व्यवसायीको गिरेको मनोबल, राहत र लगानीको वातावरण आवश्यक

व्यवसायीको गिरेको मनोबल, राहत र लगानीको वातावरण आवश्यक

काठमाडौं : कोभिड महामारीपछि थलिएको अर्थतन्त्र चलायमान हुँदै थियो । जेन–जी आन्दोलनका क्रममा भएको घुसपैठले व्यापारिक प्रतिष्ठान, उद्योग–कलकारखाना र होटल व्यवसायमा तोडफोड र आगजनी भयो । यसबाट व्यवसायीको मनोबल गिरेको छ । त्यसैकारण नयाँ बनेको अन्तरिम सरकारले अर्थतन्त्र सुधार्न के गर्नुपर्छ ?   उद्यमी, व्यवसायी र आर्थिक क्षेत्रका जानकारहरूका भनाइ जस्ताको तस्तै । 

भ्रष्टलाई तत्काल कारबाही गर्नुपर्छ 

रामेश्वर खनाल, पूर्वअर्थसचिव
नयाँ  सरकारको पहिलो प्राथमिकता राजनीतिक परिवर्तनलाई व्यवस्थापन गर्ने हुनुपर्छ ।  त्यसपछि, दोस्रो प्राथमिकता लगानीकर्ताहरूलाई विश्वास दिलाउनु हो । जसमा निजी  सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नुपर्छ । यदि निजी सम्पत्तिमा गलत तत्वहरूले क्षति  पुर्‍याएका छन् भने, उनीहरूमाथि कारबाही हुनुपर्छ । राजनीतिक व्यवस्थापन,  लगानीकर्तामा विश्वास र निजी सम्पत्ति सुरक्षा दिने काम तत्काल कार्यान्वयन हुनुपर्छ  । 

यसपछि, भ्रष्टाचार विरुद्धको आन्दोलन केवल गफमा सीमित नभई यथार्थमा  भ्रष्ट व्यक्तिहरूलाई कारबाही हुनुपर्छ । अब भ्रष्टाचार सहनुहुँदैन । यति भएमा देश  बन्ने प्रक्रिया सुरु हुन्छ र कम्तीमा पनि एउटा भरोसा जाग्छ । किनभने देश बन्न  समय लाग्ने भए पनि, अहिलेको काम नै भरोसा जगाउनु हो । अहिले जे भयो, अब  त्यसलाई सुधार गर्ने पक्षहरू छन् । 

यदि सुरुदेखि नै भ्रष्टाचारविरुद्ध कडाइ गरिएको  भए, कसैलाई काखा र कसैलाई पाखा नगरिएको भए, गलत नियुक्तिहरू नगरिएको भए,  सार्वजनिक संस्थाहरू कब्जा नगरिएको भए र क्रोनी क्यापिटलिज्म नचलाइएको भए यस्तो  अवस्था आउने थिएन होला । यसर्थ अहिले भएका सबै शीर्षस्थ नेताहरूले  राजनीतिबाट सन्यास लिनुपर्छ  र तल्लो तहको नेतृत्वलाई अगाडि बढाउनुपर्छ ।

साना–मझौला व्यवसायलाई तत्काल प्रोत्साहन 
शोभा ज्ञवाली, अध्यक्ष, महिला उद्यमी महासंघ नेपाल

राज्यलाई जनताले नै ‘गाइड’ गर्नुपर्ने अवस्था आएको छ । नयाँ सरकारले अर्थतन्त्र उकास्न विज्ञ मन्त्री ल्याउनुपर्छ । कृषि जानेको कृषिमन्त्री र अर्थ बुझेको अर्थमन्त्री हुनुपर्छ । साना–मझौला व्यवसाय र पर्यटनलाई तत्काल प्रोत्साहन दिनुपर्छ । व्यक्तिगत स्वार्थ हेर्ने होइन, राष्ट्रिय स्वार्थ हेर्ने नेतृत्व चाहिन्छ । युवाले शिक्षा, स्वास्थ्य, सीप र रोजगारी पाउनुपर्छ, भ्रष्टाचार रहनुहुँदैन । हाम्रा उत्पादन, अवसर र चुनौती बुझेर मात्र नीति बनाउनुपर्छ । सबै मिलेर अघि बढ्दा मात्र देशले अर्थतन्त्रमा पुनः गति पाउँछ । जनतामा आशा जगाउन प्रभावकारी काम गर्नुपर्छ ।

