बेमौसमी वर्षाले आलु रोप्न कठिनाइ
महोत्तरी : पर्वको मुखमा नै आलुको बिउ खरिद गरी थन्काएका गौशालाका सुरेश कुशवाहाले अझै आलु खेतमा रोप्न पाएका छैनन्। तिहारको समयमा उनको कार्यालयमा बिदा भएको बेलामा गौशाला बजारबाट दुई बोरा आलुको बिउ घरमा थन्काएका थिए।
सुरेशले भने, ‘सापटी पैसा लिएर प्रतिबोरा १ हजार ८ रुपैयाँका दरले आलुको बिउ घरमा थन्काइयो। पर्व सकिएपछि आलु रोप्ने सोच अझ पूरा भएन्। मौसम प्रतिकूल भएर वर्षाको पानी खेतमा जम्न पुग्दा खेत जोत्न पनि समस्या भएको छ। खेत तयार नहुँदा भण्डारण गरी राखिएको आलुको बिउ उम्रिन थालेको छ।
बर्दिबास नगरपालिका–९ का इन्दल महताले १० कट्ठामा आलु रोपेका छन्। मौसम खुला भएको समयमा पर्वकै बीचमा खेतमा उनले आलु रोपेका थिए।
काउली खेती नसप्रिएर चिन्तित बनेका गौशालाका धनश्याम देवकोटा अहिले खुला आकाश हेर्दै समय बिताउँदैछन्। उनले थपे, ‘गत महिना आएको वर्षाले काउली खेतलाई नष्ट गरेको थियो। सोहीखेतमा आलु रोप्ने सोच बनाएको छु तर मौसमले साथ दिइरहेको छैन। रोप्नमा अबेला हुँदा पछि आलु उम्रनमा समस्या हुनुको साथै रोग लाग्ने डर बढ्न सक्नेछ। फेरि पनि काउली खेती झैं आलुमा पनि नोक्सान हुने सम्भावना छ।’
बेमौसमी वर्षाको कारण खेत अत्यधिक चिसोपन भएपछि हिउँदे बालीनाली लगाउनका लागि स्थानीय किसानहरूलाई समस्या भएको बर्दिबास नगरपालिकाका कृषि शाखा प्रमुख घुरन महतोले बताएका छन्।
उनले भने, ‘अनियमित वर्षा र जलवायु परिवर्तनका कारण तरकारी खेती गर्ने किसानहरू यस वर्ष निकै नै प्रभावित भएको छ। तरकारी खेतीका लागि सिँचाइ प्रणालीमा सुधार अनि मौसमअनुकूल प्रविधि अपनाउन सकेमात्र खेतबारीमा तरकारी उत्पादनलाई व्यवस्थित बनाउन सकिन्छ।’
प्रतिक्रिया दिनुहोस !