सरेको मनसुन र विपद्
यो वर्षको दसैंताका देशैभरि ठूलो वर्षा भयो। धनजनको क्षति पनि देशले बेहोर्यो। तिहारमा पनि मौसम कतै सामान्य त कतै असामान्य नै भयो। खासमा पानी पर्ने समय भनेको साउन, भदौ हो। त्यसैले ती महिना वर्षा ऋतुमा पर्छन्। अचेल भने साउन, भदौपछि धेरै पानी पर्न थालेको छ। यसको मतलब मनसुनले समय सारेको छ। पानी धेरै पर्ने समय भनेको धान रोप्ने मौसममात्रै होइन। पानीले मानिसलाई जीवन दिन्छ। यसैले जीवन लिन्छ पनि। जस्तो कि असोजको बेमौसमी वर्षाले झन्डै ५३ जनाको ज्यान लियो, इलाम जिल्लामा मात्रै ४० हाराहारीका व्यक्तिको ज्यान गयो ।
मनसुनले समय सारेको छ। अनि विपद् पनि सरेको छ। बर्खा मौसमभन्दा बेग्लै समयमा पनि विपद् आइपरेको छ। मनसुन प्राकृतिक कुरा हो। तर मानिसकै कर्मले पृथ्वीको तापक्रम तातिँदो छ। अनि जलवायु परिवर्तन तीब्र गतिमा भइरहेको छ। परिणाम मनसुनको चक्रले समय सारेको छ। तसर्थ यो प्राकृतिकमात्रै नभई मानवीय गतिविधिको उपज हो भन्न सकिन्छ। जल तथा मौसम विज्ञान विभागको तथ्यांकले पछिल्लो ३० वर्षमा मनसुन बाहिरिने मिति अक्टोबरमा सरेको देखाउँछ। त्यसले ‘आकस्मिक’ विपद् निम्त्याइरहेको छ। तर विभागको तथ्यांकको विश्लेषण गरी विपद् जोखिम न्यूनीकरणको तयारी गर्न सकेको भए, त्यो आकस्मिक हुँदैनथ्यो। असोज–कात्तिकमा पनि वर्षा हुन्छ र विपद् आउन सक्छ भन्ने हेक्का राज्यलाई हुनुपर्छ ।
बेलामा पानी नपर्ने, परे पनि एकै ठाउँमा अत्यधिक पर्ने र कतै सुक्खा हुने प्रवृत्ति बढेको छ। अनि नचाहिने बेला धेरै पानी पर्ने हुँदा खेतीपाती र बालीनालीको उत्पादनमा ठूलो असर ल्याएको छ। यो खाद्य सुरक्षामाथिको चुनौती हो। नेपाल कठिन र जटिल भूगोलको देश हो। यहाँ १०० मिलिमिटर वर्षा हुँदा नै विपद् आउँछ। मौसम सम्बन्धी पूर्वानुमानको भरपर्दाे प्रणाली नेपालमा चाहिन्छ। ता कि बेलैमा सबैलाई सचेत पार्न सकियोस्, त्यस अनुसार राज्यले विपद् जोखिम न्यूनीकरणका उपाय पनि गरोस्। धन्न यस वर्षको दसैंताको मौसमी पूर्वानुमानको प्रचार गतिलो भयो। सरकारले पनि धेरथोर तयारी र सुरक्षाका औजारहरू अपनायो। तै दर्जनौं मानिसको ज्यान गयो। त्यति नगरेको भए अझै ठूलो क्षति हुने रहेछ भन्ने अनुमान सजिलै गर्न सकिन्छ।
आकस्मिक विपद्का घटनामा अझै कमजोरी बाँकीचाहिँ छन्। इलाममा स्थानीय तहसम्म सूचना पहिल्यै पुगेको भए कम क्षति हुनसक्थ्यो। विपद् भनेको राष्ट्रिय संकट र चुनौती दुवै हो। यसमा संघ, प्रदेश र स्थानीय सरकारको हातेमालो चाहिन्छ। तिनै सरकारको समन्वयमा विपद् जोखिम न्यूनीकरण गरिनुपर्छ। झन् स्थानीय सरकारले बढी भूमिका खेल्न सक्छ। जनताको नजिक त यही सरकार जो छ। दीर्घकालीन रणनीति संघले बनाउने र त्यसको कार्यान्यनमा प्रदेश र स्थानीय सरकार उत्रने हो भने बदलिएको मनसुन र त्यसले ल्याएको विपद्बाट धेरै हदसम्म
जोगिन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस !