‘यलुङ री’ हिमपहिरोमा परेकामध्ये दुईजना नेपालीको शव फेला
दोलखा : ‘यलुङ री’ हिमपहिरोमा मृत्यु भएका दुई नेपालीको शव फेला परेको छ। मृत्यु हुनेमा सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–५ का मेरे कार्की र दोलखाको गौरीशंकर गाउँपालिका–९ का पदम तामाङ रहेका छन्।
रोल्वालिङ हिमश्रृंखला अन्तर्गतको यलुङ री हिमालको बेसक्याम्पको हिमपहिरोमा परेर मृत्यु भएकाहरुको शव संकलनको काम भइरहेको छ। हिमपहिरोमा परी २ नेपाली र ५ विदेशीसहित ७ जनाको मृत्यु भएको र ८ जनाको उद्धार भएको उद्धारमा खटिएकाहरुले बताएका छन्। जिल्ला प्रशासन कार्यालय दोलखाले भने दुई जना नेपाली पथप्रदर्शकको शव फेला परेको र ५ विदेशी बेपत्ता भएको विवरण सार्वजानिक गरेको छ।
दुई जना इटालियन आरोहीसहित फ्रान्स, क्यानडा र जर्मनीका एक/एक जना हिमपहिरोमा परेको जनाइएको छ। हिमपहिरोमा परेका सबैको पहिचान खुलेको छ। ५ जना नेपाली र ३ जना विदेशीलाई हेलिकोप्टरमार्फत उपचारकालागि ह्याम्स अस्पताल धुम्बराही र इरा अन्तर्राष्ट्रिय अस्पताल सोह्रखुट्टेमा उपचार गराइरहेकोजिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ।
हिमपहिरोमा इटलीका २ जना पाउलो कोको र मार्कस किचर्लर परेका हुन्। यस्तै, जर्मनीका ज्याकोब श्राइवर, फ्रान्सका क्रिस्चियन आन्द्रे मनफ्रेडी, क्यानडाका मार्को डि मार्सेलो रहेको जनाएको छ। हिमपहिरो गएको क्षेत्रमा उनीहरुको शव खोजी भइरहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ।
उनीहरु गत कात्तिक ११ गते दोलखाको गौरीशंकर गाउँपालिका–९ मा पर्ने रोल्वालिङ क्षेत्रमा रहेको ५६३० मिटरको यलुङ रि हिमाल आरोहणका लागि १५ जनाको टोली गएका थिए। उनीहरू सोमबार बिहान ८ बजेतिर हिमपहिरोमा परेका दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए।
प्रतिक्रिया दिनुहोस !