देवकोटाको जीवन सदा साहित्यिक बन्यो। केही समय मन्त्री बने। पद टिक्नु र नटिक्नुको पनि खासै मान्यता रहेन। तर, मन्त्री भएर देवकोटाको साहित्यिक तथा शैक्षिक व्यक्तित्व पक्कै उचालिएको होइन।
नेपाली साहित्यका महान् साहित्यकार तथा ‘महाकवि’को उपाधिबाट विभूषित लक्ष्मीप्रसाद देवकोटाको जीवन स्वयंमा एक रोचक तर विडम्बनापूर्ण कथा हो। उनी साहित्यिक उचाइमा जति शिखरमा थिए, भौतिक र आर्थिक जीवनमा त्यति नै कष्टकर अवस्थाबाट गुज्रिए भनिन्छ। सबै कुरा विचार गर्दा उनलाई जीवनभर आर्थिक कठिनाइमा बाँचेको भन्नु वास्तविकताको धेरै नजिक रहेछ।
सुपुत्र साहित्यकार पद्म देवकोटाले २०७६ सालमा प्रकाशन गरेको ‘सम्झनामा बुवा महाकवि देवकोटा’ पुस्तकमा माथिका तथ्यहरूलाई पुष्टि गर्ने धेरै प्रसंगहरू समेटिएका छन्। ती विविध प्रसंग र सन्दर्भमध्ये एक ठाउँमा पद्म देवकोटाले बुवा केही समयका लागि मन्त्री पनि हुनुभयो तर तुरुन्तै अवकाशको भुमरीमा पर्नुभयो, मन्त्री हुनासाथ आफ्नो पुरानो साँघुरो घर छाडेर भाडामा नजिकैको अंगुरबाबा जोशीको भव्य घर भाडामा लिएर सरकारी सुविधासहित सरियो, तर केही समयमा नै मन्त्री पद गयो र सबै झिटीगुन्टा ‘लरी’मा राखेर पुरानै स्थान (डिल्लीबजार कालिकास्थान) सर्न बाध्य भइयो, अनि बुवाको निधनपश्चात् घर चलाउने र पठनपाठनका लागि खर्च जुटाउन मुस्किल हुँदै गयो, अनि बाध्यताको जन्जीरमा फँस्दै जाँदा बुवाले जतनसाथ दराजमा राखेर बजाउने गरेको ठूलो फिलिप्स रेडियो रातोपुलतिरका एकजना साहुजीलाई ९० रुपैयाँमा बेचियो, त्यसरी बेच्ने काममा भिनाजुको सहयोग थियो।
यो प्रसंगले हाम्रो मन यतिबेला पनि कटक्क हुन्छ। तर त्यो वास्तविकता थियो। कतिपय अनुभवी स्रष्टाहरूले देवकोटा गरिब थिएनन्, त्यो बेला अर्थात् झन्डै सत्तरी–असी वर्षअघि पनि उनको घरमा साइकल थियो, त्यतिबेला साइकल हुनु भनेको अहिले गाडी भएजस्तै हो। उनी धनी नै थिए, तर धनको सदुपयोग गर्न नजान्दा उनी सधैं गरिबको पहिचान बोकेर हिँडे, अभावै–अभावको अनुभूत गरे।
धनैधन भएको भए देवकोटा देवकोटा बन्थे होलान् र ? महाकवि बन्थे होलान् र ?
देवकोटाका बारेमा यस्ता मिश्रित विचार र प्रतिक्रिया आउने क्रम जारी नै छन्। तर पनि घरका अमूल्य सम्पदा (चिनो) बेचेर घरव्यवहार चलाउनु परेको कुरा पद्मले लेखेबाट धेरै कुरा लुकाउनुपर्ने पनि रहेनछ भन्ने लाग्यो। अब कुरा अगाडि बढाउन सकिन्छ, निःसन्देह उनी ‘गरिब’ नै थिए। अथवा देवकोटा जीवनमा कहिल्यै धनी बन्न सकेनन्। जग्गा जमिन जोडेनन्, महल थप्न सकेनन्, मन्त्री भए पनि (अहिलेका मन्त्री र सांसदले जस्तो) गाडी किन्न सकेनन्, विलासिताको जीवन जिउने चेष्टा गरेनन्। अनि, अहिलेका नेताले जस्तो उनले परिवारका कुनै पनि सदस्यलाई ठाँठबाँठको जीवनशैलीमा हिँड्ने बनाएनन्।
यस अर्थमा उनी धनी परिवारको पृष्ठभूमिका गरिब व्यक्ति बन्न पुगे। छोटोमा भन्ने हो भने आफैं गरिब र असम्पन्न बन्दै गरेका व्यक्ति थिए उनी। विश्वप्रसिद्ध पुस्तक ‘रिच ड्याड, पुवर ड्याड’को सन्दर्भजस्तै ! तर धेरैले भन्ने गर्छन्, उनको गरिबी केवल ‘आर्थिक अभाव’मा सीमित थिएन, बरु यो तत्कालीन समाजको वैचारिक असंगति, भौतिकवादी संकीर्णता र अलौकिक प्रतिभाप्रतिको बेवास्ता र उदासीनताको परिणाम थियो।