आन्दोलनका नाममा केही व्यवसायीहरूको अर्बौंको क्षति भएको छ । व्यवसायीको मनोबल घटेको छ । तर, पनि अघि बढ्नै पर्छ  । जीवन त व्यावहारिक हो । हाम्रा उत्पादनका सम्भावना के–के छन् ?   अवसर र चुनौती के छन् ?   भनेर नेतृत्वले हेर्नुपर्छ ।  हामी जेमा सक्षम छौं त्यसलाई अगाडि बढाउनुपर्छ । देशको उत्पादनलाई अगाडि बढाउनुपर्‍यो । टुरिजम सेक्टरलाई अगाडि बढाउनुपर्‍यो । जेन–जी पुस्ताले राखेका माग जायज छन् । यही नै शिक्षा, स्वास्थ्य र सीप उपलब्ध हुनुपर्छ । उनीहरूको आवाज सुनिदिने अभिभावक होस् भन्ने छ । 

उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनुपर्‍यो
कमलेशकुमार अग्रवाल, 
अध्यक्ष, नेपाल चेम्बर अफ कमर्श

पहिला त सरकारले पूर्णता पाउनुपर्‍यो । अनि, अर्थतन्त्र उकास्ने ठोस कदम चाल्नुपर्छ । अर्थतन्त्र धेरै बिग्रिएको छ, क्षति नै क्षति भएको छ । त्यसको पुनरुत्थानतिर सरकार लाग्नै पर्छ ।

नेपाल सम्भावना भएको देश हो, आर्थिक गतिविधि विस्तार गर्न लगानीमैत्री वातावरण बनाउनुपर्छ । उद्यमी–व्यवसायीको मनोबल उठाउने र उत्पादनमुखी क्षेत्रमा लगानी बढाउने काम गर्नुपर्छ । तीन वर्षदेखि अर्थतन्त्र शिथिल छ, आन्दोलनले उद्यमी व्यवसायीलाई थप क्षति पुर्‍याएको छ । 

उद्यमी–व्यवसायीको मनोबल उठाउने नीति ल्याउनुपर्छ । शिथिल अर्थतन्त्रलाई द्रुत गतिमा अगाडि बढाउने कार्यक्रम आवश्यक छ । विश्व अर्थतन्त्र पनि अस्थिर छ, त्यसको असर नेपालमा परेको छ । तर, त्यही असरभित्र देखिएका अवसरलाई उपयोग गर्न सक्ने नेतृत्व चाहिन्छ । चुनौतीको सामना गर्दै अवसरलाई सदुपयोग गर्नुपर्छ ।

स्थिरता चाहियो  
सन्तोष कोइराला, 
अध्यक्ष, 
नेपाल बैंकर्स संघ (एनबीए)

अहिलेको प्रमुख आवश्यकता हो– स्थिर सरकार । सरकारमा को आउने हो र कस्तो सरकार बन्ने हो भन्ने स्पष्ट नभएसम्म अर्थतन्त्र कसरी उकास्ने भन्ने बारेमा टिप्पणी गर्न सकिने अवस्था छैन । विश्व बजारमै अस्थिरता छाइरहेको बेला नेपालमा यस्तो घटना भएपछि अबको बाटो वा विकल्पबारे सरकार बनेपछि मात्र कुरा गर्न सकिन्छ । 

अर्थतन्त्रले गति लिन लागेको बेला हालको स्थितिले थप अनिश्चितता सिर्जना गरेको छ । अहिलेको अवस्थामा ठ्याक्कै कति क्षति भयो वा कसरी यसलाई उठाउने भन्ने बारेमा भनिहाल्ने अवस्था छैन । समग्रमा, देशको अवस्था जटिल रहेको र यसबाट पार लगाउन तत्काल स्थिर सरकारको आवश्यकता रहेको देखिन्छ । यसपछि मात्र अर्थतन्त्र र अन्य क्षेत्रहरूका लागि दीर्घकालीन योजनाहरू बनाउन सकिनेछ ।

