जीवन हुनेहरू, जीवन दिनेहरू

‘पानीको परेड’मा प्रयुक्त कविताहरूले जीवन–दर्शनलाई केलाएको छ।

जीवन हुनेहरू, जीवन दिनेहरू

सामान्यतः कल्पनाको तरंगमा बहकिने आरोप खेप्ने गरेको ‘कवि–जात’बाट उन्मुक्त एक कविको नाम हो– दिनेश अधिकारी। एक समय मूलतः कविताकै पर्याय बनेर अक्षरसँग आफ्नो दैनिकी साट्ने गरेका उनी पछिल्लो समयमा कविता–लेखनबाट अलिक पछि हटेर गीति–लेखनमा बढी सक्रिय देखिए।

वास्तवमै अघिल्लो समयको तुलनामा कविता प्रकाशनमा केही शिथिल देखिएकै हुन् उनी। तर, बाहिरी रूपमा यस्तो भ्रम देखिएकै मात्र रहेछ, वास्तवमा भित्री रूपमा असंख्य कविता कथिसकेका रहेछन् उनले। अन्ततः कविता–पारखीहरूलाई जिल्याउँदै पौने दुई सय पृष्ठको उनको नवनीत कृति प्रकाशित भएको छ। नाम राखिएको छ– ‘पानीको परेड’। पानीको परेड, झलक्क नाम सुन्दा नै बडो विम्बात्मक लाग्छ। वास्तवमा संग्रहका सबै कवितामा अक्षरहरूले मस्तीपूर्वक परेड खेलेका छन्।
मलाई ताप वा रापबिनाको आगो थाहा छैन
चिसो नपचाएको हिमाल थाहा छैन
हावाले कतै थकाइ मारेको थाहा छैन...

पोखरी बन्छु भनेर कुनै नदी बग्दैन
रात पर्छ भनेर सूर्य कहिल्यै उदाउन 
छाड्दैन...
शब्दहरूलाई शब्दको खहरेबाट झिकी वाक्यको नदीमा हालिदिएर पौडाउनु यी कविको कलमको चमत्कारी खेल हो। वास्तवमा उनको यो खेल उनले आज मात्रै जानेका हैनन्, सुरुवाती लेखनदेखि नै यो विशेषता उनको कलममा रहिआएको पाइन्छ। चाहे कुनै सामान्य अखबार वा साहित्यिक पत्रिकामा छापिएको कविता होस् या मदन पुरस्कार प्राप्त कवितासंग्रह ‘अतिरिक्त अभिलेख’मा संगृहीत कविताहरू होऊन्; ती सबैमा उनको लेखनशैली समान छ।

कवितामा क्लिष्टविहीन शब्द–प्रयोग नगरी बडो सहज शब्दहरूको बनावटमा कुनै पनि कविता तैयार गर्नु उनको लेखनको सबैभन्दा विशिष्ट गुण हो। अर्को वाक्यमा भन्ने हो भने वाक्यलाई भाँचभुच गरेर कथित कविता–ढाँचामा कविता लेख्न रुचाउनेहरूका सामु उनका प्रत्येक अभिव्यक्ति अलग देखिन्छन्।

म–पात्र भएर अभिव्यक्त हुनु सर्वथा कविको निजी शैली हो। यो शैली अपनाउनुको मुख्य कारण के हुन सक्छ भने, कविता पढ्दा पाठकले कविताको ‘म’लाई आफैंमा अनुभूत गरून्! वास्तवमा दिनेशका कविताहरूमा त्यो शक्ति साँच्चै नै पनि विद्यमान छ। उनका प्रत्येक यी कविताप्रति पाठक सम्मोहित हुन्छन्। केही लामा आयतनका कविता होस् या छोटै कवितामा पनि कथा वाचन गरिए झैं अभिव्यक्त हुन सक्ने शक्ति हुनु, उनको कविताको ठूलो शक्ति हो।

