जेन–जीको बलिदानी खेर नजाओस्

जेन–जीको बलिदानी खेर नजाओस्

जेन–जी आन्दोलनमा तपाईंको छोरा श्रीयम चौलागाईं कसरी सहभागी हुन पुगेछन् ? 

भदौ २३ गते जेन–जीले प्रदर्शन गर्न लागेको विद्रोहबारे हाम्रो परिवारलाई पहिल्यै थाहा थियो। अघिल्लो दिन अर्थात् भदौ २२ गते बेलुका परिवारमा छलफल पनि भएको हो। यसअघि चैत १५ गते तीनकुनेमा भएको राजावादीका नाममा भएको जुलुस प्रदर्शनका क्रममा हिंसात्मक भएको र दुई जनाको ज्यान गएको घटनाले म झस्किएको थिएँ। पारिवारिक कुराकानी चलिरहेकै बेला जेन–जी प्रदर्शनमा छोरो (श्रीयम)ले पनि सहभागिता जनाउने भित्री इच्छा गरेको महसुस गरेँ।

मैले सम्झाउने किसिमले पछि बाहिरैबाट सपोर्ट गर्दा पनि हुन्छ नि भन्दै घुमाउरो ढंगले सुझाव दिएको थिएँ। तर, छोराले बाबा ! हामी त कलेज ड्रेसमा उपस्थित हुने हो भन्दै मलाई नै कन्भिन्स गर्न खोज्यो। शान्तिपूर्ण सहभागी हुँदा हामी विद्यार्थीलाई कसले के गर्छ र ? भन्ने प्रश्न गर्‍यो। मुलुकमा भइरहेको भ्रष्टाचारविरुद्धको लडाइँ हो भन्यो। कुरा यत्तिमै सकियो। बिहानै ६ बजे छोरा कलेज ड्रेसमा कलेज (ग्लोबल कलेज अफ म्यानेजमेन्ट)मा गएछ। साढे सात बजेतिर म पनि अफिसतिर गएँ। कलेज सकिएपछि दाजुबहिनी (सालीकी छोरी किसु पनि सोही कलेज पढ्छिन्) मध्ये बहिनीचाहिँ पौने १२ बजेतिर घर पुगिछन्। बंकु (घरमा बोलाउने नाम बंकु ) खोइ त ? भनेर सोद्धा किसु (सालीको छोरी)ले दाइ त बीच बाटोमै ओर्लिएको जानकारी दिइछन्। जेन–जीको प्रदर्शनमा सहभागी हुन बीच बाटोमा पर्ने वानेश्वरमा कलेजकै गाडीबाट ओर्लेको रहेछ। बसबाट झरेपछि जेन–जीको आन्दोलनमा सहभागी भएको पाइयो। अहिले पनि मलाई लाग्छ, कलेज ड्रेसमा भएको विद्यार्थीलाई प्रहरी लाठी हान्दैन, गोली ठोक्दैन भन्ने निश्चित भएर नै छोरा सहभागी भएको हो।

माइतीघरबाट सुरु भएको जेन–जीको प्रदर्शन वानेश्वरमा पुगिसकेको थियो। घरबाट श्रीमतीले फोन गरिछन्। फोन लाग्ने तर नउठ्ने रहेछ। त्यो जानकारी मलाई घरबाट दिइयो। मैले आत्तिँदै छोराको मोबाइलमा धेरैपटक डायल गरेँ। फोन लाग्ने तर नउठ्ने भइरह्यो। दिउँसो ३ बजेतिर छोरी (सालीकी छोरी)लाई तिम्रो दाइको टाउकोमा चोट लागेर अस्पताल लगेको छ भन्ने जानकारी आउँछ। 

