पुस्तकालयभित्र एउटा पुस्तकप्रेमी

पुस्तक अनुमानका आधारमा पढ्नुपर्छ। धेरैजसो घटनालाई लेखकले संकेत मात्रै गरेका छन्।

पुस्तकालयभित्र एउटा पुस्तकप्रेमी

जीवनमा अपनाएको पेसा सिकाउने गुरुको लेखनीमाथि गम्भीर भएर समीक्षा गर्न बाध्यात्मक कठिनाइ भएको छ। रुद्रप्रसाद दुलाल पहिलै दिन मेरा लागि अंग्रेजीको भूत भएर प्रस्तुत भए। फागुनको पारिलो घाम ताप्न छोडेर जब म भूमिगत चिसो कक्षाकोठामा प्रवेश परीक्षा दिन छिरें, त्यहाँ उनले नेपाली नबोल्न चेतावनीवाला हप्की दिए। त्रिभुवन विश्वविद्यालयको पुस्तकालय विज्ञान विभागको गान्धी भवनमा दुलालको शंकालु दृष्टि दुई घण्टा धानेपछि उनले दुई वर्षसम्म मेरा जायज नाजायज सूचीकरण सम्बद्ध प्रश्नको उत्तर दिइरहे। आफैं संयोजक भइदिन विद्यार्थीले गरेको आग्रह मानेर खोजेको पुस्तकालय दिवस तिथिको अठारौं वर्ष २०८२ मा दुलालले ‘शान्त पुस्तकालय, अशान्त जीवन’ शीर्षकमा नेपाली र अंग्रेजी भाषाका दुई पुस्तक विमोचन गराए।

लेखक दुलालको व्यक्तिगत जीवन किन पुस्तकालय शिक्षामा बढी एकोहोरियो ? २०४७ सालमै त्रिविमा उपप्रशासक भइसकेका दुलालले उही तहको पुस्तकालय शिक्षक हुन किन मरिहत्ते गरे ? पुस्तकालय सेवीको छविलाई तिलाञ्जली दिँदै उनले करिब १६ सय किलोमिटर टाढा भारतको आन्ध्र प्रदेशको अनौठो वातावरणमा कसरी पुस्तकालय शिक्षा प्राप्त गरे ? र, देशमै अनगिन्ती पुस्तकालय सेवी जन्माउने संकल्प कसरी लिए ? यिनै प्रश्नको उत्तर विम्बात्मक रूपले प्रस्तुत गर्दै पुस्तक निस्किएको छ। पुस्तक उनकै जीवन झैं जटिल वाक्य संरचनामा लेखिएको छ। क्लिष्ट भाषाशैली र न्यूनतम जानकारीले गर्दा भन्न खोजिएका कुरा बुझ्ने कोसिसमा पाठक थप अल्मलिन्छ।

राम्रा पक्ष अध्ययनका लागि पुस्तक पल्टाउन आग्रह गर्दै यो समीक्षा लेखकले नलेखेका कुरामाथि बढी केन्द्रित हुनेछ। उनै गुरुले सिकाएको गम्भीर अनुशासनमा रहेर उनको लेखनीमाथि कमजोरी खोजिनेछ। मेरा कतिपय सहपेसाकर्मी झैं दुलाल शिष्यको छुच्चो लेखनीबाट बिरक्तिने छैनन्। उनले सिकाएको त्यही हो, डकुमेन्टलाई निर्मम भएर क्याटालगको सूत्रमा बाँध! पुस्तक ३४ विभिन्न शीर्षकमा विभाजित छ। पुस्तकले उनको पारिवारिक तथा व्यावसायिक संघर्ष, नेपाली पुस्तकालय विगत र भविष्यको गोरेटो इंगित गर्छ।

नेपाली पुस्तकालय साहित्य सुहाउँदो पढाइ देशमै आवश्यक देखेर काम गर्ने दुलालका अधिकांश सहकर्मीको देहवसानले पुस्तकालय विज्ञान विभागको रचनागर्भबारे धेरै कुरा थाहा नपाएरै लुप्त हुँदैछन्। पुस्तकालय विज्ञान स्नातकमात्र पढाउने विभागका रूपमा २०५२ मा खडा गरियो। २०५९ सालमा स्नातकोत्तर तह पढाइ हुन थालेपछि विदेश गएर पढ्नुपर्ने बाध्यता हट्यो। स्नातकोत्तर पढाइ सुरु भएपछि फाट्टफुट्ट मात्र विद्यार्थी बाहिरिए। बाहिरिएकाहरू एकवर्षे स्नातकोत्तर वा औपचारिकतामा सीमित विश्वविद्यालय पढेका देखिन्छन्।

पुस्तकालय विज्ञान विभागको रचनागर्भ बोक्ने दुलाल साहस, एकता र त्यागका प्रतिमूर्ति हुन्। उनले आफू रेटिएरै, खटेरै र जुधेरै विभागलाई एकत्रित गरे। विभाग स्थापना प्रस्तावदेखि पाठ्यक्रम तयार गर्नेसम्मका काम उनको सहकार्यमा भएको थियो। संस्थापकमध्ये एक दुलाल अरूको नेतृत्व पटकपटक असफल हुँदा पनि विभागीय नेतृत्वका लागि किनारीकृत भइरहे। यो किन भयो ? यसको उत्तर अरूले खोज्नेभन्दा उनै दुलालले दिनुपर्ने हो तर उनी चुपचाप सहनशील भएर उत्तेजना लुकाउँछन्। महाभारतको कर्णले जसरी पीडा लुकाएर सत्य नछोड्ने दुलाल महान् व्यक्ति हुन्। प्रस्तुत पुस्तकको लेखनी साहित्यिक भावले भरिपूर्ण छ, काभ्रेको ख्याकू जागिर खान जाँदा बाटोमा भिज्दै हिँडेको अनुभवलाई उनले धार्मिक अभिषेक प्राप्त भएको बताएका छन् (पृ. २४)।

