माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक सुरू
काठमाडौं : नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक सुरू भएको छ। प्रज्ञा प्रतिष्ठानमा बैठक सुरू भएको हो। नेकपा एकीकृत समाजवादीसहित ८ दलबीच भएको एकता सहमति अनुमोदनका लागि बैठक बोलाइएको हो।
पार्टी नाम उल्लेख नगरेपनि चुनाव चिन्ह तारा राख्ने सहमति भएको छ। पार्टी एकता घोषणा भोलि दिउँसो १ बजे भृकुटीमण्डपमा गर्ने तयारी छ। विभिन्न १८ बुँदे प्रस्तावमा सहमति जनाउँदै ८ दलका अध्यक्षहरूले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
पुँजीवादी जनवादी क्रान्तिको उपलब्धिको रूपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्ने लक्ष्यहसति माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी) बीच पार्टी एकता हुन लागेको हो।
यता देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीले भने ३ बुँदे सहमति गर्दै पार्टीलाई नेकपा (माओवादी केन्द्र) समाहित गराइसकेका छन्। यस एकता प्रक्रियामा सहभागी नहुने उद्घोष गरेका माओवादी केन्द्रका असन्तुष्ट नेताहरू र एकीकृत समाजवादीका नेताहरूबीच पनि छुट्टै छलफल चलिरहेको छ।
प्रतिक्रिया दिनुहोस !