एक जना घाइतेलाई सातवटा गोली लागेको पाइयो
भदौ २३ गते जेन–जीको प्रदर्शनको पहिलो दिन तपाईं त सिंहदरबारमा हुनुहुन्थ्यो। त्यस दिन कस्तो रह्यो ?
बानेश्वरबाट सिंहदरबार पुग्नै कठिन भयो। भीड जम्मा भइसकेको थियो। अरू बेला जाँदा ५/७ मिनेटमस पुगिन्थ्यो, त्यस दिन झन्डै आधा घण्टा लाग्यो। त्यहाँ पुग्दा दुवैजना स्वास्थ्य सचिवहरू डिल्लीराम शर्मा र डा. विकास देवकोटा आइसक्नुभएको रहेछ। उपत्यकाका प्रमुख सरकारी अस्पतालका निर्देशकहरूलाई पनि बैठकमा देखेँ। मैले बाहिरको स्थिति असामान्य भएको जानकारी गराएँ। छलफल अन्य दिनमा गर्न पाए हुन्थ्यो भन्ने विचार राखेँ। आन्दोलनको फोकस बानेश्वर भएकाले बिदा दिनुहोस् भन्दाभन्दै स्थिति भयावह बनिसकेको थियो।
त्यसो त अस्पतालबाट निस्कनुअघि मैले अस्पतालका सुरक्षाकर्मीलाई सजग रहन र विशेष ध्यान दिन भनेको थिएँ। सिंहदरबार जानुअघि नै हामीले आन्तरिक रूपमा छलफल गरिसकेका थियौं। डिजास्टर योजनाअनुसार आवश्यक पर्ने ब्याकअपको सम्बन्धमा छलफल भइसकेको थियो। तर, यसखालको अकल्पनीय होला भन्ने सोचेका थिएनौं। मैले सिंहदरबारबाटै डिजास्टर टिम एक्टिभेट गरेँ। मन्त्रालयलगायत सबै ठाउँमा जानकारी रिपोर्टिङ गरेँ। अन्य सेवाभन्दा घाइतेलाई बढी प्राथमिकता दिएर काम गर्यौं। इमर्र्जेन्सी, सर्जरी, एनेस्थेसिया, रेडियोलोजी, ल्याब, अर्थोपेडिकको बढी भूमिका हुने गर्छ। यी विभागमा संलग्न जनशक्तिको आवश्यकता बढी महसुस हुन्छ। नर्सिङ जनशक्तिलाई पनि तयारी अवस्थामा राखेका थियौं।
अवस्था अनियन्त्रित र भयावह भएकाले सिंहदरबारबाटै कमान्ड सम्हाल्न भनिएको थियो। तर, पनि मेरो मनले मानेन। १२ बजेभित्र घाइतेहरू अस्पताल आउने क्रम सुरु भइसकेको थियो। त्यही समयमा एकजनाको मृत्यु भएको थियो। मैले लिएर गएको गाडी सिंहदरबारमै छोडेँ। अस्पतालबाट एम्बुलेन्स बोलाएँ र अस्पताल आएँ। अस्पताल परिसरमा प्रदर्शनकारी थिए। अश्रुग्यास जताततै देखिन्थ्यो। प्रदर्शनकारीले सुरक्षाकर्मी अस्पतालभित्र लुकेको शंका गर्दै कोठाहरू अवलोकन गरे। हामीले सुरक्षाकर्मीले आश्रय नलिएको जानकारी गराएर सबै कोठा देखाइदियौं। मृतक र घाइतेले अस्पताल भरिएको थियो। स्थिति अकल्पनीय थियो। हामीहरूले धैर्य गुमाएनौं। धैर्यसाथ घाइतेको उपचारमा जुट्यौं। १६ देखि ४९ वर्षसम्मका घाइतेहरूको अस्पतालले उपचार गरेको छ।
अस्पताल आएमध्ये कति जनाको उपचार, शल्यक्रिया र मृत्यु भयो ?
