खरबारीको घाँस सकिएपछि
तरकारीको भारी बोकेर
गलकोट बजार जाँदा
करलेको ओरालोमा लर्किएर
खुट्टो फर्किएपछि
चुँडिएको हो, ‘बा’को बायाँ चप्पल ।
चुँडिएको चप्पलकै भरमा
बालाई चुम्नु छ
पहाडका चुचुराहरू
तर्नु छ जिन्दगीको उत्तरवाहिनी
तार्नु छ वैतरणी नदीबाट पितृहरूलाई
पर गराउनु छ असीपत्र वन
देखाउनु छ सन्तानलाई संघर्ष र सपनाको बाटो ।
रोप्नु छ आफ्ना समस्याहरूलाई
डाँडाको चौतारीमा उमार्नु छ पौरखको बिरुवा
छर्नु छ पाखाहरूमा पौरखका फूलहरू
जसबाट निस्किनेछ करोडौं कस्तूरीको बास्ना
त्यसपछि थाहा पाउनेछन्,
हजारौं हरिणहरूले बाको सुगन्ध
आफ्नै पौरख पोखिएर चप्पप्प चुँडिएपछि ।
प्रतिक्रिया दिनुहोस !