आन्दोलनमा सहभागी भएको १६ वर्षीय छोराको ज्यान गएको जानकारी कसरी पाउनुभयो ? 
आन्दोलनमा सहभागी भएको र टाउकोमा चोट लागेर अस्पताल लगिएको खबर पाएपछि म आत्तिँदै अफिसबाट निस्केँ। अश्रुग्यासको परवाह नगरी भित्री बाटो हुँदै सिभिल अस्पताल पुगेँ। अस्पतालको प्यासेजभरि घाइतेहरू रहेछन्। तीनचोटिसम्म हेरेँ। छोरा भेटिनँ। गेटमा टाँसिएको नाम सूची हेरेँ। सूचीमा छोराको नाम रहेनछ। त्यसपछि सोधखोज गर्दा गम्भीर बिरामीलाई राष्ट्रिय ट्रमा सेन्टर र शिक्षण (टिचिङ)अस्पताल लगेको छ भन्ने जानकारी पाएँ।

शिक्षण अस्पतालमा चिनेका एक जना डाक्टरलाई छोराको नाम टिपाएर खोजिदिन आग्रह गरैँ। केही समयपछि टिचिङ अस्पतालमा नल्याइएको जानकारी ती डाक्टरले दिए। ट्रमा सेन्टरमा जेठान (श्रीयमको मामा) पुगिसक्नुभएको रहेछ। उहाँले फोन गरेर ट्रमा सेन्टर आउनुस् भन्नुभयो। बाहिर निस्कने अवस्था नै थिएन। अश्रुग्यास थियो। सिभिल अस्पताल पछाडिको पर्खालबाट बाहिर निस्कें। केहीबेर हिँडेपछि पठाउ चढेर ट्रमा सेन्टर पुगें। 

ट्रमा सेन्टरको अगाडि मृतक र घाइतेको सूची टाँसेको रहेछ। मृतकको सूचीमा पहिलो नम्बरमै मेरो बाबु (छोरा)को नाम रहेछ। म शोकमग्न भएँ, त्यसैले भित्रै छिर्नै सकिनँ। एकजना भाइ ट्रमा सेन्टर पुग्नुभयो। उहाँकै मोटरसाइकलमा बसेर शोकाकुल अवस्थामै घरमा फर्कें। घर पुग्दा श्रीमतीले एक्लै आउनुभयो त ! छोरा खोइ त ? भनिन्। null

एकैचोटि सबैभन्दा श्रीमतीलाई असर पर्ने हो कि भन्ने सोच आयो। उपचार हुँदै छ...! परिवार/कसैलाई पनि डाक्टरले बस्न दिएका छैनन्...! भनेर झुटो बोल्नुपर्‍यो। यो संसारमा छोरा नभएको खबरले आमाको मन कस्तो होला ? केही पो हुने हो कि ? भन्ने भयले गर्दा साँचो कुरा भन्न पनि सकिनँ। मेरा आमाबुबा हुनुहुन्न। श्रीमतीलाई सम्हाल्न सहज हुन्छ कि भनेर सासू आमाबाट छोराको बारेमा जानकारी दिइयो। 

श्रीयमलाई कहाँ गोली लागेको रहेछ ? पोस्टमार्टम रिपोर्टमा के देखियो ? 
भदौ २७ गते पोस्टमार्टम भयो। पोस्टमार्टमको बेला म आफैं जान सकिनँ। भाइ र जेठान (शम्भुप्रसाद चौलागाईं र केशव कार्की) जानुभएको थियो। पोस्टमार्टम गरेपछि थाहा लाग्यो–टाउको पछाडिबाट गोली लागेको रहेछ। पोस्टमार्टमपछि पशुपतिमा दाहसंस्कार भयो। 

जेन–जी सहिदको दाहसंस्कारको बेला कठिनाइ भयो कि ? 
हामी सबै पेप्सिकोलामा डेरा लिएर बसेका छौं। हाम्रो त परिवार सबै जम्मा भएर दाहसंस्कार गर्‍यौं। तर, सहिदको पोस्टमार्टमको क्रममा शव व्यवस्थापनमा ध्यान दिएको पाएनौं। त्यसपछि अन्य केही सहिदको दाहसंस्कारमा तीनजना मात्र सहभागी भएको देख्यौं। यी दृश्य दर्दनाक थिए। जेन–जीको बलिदानी व्यर्थ जाने पो हो कि भन्ने चिन्ता लागेको छ। जुन चिन्ता अहिले पनि छ। किनकि, विगतमा भ्रष्टाचार गरेकाहरू पुनः सलबलाउन थालिसकेका छन्। 

जेन–जीको बलिदानीको जगमा बनेको अहिलेको अन्तरिम सरकारको तर्फबाट अथवा जेन–जीको नेतृत्व कोही कसैले केही सान्त्वना दिनुभएको छ ? भेट्नुभएको छ ? 

