बेलायती सावनजसो कौलचौणको रिठो
नवपिँढीहरूको ड्यौणा गायनमा फरक मत पनि पाएँ। उनीहरू अत्याधुनिक देउडागीतहरू, बुझिने गीतहरू सुन्न र नाच्न मन पराउँदा रहेछन्।
बेलायती सावनजसो कौलचौणको रिठो
२०४० सालमा रेडियो नेपालमा रेकर्ड गरेको माथिको मौलिक देउडागीतले ४२ वर्षपछि सार्थकता पायो। रेडियोको पुरानो स्टुडियोमा पंक्तिकारले गाएको यो गीतमा संगीत संयोजन गर्ने काम स्व. मदन परियारले गरेका थिए। आज त्यही गीतबाट लन्डनको हारोमा यहाँ बसोबास गर्ने सुदूरपश्चिमवासीलाई वडादसैंको शुभकामना दिइरहँदा धेरैका आँखा रसाए। कतिपयले गीतको शाब्दिक अर्थ बुझेनन्। नवपिँढीलाई बुझ्न कठिन हुनु स्वाभाविक हो, जो व्यक्ति यही जन्मे, यहीको माटोमा हुर्के।
नवरात्रिभर महाकाली, महालक्ष्मी र महासरस्वती देवीको आराधना गरी बडादसैं मनाए। यही सन्दर्भमा सुदूरपश्चिम समाज लन्डनले कार्यक्रम गर्यो। बेलायतस्थित नेपाली तत्कालीन राजदूत चन्द्रकुमार घिमिरेले सरकारी कर्मचारी रहँदा महाकाली पारिका सुन्दर बस्ती चाँदनी र दोधाराका विकासका गर्न सुक्खा बन्दरगाहका लागि विशेष पहलकदमी गरेको कुरा स्मरण गरे। पूर्वसांसद हीरादत्त भट्टले ‘जोशीको सांगीतिक र देउडा संस्कृतिमाथि गरेको अनवरत सेवा घामजस्तै छर्लंग छ’ भन्दै डोटीका कलाकार गुमानी पन्तलाई पनि सम्झनुपर्ने बताए।
सांगीतिक माहोलबीच मौलिक भाका गाइरहँदा मञ्चमा बसेका र अन्य ठाउँमा बसेका सबैजना सुदूरपश्चिम दिदीबहिनी, दाजुभाइ यति नाचे कि धनगढी, महेन्द्रनगरका चौरमा बसेर रामरमिता गरेझैं भयो। घिमिरे सुरुमा डेढीकदम चलाउन अल्मलिए तर बिस्तारै सबैसँग पाइताला मिलाए। नेपाली मौलिक संस्कृति र सभ्यता त देउडामा पो देखिन्छ भन्दै लगातार गीतमा झुम्मिए। पाइताला पनि कूटनीतिक तवरले चलेका देखेर उनीसँग खेलमा झुम्मिएका देउडाका खेलाडी विष्णुदत्त भट्ट (डोटी), बासु जोशी (बैतडी), मानबहादुर चन्द (बैतडी), हरिना सावद (डडेलधुरा), पदम रावल (अछाम) भन्दै थिए, ‘यिनू बड्डाकन खेल खेल्न त निकैअरी आउँदो रैछ त भाउ।’
पुरुष र महिलाको समान उपस्थिति रहेको सो सांगीतिक कार्यक्रममा अधिकांशको माग थियो– बाजमेरी, अलि काकणी खोला, सौराई लागि तेरी आज, कठैदैन, झम्क्यो डालीमालगायतका पंक्तिकारले २०३४ सालदेखि २०५८ सालसम्म रेकर्ड गरेका मौलिक एवं मर्मस्पर्शी भाका। सबै गीत सुनाउन सकिएन समयले गर्दा। जसमा २०४७ सालमा गाएको ‘पाल्पा सहर देखिँदैन सुर्खेत दूर हुनाले, काँ झाईको मरन होला यसाई लहनाले...।’ सुनाएँ। यी भाका सुनिरहँदा डोटी घर भएकी कल्पना जोशी, डँडेलधुरा घर भएकी हरिनाका आँखा पग्लिए। सांगीतिक माहोल दुःखमा परिणत भयो। कालीमाटी अछाम घर भएका जगत शाह, विराटनगर घर भएका प्रदीप पाठक र पुनम भट्ट भन्दै थिए, अब केही रमाइला गीत गाउनुहोस्।
