अपेक्षा
प्राप्तिको उदय
तर प्राप्तिले
वैशिष्ट्यता प्राप्त गर्न नसकेपछि
खुसीले पनि कोमलता उमार्न सकेन
फसादको जड मान्छे थियो
अभिनयको होडबाजीमा
फलतः अब्बल त भयो
त्याग र बलिदानीको अर्थ बुझेन
प्रेमशास्त्रका अनेकन ग्रन्थ लेख्यो
आफैंले पढेन र मनन पनि गरेन
अचेल हृदयको कोठेबारीमा
लहैलहैमा शंका फलेका छन्
ईष्र्याले विश्वासका सेता भित्ताहरू
छिर्केमिर्के बनाएका छन्
फैलिएको छ
उज्यालो मुहारमा बेतुकका कोठी
र पोतेहरू अब हेर्नु छ
रुमानी सम्झनाहरू
प्रेमको तीर्थाटनमा स्नान गर्छन्
कि मुख बंग्याएर अर्को बाटो लाग्छन्
नियाल्नु छ आफ्नोपनको आलोक
पवित्र जल जस्तो देखिन्छ कि
नालीको दुर्गन्धित पानी ?
अपेक्षा छ ढिलो नहोस्
प्राप्ति र खुसीको पुनर्आगमन!
विवेक दुलाल क्षेत्री
प्रतिक्रिया दिनुहोस !