स्पष्ट हुन्छ, देवकोटालाई गरिब भन्नुको पछाडि धेरै ऐतिहासिक, सामाजिक र व्यक्तिगत आधारहरू रहेका छन्। गरिबीका आधार र कारणहरूमा निश्चय नै पहिलो कारण आम्दानीको अभाव र अस्थिर जीवन थियो। त्यो समयमा पनि बीए तथा बीएल पढेका अर्थात् निक्कै योग्यता भएका, बहुभाषाका ज्ञान भएका र तीक्ष्ण बुद्धि भएका अतीव सिर्जनशील देवकोटाले आफ्नो जीवनकालमा धेरै पेसा अँगाले। उनले शिक्षक, पत्रकार, साहित्यिक पत्रिकाका सम्पादक र केही सरकारी कर्मचारीको भूमिका पनि निर्वाह गरे। तर, उनको कुनै पनि पेसा स्थिर र उच्च आम्दानीको स्रोत बन्न सकेन। त्यो कालखण्डमा साहित्य सिर्जना गरेर आर्थिक रूपमा सुरक्षित हुन सकिने अवस्था थिएन। उनले धेरै कृति कागज, कलम वा पैसाको अभावमा लेखेका थिए भन्ने तथ्यले पनि उनको आर्थिक जीवन कति अस्थिर र अभावग्रस्त थियो भन्ने प्रस्ट पार्छन्।
दोस्रो, पारिवारिक जिम्मेवारी र आफ्नै ‘उदार’ स्वभावले गर्दा उनले कमाएको पैसा पनि बचाउन सकेनन्। उनको परिवार ठूलो थियो (यो कुरा पद्म देवकोटाको पुस्तकमा पनि स्पष्ट उल्लेख छ)। बुबा तिलमाधवको निधनपछि परिवारको सारा जिम्मेवारी लक्ष्मीप्रसाद (तीर्थमाधव) कै काँधमा आएको थियो। ठूलो परिवार (आमा, श्रीमती, छोराछोरीसमेत) को भरणपोषण गर्न सानो आम्दानीले धान्न गाह्रो हुन्थ्यो। काठमाडौंको महँगी उहिले पनि थियो अहिले पनि छ।
यसबाहेक, देवकोटा स्वभावले अत्यन्तै उदार र साथीसंगीबीच बेपर्वाह खर्च गर्ने प्रवृत्तिका थिए भनिन्छ। साथीहरूलाई भेला गराएर खुब खुवाउनुपर्ने उनको अचम्मको बानी थियो रे ! यो कुरा मैले नगेन्द्रराज शर्मा दाइ र रोचक घिमिरे दाइबाट पनि धेरै पटक सुन्ने गरेको छु। पैसा हात पर्नासाथ उनी अभावमा परेका, विद्यार्थी वा साहित्यकार साथीभाइलाई निष्फिक्री बाँडिदिन्थे पनि भनिन्छ। अनि कहाँबाट जोगिन्छ एक जागिरे र लेखनजीवीको पैसा ?
भौतिक सम्पत्ति जोड्नुभन्दा मित्रता र मानवीय सम्बन्धलाई महŒव दिने देवकोटाको यही स्वभावले गर्दा उनी कहिल्यै आर्थिक रूपमा सुरक्षित हुन सकेनन् भन्ने निष्कर्ष निकाल्न गाह्रो छैन। उनी आफ्नो जीवनभर ‘बैंसको ब्याज’ तिर्नमै संघर्ष गरिरहे। ब्याज पाकिरहने, अनि सावाँजस्ताको तस्तै रहिरहने। एकबाट ल्यायो उसलाई दियो, उसबाट ल्यायो अर्कोलाई बुझायो। यस्तै–यस्तै गर्दा उनी सापटी र ऋणको ‘भिसियस साइकल’ अर्थात् ‘दुष्चक्र’ वा परचक्रमा फसिरहेका हुन्थे भनिन्छ।
तेस्रो, देवकोटा गरिब यस अर्थमा पनि मानिन्थे कि भौतिक सुखप्रतिको उदासीनता उनमा प्रबल थियो। हामी सबैले स्वीकारेको कुरा हो– उनी आदर्शवादी व्यक्ति थिए। उनले भौतिक सुख–सामग्रीको कदर गर्नुभन्दा साहित्य सिर्जना, चिन्तन र ज्ञानलाई मूल्यवान् मान्थे। उनको बसोबास, लवाइखवाइ र अन्य धेरै कुरामा सादगीपन झल्कन्थ्यो भन्ने कुरा सयौं व्यक्तिले लेखिसकेका छन्। भनिन्छ, उनको स्वभाव सरल, उदार र व्यावहारिक जीवनमा कमजोर खालको थियो, जसले गर्दा उनी आर्थिक सफलता पाउनबाट चुके, कमाएको पैसा जोगाउनबाट चुके। सायद उनको जीवनशैलीले ‘ज्ञान र कलाको धन भौतिक धनभन्दा माथि’ भन्ने मान्यतालाई आत्मसात् गर्दथ्यो।
निष्कर्षमा, देवकोटाको जीवन सदा साहित्यिक बन्यो। उनी केही समय मन्त्री बने तर त्यो पद धेरै टिकेन। उनका लागि पद टिक्नु र नटिक्नुको पनि खासै मान्यता रहेन। मन्त्री भएर देवकोटाको साहित्यिक तथा शैक्षिक व्यक्तित्व पक्कै उचालिएको होइन। उनको साहित्यिक व्यक्तित्व नै विश्व हल्लाउने थियो। नौ भाषामा साहित्य सिर्जना गर्न सक्नु उनको अब्बल क्षमता थियो। गरिब हुनु र धनी हुनुको पनि उनको जीवनमा खास अर्थ रहेन। धनैधन भएको भए देवकोटा देवकोटा बन्थे होलान् र ? महाकवि बन्थे होलान् र ? उत्तर आआफ्नै ।
प्रतिक्रिया दिनुहोस !