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा कतिजना सहिद भए भन्ने सूची सरकारले नपाउने कुरै भएन। नेपाली मिडियामा आएको छ। जेन–जीको नेतृत्व गरेको भन्नेहरूले पनि थाहा पाए। सर्वसाधारण जनताले थाहा पाए। तर, विडम्बना ! सहिदका शोकाकुल परिवारलाई सान्त्वना दिने कार्यमा न सरकारी पक्ष देखियो न त जेन–जी नेतृत्व गरेको भन्नेहरू देखा परेका छन्। दुवै पक्षबाट अहिलेसम्म आधिकारिक रूपमा सोधीखोजी भएको छैन।

नवनियुक्त महान्यायाधिवक्ता (सरकारका कानुनी सल्लाहकार) सविता भण्डारीसँग चाहिँ संयोगले भेट हुन पुग्यो। महान्यायाधिवक्ता हामी काजक्रिया बसेको स्थानको बाटो भएर बाहिर काठमाडौंं आउँदै हुनुहुँदो रहेछ। हामीले ब्यानर टाँसेका थियौं। ब्यानर देखेपछि मनले मानेन छ। भेटेरै जान्छु भनेर हामीसँग भेटघाट गर्नु भयो। मोबाइल नम्बर दिएर जानु भएको छ। कुनै बेला आवश्यकता पर्‍यो भने फोन गर्नुहोला भनेर जानु भएको छ। 

  •     राष्ट्रिय ट्रमा सेन्टरको अगाडिपट्टि मृतक र घाइतेको सूची टाँसिएको रहेछ। मृतकको सूचीमा पहिलो नम्बरमै मेरो बाबु (श्रीयम चौलागाईं)को नाम रहेछ। म भित्र छिर्नै सकिनँ। शोकाकुल अवस्थामा घरमा फर्कें। 
  •     विडम्बना ! सहिदका शोकाकुल परिवारलाई सान्त्वना दिने कार्यमा न सरकारी पक्ष देखियो न त जेन–जी नेतृत्व गरेको भन्नेहरू देखा परे। दुवै पक्षबाट अहिलेसम्म आधिकारिक रूपमा सोधीखोजी भएको छैन।
  •     बाबा ! हामी त कलेज ड्रेसमा उपस्थित हुने हो भन्दै मलाई कन्भिन्स गर्न खोज्यो। जेन–जीको शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुँदा हामी विद्यार्थीलाई कसले के गर्छ र ? भन्ने प्रश्न गर्‍यो। मुलुकमा भइरहेको भ्रष्टाचारविरुद्धको लडाइँ हो भन्यो। कलेज पोसाकमा भएको विद्यार्थीलाई प्रहरी लाठी हान्दैन, गोली ठोक्दैन भन्ने निश्चित भएर नै छोरो जेन–जी आन्दोलनमा सहभागी भएको हो।

जेन–जी प्रतिनिधि हुँ भन्दै राजभण्डारी थरका एक जना युवा आउनुभएको थियो। मोबाइल नम्बर दिएर जानुभएको छ। त्यसपछि सम्पर्कविहीन हुनुभएको छ। नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालज्यूलाई मोबाइलमा म्यासेज पठाउँदा पनि आउनुभएको छैन। कुनै रेस्पोन्स गर्नु भएको छैन।
भ्रष्टाचारविरुद्ध तपाईंको छोरा उमेरका जेन–जी पुस्ताको यो विद्रोहलाई कसरी हेर्नु भएको छ ? 

