गौरव बढाउने क्रिकेटको आधार खै ?

गौरव बढाउने क्रिकेटको आधार खै ?
सांकेतिक तस्बिर।

नेपाल क्रिकेटमा नयाँ उचाइमा पुगेको छ। आईसीसी ट्वान्टी–२० विश्वकपका लागि छनोट हुनु आफैंमा ठूलो उपलब्धि हो। एसिया–इस्ट एसिया प्यासिफिक छनोट च्याम्पियन बन्नुले यो यात्रालाई थप गौरवशाली बनाएको छ। यो सफलताका पछाडि हाम्रा खेलाडीले धेरै मिहिनेत गरेका छन्।

आफ्नो खेल कौशललाई निखारेका छन्। पूर्वाधारको अभाव नेपाली क्रिकेटले भोग्दै आएको चुनौती हो। पर्याप्त खेल मैदान छैनन्। प्रशिक्षण सुविधा छैन। एकेडेमीहरू छैनन्। सीमित स्रोतसाधनका बाबजुद पनि नेपाली खेलाडीहरूले आफ्नो प्रतिभा र लगनशीलताका कारण सफलता हासिल गरिरहेका छन्। खेलाडीहरूको दृढ संकल्पले यो सफलता प्राप्त भएको छ। यो सफलताले नेपाली क्रिकेटलाई नयाँ दिशा दिन सक्छ।

विश्वकपमा सहभागिताले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान बढाउनेछ। भारत, अस्ट्रेलिया र इंग्ल्यान्डजस्ता ठूला टोलीहरूसँग खेल्ने अवसर पाउनु खेलाडीहरूका लागि अमूल्य अनुभव हुनेछ। जसरी विगतमा सन्दीप लामिछानेजस्ता खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो छाप छोडे, त्यसैगरी आसिफ सेख, दीपेन्द्रसिंह ऐरीजस्ता वर्तमानका नायकहरूले पनि विश्वसामु आफ्नो प्रतिभा देखाउने अवसर पाउनेछन्।

विश्वकपमा छनोट हुनु एउटा खुड्किलो मात्र हो। छनोटपछि अब विश्वकप उचाल्नेतिर ध्यान केन्द्रित गर्न जरुरी छ। राज्यका तर्फबाट पनि दायित्व पूरा हुनुपर्छ। जस्तो कि सरकारले पूर्वाधार विकासमा लगानी बढाउनु अपरिहार्य छ। प्रत्येक प्रदेशमा कम्तीमा एउटा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान र प्रशिक्षण केन्द्र निर्माण गर्नुपर्छ। ग्रास रुट लेभलबाटै प्रतिभा पहिचान र विकासमा जोड दिनुपर्छ। विद्यालय र कलेज स्तरमा क्रिकेट प्रतियोगिताहरूलाई प्रोत्साहन गर्नुपर्छ। खेलाडीहरूलाई उचित प्रशिक्षण र पोषणको व्यवस्था गरिनुपर्छ। 

पछिल्ला वर्षहरूमा नेपाल क्रिकेट संघ (क्यान) भित्र देखिएका विवाद र प्रशासनिक खिचातानीले पनि क्रिकेट विकासमा बाधा पुर्‍याएको थियो। क्यानको व्यवस्थापनलाई अझ पारदर्शी र व्यावसायिक बनाउनुपर्छ। प्रशासनिक सुधार गरी क्रिकेटको विकासमा मात्र ध्यान केन्द्रित गर्नुपर्छ। खेलाडीहरूको हकहित सुनिश्चित गर्नुपर्छ र उनीहरूलाई उचित पारिश्रमिक र सुविधा उपलब्ध गराउनुपर्छ। विश्वकपपछि पनि ठूला राष्ट्रहरूसँग नियमित रूपमा द्विपक्षीय शृंखला खेल्ने अवसर सिर्जना भएमा पक्कै पनि नेपाली खेलाडीले आफ्नो प्रतिभा अझै तिखार्न पाउने थिए। खेलाडीहरूले जसरी राष्ट्रिय गौरवलाई उँचो पारेका छन्, त्यसैगरी राज्यले उनीहरूको मनोबल उँचो पार्ने गतिविधि गर्नुपर्छ। अहिलेलाई सरकारले पुरस्कारको घोषणा गरेर प्रेरित गरेको छ। क्रिकेटको दीर्घकालीन विकासका लागि पनि अरू थुप्रै दायित्व राज्यले पूरा गर्नुपर्छ। 

खेल भनेको केवल मनोरञ्जनमात्रै होइन भन्ने बुझ्न जरुरी छ। धेरै निराशाको समयमा अहिले नेपाली क्रिकेटले आशाको सञ्चार गरायो। खेलले समुदायलाई जोड्छ र राष्ट्रिय गौरव बढाउँछ भन्ने बोध नीति निर्माता र सत्ता सञ्चालकहरूलाई हुन जरुरी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.