देशमै भविष्य देख्ने अवस्था चाहिन्छ
डा.रामकुमार फुँयाल, 
पूर्वसदस्य, राष्ट्रिय योजना आयोग

पहिला राजनीतिक स्थिरता कायम गरी, भ्रष्टाचार अन्त्य गर्दै, सीप र क्षमतामा आधारित रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्छ । ताकि युवाहरूमा विश्वास जागृत होस् र उनीहरूले देशमै भविष्य देख्न सकुन भन्नेमा अबको सरकार केन्द्रित हुन जरुरी छ । भ्रष्टाचारको अन्त्य र लुटेको सम्पत्तिको लेखाजोखा गरी राष्ट्रिय कोषमा फर्काउनुपर्छ ।  युवाहरूका लागि अवसर र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुपर्छ । हरेकलाई क्षमता र सीपमा आधारित काम दिन सक्नुपर्‍यो ।  नातावाद–कृपावादको अन्त्य गर्नुपर्छ । 


युवाहरूमा विश्वास जगाउने र उनीहरूलाई देशमै भविष्य देख्न सक्ने वातावरण निर्माण गर्नेतर्फ लाग्नै पर्छ । सरकारले शिक्षा, स्वास्थ्य, र रोजगारीलाई प्राथमिकता दिनुपर्छ । साथै, पुनर्निर्माण र रोजगारी सिर्जनाको दशकको रूपमा अघि बढ्नुपर्छ । विदेश पलायन रोक्न रोजगारीको सुनिश्चितता गरिनुपर्छ । 

निजी क्षेत्रसँग सहकार्य गर्नुपर्छ 
सुरकृष्ण वैद्य, उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)

सरकारले पूर्णता पाएपछि अर्थतन्त्रलाई पुनर्जीवित गर्न निजी क्षेत्रसँग सहकार्य गर्नुपर्छ । हाल आन्दोलन र आगलागीका कारण होटल र पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको छ, जसको प्रत्यक्ष असर मुलुकको पर्यटन छविमा परेको छ । विदेशी पर्यटकले नेपाल सुरक्षित नभएको महसुस गरेकाले आगन्तुक संख्या घट्ने चिन्ता बढेको  छ । नयाँ सरकारले तत्काल अन्तर्राष्ट्रिय समुदायलाई नेपाल पर्यटनका लागि सुरक्षित गन्तव्य हो भन्ने स्पष्ट सन्देश दिनुपर्छ । 

साथै, अर्थतन्त्रलाई बलियो बनाउन नेपाल उद्योग वाणिज्य महासंघलाई सरकारको प्रमुख साझेदारका रूपमा समावेश गर्नुपर्छ । निजी क्षेत्रसँग सहकार्य नगरी उद्योग–व्यवसाय पुनर्जीवित गर्न र रोजगारी सिर्जना गर्न सम्भव छैन । सरकारले पूर्णता नपाएसम्म नभएसम्म ठोस निर्णय लिन सकिँदैन, तर सरकार बनेपछि निजी क्षेत्रको सुझाव र सहकार्यले मात्र शिथिल अर्थतन्त्रलाई पुनः गति दिन सक्छ । 

बिमा क्षतिपूर्ति छिटो दिनुपर्छ  
चंकी क्षेत्री, पूर्वअध्यक्ष, नेपाल बिमक संघ

मुलुकको पछिल्लो राजनीतिक संक्रमण र आन्दोलनका कारण उत्पन्न भएको अवस्थापछि अर्थतन्त्रमा पुनः स्थिरता ल्याउन अन्तरिम सरकार गठनको प्रयास भइरहेको छ । पुराना समस्या समाप्त भएपछि नयाँ सुरुवात गर्ने अवसर आएको छ र व्यापारीहरूले अहिलेको अवस्थालाई नयाँ लगानीका लागि सम्भावना भएको समयका रूपमा लिनुपर्नेछ । बैंकमा तरलता रहेको, नयाँ लगानीको वातावरण सिर्जना हुने र यससँगै बिमा व्यवसायका लागि पनि ठूलो अवसर खुल्ने विश्वास छ । 

