महामन्त्रीद्वय : मजबुर कि मनमौजी ?
गएको भदौ २३–२४ को जेन–जी विद्रोहको बहाव र रफ्तारमा सबै नेता त्राहिमाम थिए। दलहरू हायलकायल बने। देश बंगलादेश अथवा श्रीलंकाको पछिल्ला आन्दोलनमा जस्तै आक्रान्त थियो। राजतन्त्र फाल्यौं भनेर हुँकार गर्दै आफैं राजा हुने आशक्ति बोकेका नेताहरू लगभग फालिएको अवस्था थियो। नागरिकको अपेक्षाअनुसार शासन गर्दै जनतालाई खुसी राख्न सकिएन भने बीभत्स अन्त्य हुनुपर्छ भन्ने बुझ्न बाध्य बनिरहेका थिए। एक/दुई दिन त सुइँटाप ठोकेका थिए, अहिले हामी सुध्रन्छौं भन्दै रोदन व्यक्त गर्दैछन्, सहानाभूति र समर्थन खोज्दैछन्। अब हामी धुलो बढारेर उठ्छौं, खरानी टकटक्याएर अगाडि बढ्छौं, गाउँ/गाउँ र जन/जनसामु पुगेर प्रमाणित गर्छौं भन्दैछन्।
भिडियो सन्देशमार्फत यस्तो भन्ने क्रमका पहिलो व्यक्ति नेपाली कांग्रेसका महामन्त्री गगन थापा हुन्। लगत्तै अर्का महामन्त्री विश्वप्रकाश शर्मासमेतको यस्तै अनुनय सार्वजनिक भएको थियो। विस्तारै अरू दलले पनि यो पदचाप पछ्याए। सुधारिएको भुलभुलैयाले नागरिकलाई भ्रमित पार्न कोही दल महाधिवेशन गर्ने, कोही दल पार्टी एकता गर्ने ललिपप पनि देखाउन व्यस्त त छन् नै। सबैजसो दलमा पुरानै नेतृत्व पदको शक्तिमा अझै पनि आशक्ति देखाइरहेछन्, गुटबन्दी गरिरहेछन्, छाड्ने मनस्थितिमा छैनन्। कांग्रेसका सभापति देउवाले चाहिँ सम्मानजनक बहिर्गमन अर्थात् ग्रेसफुल एक्जिट लिएको देखियो। उनको कदमले गर्दा सुध्रने दुवाई र रोदन पस्किरहेका महामन्त्रीद्वयमाथि झन् बढी नजर पर्नु स्वाभाविक बन्दैछ।
महामन्त्रीद्वयको यो रोदन देखावटी, औपचारिक अनि सहानुभूति बटुल्नमात्र हो कि साँच्चै पार्टी शुद्धीकरणको सपना र सोच छ ? २०१५ सालको चुनावमा दुईतिहाइ अनि बहुदलीय व्यवस्थामा दुई पटकसम्म स्पष्ट बहुमत प्राप्त कांग्रेस आज बहुमतबिनाको बबुरो दलमा सीमित हुँदैछ। यस्तै हरिबिजोग र हिजोको विरासत स्खलनको पीडा मनन् गर्दै महामन्त्रीद्वयले गुमेको विरासत अनि ओजलाई फर्काउन हस्तक्षेपकारी नेतृत्व गर्लान् त ? यी चासो सबैमा व्याप्त छ। उनीहरूको कुनै छुट्टै सोच होला/नहोला अथवा आपूmले पद हत्याउने तिकड्मबाजी नै सुधार हो भन्ने सम्झिँदैछन् ? यो त आगामी दिनमा देखिएला। यद्यपि राजनीतिलाई सुधार्ने पुस्तान्तरण र स्थानान्तरण मिश्रित एउटा नवीनतम् नीति निर्माण तथा कार्यान्वयन गर्न सके उनीहरूको मानले नयाँ कीर्तिमान भने कायम गर्नेछ।
हरिबिजोग र हिजोको विरासत स्खलनको पीडा मनन गर्दै कांग्रेसका महामन्त्रीद्वयले गुमेको विरासत अनि ओजलाई फर्काउन हस्तक्षेपकारी नेतृत्व गर्लान् त ? यस्तै अनेक चासो सबैमा व्याप्त छ।