जेन–जीका हामी पिता पुस्ता हौं। पिता पुस्ता पनि भ्रष्टाचारविरुद्ध वाक्कदिक्क थियौं। नयाँ पुस्ता राजनीतिमा आइदिए हुन्थ्यो। मुलुकको विकास भए हुन्थ्यो। छोराछोरीले स्वदेशमै जागिर पाउने वातावरण होस भन्ने त हामीलाई पनि सधैं लाग्थ्यो। विकसित मुलुक देखेको छु। दुई/चारवटा युरोपियन मुलुक घुमेको छु। विकास निर्माणलाई नजिकबाट नियालेको छु। हाम्रो मुलुक पनि त्यस्तै, विकसित होस् भन्ने चाहना त हाम्रो पनि हो नि।

मुलुकको अवस्था झन्–झन् बिग्रँदै गएको अवस्थाले चिन्तित गराउँथ्यो। राजनीतिमा नयाँ पुस्ता अघि सरेर केही विकास गरिदिए हुन्थ्यो चाहना त सुसुप्त अवस्थामा थियो। तर, अभिभावकीय जिम्मेवारीले गर्दा सडकमा विरोध प्रदर्शन गर्न नसकिएको मात्र हो। तर, सडकमै उत्रने आँट छोरा उमेरका जेन–जी पुस्ताले गरेको हो। कतिन्जेल सहने ? सहँदा–सहँदा वाक्क भइयो भन्ने महसुस जेन–जी पुस्ताले गरेको हो। 
भ्रष्टाचार गरेर कमाएको सम्पत्तिमा आफू र आफ्ना सन्तानको ऐस, आरामको जिन्दगी बिताउनेहरू देखिएका छन्। ठूलो हिस्सा पीडादायी अवस्थामै छन्। यो विश्लेषण जेन–जी पुस्ताले गरेको छ। १२ पास गरेर विदेशै त जाने हो ? नेपालमा के छ र ? विकल्प भन्ने खालको निराश भाव जेन–जी पुस्तामा छ। 

यस खालको निराश भाव श्रीयममा पनि थियो ? 
यहाँ (स्वदेश)मा के गर्ने, बाबा ? भन्दै प्रश्न गथ्र्यो। १२ पास गरेर विदेशै त लाग्ने होला नि भन्थ्यो। त्योबाहेक विकल्प के छ ? भन्ने तर्क मिश्रित प्रश्न गथ्र्यो। तिहारपछि जर्मन भाषा सिक्ने योजना थियो। दिदी पनि जर्मनीमा पढ्दै छिन्। छोराले पनि १२ कक्षा सकिनेबित्तिकै जर्मनी जाने पूर्वयोजना बनाएको थियो। 

जेन–जी पुस्ताले शाहदत दिएर मुलुकमा परिवर्तन आएको छ। सहिद पिताका रूपमा के भन्न चाहनुहुन्छ ? 
मेरो छोरालगायत शाहदत प्राप्त गरेका सबै सहिदप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। भ्रष्टाचारमा संलग्न रहेका र भ्रष्टाचारको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिरहेका नवयुवाहरूलाई गोली हान्न आदेश दिने र कार्यान्वयन गर्ने सबैलाई कानुनी कठघरामा ल्याइयोस्। प्रभावकारी ढंगले छानबिन, अनुसन्धान होस्।

कुनै पनि दलमा रहेका शीर्ष नेताहरू जसको पृष्ठभूमि हेरियोस्। पदमा रहँदा कमाएको अकुत धन सम्पत्तिमाथि छानबिन होस्। नवनियुक्त सरकार के गरिरहेको छ ? थाहा पाउन सकिएको छैन। जेन–जी पुस्ताले बगाएको रगत खेर नजाओस्। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित तीन सदस्यीय जाँचबुझ आयोग देखाउने दाँत नबनोस्। जतिसक्दो चाँडो विद्यार्थी पोसाकमा रहेका विद्यार्थीलाई गोली हान्नेहरूको पहिचान होस्।

अहिलेसम्मको अवस्था हेर्दा मन सन्तुष्ट छैन। पीडकहरूलाई कठघरामा हालियोस्। कठघरामा ल्याउन ढिलाइ गर्ने हो भने पुनः सलबलाउन थाल्नेछन्। पोस्टर बनाएर भित्तामा टाँस्दैमा सहिदको सपना पूरा हुँदैन। सहिदको सोच के हो ? त्यो मनन गर्नुपर्छ।

जेन–जी आन्दोलनको नेतृत्वलाई  केही भन्नु छ कि ?