हाल जेन–जी आन्दोलनका कारण क्षति भएका व्यवसायहरूले ठूलो संख्यामा दाबी पेस गरिसकेका छन् । बीमा कम्पनीहरूले ती दाबीहरूको छानबिन गर्न सर्भेयर खटाइसकेका छन् । ठूलो क्षतिप्रति प्रारम्भिक प्रतिवेदनका आधारमा अग्रिम भुक्तानी दिने तयारी भइरहेको छ । जसले बीमा गरेका थिए, उनीहरूले यस अवस्थामा सुरक्षाको अनुभव पाएका छन् भने बीमा नगरेका संस्थाहरूले ठूलो घाटा व्यहोरेका छन् । त्यसैले नयाँ लगानीसँगै बिमा कारोबारको दायरा अझै बढ्ने अपेक्षा गरिएको छ । मुख्य चुनौती भनेको दाबीहरूलाई पारदर्शी रूपमा व्यवस्थापन गर्दै छिटो भुक्तानी सुनिश्चित गर्नु र व्यवसायीहरूको विश्वास कायम राख्नु रहेको छ ।

कृषिलाई प्राथमिकता दिनुपर्‍यो 
पञ्चकाजी श्रेष्ठ, 
अध्यक्ष, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल

प्रदेश सरकारको हालको संरचना विघटन गर्नुपर्छ । यसको सट्टा बरु सिधै पालिकामार्फत नै समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । संविधानले प्रदेश सरकारलाई दिएको अधिकारलाई पालिकालाई किसानको हितमा कर्तव्यको रूपमा दिनुपर्छ, अधिकारको रूपमा होइन । किसानहरूलाई सशक्त बनाउनका लागि बजेटमा विशेष सम्बोधन गरी छुट्टै कृषि बजेट विनियोजन गरिनुपर्छ । कृषिको पूर्ण संरचनामा आमूल परिवर्तन आवश्यक छ ।

प्राविधिकहरू सिधै पालिकाको कृषि शाखामार्फत सञ्चालित हुनुपर्छ । कृषि योग्य जमिनलाई कुनै पनि बहानामा अन्य प्रयोजनका लागि प्रयोग गर्न दिनुहुँदैन ।  आवास, औद्योगिक भवन, प्रशासनिक भवन वा खेल मैदानका रूपमा उपयोग गर्न पूर्ण प्रतिबन्ध लगाउनुपर्छ । बरु, त्यस्ता कृषियोग्य जमिनलाई कृषिमै रूपान्तरण गरेर प्राविधिक तथा प्रकृतिमैत्री कृषिको अवधारणाअनुसार चलाउनुपर्छ । यसको अर्थ आधुनिक उपकरणको प्रयोगका साथै परम्परागत कृषि विधिहरू पनि अपनाइनुपर्छ । 

नयाँ तरिकाले अघि बढ्ने अवसर  
वीरेन्द्रराज पाण्डे, 
अध्यक्ष, नेपाल उद्योग परिसंघ

परिवर्तनलाई निजी क्षेत्रले नयाँ तरिकाले अघि बढ्ने अवसरका रूपमा लिन जरुरी छ । भ्रष्टाचार र कुशासनको विरुद्ध भएको नयाँ पुस्ता (जेन–जी) को यो आन्दोलनले निजी क्षेत्रलाई पनि थप मजबुत भएर अघि बढ्ने अवसर दिएको छ । निजी क्षेत्रलाई अघि बढ्न र अर्थतन्त्र बलियो बनाउन लगानीको वातावरण बनाउन आवश्यक छ । 

