प्रदेश संरचना संघीयताको खास पहिचान : मुख्यमन्त्री कँडेल
दैलेख : कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश संरचना संघीयताको खास पहिचान भएको बताएका छन्। संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन्।
उनले भने,‘प्रदेश संरचनाप्रति उठेका टीकाटिप्पणीलाई समयको माग बमोजिम सुधारात्मक बनाउनु अहिलेको आवश्यकता पनि हो।’
मुलुकमा राजनीतिक स्थायित्व कायम गरी समृद्धि हासिल गर्न तीन तहका सरकारबीच समन्वय जरुरी रहेको मुख्यमन्त्री कँडेलको भनाई छ। ‘संविधानले सहकार्य, समन्वय र सहअस्तित्वलाई आत्मसात् गरेको छ। संविधानको यो मूल मर्म अनुसार दिवसले संविधान प्रदत्त नागरिकका अधिकारप्रति कर्तव्यनिष्ठ र थप जिम्मेवार बन्न सबैलाई प्रेरणा मिल्ने नै छ भन्नेमा पूर्ण विश्वस्त छु,’ उनले भने।
संविधानको सफल कार्यान्वयनमार्फत अहिले देखिएको अन्यौलता र अस्थिरतालाई सम्बोधन गर्दै राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन र समृद्धिको दिशातर्फ उन्मुख गराउन आ–आफ्नो ठाउँबाट योगदान गर्न आग्रह समेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस !