जो कवितामा देश बोल्थे

निबन्धमा स्रष्टा दृष्टि

जो कवितामा देश बोल्थे

अर्थको गहिराइमा पुग्न महाकविका भावलाई अविधा, लक्षणा, व्यञ्जना तीनै तहबाट बुझ्नुपर्छ।

५० वर्षको जीवन बाँचेका लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन्। मूलतः स्वच्छन्दतावादी आधुनिक नेपाली कवितामा ख्याति कमाएका देवकोटालाई हामी महाकविको रूपमा चिन्छौं। यद्यपि निबन्ध, आख्यान र नाटकमा पनि उनको योगदान उल्लेखनीय छ। देवकोटाका निबन्ध भन्नासाथ ‘लक्ष्मी निबन्ध संग्रह’ सम्झिन्छौं, जसमा समावेश ‘के नेपाल सानो छ ?’ नेपालीको भावनात्मक पहिचानको अभिन्न अंश बनिसकेको छ। राणाकालको निरंकुशतामा लेखिएको यो निबन्ध साहसी अभिव्यक्ति हो, जसमा नेपालप्रतिको गहिरो प्रेम र लगाव स्पष्ट देखिन्छ। ‘के नेपाल सानो छ ?’ भन्ने प्रश्न भूगोल मात्र होइन, भावनाको पनि हो। यसमा रोमान्टिक चेतना प्रसस्त पाइन्छ।

२००२ सालमा तयार भएको यो कृतिलाई त्यही समयको सामाजिक–राजनीतिक परिवेश र देवकोटाको तत्कालीन मनोदशाको सन्दर्भमा मूल्यांकन गरिनु वस्तुनिष्ठ हुन्छ। पुस्तकको भूमिकामा देवकोटाले लेखेका छन्, ‘यो एक किसिमको मनको जालीले जगतमा लहडी माछा मार्ने कला हो। यो टेबल गफ हो, चश्मादार अध्यापकको व्याख्यान होइन, चुरोट खाँदै साथीभाइसँग चुट्किलो जेहेन देखाउने ताश गन्जिफा गफ जस्तो यो प्रबन्ध हलुका क्षणको शृंगार हो। रमरम बुद्धि मात्रको दावा राख्छ। यो मूर्ख हुनुमा घिनाउँदैन यदि मूर्खतामा पनि साहित्यिक रस भरिएको विनोदकारी बनोस्।’

निबन्ध लेखिँदा देशमा निरंकुश राणाशासन थियो। नेपाल विश्व परिदृश्यमा सीमित पहिचान भएको मुलुक थियो। यस सन्दर्भमा यो निबन्ध राष्ट्रिय जागरणको दस्तावेज हो, जसले नेपाली पहिचानको पुनर्निर्माण गर्न खोजेको देखिन्छ। नेपाल औपनिवेशिक शासनमा नपरे पनि वरपरका ठूला राष्ट्रको बीचमा रहेको सानो मुलुकमा मनोवैज्ञानिक हीनताको भावना विकसित भएको थियो। देवकोटाले आकार र मूल्यको द्वन्द्वात्मक तर्कमार्फत नेपाली पहिचान पुनस्र्थापना गर्ने प्रयास गरेका छन्। यसले आत्मविश्वास र स्वाभिमान जगाउन महŒवपूर्ण भूमिका खेलेको छ। निबन्धको तर्कशास्त्रीय संरचना उल्लेखनीय छ। प्रश्नात्मक शीर्षकबाट सुरु गरी उनले क्रमशः भौगोलिक, प्राकृतिक, धार्मिक, ऐतिहासिक र सांस्कृतिक प्रमाणहरू प्रस्तुत गरेका छन्। यो विधि अरस्तुको रेटोरिकल परम्परासँग मेल खान्छ, जहाँ इथोस (विश्वसनीयता), प्याथोस (भावनात्मक अपिल) र लोगोस (तार्किक प्रमाण)को सन्तुलन देखिन्छ। देवकोटाले तथ्य मात्र प्रस्तुत गरेका छैनन्, तिनलाई भावनात्मक आवेशसँग जोड्दै पाठकको हृदयमा प्रवेश गराएका छन्।

स्वच्छन्दता देवकोटाको शैलीगत विशेषता हो। कवितामा जस्तै उनका निबन्धमा पनि रोमान्टिक चेतना प्रकट हुन्छ। विषयवस्तु र शैली–शिल्प दुवैबाट रुमानी कवि देवकोटा निबन्धमा पनि उसैगरी पोखिएका छन्। उनी लेख्छन्, ‘यहाँ वाग्नर कोदाली खनिरहेछन्, शेक्सपियर हलो जोत्दा होलान्, कालीदास असारको १५ मा धाराप्रवाह गीत गाइरहेका होलान्, मकहाँ सान्डोले दाउराका भारी बोकेर ल्याउँछन्, मेरो वनमा हेलेन कलरहरू गीत गाउँछन्। यहाँ कति सवित्रीहरू छन्, तिनका कथा संसारले सुनेकै छैन, यहाँ कति साहित्य छन् जो लेखिएकै छैनन्, न लेखिनेछन्।’ यी पंक्तिहरूबाट देवकोटाको लेखन शैली जादुमयी र विशिष्ट देखिन्छ। निबन्धको वाक्य संरचना लयबद्ध र संगीतात्मक छ। पढ्दा पाठकलाई काव्यात्मक अनुभूति हुन्छ। शब्दको मिठासले मन तान्छ। अर्थको गहिराइमा पुग्न उनका भावलाई अविधा, लक्षणा, व्यञ्जना तीनै तहबाट बुझ्नुपर्छ।

देवकोटाले आफ्ना निबन्ध चश्मादार अध्यापकका व्याख्यान होइन भनेका छन्। त्यसैले रोमान्टिक राष्ट्रवादलाई साहित्यिक कसीमा हेर्दा यो निबन्ध उत्कृष्ट सिर्जना ठहर्छ भन्नेमा विवाद छैन। यद्यपि सामाजिक जिम्मेवारी र आलोचनात्मक दृष्टिकोणबाट हेर्दा यसमा भावुक र रुमानी तर्क छन्, तर भूराजनीतिक सन्दर्भमा आफ्नो सीमा र क्षमताको इमान्दार स्वीकारोक्ति भने छैन। आफ्नो माटो, भाषा, संस्कृति र प्रकृतिप्रति माया गर्नु राम्रो हो, पहिचानमा गर्व गर्नु जरुरी पनि। तर अतिरञ्जित ढंगले ‘यहाँ सब थोक छ’ भन्ने भाष्य निर्माण गर्दै नेपाललाई आत्मनिर्भर राष्ट्रको रूपमा चित्रण गर्नु आधुनिक यथार्थसँग मेल नखाने दृष्टिकोण हो। वर्तमानको भूराजनीतिक यथार्थबाट हेर्दा आधुनिक विश्वमा अन्तरनिर्भरता यथार्थ हो र स्वीकार गर्नु कमजोरी होइन।

जातीय विभेद, छुवाछूत र वर्गीय असमानता देखेका देवकोटाले ‘यहाँका मनुष्य मनुष्यलाई मनुष्यको दृष्टिले हेर्दछन्’ भन्ने दाबी गर्नु ऐतिहासिक रूपमा उपयुक्त थिएन कि ? देवकोटाको अधिभौतिक चिन्तनको दार्शनिक खोज र ज्ञानको गहिराइ भिन्दै छ। आफ्नो ज्ञानप्रति गर्व हुनु त ठीक हो तर हाम्रोजस्तो रुढीग्रस्त समाजमा ‘विज्ञानभन्दा ज्ञान मूल्यवान् छ’ र ‘अन्धविश्वास भन्नेले आफ्नो अन्धविश्वासउपर आँखा चिम्लिरहेछ’ भन्ने भनाइले आम पाठकमा विज्ञान विरोधी मनोवृत्ति पो जन्माउँछ कि ?

नेपाल राजनीतिक रूपमा स्वतन्त्र भए पनि उन्नाइसौं र बीसौं शताब्दीमा ब्रिटिस भारत र चीनको बीचमा रहँदा जनमानसमा हीनताको भावना विकसित भएको थियो। देवकोटाको यो निबन्ध मानसिक उपनिवेशीकरणविरुद्ध बौद्धिक प्रतिरोध हो। आजको डिजिटल युगमा उनले यो निबन्ध लेखेका भए तर्कहरू फरक हुन सक्थे। आज भौगोलिक सीमाको अर्थ बदलिएको छ। लाखौं नेपाली विदेशमा छन्—के नेपाल उनीहरूसँगै सांस्कृतिक रूपमा विश्वव्यापी भएको छैन र ? के उनीहरू ‘नेपाली’ होइनन् र ? 

राष्ट्र–राज्यको अवधारणा संकटमा छ। जलवायु परिवर्तनले हिमाल पग्लिरहेको छ– ‘हाम्रो हिमाल’ भन्ने स्वामित्व कति अर्थपूर्ण छ ? आज हामीलाई चाहिएको रोमान्टिक राष्ट्रवाद होइन, आलोचनात्मक देशभक्ति हो। देशप्रेमको अर्थ समस्याहरू नकार्नु होइन, तिनलाई पहिचान गरेर समाधानका लागि संघर्ष गर्नु हो। यतिबेला देवकोटा भइदिएको भए, ‘नेपाल सानो छ कि ठूलो ?’ भन्दा पनि जेन–जी पुस्तासँगै सडकबाटै ‘नेपाल न्यायपूर्ण छ कि छैन ? समावेशी छ कि छैन ? दिगो छ कि छैन ?’ भन्ने प्रश्न पो उठाउँथे होला।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.