मुलुकमा लगानी वातावरण नभएकाले यसलाई प्राथमिकतामा राख्न भन्दै आएका छौं । परिवर्तन पछिको नयाँ सरकारले लगानीको वातावरण बनाउन स्थिर नीति, झन्झटिला कानुनमा संशोधन, वन/जग्गा/वातावरण लगायतका समस्या समाधान गर्ने काम गर्नुपर्छ । सार्वजनिक एवं निजी क्षेत्रका संरचना पुनर्निर्माणका लागि खर्बौं लगानी आवश्यक पर्ने देखिन्छ । राज्यको स्रोतले मात्रै पुनर्निर्माण गर्न सक्ने अवस्था छैन । राज्यको प्रमुख आय स्रोत पनि निजी क्षेत्र नै भएको हुँदा त्रास एवं भय मुक्त भई उद्योग व्यवसाय गर्ने वातावरण सुनिश्चित गर्नुपर्छ ।  

पारदर्शी र उत्तरदायी प्रणालीतर्फ उन्मुख हुनुपर्छ
दिपेश कार्की, सहप्राध्यापक, कुसुम

मुलुकको पछिल्लो राजनीतिक तथा आर्थिक उथलपुथलले पारेको बहुआयामिक प्रभावको औपचारिक विश्लेषण गर्न जरुरी छ । ठूला व्यवसायहरू बिमा सुरक्षा भएकै कारण तुलनात्मक रूपमा सुरक्षित देखिएका छन्  भने साना व्यवसायहरू तथा तिनीहरूमा निर्भर  श्रमिकहरू आपूर्ति शृंखला अवरोध र आय–आर्जन गुमाउँदा गम्भीर चुनौतीमा पर्न सक्छन् । 

अर्थतन्त्रलाई पुनर्जीवित गर्न औपचारिक, पारदर्शी र उत्तरदायी प्रणालीतर्फ अघि बढ्नु अपरिहार्य छ । यसका लागि कडा कानुनी व्यवस्थाका साथै डिजिटल कारोबारको प्रबद्र्धन गर्न सके पारदर्शिता बढ्छ । सुरक्षा संवेदनशील बैठकबाहेक अन्य सरकारी बैठकहरूको प्रत्यक्ष प्रसारण जस्ता कदम सार्वजनिक र अन्तर्राष्ट्रिय विश्वास पुनःस्थापित गर्न महत्वपूर्ण हुने देखिन्छ । 

निजी क्षेत्रले पनि आश्रित पुँजीवाद (क्रोनी क्यापिटालिजम) मा निर्भर रहने प्रवृत्ति त्यागी पारदर्शिता र सामाजिक उत्तरदायित्व बन्दै बजारमा आधारित अर्थतन्त्रमा विश्वास गर्न आवश्यक छ । युवापुस्तामाझ बढ्दो सचेतनाले मुलुकको छवि र अर्थतन्त्रमा सकारात्मक रूपान्तरण ल्याउन सक्ने आशा छ ।

शान्ति र सुशासन तत्काल आवश्यक
भवानी राणा, 
पूर्वअध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ

नयाँ सरकारले निष्पक्ष निर्वाचन गराउने र संविधानमा आवश्यक संशोधनकाा काम गर्नुपर्छ । देशभित्र शान्ति र सुशासनको तत्काल आवश्यकता छ । किनभने अर्थतन्त्र सुदृढ गर्न र रोजगारी सिर्जना गर्न यी विषय पूर्वशर्तका रूपमा हेरिन्छन् । निजी क्षेत्र विशेषतः स्थायित्व र व्यवसाय गर्न अनुकूल वातावरण चाहन्छ । निजी क्षेत्रले शान्ति तथा प्रभावकारी शासनबिनाको अवस्थामा आर्थिक वृद्धिदेखि रोजगारी सिर्जना असम्भव मानेको छ । 

जनआक्रोश र असन्तुष्टिको मुख्य विषय पनि कुशासन भएकाले शान्ति र सुशासन स्थापना भएपछि मात्र अर्थतन्त्रको संरक्षण र उद्योग व्यवसायको सशक्तीकरणसँगै मुलुकको समग्र प्रगतिका लागि निर्णायक हुने जस्तो लाग्छ । 

अर्थतन्त्रलाई स्थिर बनाउनुपर्छ  
विनायक शाह, 
अध्यक्ष, होटल संघ नेपाल (हान)