कुनै कविता सिधै भनिएर वा कुनै बडो प्रतीकात्मक ढंगले भनेर ठीक कुरो बुझाउन सक्ने क्षमता उनका कविताको अर्को विशेषता हो। दृष्टान्तका रूपमा यसै संग्रहभित्रको ‘घाम’ शीर्षकको कवितालाई पढ्न सकिन्छ :
देखें
टाढाबाट आउँदै गरेको हिउँदे घामलाई
र, खुसी हुँदै
आँगनमा बिस्कुन सुकाएँ
लुगा धोएँ  
तात्तोस् भनेर सिरक बार्दलीमा ल्याएँ
घाम भने
दिनभरि नै
छिमेकी न्यायाधीशको
अग्लो घरको कौसीमा बसिरह्यो।
म हेरेको हेर्‍यै भएँ।
उनका लागि कविता जीवन हो। उनको स्वीकारोक्ति छ– दुखाइ हो कविता, खुसी हो कविता। यसैमा दुख्छन् उनी, यसैमा रमाउँछन् र यसरी आफूमा आइपर्ने भोगाइलाई उनी अभिव्यक्ति दिन्छन्– कवितामार्फत। अलिक बौद्धिक वाक्यमा भन्ने हो भने उनी कवितालाई जीवनको कलात्मक मन्तव्य भनिदिन्छन्। फेरि, अर्को पक्षबाट हेर्दा कवितालाई नै जीवनको वक्तव्य भन्ठान्छन्। कवितालाई नै लडाइँको तरबार पनि देख्न पुग्छन् उनी। यसका अतिरिक्त बडो कवितात्मक शैलीमा यसो पनि भन्छन्– ‘भँगालो र विचारको अँगालो पनि हो। समयको छापसँगै संवेदनाको एकलाप पनि
हो (कविता)।’

साहित्यमा व्यक्त गर्ने शैलीहरू नयाँ–नयाँ हुनु कुनै नयाँ कुरो होइन। यस अर्थमा, साहित्य एउटा प्रयोगात्मक विषय पनि हो भन्ने आधार पाइन्छ। कविताहरूमा पनि प्रस्तुतिको हिसाबले केही नयाँ प्रयोग गरिएको सन्दर्भमा ‘पानीको परेड’ पनि प्रयोग देखिन्छ। जम्मा ७७ शीर्षकका कविता रहेको यसमा ती कवितालाई कविता सुहाउँदा विभिन्न सातवटा मूल शीर्षक दिइएको छ– १) जीवनको ज्वार, २) आस्थाको आकाश, ३) वक्र–वर्षा, ४) नियतिका निःश्वास, ५) प्रकृतिको पदचाप, ६), पाइलापछि पाइला र ७) प्रेमको प्रकाश।

सम्भवतः कविता विधामा भने यो प्रयोग नयाँ नै हुनुपर्छ। यद्यपि, यसको प्रयोग गरिँदा उपयुक्त किसिमले गरिएको छ कि छैन भन्ने विषयचाहिँ प्रमुख हो। जहाँसम्म ‘पानीको परेड’मा यो विधि अपनाइएको छ, त्यसलाई निकै गहिरोसँग कवितासँग तालमेल मिलाइएको छ। उदाहरणका लागि– ‘नियतिका निःश्वास’अन्तर्गत राखिएका शीर्षकका कविताहरू अत्यन्त प्रासंगिक लाग्छन्। यी सबै कविताहरू दुःख–पीडा विषयक छन्। जस्तो कि– ‘ट्रक ड्राइभर’ शीर्षकको कवितामा कोरिएका यी पंक्ति हेर्न सकिन्छ :
... ज्यानै जाने एउटा दुर्घटनाको खोजीमा
हेडलाइट बालेर– राति पनि
म ट्रकको स्टेयरिङ घुमाइरहेकै छु!
एक्सिलेटर दबाइरहेकै छु!!
‘प्रकृतिका पदचाप’अन्तर्गत ‘घरबाट निस्केपछि’ शीर्षकको कविताका पंक्तिले संसारमा आफूभन्दा सम्पन्न अर्को कोही छैन, आफूभन्दा सुरक्षित अर्को कोही छैन भन्ने उज्यालो सन्देश दिएको छ जबकि माथि प्रस्तुत कवितामा निराशा छ। यहीँनिर, प्रकृति–प्रेमलाई प्राथमिकतामा राखिएको छ। माटो र पानीको स्खलनप्रति मीठो शैलीमा– ‘मलाई जीवन दिनेहरू/जताततै/संकटमा छन् यो बेला!’ भनेर कवि चिन्तित देखिन्छन्।
समग्रमा, ‘पानीको परेड’मा प्रयुक्त कविताहरूले जीवन–दर्शनलाई केलाएको छ। मान्छे मात्रै होइन, प्रकृतिको समेत जीवनको आरोह–अवरोह मिश्रित सबै खालका अनुभूतिहरूलाई यसमा समावेश गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.