पहिलो दिन झन्डै दुई सयको हाराहारीमा घाइतेहरू आएका थिए। जसमध्ये तीन जनाको पहिलो दिनमै मृत्यु भयो। मृत्यु हुनेमा अर्घाखाँचीका १८ वर्षीय माधव सारु मगर, गोरखाका २२ वर्षीय विमल भट्ट, धनकुटाका ६० वर्षीय छत्रमान कुथुमी (पारुहांग भनिने) रहेका छन्। गोली लागेकामध्ये १८ जनाको अप्रेसन गर्यौं। सामान्य उपचारपछि १ सय ५५ जना डिस्चार्ज भए।
भोलिपल्ट २४ गते मध्याह्न १२ बजेसम्म २ सय २७ जना घाइते आएको विवरण छ। दोस्रो दिन अर्थात् भदौ २४ गते थप तीन जनाको मृत्यु भयो। दोलखाका २१ वर्षीय अभिषेक चौलागाईं, सिरहाका ३२ वर्षीय विजय चौधरी र पर्सा, वीरगन्जका २४ वर्षीय असव आलम ठकुराईको मृत्यु भयो। दोस्रो दिन गोली लागेका ९ जनाको अप्रेसन भयो।
असोज १ सम्मको तथ्यांक हेर्दा कुल ४ सय ६१ जना घाइते उपचारका लागि आएको पाइएको छ। अन्य अस्पतालमा रेफर गरिएको संख्या ४४ छ। सामान्य उपचारपछि डिस्चार्ज गरिएका घाइतेको संख्या ३ सय ६६ रहेको छ। अस्पतालमा भर्ना भएका घाइते ५१ जना छन्। भर्ना भएका घाइतेमध्ये ४८ जनाको डिस्चार्ज भएको छ। भर्ना भएका घाइतेको शल्यक्रिया गरिएको संख्या ५० पुगेको छ। दोस्रोपटक शल्यक्रिया ११ जनाको गरिएको छ। हाल अस्पतालमा तीनजना भर्ना भएका छन्। अस्पतालमा ६ जनाको मृत्यु भएको छ।
अस्पतालको इमर्जेन्सी (आपत्कालीन) कक्षमै लाठीचार्ज, अश्रुग्यास प्रहार भएको भनिएको छ। वास्तविकता के हो ?
एउटा अश्रुग्यास अस्पतालको छतमा लागेर भुइँमा झरेको रहेछ। इमर्जेन्सी (आपत्कालीन) कक्षसम्म गोलीका छर्राहरू आए। गेटबाटभित्र छिरेर इमर्जेन्सीमै आई सुरक्षाकर्मीबाट अश्रुग्यास प्रहार र लाठीचार्ज भएको पाइएको छ।
उपचारका लागि घाइते प्रदर्शनकारी मात्र आए कि सुरक्षाकर्मी पनि आए ?
बढी मात्रामा घाइते प्रदर्शनकारी आए। सुरक्षाकर्मी पनि घाइते अवस्थामा उपचारका लागि आएका थिए। हामीले दुवै पक्षका घाइतेको उपचार गर्यौं।
सीमित स्रोत, साधनबाट कसरी उपचार सम्भव भयो ?
अस्पतालको प्रशासकीयदेखि उपचार व्यवस्थापनमा संलग्न टिम स्वाभाविक रूपमा बढी खटियो। अस्पतालको टिमले मात्र सम्पूर्ण उपचार व्यवस्थापन सम्भव थिएन। त्यसैले हामीले विद्यार्थीलाई परिचालन गर्र्याैं। घाइतेको खाना, औषधिलगायत व्यवस्थापनमा सहयोगी हातहरू जुटे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सबै घाइतेको निःशुल्क उपचार गर्नू भन्ने निर्देशन प्राप्त भएको थियो। काठमाडौं महानगरपालिकालगायतका विभिन्न निकाय, संघसंस्था र व्यक्तिगत रूपमा धेरैजनाले स्वःस्फूर्त सहयोग गर्नुभयो।
बिरामी रेफर गर्दा एम्बुलेन्सलाई सहज आवतजावत थियो र ?
