पूर्णताको दर्शन : ब्रह्मदेखि जगतसम्म

पूर्णता त्यो सूर्य हो, जसबाट असंख्य किरणहरू निस्कन्छन्, तर सूर्यको उज्यालो उस्तै रहन्छ। पूर्णता त्यो सागर हो, जसबाट अनगिन्ती छालहरू उठ्छन्, तर सागरको गहिराइ सधैं उही रहन्छ।

पूर्णताको दर्शन : ब्रह्मदेखि जगतसम्म

पूर्णता केमा छैन ? कहाँ छैन ? के यो अणुमा छैन ?

छ! के यो परमाणुमा छैन ? त्यहाँ पनि छ!

प्रत्येक श्वास र प्रश्वासमा, प्रत्येक ध्वनि र मौनतामा पूर्णता छ। प्रत्येक स्पन्दन र शून्यतामा पूर्णता छ। पूर्णता नै कारण हो, पूर्णता नै परिणाम, अनि पूर्णता नै आरम्भ र पूर्णता नै अनन्त गन्तव्य हो। पूर्णता एउटा अखण्ड प्रवाहित नदी हो, जसको मूल पनि पूर्णतामै निहित छ र गन्तव्य पनि पूर्णतामै पुग्छ। यो नदी कहिल्यै रित्तिँदैन, बरु यसले प्रत्येक क्षण नयाँ स्रोतहरू फुटाउँछ– आफ्नै पूर्ण प्रवाहलाई पुनः पुनर्जीवित गर्दै।

यसर्थ पूर्णता कुनै स्थिर विन्दु होइन, बरु अनन्त वृत्तको जस्तै एक नृत्यमय चक्र हो– जसको वरिपरि असंख्य ब्रह्माण्डहरू ‘ॐ’ को गुरुत्वकेन्द्रमा लयबद्ध रूपमा नाचिरहेका छन्। अतः पूर्णता त्यही शक्ति हो, जहाँ केही घट्दैन, केही बढ्दैन। सब कुरा स्वभावतः परिपूर्ण रहन्छ।

यस लेखमा यही पूर्णताको वरिपरि परिक्रमा गराइनेछ। ॐ नमः शिवायः शिवलाई सम्बोधन गरिएको यो हिन्दु धर्मको अत्यन्त पवित्र र शक्तिशाली पञ्चाक्षरी मन्त्र हो। जहाँ ‘ॐ’ले सर्वव्यापक ब्रह्म, सृष्टिको आदि नाद, सम्पूर्ण अस्तित्वको मूल स्वरलाई इंगित गर्छ भने ‘नमः’ले समर्पण वा अहंकारको विसर्जनलाई अथ्र्याउँछ। अनि ‘शिवाय’ले कल्याणमय, चैतन्यमय र पूर्णब्रह्म शिवलाई जनाउँछ।

यस मन्त्रको मूलभाव हो– ‘म मेरो सम्पूर्ण अहंकार कल्याणमय, नित्य, शुद्ध, चैतन्यरूप शिवमा समर्पण गर्दै उहाँलाई नमस्कार गर्छु।’ यो मन्त्र केवल उच्चारणका लागि मात्रै नभएर आत्मा र ब्रह्मबीचको एकीकरणको अनुभव हो। जहाँ ‘ॐ नमः शिवाय’ उच्चारणसँगै साधकभित्रको सम्पूर्ण अस्थिरता, भय र सीमितता विलीन भई पूर्णता र आनन्दको अनुभव हुन्छ। यसरी शास्त्रहरूमा भगवान् शिवलाई स्वयम् ब्रह्मरूप मानिएको छ। पूर्णताको अद्भुत प्रतीक मानिएको छ। प्रश्नोपनिषद्मा एक साधकले उनीप्रति यही ब्रह्मस्वरूप श्रद्धा व्यक्त 
गर्दै प्रार्थनामा भनेका छन्–
‘इतः पूर्णं ततः पूर्णं पूर्णात् पूर्णं परात्परम्।
पूर्णानन्दं प्रपद्येऽहं सद्गुरुं शंकरं स्वयम्।।’
यसको अर्थ हो– ‘यता पनि पूर्णता, उता पनि पूर्णता; पूर्णताबाट उत्पन्न भएर पुनः पूर्णतामै विलीन हुने, परम पूर्णानन्दस्वरूप स्वयम् सद्गुरु शंकरलाई म नमन गर्दछु।’

