सुर्खेतमा प्रहरीको ज्यादती, पीडित पुगे मानवअधिकार आयोगमा

सुर्खेतमा प्रहरीको ज्यादती, पीडित पुगे मानवअधिकार आयोगमा

वीरेन्द्रनगर : सुर्खेत प्रहरीका विरुद्धमा पीडितहरू मानवअधिकार आयोगमा पुगेका छन्। प्रहरीले न्यूनतम् मानवअधिकार हनन् गर्नेगरी वीरेन्द्रनगर नगरपालिकामा भएको शिक्षक तथा विद्यालय व्यवस्थापन समितिहरूले गरेको आन्दोलनमा कुटपिट गरेको भन्दै पीडितहरू मानवअधिकार आयोगमा उजुरी दिएका हुन्। 

आइतबार वीरेन्द्रनगर नगरपालिकाको शिक्षा शाखामा आन्दोलनका क्रममा ताला लगाउन गएका कृष्णसाधारण माविका अभिभावक बखतबहादुर शाहीलाई प्रहरीले हातमा हतकडी लगाई अति संवेदनशील अंगमा प्रहार गरी शक्त घाइते बनाए। जिल्ला प्रहरी कार्यालय निमित्त प्रमुख मोहनजंग थापाको निर्देशनमा नगरप्रहरी प्रमुख राजन भट्टराई सहितको प्रहरीले टोलीले आफूलाई हातमा हतकडी लगाएर कुटपिट गरी अति संवेदनशील अंगमा गम्भीर चोट लागेको शाहीले बताए। 

उनले स्थानीय माया नसिंङहोममा उपचार गराइरहेका छन्। हातमा हतकडी लगाएर न्यूनतम् मानवअधिकार हनन हुनेगरी कुटपिट गरेको भन्दै उनले सुर्खेत स्थित मानवअधिकार आयोगमा उजुरी दिएका छन्। उनले मानवअधिकार आयोगसँगै प्रदेश प्रहरी कार्यालय र प्रहरी हेडक्वार्टरमा समेत उजुरी दिएको बताए। शाहीले भने, ‘म शान्तिपूर्ण आन्दोलनमा सहभागी भएको थिए। प्रहरीले ठुलै अपराधी झैँ व्यवहार गर्दै हत्कडी लगायो र संवेदनशील अंगमा प्रहार गर्‍यो। प्रहरीले अनावश्यक बल प्रयोग गरी मानवीय अधिकारको उल्लंघन गरेको छ।’

घटनापछि स्थानीयवासी र नागरिक समाजका प्रतिनिधिहरूले समेत प्रहरीको कारबाहीप्रति आपत्ति जनाएका छन्। सामुदायिक विद्यालय महासंघ, नेपाल शिक्षक संघ लगायतका आन्दोलनरत सरोकारवालाहरूले कानूनको शासनमा विश्वास राख्दै शान्तिपूर्ण आन्दोलन गर्ने नागरिकमाथि यसरी बल प्रयोग गर्नु प्रहरीको ज्यादती भएको बताएका छन्। उनीहरूले विज्ञप्ति निकाल्दै मानव अधिकारकर्मीहरूले यो घटना राज्य संयन्त्रले जिम्मेवारीपूर्वक व्यवहार गर्न नसकेको भन्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरेका छन्। 

शिक्षक सरुवामा नगरपालिकाले विभेद गरेको र पाँच वर्षका लागि नियुक्त भएका प्रधानाध्यापकहरूलाई एक वर्षमै पदबाट हटाएको विरुद्धमा वीरेन्द्रनगरका शिक्षक तथा अभिभावकहरू आन्दोलित भएका थिए। उक्त घटनाको निष्पक्ष अनुसन्धान र पीडितलाई न्याय सुनिश्चित गर्न सरकार, प्रहरी प्रशासन र मानव अधिकार आयोगलाई सरोकारवालाहरूले आग्रह गरेका छन्। यता नगरपालिकाले विद्यार्थी संख्या, विद्यालयका आवश्यकता र नगर शिक्षा ऐनलाई टेकेर शिक्षकहरूको सरुवा र दरबन्दी मिलान गरिएको जनाएको छ। वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले सोमबार पत्रकार सम्मेलन गर्दै आफूहरूले शिक्षक सरुवा र दरबन्दी मिलानमा अन्याय नगरेको दाबी गरिन्। 

यस्तै केही दिन अगाडि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-८ निवासी दिपबहादुर बुढाले आफूलाई गैरकानुनी रुपमा हिरासतमा राखेको भन्दै सुर्खेत प्रहरीका विरुद्ध प्रदेश प्रहरी कार्यालय लगायतका सरोकारवाला निकायमा उजुरी गरेका थिए। उनका अनुसार आफ्नो साथीले भारतमा आफूसँगको सामान्य विवादमा चोरीको आरोप लगाएको, आरोप लगाउने व्यक्तिको श्रीमती जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कार्यरत भएकै कारण पहुँचका आधारमा आफूलाई अभद्र व्यवहारमा प्रहरीले मुद्दा चलाई हिरासत राख्यो। उनले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा नागरिकहरू अनावश्यक रुपमा पीडित हुने गरेको बताए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रमुख डीएसपी मोहनजंग थापालाई सम्पर्क गर्न खोज्दा फोन उठाएनन्। प्रदेश प्रहरी कार्यालयका प्रमुख माधव श्रेष्ठले प्रहरीले मानवअधिकारको पूर्ण संरक्षण गर्ने बताए। उनका अनुसार वीरेन्द्रनगरमा भएको शिक्षक तथा अभिभावकहरूको आन्दोलनमा प्रहरीले सामान्य रुपमा धरपकट गरेको हो। उनले भने, ‘तर मानवअधिकार उलंघन गरेको होला भन्ने मलाई लाग्दैन। यदि त्यसो हो भने प्रहरीले छानबिन गर्छ। छानबिनका क्रममा मानवअधिकार हनन भएको पाइए प्रहरीलाई पनि कारबाही हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.