एम्बुलेन्स, स्वास्थ्यकर्मीलगायत कसैलाई पनि सहज आवतजावत थिएन। त्रिवि शिक्षण (टिचिङ) अस्पतालको एम्बुलेन्स दुईपटक आउन नसकेर बीचैबाट फर्केर गएको पनि छ। काठमाडौं मेडिकल कलेज (केएमसी)को एम्बुलेन्स पनि दुईपटक आउन सकेन। बाटैबाट फर्केर फिर्ता भयो। यस्तो भयावह अवस्था थियो कि एम्बुलेन्सको ड्राइभरले पनि जोखिम लिन सक्नुभएन। कतिय रेफर गरिएका बिरामी पनि जान नसकेपछि यहीँ राखेर सर्जरी गरेका छौं। बिरामीको चाप अत्यधिक भएकाले अन्य अस्पतालमा रेफर गर्दा छिट्टै सेवा प्राप्त होला भन्ने आशाले रेफर गरेका थियौं। तर, कतिपय घाइतेको हकमा सम्भव पनि भएन।
प्रदर्शनको दोस्रो दिन वरिपरिका संरचनाहरू आगजनीमा परे। चारैतिरको धुवाँले अस्पताल परिसर धुवाँमय भएको थियो। अस्पताल अगाडिको संसद् भवन जल्यो। यातायात कार्यालयको भवन आगजनी भयो। हामीले कुनै पनि स्वास्थ्यकर्मीलाई बिदा दिएनौं। स्ट्यान्डबाई बसेका थियौं। अवस्था कस्तो भयावह थियो भने अस्पतालकै स्वास्थ्यकर्मीलाई पनि रेस्क्यु गर्नुपर्ने हो कि भन्नेसम्मको सोच आयो। हामीले स्वास्थ्यकर्मीको रेस्क्युका लागि पछाडिको पार्किङलाई हेलिप्याड बनाएका थियौं। अस्पतालको पछाडिको गेट पनि खुला राखेका थियौं। धन्न, अस्पतालमा केही भएन। स्वास्थ्य सामग्रीहरू आईभी स्ट्यान्ड, म्याट्रेस, औषधि आदिको आपूर्तिका लागि अस्पतालबाट एम्बुलेन्स त्रिपुरेश्वर, टेकु र भक्तपुर लोकन्थलीमा पठाएका थियौं। एम्बुलेन्समा सामान्य तोडफोड भयो। स्वास्थ्यकर्मीमाथि हातपात भयो। प्रदर्शनकारीलाई हात जोडेर कन्भिन्स गर्नुपर्यो।
आकस्मिक कक्षमा घाइतेहरू भरिए। त्यसपछि बहिरंग विभाग (ओपीडी)मा पनि घाइतेहरूलाई राखेर उपचार गर्यौं। ओपीडी कक्ष नै इमर्जेन्सी सरह बनायौं। बिरामीको टिकट काउन्टरअगाडि पनि म्याट्रेस बिच्छ्याएर उपचार गर्यौं। पहिले भर्ना भएका बिरामीलाई अन्य अस्पतालले भर्ना लिइदिएर सहयोग गर्नुभयो। हामीले रेफर गर्यौं। नियमित ओपीडी र शल्यक्रिया बन्द गरेर घाइतेको उपचारमा संलग्न रह्यौं।
जेन–जीको प्रदर्शनमा नेपालभर घाइते भएमध्ये झन्डै २५ प्रतिशत जतिलाई सिभिल अस्पतालले ह्यान्डिल गरेको छ। हामीले उच्च आत्मविश्वाससाथ काम गर्यौंं भन्ने लाग्छ। काठमाडौंका विभिन्न अस्पतालका एम्बुलेन्स, स्वास्थ्यकर्मीबाट पनि यथाशक्य सहयोग मिलेको छ। सिहंदरबारमा म रहनुको फाइदा के भयो भने त्यहीँबाट मन्त्रालयका सचिवहरू, सरकारी अस्पतालका निर्देशकहरू पनि सहयोग पाइयो। रेफर गरेका बिरामीका लागि इमर्जेन्सी खुला राख्न र एम्बुलेन्स पठाइदिन अनुरोध गर्न सकियो। दोस्रो दिन नेपाली सेनाले कमाण्ड सम्हाल्छ भनिएको भए पनि स्वास्थ्यकर्मीहरूलाई घर छोड्ने अवस्था भएन। बिहान आएका स्वास्थ्यकर्मीहरू पहिलो रात अस्पतालमै बसेर सेवा दिनुभयो। क्यान्टिनको खाना सकिएकाले साथीहरूले बाहिरबाट खाना मगाउनुपरेको थियो। धेरै संघसंस्था र व्यक्तिगत रूपमा पनि सहयोग गर्नुभएको छ। यसको जति नै तारिफ गरे पनि कम हुन्छ।
अस्पतालमा आफ्नै आँखा अगाडिका भयावह मानवीय दृश्य हेर्दै स्वास्थ्यकर्मी उपचारमा खटिनुभयो। यसको प्रभाव लामो समयसम्म पर्ने जस्तो देखिन्छ।
गोली लागेका कारण घाइतेको अप्रेसन जोखिमयुक्त थियो होला नि ?
