरहरू, जापान, दक्षिण कोरिया, इरान, भारत र अफ्रिकाका केही राष्ट्रहरूले चलचित्रको माध्यमबाट सांस्कृतिक परिचयमात्र होइन, आर्थिक समृद्धि र राजनीतिक प्रभावसमेत फैलाएका छन् । नेपालमा सिनेमा ‘हरिश्चन्द्र’ १९५१ सालदेखि सुरु भए तापनि व्यावसायिक र प्राविधिकरूपमा ‘मनको बाँध’ २०३० सालपछि मात्र सशक्त कथावाचन देखिन्छ । ‘कोसली’ भाषाको प्रयोग, ‘मास’ बनाम ‘क्लास’ सिनेमा, ‘दशक क्रान्ति’ (२०६०–२०७०) का नयाँ निर्देशकहरूको आगमनले नेपाली सिनेमा विविध प्रयोगको प्रयोगशाला बन्न थालेको छ ।
आज हामी एआई, मेटाभर्स, न्युरोइन्फरफेस, क्लोनिङजस्ता विषयहरूमा अध्ययन गर्दैछौं, तर चलचित्रले यी विषयहरू धेरै पहिलेदेखि कल्पना गरिसकेको छ। नेपालले सिनेमालाई केवल सांस्कृतिक प्रतिनिधित्वको माध्यम होइन, रणनीतिक, आर्थिक र प्रविधिमैत्री विकासको हतियारको रूपमा बुझ्न आवश्यक छ।
चलचित्र : एक नरम कूटनीतिक शक्ति
सिनेमा मुलुकको ‘सांस्कृतिक दूत’ हो । कोरियाको ‘के–पप’ र ‘के–ड्रामा’, भारतको ‘बलिउड’, अमेरिका र फ्रान्सको क्लासिक सिनेमाले मुलुकको सांस्कृतिक सौन्दर्यलाई विश्वसामु राखेका छन् । यस्ता चलचित्रहरूले केवल सांस्कृतिक सम्प्रेषणमात्र गर्दैनन्, राजनीतिक दृष्टिकोण र राष्ट्रको नरम छवि निर्माणमा योगदान पुर्याउँछन् ।
नेपालले पनि यो सम्भावना बोकेको छ । ‘सेतो सूर्य’, ‘हाइवे’, ‘कागबेनी’, ‘साम्बाला, भुठान, हल्कारा, गाउँ आएको बाटो, झोलाजस्ता चलचित्रले नेपाली समाजको गहिरो यथार्थलाई प्रस्तुत गरेका छन् । चलचित्रले प्राय: भू–राजनीति, संघर्ष, जातीय विविधता, लैंगिक असमानता, मानवीय समबेदना र धर्म–संस्कृतिको संवेदनशीलतालाई अन्तर्राष्ट्रिय मञ्चमा ल्याउने अवसर दिन्छ । यस्तो दृश्यात्मक प्रस्तुतीकरण कूटनीतिक सन्देश जत्तिकै प्रभावशाली हुन्छ ।
सिनेमाको भविष्यदृष्टि : चन्द्रयात्रादेखि एआईसम्म
सन् १९०२ मा जर्ज मेलिएसले बनाएको चलचित्र ‘अ ट्रिप टु द मुन’ मा मानिस चन्द्रमामा पुगेको देखाइयो । त्यसको लगभग ६७ वर्षपछि मात्र नासाले चन्द्रमामा मानिस पठायो । यो उदाहरणमात्र होइन, चलचित्रले आर्टिफिसियल इन्टेलिजेन्स, क्लोनिङ, साइबरस्पेस, मेटाभर्स, ट्रान्सह्युमानिज्म— सबै समाजमा प्रवेश गर्नुअघि कलात्मक प्रयोगमार्फत प्रस्तुत गरिसकेको छ । हामीले जसलाई प्रविधिको भविष्य भन्छौं, त्यो भविष्य सिनेमाभित्र दशकौं अघिदेखि चलिरहेको हुन्छ । यसकारण, सिनेमा भविष्यको पहिलो स्केच हो— जहाँ समाज केवल अनुकरणकर्ता हो ।
कृत्रिम बुद्धिमत्ता र चलचित्रको सहकार्य : सम्भावनाको अर्को संसार
कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रयोग चलचित्र क्षेत्रमा केवल प्रभाव पार्ने सीजीआई वा फेस स्व्यापिङमा मात्र सीमित छैन । अहिले स्क्रिप्ट लेखनमा प्रयोग हुने च्याट जीपीटी–४ जस्ता मोडेलहरू कथानक संरचना, पात्र विकास, संवाद निर्माणमा प्रयोग भइरहेका छन् । एआईको सहायताले प्रि–भिजुलाइजेसन, लोकेसन प्लानिङ, मल्टी क्यामेरा सम्पादन, भाषा रूपान्तरण, उपशीर्षक अनुवाद, दृश्य संशोधनजस्ता कुरामा क्रान्ति आएको छ । एआईमा आधारित भ्वाइस क्लोनिङ, स्क्रिप्ट एनालाइसिस र मार्केट ट्रेन्ड पूर्वानुमानसमेत सम्भव छन् । नेपालमा एआईको प्रयोग अझै प्राथमिक चरणमा भए तापनि केही स्वतन्त्र निर्माताहरूले भिडियो सम्पादनमा एआई टुलहरू प्रयोग गर्न थालेका छन् । स्वतन्त्र वेब सिरिज निर्माण, युट्युब र छोटो फिल्महरूले पनि टेक्नोलोजीलाई अँगाल्न थालेका छन् ।
