झापा गोल्डकप आजदेखि
झापा : मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रथम झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ। कार्तिक १५ गतेदेखि सुरु हुने भनिएको प्रतियोगिता चक्रवात ‘मोन्था’को प्रभावका कारण आयोजकले दुई दिनपछि सारेको हो।
शिवसताक्षी नगरपालिका–११ स्थित नवनिर्मित दूधे रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको प्रतियोगिताका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए।
प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ। सोमबार हुने उद्घाटन खेल विभागीय टोली नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ। दोस्रो खेल कात्तिक १८ गते नेपाल एपीएफ क्लबले भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबको सामना गर्नेछ। तेस्रो खेल कात्तिक १९ गते संकटा क्लबर झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
चौथो खेल कात्तिक २० गते त्रिभुवन आर्मी क्लबले आरएस पोखरासँग खेल्नेछ। प्रतियोगिताको पहिलो सेमिफाइनल खेल कात्तिक २१ गते हुनेछ भने अन्तिम सेमिफाइनल खेल कात्तिक २२ गते हुनेछ। झापा महिला गोल्डकपको फाइनल खेल कात्तिक २४ गते हुने प्रतियोगिताका सचिवालय प्रमुख हिमाल खरेलले जानकारी दिए।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार रुपैयाँ पाउनेछन्। यस्तै, उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष थोप्राले जानकारी दिए। यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदयीमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद १५ हजार र ट्रफी प्रदान गरिने जनाइएको छ।
प्रतियोगिताका लागि तीन हजार दर्शक क्षमताको पक्की स्थायी प्यारापिटमा कुर्सी जडानको काम गरिएको छ। अतिथि र विशेष दर्शकका लागि ३०० वटा कुर्सी निर्माण गरिएको हो। १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट पनि बनाइएको अध्यक्ष थोप्राले जानकारी दिए। गोल्डकपलाई यसअघि भएका महिला फुटबल प्रतियोगितामध्ये सबैभन्दा आकर्षक र भव्य बनाउने अपेक्षा लिएको अध्यक्ष थोप्राले बताए ।
प्रतिक्रिया दिनुहोस !