प्रायःजसो घाइतेको छाती, टाउकोमा गोली लागेको थियो। त्यस्तो अवस्थामा अप्रेसन जोखिमयुक्त हुन्छ। किनभने, घाइतेको धेरै नै क्षति पुगिसकेको हुन्छ। कतिपयको छातीको दायाँतिर, कम्मरमा पनि गोली लागेको थियो। गोलीले कलेजो छेडेको अवस्था पनि थियो। कलेजोमा गोली लागेको साथी त लामो समय वार्डमा बस्नुपर्यो। हातखुट्टामा गोली लागेका घाइते पनि धेरै थिए। उपचार गर्दा गर्दै ६ जनाले ज्यान गुमाउनुभयो। यो सम्झँदा साह्रै दुःख महसुस हुन्छ।
कतिवटासम्म गोली लागेको पाउनुभयो ?
एकजनालाई सातवटासम्म गोली (छर्रा)हरू लागेको पाइएको छ। दुईपटक सर्जरी गरेर निकालेका छौं। यो सर्जरी निकै चुनौतीपूर्ण थियो।
अस्पतालनजिकै पर्ने तीनकुनेमा चैत १५ गते पनि हिंसात्मक प्रदर्शन भएको थियो। त्यसअघि बानेश्वरमा शिक्षक आन्दोलनका घाइते पनि अस्पताल भर्ना भएका थिए। जेन–जीको अगुवाइमा भएको पछिल्लो प्रदर्शनमा के फरक पाउनुभयो ?
कुनै पनि प्रदर्शन वा आन्दोलनका सामाजिक पक्षहरू पनि हुन्छन्। घाइते अवस्थामा आउने र उपचारपछि फर्कने मात्र हुँदैन। जेन–जीको प्रदर्शनपछि हातमा ब्यान्डेज लगाएकाहरू प्नि साथीको उद्धार र उपचारमा सहयोगमा जुटेको पायौं। घाइतेहरूको उद्धार र उपचारमा मानवीय पक्ष पनि जेन–जीको आन्दोलनमा प्रस्ट देखिन्थ्यो। विभिन्न किसिमको सहयोग गर्ने संस्थाहरू र व्यक्तिहरू पनि देखियो।
घाइतेको अवस्थाबारे जानकारी लिन सञ्चारकर्मी, युटुबरहरू आएका थिए। सामाजिक सञ्जालमा तत्कालै भिडियो पनि पोस्ट गर्ने होडबाजी पनि देखिन्थ्यो। यसले उपचार व्यवस्थापनमा कुनै अप्ठेरो भयो ?