यसप्रकार यो प्रार्थनाले भगवान् शंकरलाई पूर्णताको अखण्ड स्रोत र ब्रह्मस्वरूप गुरुका रूपमा प्रतिष्ठित गरेको छ।
यस प्रार्थनालाई अझै सरलीकरण र व्यापक रूपमा यसरी पनि व्याख्या गर्न सकिन्छ–पूर्णता पूर्व र पश्चिममात्रै होइन, यो त यताउता जताततै छ। यो कुनै एउटा दिशामा मात्रै सीमित छैन। किनकि यो स्थानको विषय नै होइन। यो त एक अस्तित्वको स्वरूप हो।
इतः पूर्णम्– यतातिर जे छ, त्यो पूर्ण छ
ततः पूर्णम्– त्यतातिर जे छ, त्यो पनि पूर्ण छ
पूर्णात् पूर्णम्— पूर्णताबाट पूर्ण नै उदित हुन्छ,
किनकि अपूर्णता ब्रह्मको भाषामा सम्भवै छैन।
परात्परम् – त्योभन्दा पर कुनै पर छैन। अथवा जसको न अन्त्य छ न त आरम्भ नै। ती शंकर नै पूर्णानन्दस्वरूप परम ब्रह्म हुन्।

यहाँ ‘पूर्णता’ कुनै स्थिर तत्व होइन, यो त चेतनाको एक अनन्त तरंग हो। जहाँ प्रत्येक स्पन्दन, प्रत्येक सृष्टि, स्वयम् परम शंकरको नृत्यमय छायाँमा घट्छ। पूर्णता ब्रह्मको नीरव ज्योति हो, जसको उज्यालोले अन्धकारको पनि अस्तित्व बुझाउँछ, तर स्वयम् कहिल्यै अन्धकारित हुँदैन। यसैले साधकले जब ‘पूर्णानन्दं प्रपद्येऽहं सद्गुरुं शंकरं स्वयम्’ भन्छ, त्यो केवल गुरु वा देवताको आराधनामात्रै नभएर सम्पूर्ण अस्तित्वमा व्याप्त पूर्ण चेतनाको समर्पण हो।

यसर्थ पूर्णता न बाहिर छ न भित्र, न प्रारम्भमा छ न त अन्तमा नै। ऊ त सर्वत्र स्पन्दित एउटै नाद हो– ॐ। त्यो नाद नै शंकर हो, त्यो शंकर नै पूर्णता हो र त्यो पूर्णता नै अनन्त ब्रह्मको मौन ज्योति हो। पूर्णताको स्वर ‘ॐ’ को मौन नादमा: पूर्णता कुनै गन्तव्य होइन। यो त सम्पूर्ण अस्तित्वको मौलिक स्वभाव हो– जसमा न कमी छ, न त कुनै अभाव नै। पूर्णता कुनै मान सम्मान वा पुरस्कार होइन। यो कुनै परिणाम होइन। यो त त्यो अवस्था हो, जहाँ केही पनि छुटेको छैन। हरेक अणु, हरेक श्वास, हरेक क्षणमा यही पूर्णताको स्पन्दन गुञ्जिन्छ।

यो पूर्णता ‘ॐ’को अनुशासनमा रहेर पनि स्वतन्त्र छ। ‘ॐ’ आत्मा र ब्रह्मबीचको अदृश्य सेतु हो, जसको नादमा सम्पूर्ण सृष्टि उदायमान र पुनः विलीन हुन्छ। जब मन त्यस नादसँग एकाकार हुन्छ, तब साधकले बुझ्छ– पूर्णता बाहिर होइन, भित्रै सदा नित्य, 
अखण्ड र दिव्य रूपमा जागृत छ।