जेन–जी आन्दोलनको प्रभाव अत्यन्त ठूलो छ । होटल क्षेत्रमा मात्र करिब २५ अर्बको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ, जसमा हिल्टन होटलले मात्रै  ८ अर्बभन्दा बढी क्षति बेहोर्नुपरेको छ । यस्तो अवस्थामा नयाँ सरकारको पहिलो प्राथमिकता अर्थतन्त्रलाई स्थिर बनाउने हुनुपर्छ । अर्थतन्त्र मजबुत नभए राजनीति जति नै बलियो भए पनि जनताको निराशा कम हुँदैन । 

पर्यटन क्षेत्रको सम्भावना छ, पूर्वाधार पनि छ । तर, समस्या व्यवस्थापन र कार्यान्वयनमा छ । सरकारी कर्मचारीहरूले भनाइ र गराई फरक हुन्छ, यही नै मुख्य समस्या हो । यस्तो बाधा हटाउन आवश्यक छ । हामीलाई सक्षम र नैतिक नेतृत्व चाहिएको छ । ‘हाम्रालाई भन्दा राम्रालाई’ शासन व्यवस्था दिने वातावरण तयार गर्नुपर्छ । सक्षम डेलिभरी प्रणाली बनेमा हाम्रो युवाशक्ति र स्रोतलाई सदुपयोग गर्न सकिन्छ । 

निजी क्षेत्रलाई राहत प्याकेज 
किशोर थापा, 
पूर्वसचिव

आन्दोलनका क्रममा मुलुकका भौतिक संरचनामा निकै नै क्षति पुर्‍याएको छ । सिंहदरबारसहितका सरकारी पूर्वाधार र निजी सम्पत्तिमा भएको विनाश अर्थतन्त्रमा गम्भीर चुनौती हो । 

नयाँ सरकारले तत्कालै प्रभावकारी नीतिहरू ल्याई आर्थिक पुनरुत्थान र पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिन्छ । यसका लागि क्षतिको यथार्थ मूल्यांकन, विवरण संकलन तथा तत्काल सरसफाइ कार्यलाई पहिलो चरणको कार्ययोजना बनाउनुपर्ने छ । त्यसपछि चरणबद्ध रूपमा पुनर्निर्माण प्रक्रिया अघि बढाउनुपर्छ । 

निजी क्षेत्रको मनोबल गिरेकाले राहत प्याकेज उपलब्ध गराउन आवश्यक छ । यसो हुँदा निजी क्षेत्र अघि बढ्छ र यसले रोजगारी सिर्जना र अर्थतन्त्रलाई पुनः गतिशील बनाउन योगदान दिन्छ । पुनर्निर्माणको स्पष्ट रोडम्याप, तत्काल राहत र दीर्घकालीन पुनर्संरचना योजनामार्फत मात्र मुलुकले अहिलेको संकट पार गर्न सक्छ । 

जलविद्युत् क्षेत्रलाई प्राथमिकता
गणेश कार्की, 
अध्यक्ष, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)

अबको आर्थिक विकासका लागि जलविद्युत् क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ । निजी क्षेत्रको मनोबल उच्च बनाउन र व्यापक रोजगारी सिर्जना गर्न जलविद्युत् सर्वाधिक प्रभावकारी क्षेत्र हो । जलविद्युत् परियोजनामा लगानी विस्तारले छोटो अवधिमै आय आर्जन बढाउन सक्छ । जसले राष्ट्रिय पुनर्निर्माणमा ठोस योगदान पुर्‍याउँछ । 

नयाँ पुस्ताको आन्दोलनमा क्षति नै नभएको क्षेत्र बनेको ऊर्जा हो । आन्तरिक तथा बाह्य प्रशारणलाइन तथा सबस्टेसनमा पनि कुनै क्षति भएको छैन । विशेषतः भारतसँग विद्यमान पूर्वाधारलाई प्रयोग गर्दै विद्युत् निर्यातमार्फत थप आम्दानी गर्न सकिन्छ । 