अप्ठेरो भयो नि ! तारन्तार फोन गर्ने, घाइते र मृतकको नाम, उमेर र ठेगाना सोध्ने काम भयो। केही घाइतेहरूको शरीरमा गोलीका छर्राहरू थिए। तत्कालै शल्यक्रिया नगर्दा कुनै क्षति नहुने अवस्थाका घाइते पनि थिए। सिफ्टवाइज काम गर्दै थियौं। तर, सामाजिक सञ्जालमा सिभिल अस्पतालले गोली निकाल्देन भन्दै सामाजिक सञ्जालमा पोस्ट गर्ने काम भयो। त्यस्तै, कतिपय अनअफिसियल कुराहरू पनि सार्वजनिक हुँदा त्यसको प्रेसर पर्यो।
राष्ट्रिय/अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट धेरै नै फलो अप रिपोर्टिङ हुँदाखेरि व्यवस्थापन चुनौतीपूर्ण बन्यो। त्यसबेला हामी मानसिकरूपमा पनि मिडियालाई स्टेटमेन्ट दिने अवस्थामै थिएनौं। मानवीय संवेदनाका कुराहरू पनि जोडिएका थिए। कतिपय घाइतेहरूले आफ्नो फोटो र घाइते भएको खबर कसैलाई नगरिदिन अनुरोध गरेका थिए। घाइतेमा पनि दुवै पक्षका साथीहरू हुनुहुन्थ्यो। मृतकको परिचय पनि चौथो दिन मात्र सार्वजनिक गरेका हौं।
शनिबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की घाइतेहरूको अवस्था बुझन् अस्पताल आउनुभएको थियो। उहाँको प्रतिक्रिया के थियो ?
उहाँले घाइतेको अवस्था हेर्नुभयो। त्यही क्रममा तपाईंले कुरुक्षेत्र भएको भनेर गरेको स्टेटमेन्ट याद छ भनेर सुनाउनुभयो। गाजाको अस्पतालमा बसेको जस्तो अनुभव भएको मैले बताएको थिएँ। वास्तविकता नै यही थियो। उपचार गर्ने र बिरामीको आउटकम हेर्ने मात्र अवस्था थिएन।
यस खालका प्रदर्शनमा हुने घाइतेलाई शीघ्र उपचार व्यवस्था कसरी उपलब्ध गराउन सकिन्छ ?
प्रमुख अस्पतालहरूलाई एकीकृत ढंगले उपचारमा संलग्न गराउन सकिन्छ। अस्पतालमा हेलिप्याड, एयर रेस्क्युको व्यवस्था भएमा तुरुन्तै घाइतेलाई सुविधासम्पन्न अस्पतालमा रेफर गरेर लैजान सकिन्छ। एम्बुलेन्समा लैजान नसकिएमा एयर रेस्क्यु गरेर पनि समयमै उपचार गर्न सकिन्छ। स्वास्थ्य पूर्वाधारका लागि राज्यले प्रशस्त नै लगानी गर्नुपर्छ। सरकारले स्वास्थ्य पूर्वाधारमा लगानी गर्दा आर्थिक पाटो हेर्नुहुँदैन। तत्कालै के परिणाम हुन्छ ? भनेर खोज्नुहुँदैन। स्वास्थ्यमा गरिएको लगानी खेर जाँदैन।
यसपटकको उपचार व्यवस्थापनबाट भविष्यमा सिभिल अस्पताललाई के–कस्तो सुविधासम्पन्न बनाउनुपर्ने आवश्यकता महसुस गर्नुभयो ?
ब्रेनमै गोली लागेको व्यक्तिलाई बचाउने सम्भावना एकदमै न्यून हुन्छ। शरीरका अन्य अंगमा गोली लागेको घाइतेलाई बचाउन न्युरो सर्जनको आवश्यकता पर्छ। हामी न्युरोसर्जनको पदपूर्तिको प्रक्रियामा छौं। सिभिल अस्पतालको अझै स्तरोन्नति गर्नुपर्ने जरुरी भएको महसुस गरेका छौं। कम्तीमा २ सय शय्या थप्नुपर्ने देखिएको छ। अझै ठूलो क्षेत्रफलको आवश्यकता महसुस भएको छ।
अप्रेसन थियटर पनि थप्नुपर्ने आवश्यकता देखिएको छ। सिभिल अस्पताललाई अति विशिष्टिकृत सेन्टरका रूपमा विकास गर्नुपर्ने खाँचो छ। किनभने, यस अस्पताल जुन लोकसनमा अवस्थित छ, त्यसले पनि अति विशिष्टिकृत केन्द्रको रूपमा विकास गर्नुपर्ने माग गर्छ। त्यसैअनुसार पूर्वाधार, अप्रेसन थ्रियटर, उपकरण, साधन, जनशक्तिको थप्नुपर्ने आवश्यकता महसुस भइरहेको छ।
प्रस्तुति : दिनेश गौतम
प्रतिक्रिया दिनुहोस !