दूधकोशी जलविद्युत् आयोजना निर्माण प्रक्रियामा

दूधकोशी जलविद्युत् आयोजना निर्माण प्रक्रियामा
विद्युत् उत्पादन हुन लागेको खोटाङ र ओखलढुंगाबीचमा पर्ने दूधकोशी नदी । तस्बिर सौजन्यः दमन राई

सुनसरी : खोटाङ र ओखलढुंगाका बासिन्दाको प्रत्यक्ष चासो रहेको ६ सय ७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको काम सुरुवात हुने चरणमा पुगेको छ। विद्युत् विकास विभागले हालै ३५ दिने सूचना जारी गर्दै आयोजनाको विद्युत् उत्पादन अनुमति दिने औपचारिक प्रक्रिया सुरु भएको जनाएको छ।

राष्ट्रिय गौरवका आयोजनामध्ये प्रमुख मानिएको दूधकोशी परियोजना नेपालका लागि ऊर्जा आत्मनिर्भरता र आर्थिक रूपान्तरणको दिशामा एक ऐतिहासिक उपलब्धि मानिने छ। यो आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयार भइसकेको छ। यी प्रतिवेदनका आधारमा विभागले ३५ दिने सूचना प्रकाशित गर्दै सरोकारवालाको राय–सुझाव र उजुरी मागेको विद्युत् विभागका प्रवक्ता बद्री कुइँकेलले जानकारी दिए। 

उनले भने, ‘३५ दिनभित्र कुनै उजुरी वा सुझाव नआएमा उत्पादन अनुमति दिने तयारी छ। त्यसपछि कम्पनीले जग्गा अधिग्रहण, मुआब्जा वितरण र पुनस्र्थापनाको कार्य सुरु गर्न सक्नेछ।’

विद्युत् विभागले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् उत्पादन अनुमति प्रदान गरेपछि कम्पनीले लगानी, विद्युत् खरिद सम्झौता (पीपीए), जग्गा अधिग्रहण, पुनर्बास, मुआब्जा वितरणजस्ता प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ। 

दूधकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत वसन्तध्वज श्रेष्ठले विद्युत् उत्पादनको अनुमति प्राप्त हुनासाथ परियोजनाको भौतिक निर्माण सुरु गरिने बताएका छन्। उनले भने, ‘यो आयोजना नेपालको ऊर्जा आत्मनिर्भरतातर्फको ऐतिहासिक यात्रा हुनेछ। हामी यो परियोजनालाई दिगो, पारदर्शी र स्थानीयमैत्री ढंगले अघि बढाउने संकल्प गरेका छौं।’

खोटाङ जिल्लाको रावाबेंसी गाउँपालिका र ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको सिमानामा निर्माण हुने यो आयोजनाको अनुमानित लागत करिब २ खर्ब ८६ अर्ब रुपैयाँ रहनेछ। परियोजनाको वित्तीय संरचना बनाउनका लागि एसियाली विकास बैंक (एडीबी)लगायत विकास साझेदारहरूसँग छलफल भइरहेको छ। बैंकले करिब ५ सय ५० मिलियन अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तयारीमा रहेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए।

विद्युत् योजनाअन्तर्गत लामीडाँडाको रभुवा बजारमा २ सय २० मिटर अग्लो बाँध निर्माण गरिनेछ, जसले दूधकोशी नदीको प्रवाह रोक्नेछ र १३.३ किलोमिटर लामो हेडरेस सुरुङमार्फत पानी धितुङमा पठाइने श्रेष्ठले बताए। त्यहाँ ६०० र ७० मेगावाट क्षमताका दुई छुट्टाछुट्टै विद्युत्गृह स्थापना गरिने योजना छ। बाँध निर्माणपछि करिब १९.७ वर्ग किलोमिटर क्षेत्रफलमा कृत्रिम जलाशय बन्नेछ। जसका कारण यश क्षेत्रको १९८० हेक्टर जमिन डुबानमा पर्ने बताइएको छ। यो जलविद्युत् उत्पादन गर्दा १ सय ८६ घरपरिवार विस्थापित हुनेछन्। स्थानीय बासिन्दा आयोजनाको समाचारले अत्यन्त उत्साहित छन्। लामीडाँडाको चिउरीबासका स्थानीय उत्सव राई भन्छन्, ‘दशकौंदेखि हाम्रो गाउँ अँध्यारोमा थियो, अब दूधकोशीले उज्यालो र आशा ल्याउनेछ।’
दूधकोशी विद्युत् आयोजना सञ्चालनमा आएपछि देशको विद्युत् उत्पादन क्षमता १५ देखि २० प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ। अहिले नेपालमा सुक्खायाममा भारतबाट आयात गर्नुपर्ने विद्युत्को मात्रा उल्लेख्य छ, जसले ऊर्जा आत्मनिर्भरता हासिल गर्न चुनौती बनाएको छ। दूधकोशी विद्युत् परियोजना सञ्चालनमा आएपछि नेपालमा वर्षभरि विद्युत् आपूर्ति स्थिर हुने र निकट भविष्यमा विद्युत् निर्यातमा पनि वृद्धि हुने अपेक्षा गरिएको छ।

