क्यान्सरका कारण गौशालामा २ शिक्षकको मृत्यु
महोत्तरी : क्यान्सरजस्तो प्राणघातक रोगको कारण गौशाला नगरपालिकामा कार्यरत रहेका दुई शिक्षकको मृत्यु भएको छ। उपचारका क्रममा रहेका दुई शिक्षकको अकालमै मृत्यु भएको हो।
एक हप्तामै यस पालिकामा सामुदायिक विद्यालयमा कार्यरत रहेका उनीहरुको मृत्यु भएपछि नगरपालिकाको शिक्षामा अतुलनीय क्षति भएको गौशाला नगरपालिकाको कार्यालयले जनाएको छ।
गौशाला नगरपालिका-८ स्थित वीरेन्द्र मावि वेलगाछीमा स्थायी मावि तहका शिक्षक एवम् सोही विद्यालयका प्रधानाध्यापक रामनारायण साहको मृत्यु भएको छ। उनी लामो समयदेखि मस्तिष्कघातको शिकार रहेका थिए। उनले क्यान्सरको सिकार भएको थाहा पाएलगतै देशका विभिन्न अस्पतालमा उपचार गराउँदै आएको थियो। उपचारकै क्रममा सोमबार राति मृत्यु भएको सो विद्यालयका निमित्त प्रधानाध्यापक लालकिशोर रायले बताए।
उनी काम गर्नका लागि असक्त भएपछि विद्यालयको सम्पूर्ण जिम्मेवारी गतबर्ष नै आफूलाई सुम्पिएर बाहिरबाट विद्यालय सञ्चालनका लागि सहयोगीको भूमिका निर्वाह गर्दै आएको रायले जानकारी दिए।
त्यस्तै २० वर्षसम्म विद्यालयका बाल विकास शिक्षकका रूपमा कार्यरत रहेकी रेश्मा बलम्पाकीको गत कात्तिक १० गते क्यान्सरकै कारण मृत्यु भएको थियो। सोही पालिकामा रहेको श्री जनता आधारभूत विद्यालय ढल्केवर–८ मा कार्यरत रहेकी शिक्षिका बलम्पाकीको क्यान्सरकै कारण अल्पायुमै मृत्यु भएको थियो।
गत फागुनमा स्वास्थ्यमा असहज भएपछि उपचारकै क्रममा उनलाई क्यान्सर भएको पत्ता लागेको विद्यालयका प्रधानाध्यापक घनश्याम देवकोटाले जानकारी दिए। तत्पश्चात् उनले विभिन्न समयमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार सेवा लिए तापनि आफूलाई बचाउन नसकेको प्रधानाध्यापक देवकोटाले जानकारी दिएका छन्।
त्यस्तै यो सँगै क्यान्सरका कारण ज्यान जाने शिक्षकको संख्या दुई पुगेको छ। यी दुई शिक्षकको मृत्यु भएपछि गौशाला नगरको शिक्षामा अमूल्य क्षति भएको नगरपालिकाको कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !