सम्झनामा रेशम फिरिरी . . .

सुन्दर श्रेष्ठका विशेषतः ‘रेशम फिरिरी रेशम फिरिरी उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरिरी’, ‘उकालीमा पनि हजुर मोटर जाँदो रै’छ’ जस्ता दर्जनौं गीत उत्तिकै जीवन्त मानिन्छन्।

सम्झनामा रेशम फिरिरी . . .

बहुमुखी प्रतिभाका धनी सुन्दर श्रेष्ठ गायन, वादन, लोकगीत संकलनदेखि नृत्यको विधामा सक्रिय थिए। ४० वर्ष नपुग्दै (२०४८ चैत १३) यस संसारबाट बिदा भएका उनले नेपाली लोकगीत/संगीतको क्षेत्रमा भने उल्लेख्य योगदान दिएका थिए। धनकुटाको देब्रेवासस्थित मामाघरमा जन्मिएका उनको लोकगीत/संगीत तथा नृत्यप्रतिको लगाव भने बेजोडको थियो। सानै उमेरदेखि श्रेष्ठको प्रतिभाले आफ्नो क्षेत्रमा मात्र नभई राष्ट्रियरूपमा समेत पहिचान बनाइसकेको थियो।

त्यसपछि उनले नेपाली लोकगीत/संगीतको क्षेत्रमा एउटा मानक स्थापित गरेका थिए। सरिता श्रेष्ठसँग प्रेमविवाह गरेका श्रेष्ठका दुई छोरी र एक छोरा छन्। विशेषतः ‘रेशम फिरिरी रेशम फिरिरी उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरिरी’, ‘उकालीमा पनि हजुर मोटर जाँदो रै’छ’, ‘छक्कालाई छोडी चौका दाउ हानेको’, ‘पारि पाखैमा’, ‘घर त लगनखेल’, ‘दाहिने सलाम नानीलाई’, ‘पोखराको बजार बन्दीपुरे बजार’, ‘देउरालीमा वर पीपल छायाँ’, ‘खासा है वारी’, ‘मुलाको चाना’लगायतका ६० भन्दा बढी गीत आज पनि उत्तिकै जीवन्त मानिन्छन्। यीमध्ये ‘रेशम फिरिरी’ नेपालको सर्वाधिक रुचाइएको लोकगीतमध्येको एक हो। यस गीतलाई नेपालीले मात्र नभई विदेशीले पनि उत्तिकै रुचाए र यस नेपाली लोकगीतलाई विश्वव्यापी नै बनाइदिए।

यसरी यो नेपाली लोकगीत कहिल्यै नमेटिने पहिचान अन्तर्राष्ट्रिय बन्यो। अहिले पनि विदेशी पर्यटकलाई नेपाली गीत गाउन अनुरोध गर्दा यही गीत गाउँछन्। बुद्धि परियारको संकलनमा सुन्दर श्रेष्ठ र द्वारिकालाल जोशीले गाएको यो गीत २०४४ सालमा रेकर्ड भएको रेडियो नेपालको रेकर्डले देखाउँछ। यसै गीत यसअघि सुन्दर श्रेष्ठ र सन्तोष बस्नेतको स्वरमा पनि रेकर्ड भएको थियो। उनीहरूको स्वरमा यस गीत २०३३ जेठ १५ गते रेकर्ड भएको बुलु मुकारुङद्वारा लिखित ‘नेपाली संगीतको अभिलेख’ पुस्तक (प्रथम संस्करण)मा उल्लेख छ।

तर प्रसिद्धि भने सुन्दर श्रेष्ठ र द्वारिकालाल जोशीको स्वरले नै पायो। फर्केर हेर्दा, श्रेष्ठका गीतहरू सुन्ने जमात आज पनि उत्तिकै देखिन्छ तर उहाँको परिचय भने गुमनाम भइरहेको छ। आफ्ना बुवाले नेपाली सांगीतिक क्षेत्रमा पुर्‍याएको योगदानसँगै उहाँलाई नयाँ पुस्तामाझ चिनाउन जेठी छोरी संगीता श्रेष्ठ लागेकी छन्। युट्युबलगायतका विभिन्न डिजिटल प्लेटफर्ममा उनका गीत उपलब्ध छन्, प्रयोग भएका छन् तर ती गीतको रोयल्टी भने श्रेष्ठको परिवारले अहिलेसम्म पनि पाउन सकेको छैन।

संगीता श्रेष्ठ, जेठी छोरीका अनुसार २०४८ चैत १३ गते बुवा सुन्दरको निधन भएपश्चात्को पाँच महिनाभित्रै हामीले आमा (सरिता) पनि गुमाउनुपर्‍यो। त्यसबेला मेरो उमेर १३ वर्ष थियो भने भाइ र बहिनी क्रमशः ८ र २ वर्षका थिए। हामी टुहुरा भयौं। बुवा बितेपछि ममीले दिनरात उहाँकै कुरा गर्नुहुन्थ्यो। उहाँ पनि विरहमै बित्नुभयो। बुवा बित्दाखेरी दिनभरि रेडियो नेपालमा श्रद्धाञ्जलीस्वरूप उहाँको गीत बजाएको सम्झना आउँछ।

रेडियोमा रेकर्डिङ हुँदाखेरी बुवासँग रेडियो नेपाल गइरहन्थें। बुवा एभरेस्ट कल्चर सोसाइटीमा पनि गाउने, नाच्ने दुवै काम गर्नुृहुन्थ्यो। संयोगले २०५५/५६ मा म पनि त्यहाँ अडिसन दिन गएको थिएँ। पछि बुवा, आमाले पनि त्यहाँ काम गर्नुभएको भनेर थाहा भयो। संयोगले मैले पनि त्यहाँ लामो समय काम गरें।  बुवाले भक्तपुरको बर्दायनी स्कुलमा पनि पढाउनुभयो। भक्तपुर आर्मी स्कुलमा पढाउने/नृत्य सिकाउने गर्नुहुन्थ्यो। अहिले ‘रेशम फिरीरी’ गीतको कुरा गर्दा सुन्दर र द्वारिकालालको नाम नै लिँदैनन्। अहिलेका नाम चलेकालाई पनि थाहा छैन। ‘रेशम फिरिरी’ कसले गाएको हो भन्ने जानकारी हुनु जरुरी छ। स्टेजमा गाउँदा पनि फलानोको गीत भनेर पनि भनिदिऊन् भन्ने लाग्छ।

बुवाको गीतहरू संकलन गर्न रेडियो नेपालमा जानका लागि पासको अनुरोध गर्दा रेडियो नेपालका केही पदाधिकारीले पास दिनै मिल्दैन समेत भने। धेरै दुःख, हन्डर खाएर मैले बुवाको गीत संकलन गरेको छु। आफ्नो बुवाको इतिहास जोगाउन आफैं अग्रसर हुनैपर्‍यो। त्यत्तिको प्रतिभालाई देशले त चिन्न नसकिरहेको अवस्थामा उहाँको पहिचान जोगाउन म एउटी छोरीले गर्न सक्ने जति गरिरहेको छु। म नृत्य निर्देशक भएकाले बुवाको नाच्न मिल्ने गीतहरू विद्यालयका साथीलाई पठाउँछु। नृत्यका कार्यक्रममा विद्यार्थी ती गीतमा नाच्छन्। यसरी नयाँ पुस्तालाई बुवा सुन्दर श्रेष्ठका बारेमा चिनाउन थप सहयोग गर्छ जस्तो मलाई लाग्छ। त्यस्तै, गाडीमा हिँड्दा पनि कतिपयले बुवाकै गीत बजाएको सुन्छु। खुसी लाग्छ। बुवाको बारेमा अहिले मैले खोज गरिरहँदा धेरै नयाँ–नयाँ कुरा पनि थाहा पाइरहेको छु। धनकुटा त उहाँको मामाघर रहेछ, जहाँ  उहाँ जन्मनुभएको रहेछ। बुवाका पुर्खा भने लगनमा मिठाई बनाउने पुस्ताका रहेछन्, बाजेहरू।

के भन्छन्, संगीतकर्मीहरू ?
भैरवबहादुर थापा, अग्रज नृत्य निर्देशक

सुन्दर, भैरव नृत्य दलकै कलाकार हो। उनको स्वर पनि राम्रो। गीतको कम्पोज गर्न सक्ने मान्छे। बहुत राम्रो मादल बजाउने मान्छे। राम्रो डान्सर पनि। नेपाली कलाकारिताको क्षेत्रमा जति पनि प्रतिभाशाली कलाकार निस्किएका छन्, प्रायः भैरव नृत्य दलबाट निस्किएका छन्। तीमध्येका उनी एक प्रतिभा हुन्।

अर्जुन चैनपुरे, अग्रज लोकगायक तथा मादलवादक

सुन्दरजी अल्पायुमै बित्नुभो। उहाँमा कुनै पनि गीतमा लय हाल्ने, कम्पोजिसन गर्ने, बाजा कस्तो राख्ने भन्ने असाधारण क्षमता/प्रतिभा थियो। नाच पनि राम्रो सिकाउने, मादलको राम्रो वाद्यवादक हो।  तर उनले आफूले आफूलाई चिन्न सक्नु भएन। कुन गीतलाई कस्तो संगीत/ताल बाजा राख्ने भन्ने ज्ञान थियो। गीतको मुटु भनेकै ताल हो। अहिलेको गीतमा तालवादन नै सुहाउने खालको छैन। एभरेस्ट कल्चर सोसाइटी लालदरबारमा काम गर्दा भक्तपुरबाट महेश्वर श्रेष्ठ, सावित्री श्रेष्ठ (वज्राचार्य) आउनुहुन्थ्यो। एभरेस्टभन्दा अगाडि उनले भैरव नृत्य दलमा पनि काम गर्नुभएको थियो। उहाँको प्रेमविवाह भएको हो। ससुराली पनि भक्तपुरै हो। सुन्दरले यो देशलाई राम्रो र असाधारण तरिकाको योगदान दिनुभएको छ। त्यो बेलाको लोकगीत/संगीत अहिले छैन। पुराना कलाकारहरूले सुन्दरलाई ‘ब्युटिफुल श्रेष्ठ’ भनेर जिस्काउँथे। सुन्दर र म सन् १९८१ ताका एभरेस्ट कल्चर सोसाइटीबाट फ्रान्स, स्पेन, बेलायतलगायत देश गएका थियौं।

धु्रवराज खड्का, अग्रज लोकगायक

सुन्दर श्रेष्ठ, संगीतको साधक, सर्जक, नृत्य निर्देशक पनि हुनुहुन्थ्यो। मसँग उहाँको असाध्यै विशेष सम्बन्ध थियो। उहाँ हालसम्म भएको भए लोकगीत/संगीतमा ठूलो विकास हुन्थ्यो जस्तो लाग्छ। उहाँको उपस्थितिले मेरा गीत राम्रा बने। त्यसपछि समयमा रेडियोमा मेरो गीत रेकर्ड पनि भएन। उहाँ सेनाको ब्यारेक, ब्यारेकमा पनि नृत्य सिकाउनुहुन्थ्यो। आर्मी हेडक्वाटरमा कम्पिटिसन हुँदा उहाँबाट कोरियोग्राफ भएका नृत्य हुन्थे।

विष्णुकुमार जोशी, अग्रज लोकगायक

सुन्दरजी लोकगीत/संगीतको क्षेत्रमा अत्यन्तै प्रतिभाशाली र तीक्ष्ण बुद्धि भएको व्यक्ति।  मादलमा असाध्यै सिपालु। उहाँ खुल्ला हृदयको मान्छे। स्पष्ट वक्ता। अलिक ठट्यौलो स्वभावको मान्छे। नृत्यतर्फ पनि ज्ञान भएको मान्छे। राम्रो संगीत गर्नुहुन्थ्यो। छोटो आयुमै बित्नुभयो, दुःख लाग्छ। उहाँ अहिलेसम्म भएको भए हामीले कस्ता–कस्ता लोकगीत सुन्न पाउँथ्यौँ होला भन्ने लाग्छ। उहाँका गीत अमर छन्।

सिताराम बडाल अग्रज गायक

सुन्दर श्रेष्ठसँग रेडियो नेपालमा जाने क्रममा मेरो भेटघाट भएको हो। उहाँ सबैलाई उपनाम दिइरहनुहुन्थ्यो। रमाइलो मान्छे। पछि थाहा पाएँ, धनकुटाको भनेर। आफ्नो बेलामा राम्रो मादल बजाउने। ‘घर त लगनखेल’ गीत सँगै गाइयो। उहाँको र मेरो ट्युनिङ मिलेजस्तो भयो। पछि सँगै धेरै गीत गाइयो। एकदिन उहाँको घरमा गएको थिएँ, मखन। अलि ड्रिंक गर्ने थियो। कम उमेरमै निधन भयो। सुन्दर धेरै मजाकिया तथा भलादमी मान्छे। ८–१० वटा गीतसँगै गाइयो। राम्रो साथीमध्ये एक। सुन्दर भाका टिप्ने गर्नुहुन्थ्यो। उहाँको अलि बढी पूर्वेली भाका/गीत छ। सुन्दर भएपछि लोकगीत रेकर्डिङमा टेन्सनै लिनु नपर्ने। 

गोपी श्रेष्ठ, सहकर्मी

सानोको सहपाठी र सहकर्मी सुन्दरलाई अझै सम्झन्छु। धनकुटामा स्कुलमा सँगै पढ्थ्यौं। पारिपात्ले र देब्रैवास क्षेत्रका दस बाह्रजना जति साथीहरू थिए त्यो बेलामा। २०२९/३० सालतिर जिल्ला पञ्चायत सचिवालयमा पनि हामीले सँगै काम गरेका थियौं। संगीत क्षेत्रमा दक्खल भएका उनी २०३२/३३ सालतिर आफ्नो भविष्य निर्माणका लागि काठमाडौंमा आएका थिए। म २०३५ सालमा जागिरको सिलसिलामा काठमाडौं आएपछि पनि बेलाबखत भेट हुने गरेको थियो हाम्रो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.