विगतमा अमेरिकामा ओबामा ४६ वर्षमा राष्ट्रपति, बेलायतमा ड्याभिड क्यामरुन ४३ वर्षमा प्रधानमन्त्री, गणतन्त्र कंगोमा जोसेफ काबिला ३० वर्षमा राष्ट्रपति भएको धेरै भएको छैन। सन् १७८३ मा विलियम पिट २४ र १९०४ मा जोन वास्टन ३७ वर्षमा बेलायती प्रधानमन्त्री भएका थिए। अधिक अर्थ सामाजिक परिवर्तनका वाहक मानिएका लोकप्रिय अमेरिकी राष्ट्रपतिद्वय रुजभेल्ट ४२ र रेगन ४३ मा सत्तासीन बने। विकास नमुनामा एउटा अलग सिद्घान्त नै प्रतिपादन गरेकी थ्याचर ५४ मा बेलायती प्रधानमन्त्री थिइन्। टोनी ब्लेयरले ४२ मा प्रधानमन्त्रीत्व लिए। सन्ना मरिन (३६) फिनल्यान्डमा प्रधानमन्त्री, नायिव बुकेले (४०) सल्भादरको राष्ट्रपति, ज्यासिन्दा अर्डेन (४१) न्युजिल्यान्डकी प्रधानमन्त्री, इम्यानुएल म्याक्रो (४३) फ्रान्सको राष्ट्रपति, कार्लोस अलभारदो (४१) कोस्टारिकाको प्रधानमन्त्री, लियो भारदकर (४१) आयरल्यान्डको प्रधानमन्त्री, ग्राबियल बोरिक (३५) चिलीका राष्ट्रपति यस शृंखलाका हालसालैका उदाहरण हुन्। ती देशहरूमा औसत आयु ८० माथि छ, जीवनको मध्य समय र सशक्त ऊर्जा भएकाहरूको नेतृत्व रहँदा फरक सोच, जाँगर, क्षमता प्रस्फुटित हुन्छ। ऊर्जावान् समयमा देशको लागि उच्च रचनात्मक योगदानको अभिप्राय तथा अभ्यास सम्भव रहन्छ।
स्टेफन बक्लेयीको पुस्तक ‘द प्राइम मिनिस्टर एन्ड क्याबिनेट’ले भन्छ युवाहरूको सघन वर्चस्व तथा नेतृत्व भएको राजनीति गतिशीलमात्र होइन, सकारात्मक अनि उत्पादकसमेत देखिन्छ। जनसेवाका अनुपम क्षमता, सोच, अठोट अनि नागरिक समर्थन पनि रहन्छ। जेन–जी विद्रोहले समेत युवा र युवा सोचको नेृतत्व भन्ने नारा पनि तय गरेको थियो। त्यसैले, मैदानमा युवाहरूको सशक्त दस्ता अगाडि सार्दै विकास समर्पित विज्ञताले निर्देशन गर्ने राजनीति (पोलिटिकल मेरिटोक्रेसी) स्थापित गर्नुपर्छ। उक्त मेरिटोक्रेसीलाई स्थानान्तरणको अभ्यासले सघाउन सक्छ।
विकासोन्मुख गतिविधिहरूको सघनतालाई प्राविधिक ज्ञानको पर्याप्तताका लागि राजनीतिमा विभिन्न क्षेत्रका विज्ञ मानिसहरूको पर्दापण आवश्यक छ। फरक/फरक विधा र क्षेत्रका विषयविज्ञ अथवा विशेषज्ञहरूको सघन सहभागिता देश र नागरिक दुवैका लागि निकै लाभदायी देखिएका छन्। विज्ञानमा ग्र्याजुएटेड भारतका ११औं राष्ट्रपति कलाम एरोनेटिक अनुसन्धानको जागिरपछि राजनीतिमा आएका थिए। सन् १९९१ का रुसी राष्ट्रपति बोरिस योल्तसिन निर्माण कम्पनीमा संलग्न थिए। फ्रान्कलिन रुजभेल्टमा पत्रकारिता अनि कुनै बेला मिन्नोसोट्टाका गभर्नर जेसस भेन्तुरामा फिल्म निर्देशनको गहिरो अनुभव थियो। आर्थिक विकासमा द्रुतगति लिएका चीन, जापान, कोरिया, भियतनामलगायतका थुप्रै देशका राजनीतिक अभ्यासहरूमा प्राध्यापक, वकिल, वैज्ञानिक, विभिन्न विधाका विशेषज्ञ तथा अनुसन्धानकर्ता विद्वानहरूको सघन नीतिगत नेतृत्व देखिन्छ।
जे ब्लोन्डेलको पुस्तक ‘वल्र्ड लिर्डरस’ले निष्कर्ष दिन्छ कि कुनै अन्य पेसागत क्षेत्रमा विज्ञ अनुभवी मानिसहरू राजनीतिमा आउँदा कम्तीमा दुईवटा फाइदा हुन्छन्। उनीहरूले आप्mनो जीविकोपार्जनका लागि देशको ढुकुटी दुरुपयोग गर्दैनन् अनि उनीहरूसँग आफ्नो क्षेत्रको द्रुततर अभिवृद्घि गर्न प्रशस्त अनुभव तथा कार्य कौशलता रहन्छ। अन्तरिम सरकारका कतिपय मन्त्रीहरूको सवालमा यो सत्यता उजागर हँुदैछ। तसर्थ विभिन्न क्षेत्रबाट चामत्कारिक पात्र राजनीतिमा ल्याउने प्रयास गर्नुपर्छ, खुल्ला आह्वान गर्न सक्नुपर्छ।
संगठितभन्दा स्विङ मतदाताको अनुपात चार गुणा भएको आजको अवस्थामा विभिन्न क्षेत्रबाट काबिल, अनुभवी, योग्य, इमान्दार अनि कर्तव्यनिष्ठ मानिसहरूलाई आकर्षित गराउनुपर्छ। उनीहरूको विशिष्टता र वैज्ञानिकताको सफल उपयोगमार्फत जनतालाई सकारात्मक सुधारका कार्यक्रम र सोहीअनुसारको नतिजा दिने आचरण तथा संस्कार बसाउनुपर्छ। महामन्त्रीद्वयले अब आफ्नो दलमा त्यस्ता काबिल र बहुविधाका मानिसलाई आकर्षित गराउने मार्गचित्र दिनुपर्छ। आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, स्वास्थ्व, औद्योगीकरण, वैदेशिक सम्बन्धलगायत पचासौं मुख्य क्षेत्रमा विकासको विस्तृत कार्ययोजना निर्माण गराउनुपर्छ। त्यसको समष्टिगत मार्गचित्रसमेत तयार गराएर त्यही कार्यक्रम अनुसार विकासका गतिविधि अगाडि बढाउनलाई नागरिकसामु मतदानको अनुनय गर्ने संस्कार निर्माण गर्नुपर्छ।
दसौं हजार काबिल व्यक्तिको प्रक्षेपित सम्भावित जिम्मेवारीसमेत तोकी सामूहिक सार्वजनिकीकरण (मेरिटोक्रेटिक मेघा लन्च) मार्पmत राजनीतिक विश्वास खोज्नुपर्छ। कम्तीमा १० वर्षभित्र औसत आय तीन हजार डलर र औसत आयु ८० बनोस्। सबैलाई रोजगारी प्रत्याभुति होस्, शिक्षा र स्वास्थ्य निःशुल्क बनोस्। गरिबी, बेरोजगारी तथा असमानता उल्लेख्य घटोस्, सुशासन महसुस होस्। विप्रेषणमा नभै आफ्नै सामथ्र्यमा अर्थतन्त्र धानियोस्। अहिलेको राजनीतिकर्मीहरूमा विषय विज्ञ वा विशेषज्ञको बाहुल्य नभएकाले देश निर्माणको सोच एउटा अभिलाषा त बनेको छ तर अभियान बन्न सकेको छैन। सभापतिले सक्रिय राजनीतिबाट बिदा लिए, अब पदमा नदोहोरिने पनि भनिसके। यो अवस्थामा आगामी निर्वाचन रणनीतिका प्रमुख शिल्पकार महामन्त्रीद्वय नै हुन्, अहिलेलाई सभापति सरहका कमान्ड हुन्।
कुनै पनि राजनीतिक दलको हैसियत उसले आम निर्वाचनमा पाउने मतको आधारमा तय हुन्छ। पार्टीलाई बहुमत दिलाउने मुख्य जिम्मेवारी अहिले पनि महामन्त्रीद्वयकै हो। पार्टी रूपान्तरणको नवीन र अलौकिक अभ्यास गर्न उनीहरूलाई कुनै अवरोध छैन। नवीन एवं अलौकिक योजनासहित बहुमत पाएर कांग्रेसको ऐश्वर्य र वैभव विस्तार गराएमा आगामी सभापतिको रूपमा पार्टी तथा जनताले अहिल्यैदेखि निर्विकल्प व्यक्तित्व महसुस गर्न थाल्छन्। कांग्रेसलाई बहुमत दिलाउन सके त्यही नै पार्टी सुधारको मानक बन्छ, पार्टी बलियो भएको सत्यता स्थापित हुन्छ। अन्य दलका नेताको अझै पनि पदमा टाँसिरहने र दोहिरिने लाचार प्रवृत्तिको सामु देउवाको त्याग अनकुरणीय तथा स्वागतयोग्य छ।
प्रतिक्रिया दिनुहोस !