ब्रह्म र जगत्ः ब्रह्म शुद्ध चेतनाको अनन्त सत्ता हो, जसबाट सम्पूर्ण सृष्टिको उत्पन्न, स्थित र लय हुन्छ। यसको न आरम्भ छ न त कुनै अन्त्य नै। ऊ कसैको दृष्टिमा दृश्य बन्दैन। ऊ कसैको नजरमा देखिँदैन। परन्तु ऊ नै सर्वत्र विद्यमान ऊर्जा हो। उसको स्वरूप भनेकै सच्चिदानन्द– सत्य, चैतन्य र आनन्द हो। जहाँ सबैकुराको भिन्नता हराएर ‘अस्तित्वको अखण्ड प्रकाश’ मात्र रहन्छ, ब्रह्म त्यही हो। अतः ब्रह्म समय, देश र रूपका सीमाभन्दा परको परम एकत्व हो। ब्रह्मको चेतन स्पन्दनबाट रूप, नाम र गतिसहितको जे प्रकट हुन्छ, त्यो जगत् हो, त्यो संसार हो। अतः जगत् ब्रह्मको लीला हो। ब्रह्मको एकत्वद्वारा विविध रूपमा प्रकटित अस्तित्वको सौन्दर्य हो। स्थूल रूपमा यो परिवर्तनशील देखिए पनि, यसको अन्तस्थ आधार अपरिवर्तनीय ब्रह्म नै हो।

ब्रह्म र जगत्– अखण्ड आलिंगनको रहस्य

ब्रह्म र जगत् भनेका फूल र रंगजस्तै हुन्, जहाँ एउटाको बिना अर्कोको अस्तित्व नै छैन। फूल देखियो भने रंग पनि सँगै अनुभूत हुन्छ। रंग फूलमा लुकेको सुगन्ध हो भने फूल त्यो रंगको शरीर हो। अतः ब्रह्म र जगत परस्परमा अविभाज्य छन्।
दुवै एउटै चेतन सागरका दुई रूप हुन्। ब्रह्म सागर हो भने जगत् उसका असंख्य तरंगहरू हुन्। जसरी तरंग सागरदेखि अलग हुनै सक्दैन, त्यसरी नै यो सम्पूर्ण जगत् पनि ब्रह्मकै अनन्त लहर हो, त्यसैको खेल हो। यही अद्वैत सम्बन्धलाई नै अखण्डता भनिन्छ। जहाँ, दुई होइन, केवल एक अनन्त सत्तामात्रै विद्यमान हुन्छ।

ब्रह्मको दृष्टिमा शरीर र आत्मा, ध्वनि र मौनता, जन्म र मृत्यु– यी सबै एउटै चेतन सागरका भिन्न छालहरू मात्र हुन्। जसरी सूर्य अनगिन्ती किरणहरू फ्याँकेर पनि एकाकार रहन्छ, त्यसरी नै ब्रह्मले असंख्य रूप र रूपान्तरण सृष्टि गरे पनि आफ्नो पूर्णता कहिल्यै गुमाउँदैन। सृष्टि केवल ब्रह्मको नृत्य हो, जहाँ प्रत्येक कम्पन, प्रत्येक स्वर, प्रत्येक जीवन उसैको प्रकाशमा उदाउँछ र पुनः उसैमा पुगेर अस्ताउँछ वा विलीन हुन्छ। पूर्णताको नादमा ‘ॐ’ को मौन वृत्त
‘ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते।
पूर्णस्य पूर्णमादाय, पूर्णमेवावशिष्यते।’
यो मन्त्रलाई उपनिषद्को ‘पूर्ण मन्त्र’ पनि भनिन्छ।
जो, यजुर्वेदको शुक्ल यजुर्वेदीय शाखा अन्तर्गतको ईशोपनिषद् (अथर्वशीर्ष) मा समावेश छ। यसलाई ईशावास्य उपनिषद्मा 
प्रथम मन्त्रकै रूपमा उल्लेख गरिएको छ। यस मन्त्रको अर्थ हुन्छ– ‘त्यो (परब्रह्म) पूर्ण छ, यो (सृष्टि) पनि पूर्ण छ। पूर्णताबाट पूर्ण उत्पन्न भए पनि, पूर्णताबाट केही घट्दैन; त्यसबाट जे लिइन्छ, त्यो पनि पूर्णै रहन्छ।’ यो मन्त्रले ब्रह्म र जगत् बीचको अद्वैत, अखण्डता र अनन्त पूर्णताको शाश्वत सत्य उद्घाटन गरेको छ। यसर्थ यसलाई  ‘पूर्ण मन्त्र’का रूपमा लिने गरिन्छ।

यस मन्त्रमा उल्लेखित ‘ॐ’ कुनै अक्षर होइन, यो त अस्तित्वको धड्कन हो। त्यो अनादि ब्रह्मको निःशब्द संगीत हो, चेतनाको नाद हो, जहाँ सबै ध्वनि जन्मेर पुनः उही मौनतामै फर्कन्छन्। त्यसैले ऋषिले भनेका छन्– ‘पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते’। अर्थात् त्यो पूर्ण छ, यो पूर्ण छ; पूर्णताबाट जब पूर्ण प्रकट हुन्छ,  पूर्णता घट्दैन। घट्ने कुरा त परै जाओस् बरु यो अनेक रूपमा हाँस्छ, चम्किन्छ, नाँच्छ र बाँच्छ। यसर्थ यो मन्त्र अस्तित्वको स्वास र ब्रह्मको मौन संगीत अनि पूर्णताको प्रतिविम्ब हो। ॐ (ब्रह्म) पूर्ण चेतना हो, जहाँ शून्य छ र त्यो पनि पूर्ण छ। सृष्टि र स्रष्टाबीच कुनै दूरी छैन। जसरी सूर्यका किरणहरू स्वयम् सूर्यकै स्वरूप हुन्, यसरी नै जगत् पनि ब्रह्मकै लयबद्ध नृत्य हो। ऊ आफ्नै रूपमा प्रकट भई पुनः आफ्नै मौनतामा विलीन हुन्छ। अतः पूर्णता कुनै गणना होइन, न त यो कुनै उपलब्धि नै हो। यो त अस्तित्वको सहज श्वास हो। जहाँ न कमी छ, न कुनै अपेक्षा। पूर्णता आफैंमा उज्यालो र आफैंमा भरिएको छ। उसलाई भर्न अरू केही थप्नु पर्दैन। ऊ आफैं सम्पूर्ण भरणको स्रोत हो। सबै अस्तित्वको केन्द्र हो।  सृष्टि यही पूर्णताको लहर हो, जसरी नदी समुद्रमा पुगेर पुनः बादल बनी फेरि बग्दै समुद्र पुग्छ। जो कहिल्यै रोकिन्न, केवल रूप बदल्छ। त्यसरी नै ब्रह्म पनि सदा प्रवाहित छ–पूर्णताबाट 
पूर्णतामा, मौनबाट नादमा, नादबाट पुनः मौनतामै।

पूर्णता – विज्ञान र गणतिका सूत्रमा:
पूर्णता केवल एउटा शब्द वा विचार होइन। यो अस्तित्वको एउटा अखण्ड प्रवाह हो, जसले सूक्ष्मबाट स्थूलसम्म, अंशबाट समष्टिसम्म सबैलाई समेट्छ। यसमा ब्रह्माण्डको सम्पूर्णता, प्रत्येक कणको पूर्णत्व, ऊर्जा र पदार्थको रूपान्तरण र गणितीय अनन्तता समान रूपमा उपस्थित हुन्छन्। पूर्णता ब्रह्म र ब्रह्माण्डको संवाद बनेर निरन्तर मौनता र अनुपम प्रवाहमा रहन्छ। प्रत्येक अंशमा 
पूर्णता झल्किन्छ, प्रत्येक परिवर्तनमा अखण्डता देखिन्छ र प्रत्येक क्षणमा अनन्तताको रहस्य उद्घाटित हुन्छ।
 आउनुहोस् अब विज्ञान र गणितका सिद्ध तथ्यबाट ‘ॐ’को पूर्णतालाई व्याख्या गरौं–
क. पूर्णता: सजीव उदाहरण र गणितीय दृष्टान्त
श्लोकः ‘पूर्णस्य पूर्णमादाय, पूर्णमेवावशिष्यते।’