पुस्तक अनुमानका आधारमा पढ्नुपर्छ। धेरैजसो घटनालाई लेखकले संकेत मात्रै गरेका छन्। सन्दर्भ नबुझेका पाठकका लागि पुस्तक समुद्रमा कम्पासबिनाको जहाज हो। पुस्तकालयसम्बन्धी सीमित मात्रै जानकारी नेपाली भाषामा पाइने कुरा यसअघि नै देखिइसकेको विषय हो। भएका सामग्री पनि अप्राप्य र अस्पष्ट छन्। लेखक दुलालले विभाग स्थापनाका दौरान पाठ्यक्रम विकास गर्न मेहेनत गरेको र धेरै लेख लेखेको बताए पनि ती लेखको सूची उनैसँगै छैन। अझ त्यस्ता लेखबारे पुस्तकमा कतै चर्चा पाइन्न। आफ्ना पुराना लेख पढेर पुस्तकमा कतै सन्दर्भ प्रयोग गरेको पनि देखिँदैन। मकालु प्रकाशन गृहले छापेको उनको पुस्तक विश्वविद्यालयको माथिल्लो तह पुग्ने लडाइँमा आफन्त प्रकाशक खडा गरेर छापिएका दुलालका पूर्व सहकर्मीद्वय डाक्टर मधुसूदन कार्की र मोहनराज प्रधानका पुस्तकभन्दा सहज छ।

आफ्नो शैक्षिक क्षमतामाथि उत्पीडन भएको बताउने दुलालले मिश्र दम्पतीबाहेक अन्यलाई सोझो भाषामा दोषारोपण गर्न नसक्नुका पछाडिको कारण पुस्तकभरि खुल्दैन। पुस्तकालय विज्ञान शिक्षाका लागि विद्यार्थीमा रुचि बढाउन उनले आफू संलग्न परियोजनामा समावेश गरेको कार्यले अवस्थामा केही सुधार भएको हुनुपर्छ तर यस्ता उत्प्रेरक तत्त्वको निरन्तरता वा फैलावटमाथि विभागमा कहिल्यै बहस भएको देखिँदैन। पुस्तकालय विज्ञान विभाग लोभी र ईर्ष्यालुको प्रतिस्पर्धाका चुकबाट स्थापना भएको दाबी अन्यथा नहोला (पृ.७५)। शिक्षणलाई धर्म मानेका दुलालले कक्षाकोठालाई तपोभूमि मानेका छन्, जहाँ उनले मेहनत, कर्म र श्रमको मूल्य स्थापित गर्ने भरपूर प्रयत्न गरे।

छोटा उपशीर्षकले विषयको उठान मात्रै गरेकाले व्याख्या खोज्न थप लेखनी वा वार्ताको जरुरत देखिन्छ। पुस्तक इतिहासबोधी छ। दुलालको कलम पुस्तकभरि व्याख्या वा सूचनामा भन्दा ज्यादा आध्यात्मिक प्रवचन र बिम्बमा दगुर्छ। मोहन कोइरालाका कविताजस्तो पुस्तकले नेपाली पुस्तकालय क्षेत्रको आरोह अवरोहको कथा विम्बात्मक शैलीमा उठान गरेको छ। एकै अनुच्छेदमा दुई फरक उकार प्रयोगले पुस्तकको नेपाली व्याकरण भद्दा र नमीठो भएको छ। 

सम्पादन नभएको पुस्तकमा प्रुफरिडरको झनै अभाव खड्किन्छ। मुरारीविनोदका शब्दमा ठोसमा भन्दा झोलमा जम्न खोज्ने दुलाललाई मद्यशालाको नाताले पुस्तकालय विज्ञान शिक्षाको रेखा कोरिदिएको प्रसंग ज्यादै रोचक छ। पुस्तकालय दिवस खोजी अभियानका कमान्डर पुस्तकालय दिवस पेसागत संघबाट मन्त्रालय छिरेपछि बिर्सिइएको तीतो मन लिएर इतिहास नमेटिने आशामा दिन पर्खिरहेको भान हुन्छ। सफा कर्म गर्ने अभिलाषा बोकेर सयौं विद्यार्थी उत्पादन गरेका साँवलो वर्णका ह्यान्डसम दुलालले आफ्ना सहकर्मी सबैलाई उछिनेर पुस्तकालय क्षेत्रको इतिहास बोल्ने एक सफेद पुस्तक जन्माएका छन्। पारिवारिक झमेलामा रुमल्लिएर अधिकांश समय दिमाग रन्थन्याउनु परेका दुलालले प्राविधिक शिक्षा दिँदै धेरै विद्यार्थीलाई शान्त पुस्तकालय सेवी बनाउनु स्तुत्य छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.