जेन–जी आन्दोलनलाई सफल बनाउन प्राण आहुति गर्नेहरूको परिवारमा जेन–जी जानुपर्छ कि पर्दैन ? खोजीनिती गर्नुपर्छ कि पर्दैन ? सहिद परिवार कुन अवस्थामा छन् ? कस्तो परिस्थिति झेलिरहेका छन् ? यी कुराहरूमा जेन–जी नेतृत्व गम्भीर हुनुपर्छ।

जेन–जीका सूत्रधार एवं नेतृत्वकर्ताहरू आफू–आफूमा झगडा गर्ने बेला होइन। आपसमा विभाजन हुने समय होइन। मन्त्रिमण्डलमा कसलाई लैजाने भन्ने झगडामा पनि अल्झिने होइन । बरु, देश बन्नुपर्छ र देशवासी सुखी हुनुपर्छ भन्ने एजेन्डामा लाग्नुपर्ने आवश्यकता छ। भ्रष्टाचारको अन्त्य र स्वदेशमै रोजगारी हुनुपर्‍यो भन्ने लक्ष्य राख्नुपर्छ। कहिले १२ कक्षा पास गर्ने र विदेश जाने भन्ने जुन सोच नवयुवामा देखिएको छ, त्यस्तो सोच फेर्ने काममा जेन–जी लाग्नुपर्छ।

जेन–जी पुस्ताको आन्दोलनको जगमा सरकार निर्माण भएको हुँदा सरकारको कामकारबाहीप्रति  निगरानी गरिरहनुपर्छ। दोषीलाई कारबाही होस् भन्ने चाहना सहिद परिवारको छ। सहिद परिवारको तर्फबाट जेन–जी पुस्तालाई आशीर्वाद छ। नेपाल रहुन्जेलसम्म जेन–जी आन्दोलनको इतिहास गौरवका रूपमा लिइने छ। 

तत्कालीन सरकारले जेन–जी आन्दोलनमा घुसपैठ भएको दाबी गरेको छ। यसमा के भन्नुहुन्छ ?
कलेजको ड्रेसमा रहेका विद्यार्थीलाई  दिनदहाडै गोली हानिएको छ। यस घटनामा तत्कालीन सरकारलाई यो, त्यो, तर, वा , पनि जस्ता शब्द प्रयोग गर्ने छुट छैन। त्यसको सम्पूर्ण जिम्मा तत्कालीन सरकार र सरकार मातहतका सुरक्षा निकायका प्रमुखहरूले नै लिनुपर्छ। 

६ महिना समयावधि भएको अन्तरिम सरकारलाई तपाईंको सुझाव ?  
जुन उद्देश्यका साथ अन्तरिम सरकारको गठन भएको हो, त्यसमा सफलता प्राप्त होस्। अहिले मात्र होइन, पछि पनि भ्रष्टाचारीहरूलाई टाउको उठाउने ठाउँ नदेओस्। विवेकशून्य अवस्थामा रहेका भ्रष्टाचारी र अपराधीहरूलाई कानुनी कठघरामा उभ्याउन ढिलाइ नगरोस्।

यो बलिदानी व्यर्थ हुन पुगेमा अर्को आन्दोलनका लागि धेरै वर्ष कुर्नुपर्ने हुन्छ। त्यसैले जेन–जीको बलिदानी खेर नजाओस्। भविष्यमा कसैले पनि  अमूल्य जीवनको आहुती दिन नपरोस्। 

प्रस्तुति : दिनेश गौतम


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.