यसका लागि लगानी प्रवाहलाई सहज बनाउन सरल नीतिगत व्यवस्था, स्थिर वातावरण र लगानीकर्तामैत्री माहौल आवश्यक छ । यस्ता पहलले ऊर्जा उत्पादनलाई तीव्र बनाउने मात्र नभई घरेलु उपभोग र निर्यात दुवैलाई सन्तुलनमा राख्छ । ऊर्जा नीतिलाई राष्ट्रको समग्र प्रगतिका लागि अनिवार्य मान्दै, यसले अन्य उद्योग र क्षेत्रहरूको पुनर्जीवनमा समेत निर्णायक भूमिका खेल्छ ।

भ्रष्टाचारको अन्त्य अपरिहार्य
रवि सिंह, 
अध्यक्ष नेपाल निर्माण व्यवसायी महासंघ

कुशासन र भ्रष्टाचारको अन्त्य अत्यावश्यक छ । प्रभावकारी कानुन कार्यान्वयन गर्ने, काम नलाग्ने कानुनहरू खारेज गर्ने र जवाफदेहितासहितका नयाँ कानुन ल्याउन आवश्यक छ । सुशासन कायम गर्न सबै राजनीतिक नेता, कर्मचारी र व्यवसायीहरूले आफ्नो सम्पत्ति र स्रोतको विवरण सार्वजनिक गर्न अनिवार्य गर्ने, सो गर्न असफल भएमा सम्पत्ति जफत गर्ने व्यवस्था गर्नुपर्छ । 

नागरिकले आधारभूत सेवा पाउन वा व्यवसाय सञ्चालन गर्न अवैध बाटो अपनाउनुपर्ने बाध्यता रहेको वर्तमान प्रणालीलाई सुधार्नुपर्ने र ‘सम्बन्ध वा पैसा बिना केही हुँदैन’ भन्ने मानसिकता अन्त्य गर्न जरुरी रहेको छ । 

पहिला भएका भ्रष्टाचारमा संलग्नलाई सजाय दिनुपर्ने, निर्माण क्षेत्रमा व्याप्त कार्टेलिङ प्रणाली र त्यसमा संलग्न राजनीतिक नेतृत्व तथा कर्मचारीलाई कारबाही गर्नुपर्ने हुन्छ । यसरी मात्र वास्तविक कानुनको शासन स्थापित गर्न सकिन्छ भने सुशासन हुने बित्तिकै 
अर्थतन्त्र आफैं मौलाउँछ । 

सुशासन, वित्तीय अनुशासन र भ्रष्टाचारको अन्त्य 
डा.चन्द्रमणि अधिकारी, अर्थशास्त्री

यसै पनि नेपाली अर्थतन्त्र मन्दीमा नै रहेको अवस्थामा यो सामाजिक अशान्तिले थप क्षति पुर्‍याएको छ । सार्वजनिक, निजी र सामुदायिक सम्पत्तिको विनाशले लागत बढाएको र प्रगतिलाई अवरुद्ध गरेको छ । अब यसबाट माथि उठ्न सुशासन, वित्तीय अनुशासन र व्यापक रूपमा हुने भ्रष्टाचारमा अन्त्य गर्ने पहिलो कदमका रूपमा अघि सार्नुपर्छ । 

साथै, नयाँ सरकार चुनाव लक्षित हुँदाहुँदै पनि आन्दोलनमा भएको क्षतिको छानबिन गर्ने, सुरक्षाको वातावरण सुनिश्चित गर्ने र लगानीलाई प्रोत्साहन दिने गरी विश्वासको वातावरण बनाउनुपर्छ । 

विश्वासको वातावरण बनाउन नसके नेपालको अर्थतन्त्रको प्रमुख खम्बा विप्रेषण आप्रवाहमा पनि कमी हुने सम्भावना हुन्छ । ऐन कानुन संशोधनमार्फत सरकारी संरचनालाई सरल बनाउने, मन्त्रीहरूको संख्या घटाउने र दक्ष व्यक्तिलाई मन्त्री बनाउने व्यवस्था गर्नुपर्छ । यो गर्न सके आगामी सात–आठ वर्षभित्र आर्थिक क्षतिबाट पुनः उठ्ने सम्भावना रहन्छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.