खाना पकाउँदा चिल्लो कति हाल्ने ?
चिल्ला पदार्थमा क्यालोरीलगायत अन्य फाइदाजनक वस्तुहरू हुने भएकाले खानामा यसको महत्त्व छ। चिल्लो पदार्थले खानालाई स्वादिलो र वास्नायुक्त बनाउनुको साथै अन्य पौष्टिक तत्त्वहरू जस्तैः भिटामिन र खनिजतत्त्वहरू शरीरमा शोषण गर्ने कार्यमा पनि सघाउँछ। तर, धेरै मात्रामा चिल्लो पदार्थ उपभोग गर्नाले मोटोपन बढ्नुका साथसाथै मुटुरोग र मधुमेहको जोखिम बढाउँछ।
बढ्दो उमेरका केटाकेटीलाई खानामा अधिक क्यालोरी चाहिन्छ। अन्न मात्र खानाले उनीहरूले पर्याप्त क्यालोरी पाउन सक्दैनन्। तसर्थ, बालबालिकाको खानामा पर्याप्त मात्रामा चिल्लो पदार्थ राख्नुपर्छ। विभिन्न खालका तेलको वैकल्पिक प्रयोग गर्न सकिन्छ। वनस्पति घिउमा स्याचुरेटेड फ्याट र ट्रान्सफ्याट्टी एसिडको मात्रा ज्यादा हुन्छ। यी खालका फ्याट्टी एसिडले मुटुको रोगको खतरा बढाउँछन्। ट्रान्स फ्याट्टी एसिडको मात्रा कुल खानाको एक प्रतिशतभन्दा बढी हुनु हुँदैन। आवश्यक फ्याट्टी एसिड पाइने कारणले गर्दा चिल्लो पदार्थको महत्त्व छ।
यसले शरीरको जैविक गतिविधिलाई सक्रिय बनाउँछ। चिल्लो पदार्थले चिल्लोमा घुलेर रहेका भिटामिनहरू (ए, डी, ई र के) लाई सोसेर राख्छ। धेरै शक्ति हुने चिल्लो पदार्थ खानामा हुनु त्यसबेला ठीक हुन्छ, जब अरू खानेकुरामा कम शक्ति हुन्छ। यद्यपि अधिक क्यालोरी, चिल्लो पदार्थ र कोलेस्टेरोल हुने खानाले रगतमा लिपिड (कोलेस्टेरोल र ट्राइग्लिसिराइड) को मात्रा बढाउँछ। यसबाट दम, मुटुको रोग, हृदयाघात, क्यान्सरजस्ता रोगको खतरा बढ्ने हुन्छ। तसर्थ, शरीरलाई आवश्यक हुने शक्तिअनुसार मात्र सन्तुलित रूपमा चिल्लो पदार्थ खानुपर्छ। अर्को महत्त्वपूर्ण कुरा, चिल्लो पदार्थ खाँदा भेजिटेबल फ्याट (अनस्याचुरेटेड) हुनुपर्छ, न कि स्याचुरेटेड फ्याट वा ट्रान्स फ्याट्टी एसिडमात्र।
सामान्यतः प्रयोग गरिने घिउ तेलमा तोरीको तेल, भटमासको तेल, गाई, भैंसीको घिउ, वनस्पति घिउ आदि हुन्। सबै वनस्पति तेलहरूमा शरीरलाई आवश्यक पर्ने तत्त्व हुन्छ जसले शरीरलाई स्वस्थ रहन मद्दत गर्दछ। हाम्रो खानामा देखिने चिल्लो पदार्थको मात्रा कुल क्यालोरीको २० प्रतिशतभन्दा बढी हुनु हुँदैन। तर हाम्रो खानामा चिल्लोको मात्रा धेरै भएमा मोटोपन बढाउँछ। अधिक चिल्लो भएका खानाले मुटुरोग, मधुमेहजस्ता दीर्घरोग बढाउने जोखिम हुन्छ।
प्रतिक्रिया दिनुहोस !