विश्वकै तीव्र घोडाबीच रोमाञ्चक प्रतिस्पर्धा, तीन महिला ‘जकी’ मेलबर्नको मैदानमा

विश्वकै तीव्र घोडाबीच रोमाञ्चक प्रतिस्पर्धा, तीन महिला ‘जकी’ मेलबर्नको मैदानमा

मेलबर्न (अस्ट्रेलिया) : विश्वभरका तीव्र गतिका घोडाहरूबीच हुने रोमाञ्चक अन्तिम प्रतिस्पर्धा—मेलबर्न कप—यस वर्ष अझै विशेष हुँदैछ । यसपटक तीन जना महिला ‘जकी’ (घोडसवार) आफ्नो वायुपंखी झैँ तीव्र घोडाका साथ मैदानमा उत्रिँदैछन्।

भिक्टोरिया राज्यको मेलबर्नमा मंगलबार हुने १० मिलियन अस्ट्रेलियन डलर पुरस्कार राशिको अन्तर्राष्ट्रिय घोडा दौड प्रतियोगितामा जकी जेमी मेलहमले आफ्नो घोडा हाफयोरसमा सवार हुँदै विश्वलाई चकित पार्ने दाबी गरेकी छन्।

अस्ट्रेलियाको एक टेलिभिजन अन्तर्वार्तामा उनले भनिन्, ‘मेरा घोडा पानीमा पोहोरिए झैँ दौडन्छ। उसलाई वर्षा चाहिँ धेरै मन पर्छ।’ मंगलबार वर्षा हुँने पूर्वानुमानले जेमीको अपेक्षा पूरा हुने सम्भावना बढाएको छ ।

काउफिल्ड कप जितेकी मेलहम अहिले मेलबर्न कपको प्रमुख दाबेदार बनेकी छन्। अहिलेसम्मका १४ दौडमध्ये सातमा उनले जित हात पारेकी छिन्। मेलबर्न कपको दूरी ३ हजार २ सय मिटर (दुई माइल) भए पनि उनी विश्वस्त छन्, ‘मलाई लाग्छ ऊ यो दूरी सजिलै पार गर्नेछ,’ मेलहमले भनिन्।
यदि मंगलबार हाफ योरसले फ्लेमिङटन रेसकोर्समा जित हासिल ग¥यो भने, ऊ एउटै वर्षमा काउफिल्ड कप र मेलबर्न कप दुवै जित्ने १३औं घोडा बन्नेछ। पछिल्लोपटक यो उपलब्धि विथआउट ए फाइटले सन् २०२३ मा हासिल गरेको थियो।

जेमी मेलहम यस वर्ष हाफ योरसमा सवार हुँदै काउफिल्ड कप जित्ने पहिलो महिला जकी बनिन्। अब उनी सोही घोडामा मेलबर्न कप जित्ने मुख्य दाबेदारको रूपमा मैदानमा उत्रिँदैछिन्। गत वर्ष उनले ओकिटा साउसी घोडामा सवार हुँदै तेस्रो स्थान हात पारेकी थिइन्। अर्की अनुभवी महिला जकी मिसेल पेने पनि यस वर्षको प्रतिस्पर्धामा सहभागी छिन्। उनले सन् २०१५ मा मेलबर्न कप जित्ने पहिलो महिला बन्ने ऐतिहासिक उपलब्धि हासिल गरेकी थिइन्।

तेस्रो महिला जकी राचेल किङले अरापाहो घोडामा सवारी गर्नेछिन्। उनले यसअघि चारपटक मेलबर्न कपमा भाग लिइसकेकी छिन्। सेलिन गोड्रे भने टोरेन्जिनो (जिलङ कप विजेता) मा सवार हुँदै पहिलोपटक यो प्रतिष्ठित दौडमा प्रतिस्पर्धा गर्न लागेकी छन्।

महिला जकीहरूको समर्थक पेनेले यी तीनैलाई ध्यानपूर्वक हेरिरहेकी छन्। उनले भनिन्, ‘म चाहन्छु मेलबर्न कप जित्ने महिला जकीहरूको संख्या दोब्बर होस्।’ पेनेले सेलीन गोड्रेलाई ‘एक उदाउँदो तारा’ भन्दै प्रशंसा गरिन्। ‘यो खेलमा समय लाग्छ, विशेष गरी महिला सवारका लागि। अनुभव र अवसर जुटाउनुपर्छ। तर समय बदलिँदैछ। शो जम्पिङमा उनको अनुभव, सन्तुलन र घोडा नियन्त्रण गर्ने सीप असाधारण 
छन्,’ पेनेले भनिन्।

मेलहमको घोडा हाफ योरसका प्रशिक्षक क्याल्भिन म्याकइभोयले विश्वास व्यक्त गर्दै भने, ‘पाँच वर्षीय यो घोडाले दुई माइलको दूरी सहजै पूरा गर्न सक्छ।’ उनका अनुसार हाफ योरसका प्रमुख प्रतिस्पर्धी आयरल्यान्डका जोसेफ ओ’ब्रायनद्वारा प्रशिक्षित अलरिफा हुनेछ, जसले ओसिलो मैदानमा राम्रो प्रदर्शन गर्छ। ‘यदि वर्षा भयो र ट्रयाक नरम भयो भने त्यो हाम्रो पक्षमा हुनेछ,’ उनले थपे।

यस वर्ष मेलबर्न कपका लागि ४ सय १० मिलियन डलर मूल्यका घोडाहरूको नामावली सार्वजनिक गरिएको छ। कुल २४ घोडा अन्तिम प्रतिस्पर्धामा छनोट भएका छन । स्थानीय र अन्तर्राष्ट्रिय दुवै। अस्टे«लिया, फ्रान्स, जापान, आयरल्यान्ड, इंग्ल्यान्ड, जर्मनी, अमेरिका र न्यु–जिल्यान्डका घोडाहरू पनि सहभागी छन्।

दशकौंदेखि निरन्तर हुँदै आएको यो प्रतिस्पर्धा अब केवल खेल होइन, अस्ट्रेलियाको सांस्कृतिक पर्वका रूपमा स्थापित भइसकेको छ। यस वर्षदेखि प्रतिस्पर्धी घोडाले बोक्नुपर्ने न्यूनतम भार ५० केजीबाट बढाएर ५१ केजी गरिएको छ। साथै, विदेशी सहभागिता सहज बनाउन र घोडाहरूको सुरक्षामा थप ध्यान दिइएको बताइएको छ।

कुल १२० घोडामध्येबाट छनोट गरिएका २४ घोडाबीच मंगलबार अन्तिम दौड हुनेछ। यस १६५औं लेक्सस मेलबर्न कपमा १०१ स्थानीय र १९ अन्तर्राष्ट्रिय घोडाहरू प्रतिस्पर्धा गर्दैछन्। जकीहरूले दौडमा घोडाको गति नियन्त्रण गर्छन् । रणनीति बनाउँछन् । र तौल सन्तुलनमा विशेष ध्यान दिनुपर्छ। सामान्यतया जकीहरूको वजन ५० देखि ६० किलोसम्म हुन्छ ताकि घोडामाथि अतिरिक्त भार नपरोस्। सन् २०१५ मा मिसेल पेनेले मेलबर्न कप जितेपछि महिला जकीहरूको सहभागिता उल्लेख्य रूपमा बढेको छ । जसलाई महिला सशक्तीकरणको ऐतिहासिक उदाहरणका रूपमा लिइन्छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.