स्वास्थ्य मन्त्रालयको क्षतिग्रत भवनको परीक्षण, सर्वोच्चको उत्तरतर्फको भवन प्रयोग गर्न नमिल्ने
काठमाडौं : जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रत भएका सरकारी संरचनाको सरसफाइ र परीक्षण अघि बढाइएको छ । आगजनीबाट क्षतिग्रत भएका सरकारी संरचनाहरु प्राविधिक परिक्षण पश्चात मात्र प्रयोग गर्न सरसफाइका साथै परिक्षण समेत अघि बढाइएको हो ।
यसैक्रममा शनिबार आन्दोलनका क्रममा आगजनीका कारण ध्वस्त भएको रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सरसफाइ एवं संरचनाको प्राविधिक परीक्षण गरिएको छ । परीक्षणका क्रममा स्वास्थ्य मन्त्रालयको भवन मर्मत गरेर प्रयोग गर्न नसकिने अवस्थामा रहेको नेपाल इन्जिनियर्स एसोसियसनका अध्यक्ष सुवासचन्द्र बरालले जानकारी दिए ।
उनले मन्त्रालयको भितामा क्षति नभएपनि स्ल्याबहरुमा पूर्ण रुपमा क्षति पुगेकाले पुनः प्रयोग गर्न निकै जोखिम रहेको बताए । आगलागीबाट क्षति पुगेको भवनको भवन निर्माण विभागको समन्वयमा एसोसियसनले ध्वस्त भएका संरचनाको प्रारम्भिक परीक्षण गरिरहेको उनले उल्लेख गरे।
बरालले प्रारम्भिक परिक्षणका क्रममा ध्वस्त भएका भवनलाई कसरी पुननिर्माण गर्ने भन्ने सुझाव दिइने बताए । आगलागीबाट क्षति पुगेको भवनमध्ये सिंहदरबारभित्रका केहि भवन पुन प्रयोग गर्न सकिने र केहि भवन भने जोखिमपूर्ण रहेको उनले बताए ।
त्यस्तै सर्वोच्चको उत्तरतर्फको भवन पनि पूर्णरुपमा क्षति भएकाले प्रयोग गर्न नमिल्ने र दक्षिणतर्फको भवन भने कम जोखिम देखिएको बरालले उल्लेख गरे । एसोसियसनले प्राविधिक परिक्षण पश्चात मात्र संरचना प्रयोग गर्न सुझाव दिएको छ ।







प्रतिक्रिया दिनुहोस !