दूधकोशी परियोजनाले स्थानीय क्षेत्रको भौतिक संरचनामात्र होइन, आर्थिक र सामाजिक रूपान्तरणमा पनि ठूलो योगदान पुर्‍याउने विश्वास गरिएको छ। आयोजनास्थलका सडक, पुल, आवास, विद्यालय, स्वास्थ्य केन्द्र र बजारहरूमा उल्लेख्य सुधार हुनेछन्। त्यस्तै, निर्माण अवधिमा हजारौंले रोजगारी पाउनेछन्। कम्पनीले स्थानीयलाई प्राथमिक रोजगारी दिने प्रतिबद्धता जनाएको छ। प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने, ‘स्थानीयलाई रोजगारी र व्यावसायिक सीप प्रदान गर्दै हामी परियोजना निर्माणलाई उनीहरूको सहभागितामा अघि बढाउनेछौं। स्थानीयलाई मुआब्जा र पुनस्र्थापनामा न्यायोचित व्यवहार गरिनेछ।’

नेपालले सन् २०३० भित्र ऊर्जा आत्मनिर्भर राष्ट्र बन्ने लक्ष्य लिएको छ। हाल देशको कुल विद्युत् उत्पादन क्षमता करिब ३५०० मेगावाटको हाराहारीमा पुगेको छ। विद्युत्को माग तीव्र रूपमा बढ्दै गएको छ। यस्तो अवस्थामा दूधकोशीको ६७० मेगावाटले ऊर्जाको स्थायित्वमा ठूलो राहत दिनेछ। स्थानीय तहका जनप्रतिनिधिहरूले पनि सरकार र कम्पनीबीचको सहकार्य दिगो र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूले अनुमति प्रक्रियापछि स्थानीय आवाज सुन्ने र मुआब्जा वितरणमा निष्पक्षता सुनिश्चित गर्न सरकार सजग हुनुपर्ने बताएका छन्। रावाबेंसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले आयोजनाको औपचारिक प्रक्रिया अघि बढ्नु नै स्थानीय विकासको नयाँ चरण भएको बताए। उनले भने, ‘दूधकोशीले खोटाङ र ओखलढुंगाको आर्थिक रूपान्तरणमा ठूलो योगदान पुर्‍याउनेछ। यो केवल विद्युत् आयोजनामात्र होइन, स्थानीय जीवनस्तर परिवर्तन गर्ने माध्यम पनि हो।’

नेपालको पूर्वी क्षेत्रका बासिन्दाले दशकौंदेखि पर्खिरहेको उज्यालोको सपना अब बिस्तारै पूरा हुने विश्वास गरेका छन्। दूधकोशीले केवल बल्ब बाल्ने होइन, देशको अर्थतन्त्रमा नयाँ ऊर्जा भर्नेछ। यसले उद्योग, पर्यटन, कृषि र सेवा क्षेत्र सबैमा नयाँ सम्भावना ल्याउने अपेक्षा गरिएको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजन आचार्यले बताए। उनले दूधकोशी विद्युत् आयोजना केवल एक जलविद्युत् परियोजना मात्र होइन, यो नेपालको उज्यालो भविष्यको आशा भएको बताए। 

विद्युत् उत्पादनको विकाससँगै वातावरण संरक्षणको सन्तुलन पनि आवश्यक हुन्छ। वातावरणविद्हरूले जलाशय निर्माणका क्रममा जैविक विविधता र वन क्षेत्रको क्षति न्यून पार्ने उपाय अपनाउन समेत सुझाव दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.