यसको अर्थ हो– पूर्णबाट पूर्ण निकाल्दा पनि पूर्ण नै बाँकी रहन्छ। पूर्णता न त घट्छ, न त समाप्त हुन्छ। यसको केवल रूप मात्रै परिवर्तन हुन्छ।
१. दृश्यात्मक उदाहरण– स्याउ: मानौं– हातमा एउटा पूर्ण स्याउ छ। यदि यसलाई आधा काट्यौं भने बाँकी आधामा पनि गुण, स्वाद र अस्तित्व पूर्ण नै हुन्छ। अब त्यस आधा भागलाई पनि फेरि आधा पारौं, ती प्रत्येक टुक्राले पनि आफ्नै स्तरमा पूर्ण फलको अनुभूति दिन्छन्। अतः यस उदाहरणले के स्पष्ट पार्छ भने पूर्णबाट अंश निकालेता पनि त्यस अंशमा पनि अखण्ड पूर्णता कायम नै रहन्छ।
२. गणितीय दृष्टान्त– अपूर्णांक: तलको उदाहरण हेरौं–
मानौं, १ बाट आधा घटाइयो तर बाँकी १/२ ले पनि आफ्नो पूर्ण ‘पूर्णता’ बोकेकै छ। अनन्तबाट केही घटाइयो भने पनि अनन्त अपरिवर्तित नै रहन्छ। बदलिने भनेको रूप मात्रै हो।
३. अनन्त शृंखला– अंशमा लुकेको पूर्णता: गणितको संसारमा एउटा अद्भुत चमत्कार छ –
अनन्तको शृंखला। जस्तै– यहाँ अनन्तसम्म जाने अंशहरू क्रमशः साना हुँदै जान्छन्, तर जब तिनीहरू सबैलाई जोडिन्छ, ती ‘साना–साना अंशहरूको यात्रा’ अन्ततः पूर्ण (१) मा पुग्छ। अर्थात् अन्ततः पूर्णतामै फर्किन्छन्।
जसरी अनगिन्ती बुँदहरू मिलेर समुद्र बन्छ र समुद्रले तिनै बुँदहरूलाई फेरि आफ्नै काखमा समेट्छ, त्यसरी नै प्रत्येक अंशमा पूर्णताको कम्पन हुन्छ। यसर्थ यो उदाहरणको मूल मर्म हो– पूर्णबाट अंशहरू उदाउँछन्, तर कुल–योग भने फेरि पनि पूर्ण नै रहन्छ।
४. सेट सिद्धान्त– संख्यात्मक उदाहरण: गणितको सेट सिद्धान्तले भन्छ– यदि कुनै पूर्ण समूह (सार्वभौम समूह)बाट हामीले उप–समूहहरू निकाल्यौं भने पनि मूल समूहले आफ्नो पूर्णता गुमाउँदैन।
यसले के देखाउँछ भने– पूर्ण समूहबाट केही अंशहरू अलग गरे पनि ती अंशहरू पुनः मिल्दा मूल पूर्णता अखण्ड नै रहन्छ। माथिका उदाहरणहरूबाट निष्कर्षमा के भन्न सकिन्छ भने– पूर्णता कुनै आकार, अंश वा रूपले घट्दैन। त्यो सदा अखण्ड, 
सर्वव्यापी र अनन्त प्रवाहमा रहन्छ।

ख. पूर्णताः प्राकृतिक दृष्टान्त र वैज्ञानिक उदाहरणहरू
१. ऊर्जा संरक्षण– पूर्णताको प्रवाह: विज्ञानले भन्छ– ऊर्जा नष्ट हुँदैन, न त यो सिर्जना नै हुन्छ; यसले त केवल रूपमात्रै परिवर्तन गर्छ। अतः संसारमा ऊर्जा कहिल्यै नाश हुँदैन, यो केवल रूपान्तरण मात्रै हुन्छ।
यसलाई स्पष्ट पार्न प्रकाश संश्लेषण क्रियाको उदाहरण–
सूर्यको किरण जब बिरुवाका हरिया पातमा टप्किन्छ, क्लोरोफिलले त्यसलाई ग्रहण गर्छ र त्यसले माटोबाट जल र मल, वायुमण्डलबाट कार्बनडाइअक्साइड र सूर्यको प्रकाशको उपस्थितिमा जीवनको अमृत– अन्नमा रूपान्तरण गर्छ। मानिसले त्यो अन्न खाँदा त्यो ऊर्जा फेरि रगत, सास र चेतनामा परिणत हुन्छ। पछि त्यो चेतन शरीर नष्ट भएर पनि ऊर्जा फेरि वायुमण्डल र माटोमै फर्कन्छ। माटोले फेरि बिरुवालाई पोषण दिन्छ र त्यो बिरुवाले त्यसैगरी पुनः सूर्यको प्रकाशबाट नयाँ ऊर्जा बनाउँछ।

