विवादरहित बनोस् संवैधानिक नियुक्ति

विवादरहित बनोस् संवैधानिक नियुक्ति
सुन्नुहोस्

संवैधानिक निकायहरूलाई लामो समयसम्म कार्यवाहकको भरमा राख्नु संविधानको मर्मविपरीत हो । तर, नियुक्ति प्रक्रियालाई लोकतान्त्रिक बनाएरै अघि बढ्नुचाहिँ उत्तम विकल्प हो ।

आउँदो फागुन २१ गते निर्वाचन गर्ने भनिएको छ । यही बेला निर्वाचन आयोग भने प्रमुख आयुक्तविहीन छ । १३ वटा संवैधानिक निकायमध्ये आधाभन्दा बढी निर्वाचन आयोगजस्तै प्रमुख वा सदस्यविहीन छन् । अरू आयोग पनि प्रशासनिक कमजोरीसाथ चलिरहेका छन्, निर्वाचन आयोगचाहिँ अहिले मुख्य विषय हो । किनभने, उसले नै फागुन २१ को निर्वाचन गराउने ।

आयोगका आयुक्तहरूको समयावधि ६ वर्ष हुन्छ । त्यसबीच सबैभन्दा महत्त्वपूर्ण कार्य निर्वाचन हो । त्यही बेला प्रमुख आयुक्तविहीन हुँदा निर्वाचन कसरी सम्भव होला भन्ने प्रश्न पेचिलो छ । प्रधानमन्त्री सुशीला कार्की संवैधानिक आयोगहरूमा नियुक्तिका लागि कसरतमा छिन् । सबैभन्दा महत्त्वपूर्ण त निर्वाचन आयोग नै उनको नजरमा छ । तर, संवैधानिक व्यवस्थाअनुसार उनले चाहेअनुसार आयोगहरूमा नियुक्ति हुन सक्छ कि सक्दैन भन्ने अहिलेको जटिल प्रश्न हो । आयोगमा नियुक्तिको सिफारिस संवैधानिक परिषद्ले गर्ने व्यवस्था संविधानको धारा २८४ ले गरेको छ ।

सुशीला कार्की पनि यसअघिकै ओली सरकारकै नजिरअनुसार काम गर्न खोज्दैछिन् ? सर्वोच्चले सदर गरे पनि ओलीले बसालेका ‘थिति’ र सर्वोच्चको नजिर आलोचनामुक्त छैनन् । राजनीतिक वृत्तमा त्यसको ठूलो आलोचना छ । तसर्थ, कार्कीसामु पनि त्यही बाटो अपनाउने कि नआपनाउने भन्ने नैतिक प्रश्न खडा हुन्छ । त्यसमाथि कार्की सरकार त अन्तरिम हो । ६÷६ वर्ष लामो कार्यकाल हुने नियुक्ति अर्थात् दीर्घकालीन महत्त्वको काम अन्तरिम सरकारको क्षेत्राधिकारमा पर्छ कि पर्दैन ? सवाल झन् गम्भीर छ । कार्कीले निर्वाचन आयोगमा आफूखुसी अर्थात् पहिलाकै सरकारको ढंगले नियुक्ति गरिन् र फेरि त्यो मुद्दाले कानुनी वैधता पायो भने पनि राजनीतिक विवाद रहन्छ । निर्वाचन आयोगमा ५ मध्ये २ रिक्त पदमा नियुक्तिका लागि अध्यादेशको बाटो समात्नुअघि कार्कीले हेक्का राख्नुपर्छ, नियुक्ति इतिहासको कठघरामा उभिँदा पनि औचित्यपूर्ण सावित हुन सकोस् ।

निर्वाचनकै हेतु त्यसो गर्नु आवश्यक छ, छैन पनि विचार गर्नुपर्छ । निर्वाचन आयोगको नियुक्ति विवादमा नपर्नेगरी काम गर्नुपर्छ । दलहरूसँग कुनै संवाद गरेर समस्या सुल्झाउनु एकमात्र विकल्प हो यो सरकारलाई । चौतर्फी विचार गरी दलहरूसँग पनि सहमति लिएर उपाय जुराउनु नै कार्कीको बुद्धिमत्ता ठहर्छ । सुशासन र भ्रष्टाचार नियन्त्रणको समेत कार्यादेश पाएकी प्रधानमन्त्रीले विगतका सरकार झंै विवादास्पद बाटो रोज्नु अब हुँदैन । 

संवैधानिक निकायहरूलाई लामो समयसम्म कार्यवाहकको भरमा राख्नु संविधानको मर्मविपरीत हो । तर, नियुक्ति प्रक्रियालाई लोकतान्त्रिक बनाएरै अघि बढ्नुचाहिँ उत्तम विकल्प हो । निर्वाचनको पहिलो सर्त नै सुरक्षा र निष्पक्षता हो । आयोगको नियुक्तिमै निष्पक्षताको प्रश्न यसकारण दिनुहुँदैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.