त्यही बीचमा हीरादत्त भट्टले सुझाव दिए– गीतसंगीत गायकको रोजाइमा हुन्छ, माहोलअनुसार कलाकारले गायनको सुरुवात गर्ने गर्छन्। अनि मैले गाएँ, ‘आज पाया पानीको नाउलो आजै तिर्खा मेणु। खेलको लय– रैबारमा...।’ माया पिरती र भेटघाटका यी गीत गाउँदा युवालाई के चाहियो र ? गीत र संगीतको माहोल यति जम्यो कि बेलायतको कुनाकुनाबाट फुर्सद मिलाएर युवायुवती देउडागीतमा नाच्दा सबैजना पसिनाले निथ्रुक्कै भए। हुन पनि हप्ताभरि, महिनाभरि कामको व्यस्तताले थकित मन आराम र रमाइलो खोजिरहेको हुन्छ। बिनासूचना कथंकदाचित काम तलमाथि भएको खण्डमा कम्पनीले कामबाट हटाइदिने, कडा कानुनको अधीनमा रहनुपर्ने जो कोहीले पनि। बेलायती
शासन कडा कानुनी व्यवस्था।
एक धाप्या खेलले जोड्यो तखत
काटी खान्या माया लागी छुटिन्या बखत।
देउडा संस्कृतिमात्र यस्तो संस्कृति हो, जसले बिछोडिएका मनलाई जोड्ने काम गर्दछ। भ्रष्टाचार गर्नबाट मानिसलाई रोक्छ, मनका कलुषित भावना दूर गराउँछ। त्यसैले पनि हो– आपसिक भ्रातृत्व बढाउँदै देउडामा गोलाकार रूपमा घेरो लगाउने र गीतका भाकाहरू सबैले सँगै गाउने। त्यसैले पनि देउडागीत र लयहरूलाई सामान्य रूपमा बुझ्नुहुन्न। इन्द्रेणीका सप्तरंगी रंगहरू झैं देउडामा पनि सबै रंग पोतिएका हुन्छन्। अझ साहित्यमा पाइने नवरस देउडामा पाइन्छ, करुण, हास्य, रौद्र आदि।
सुदूरपश्चिम समाज बेलायतले भव्य कार्यक्रमबीच अभिनन्दन पनि गर्यो। समाजका अध्यक्ष खेमराज जोशी, संस्थापक सुरेन्द्र ढुंगाना र सचिव योगेश महत (डोटी) कार्यसमितिका पदाधिकारी पुनम भट्ट, शैली चन्द (बैतडी) लगायतका व्यक्तित्वको परिश्रमले कार्यक्रमको गरिमा बढेको छ। एकातिर काममा व्यस्त हुनु, अर्कोतिर जन्मभूमि नेपालको भाषा साहित्य र संस्कृतिको संरक्षण गर्नु आफैंमा प्रशंसनीय कार्य मानिन्छ। एक महिना पहिले पनि नेपाली समाज यूके र जनजाति संघ यूकेले आयोजना गरेको कार्यक्रममा पनि नेपाली मौलिक संस्कृति देखेको थिएँ।
म आयाँ बझँग्याबाट तँ आइगै डोटी है
भिट्घाट न हुन्या ठौर क्या माया लौटी है।
बेलायतमा पनि विधिवत् रूपमा देउडा गीत, संस्कृतिको बीजारोपण गरियो। यहाँ बस्ने सुदूरपश्चिमवासीको हर्षको सीमा रहेन। उनीहरू भन्दै थिए– अब त हामीहरू पनि गण्डकी, लुम्बिनी र पूर्वाञ्चलका संस्कृतिकर्मीले झैं कार्यक्रमको आयोजना गर्नेछौं। आयोजकको भविष्यका लागि भएको आग्रहलाई स्वीकार्दै स्वीकृति भाव व्यक्त गर्दै नयाँलाई स्थान दिन भनें– नरेन्द्र रेग्मी, भोजराज भट्ट, उमाशंकर जोशी, महेश आउजी, राजेन्द्र शाह बीपी, दीपा रोकाया, शोभा थापा, लक्ष्मी आचार्य, निरुता खत्री, प्रकाश थापालगायत प्रतिभालाई ठाउँ दिनुपर्छ।
नवपिँढीहरूको ड्यौणा गायनमा फरक मत पनि पाएँ। उनीहरू अत्याधुनिक देउडागीतहरू, बुझिने गीतहरू सुन्न र नाच्न मन पराउँदा रहेछन्। शब्दले होइन, संगीतले उनीहरूको शरीर आफैं नाचेको रक र पप स्टाइलको गीतमा पनि उनीहरू रमाएको देखें। लोकतन्त्रमा सबैथरी गीत खुल्ला छन्। तर मौलिकपनको जिम्मेवारी हुनु नि जरुरी छ। साथै पुराना सर्जकले दुःख गरेका भाकालाई नयाँ शैलीमा उतारी गाएको पनि प्रशस्तै सुनियो। बेलायतमा बस्ने संस्कृतिमा गहिरो अभिरुचि राख्नेहरूले पंक्तिकारलाई कस्ले कसरी ती गीत गाएका रहेछन् भनी प्रश्न गरे। साथै हिसाबकिताब पनि गरेको पाएँ। यसपटक अमेरिकाको न्युयोर्कमा पनि छोराछोरी पुस्ता हुँदै नातिनातिनी पुस्तासम्मलाई ड्यौणा गायन सिकाउने मौका मिलेको छ।
प्रतिक्रिया दिनुहोस !