यसरी श्लोक– ‘पूर्णात् पूर्णमुदच्यते’ मा भनिए झैं ऊर्जा कहिल्यै रोकिँदैन, ऊ रूप बदल्दै निरन्तर पूर्ण चक्रमा बगिरहन्छ। ऊर्जाको यो चक्र कुनै टर्बाइन वा यान्त्रिक घुमाइजस्तो होइन, यो त जीवनको दिव्य नाडी हो। जसरी सागरको छालहरू कहिल्यै थाक्दैनन्, त्यसरी नै ऊर्जा पनि कहिल्यै हराउँदैन, केवल आफ्नो स्वरूप बदल्दै नित्य पूर्णताको यात्रामा रहिरहन्छन्। जुन, वेदको– पूर्णमदः पूर्णमिदम् सत्यसँगै प्रतिध्वनित भइरहन्छ।
२. पानीको चक्र– पूर्णताको अनन्त यात्रा: पानी प्रकृतिको सबैभन्दा सुन्दर शिक्षक हो। समुद्रको गहिराइबाट सुरु भएको यसको यात्रा कहिल्यै अन्त्य हुँदैन। सूर्यको तापले उसलाई वाष्प बनाउँछ, बादलमा रूपान्तरण गर्छ, अनि वर्षा भएर फेरि पृथ्वीमा फर्काउँछ। नदी, धूलो, हिलो, पहाड, वन आदि सबैतिर बग्दै अन्ततः यो पुनः समुद्रमै मिसिन्छ। यस यात्रामा– ‘पूर्णस्य पूर्णमादाय, 
पूर्णमेवावशिष्यते’ ले भने झैं पानीले आफ्नो रूप बारम्बार बदले पनि यसले आफ्नो अस्तित्व कहिल्यै गुमाउँदैन।
जस्तैः समुद्रबाट वाष्प बनेर पानी बाहिर निस्कँदा पनि समुद्र रित्तिँदैन, त्यस्तै पानी फर्कँदा पनि कुनै नयाँ चीज थपिँदैन। यो पूर्ण चक्रमा नै चलिरहेको हुन्छ। यही निरन्तरता, यही अखण्ड प्रवाह नै ‘पूर्णताको अनन्तता’ हो– जहाँ कुनै आरम्भ छैन, कुनै 
अन्त छैन, केवल रूपान्तरणको शाश्वत लय मात्र छ।
३. कोषिका– जीवनभित्रको पूर्णताको रहस्य: प्रकृतिको सूक्ष्मतम् तहमा पनि पूर्णताको सिद्धान्त यथावत् छ। एउटा सानो कोषिका जीवनको आधारभूत इकाइ हो। जब यो कोषिका विभाजन हुन्छ, तब यसले आफूमाथि भएको सम्पूर्ण आनुवंशिक जानकारी (डीएनए) नयाँ दुई कोषिकामा समान रूपमा बाँड्छ। यस प्रक्रियालाई माइटोसिस भनिन्छ।

यसमा पुरानो कोषिकाको कुनै भाग हराउँदैन, बरु दुवै नयाँ कोषिकामा पुरानो कोषिकाको अर्थात् जीवनको चेतनाको पूर्ण नक्सा पूर्णरूपमा बाँडिन्छ। जसरी एउटा दियोबाट अर्को दियो बाल्दा पहिलोको उज्यालो घट्दैन, त्यसैगरी कोषिकाको विभाजनमा पनि पुरानो जीवनशक्ति नघटिकन दुवै कोषिकामा पूर्णता बराबर फैलिन्छ। वेदले भनेको ‘पूर्णात् पूर्णमुदच्यते, पूर्णस्य पूर्णमादाय, पूर्णमेवावशिष्यते’ यही सत्यको प्रत्यक्ष वैज्ञानिक रूप हो। जीवनको हरेक तहमा पूर्णताले आफैंलाई विस्तार गर्छ, तर कहिल्यै घट्दैन। शरीरका अनगिन्ती कोषिकाहरू यही शाश्वत सिद्धान्तका दूत हुन्– जहाँ हरेक जन्म, हरेक विभाजन, हरेक रूपान्तरणले ‘पूर्णबाट पूर्ण उदाउँछ, पूर्ण नै बाँकी रहन्छ’ भन्ने 
सत्यलाई निरन्तर गुञ्जाइरहेको छ।