फेसन, व्यवहार, समाज र सिनेमा
चलचित्रले समाजको फेसन, शैली र व्यवहार निर्माण गर्छ । युवाहरूको हेयर स्टाइलदेखि भाषा र आनीबानीसम्म चलचित्रले भारी प्रभाव पार्छ । ‘राजेश हमाल स्टाइल’, ‘आर्यन सिग्देल हेयरकट’, ‘अनमोल केसी फेसन’, विपिन कार्की र सौगात मल्लको क्यारेक्टरजस्ता सांस्कृतिक ट्रेन्ड नेपालमा चलेका उदाहरण हुन् । राजनीतिमा चलचित्रले चुनावी नारा, जनचेतना फैलाउने सशक्त माध्यमको रूपमा प्रयोग भइसकेको छ । कुनै विषयमा फिल्म बनेपछि त्यो विषय जनमानसको चेतनामा छिर्छ । त्यसले समाजमा बहस र विचार ल्याउँछ ।
नेपाली चलचित्र उद्योगको वर्तमान र चुनौतीहरू
हाल नेपाली सिनेमा व्यावसायिक रूपमा १०० करोड वार्षिक ‘टर्नओभर’को आसपास छ । तर उत्पादन लागत, बजार पूर्वाधार, डिजिटल वितरण, लगानी, गुणस्तर र अन्तर्राष्ट्रिय मान्यताका हिसाबले अझै पनि सुधारको खाँचो छ । कतिपय क्षेत्रीय सिनेमाहरू (मगर, थारू, नेवार, लिम्बू भाषामा निर्मित चलचित्र) हराइरहेका छन्, तिनलाई संरक्षण आवश्यक छ । फिल्म शिक्षा संस्थानहरूको संख्या थोरै छ, प्रविधिमैत्री दक्ष जनशक्ति अभाव छ । राज्य नीति, चलचित्र विधेयक र सेन्सर प्रणाली अझै सुधार आवश्यक छन् । पायरेटसी, सीमित थिएटरहरू, दर्शक वर्गको अविश्वास— यी सबै समस्या दीर्घकालीन सुधार आवश्यक रहेको संकेत हुन् ।
एआई, समाज र नेपाली सन्दर्भमा अनुसन्धानको आवश्यकता
नेपालमा स्थानीय भाषामा काम गर्ने एआई उपकरणहरूको विकास अत्यावश्यक छ । चलचित्रले नेपाली समाजको विविधता (भाषा, जाति, वर्ग, भूगोल) समेट्नुपर्ने आवश्यकता छ र त्यस्तो दृश्य निर्माणमा डेटा एनालिटिक्स, मेसिन लर्निङजस्ता उपकरणको भूमिका महŒवपूर्ण हुन सक्छ । शैक्षिक संस्थाहरूले सिनेमा टेक प्रविधिमा आधारित पाठ्यक्रम विकास गर्नुपर्छ । फिल्म अध्ययन, एआई र सामाजिक अनुसन्धानबीच सहकार्य गरिएमा नयाँ विचार र दृष्टिकोण विकसित हुनसक्छ ।
नयाँ ढोका : सहकार्य, लगानी र अन्तर्राष्ट्रियकरण
सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय संस्थाबीच सहकार्यको आवश्यकता छ । नेपाल फिल्म डेभलपमेन्ट बोर्डले प्रविधि हस्तान्तरण, सहनिर्माण सम्झौता, विदेशी लगानी भिœयाउने रणनीति बनाउन सक्छ । ‘नेपाली सिनेमा टेक हब’जस्ता संस्थागत विकास गर्न सकिए, एआई फिल्म ल्याब, स्टार्टअप इनक्युबेटर, स्क्रिप्ट राइटिङ च्यालेन्जहरू आयोजना गर्न सकिन्छ । यसले युवा पुस्तालाई आकर्षित गर्नेछ ।
निष्कर्ष : भविष्य सधैं चलचित्रमा पहिले आउँछ
चलचित्र केवल वर्तमानको प्रतिविम्ब होइन, सम्भावित भविष्यको अन्तरदृष्टि हो । सिनेमाले भविष्य देख्छ, समाज त्यो पछ्याउँछ । आज हामी एआई, मेटाभर्स, न्युरोइन्फरफेस, क्लोनिङजस्ता विषयहरूमा अध्ययन गर्दैछौं, तर चलचित्रले यी विषयहरू धेरै पहिलेदेखि कल्पना गरिसकेको छ । नेपालले सिनेमालाई केवल सांस्कृतिक प्रतिनिधित्वको माध्यम होइन, रणनीतिक, आर्थिक र प्रविधिमैत्री विकासको हतियारको रूपमा बुझ्न आवश्यक छ ।
नेपालको सिनेमाले यदि अनुसन्धान, सहकार्य, नवीनता र साहसका साथ अघि बढ्न सकेमा, सिनेमा समाजको केवल ऐना होइन, त्यसको नक्सा बन्नेछ ।
प्रतिक्रिया दिनुहोस !