४. पदार्थ र ऊर्जा– पूर्णताको अदृश्य सेतु: पदार्थ र ऊर्जा फरक कुरा जस्तो लागे पनि वास्तवमा ती एउटै पूर्ण सत्यका दुई रूप हुन्। यो सत्यलाई आइन्स्टाइनको प्रसिद्ध सूत्रले प्रमाणित गर्छ कि– पदार्थलाई ऊर्जा बनाउन सकिन्छ र ऊर्जालाई पनि पदार्थमा रूपान्तरण गर्न सकिन्छ, तर यी कुनै पनि प्रक्रियामा दुवैको मात्रामा मात्राको घटबढ हुँदैन, केवल स्वरूप बदलिन्छ तर पूर्णता यथावत् नै रहन्छ। जसरी बर्फ पग्लँदा पानी बन्छ, पानी बाफ बन्छ, तर मूल तत्व (एच–२–ओ) कहिल्यै हराउँदैन। त्यस्तै पदार्थ ऊर्जा बन्छ, ऊर्जा पदार्थमा फर्कन्छ। रूप फेरिन्छ तर अस्तित्वको पूर्णता उस्तै रहन्छ। यही विचार वेदले पहिल्यै यसरी प्रकट गरेको छ– ‘पूर्णात् पूर्णमुदच्यते’। यसको अर्थ हो– पूर्णबाट पूर्ण उदाउँछ, र बाँकी पनि पूर्ण नै रहन्छ।

५. सूक्ष्ममै समष्टि– पूर्णताको क्वान्टम दर्शन: आधुनिक भौतिकशास्त्रको होलोग्राफिक सिद्धान्तले भन्दछ– ब्रह्माण्डको सम्पूर्ण जानकारी यसको हरेक सानो अंशमा सुरक्षित हुन्छ। जस्तै एउटा होलोग्राम सिसालाई टुक्राउँदा त्यसका हरेक टुक्रामा पूरा चित्र देखिन्छ। त्यस्तै, ब्रह्माण्डको प्रत्येक अणु, प्रत्येक तरंगमा सम्पूर्ण सृष्टिको चेतना झल्किन्छ। सूक्ष्म जगतमा पुग्दा ‘अंश’ र ‘पूर्ण’ बीचको सीमारेखा हराउँछ, किनकि हरेक कण आफैंमा सम्पूर्णको प्रतिविम्ब हो। यही सत्यलाई वेदले अति सरल शब्दमा प्रकट गरेको छ – ‘पूर्णमिदं।’ यसको अर्थ हो– यो सारा अस्तित्व पूर्ण छ र यसको प्रत्येक अंश पनि पूर्ण छ। समुद्रको एउटा थोपाले जसरी सम्पूर्ण समुद्रको स्वाद बोकेको हुन्छ, त्यस्तै हरेक परमाणुमा ब्रह्माण्डकै प्रतिध्वनि बास गर्छ। सूक्ष्म र स्थूल दुवै एउटै चेतनाको रूप हुन्, जहाँ विज्ञान र वेदले एकै स्वरमा भन्छन्– पूर्णता कुनै बाहिरी आकार होइन, यो त हरेक अंशभित्र उज्यालो भएर बस्ने अनन्त ब्रह्म चेतना हो।
नोटः विज्ञानमा स–स्याना अंशमा पनि पूर्णताको प्रतिबिम्ब देखिनुलाई होलोग्राम भनिन्छ।
निष्कर्ष: पूर्णताको अनन्त उज्यालो
अब म यस लेखलाई पूर्णताका चोयाले बिट मार्दैछु–
— पूर्णता त्यो सूर्य हो, जसबाट असंख्य किरणहरू निस्कन्छन्, तर सूर्यको उज्यालो उस्तै रहन्छ।
— पूर्णता त्यो सागर हो, जसबाट अनगिन्ती छालहरू उठ्छन्, तर सागरको गहिराइ सधैं उही रहन्छ।
 यही सत्यलाई वेदले ‘पूर्णमदः पूर्णमिदम्, पूर्णात् पूर्णमुदच्यते’ अर्थात् पूर्ण ब्रह्मबाट सम्पूर्ण सृष्टि सिर्जना हुन्छन्, तर ब्रह्म सदा–सर्वदा अखण्ड रहन्छ भनी स्पष्ट पारेको छ।
— तरंग फरक भए पनि सागर एउटै हो।
— दीपहरू अनेक भए पनि ज्योति एउटै हो।
— जीव अनगिन्ती भए पनि आत्मा एउटै हो।
 त्यसैले, सृष्टिको हरेक धड्कनमा पूर्णताको संगीत 
गुञ्जिरहेको हुन्छ, जहाँ न केही बढ्छ, न त घट्छ। केवल रूप मात्रै परिवर्तन हुन्छ। पूर्णता सधैं पूर्णै रहन्छ।
 अस्तु! 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.