लिग २ अन्तर्गत जारी श्रृङ्खलाको अन्तिम खेल आज यूएईसँग खेल्दै नेपाल
काठमाडौं : लिग - २ अन्तर्गत जारी श्रृङ्खलाको अन्तिम खेलका रूपमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ ।
नेपाल र यूएई बीचको खेल दुबईस्थित आइसीसी ऐकेडेमीको मैदानमा नेपाली समयअनुसार ११:१५ मा सुरु हुनेछ। नेपाल जारी श्रृङ्खलामा लगातार ३ हार बेहोरेको छ। नेपालले पहिलो खेलमा अमेरिकासँग १०६ रन, दोस्रो खेलमा नेपाल यूएईसँग ५ विकेट र तेस्रो खेलमा पनि अमेरिकासँग नेपाल ४ विकेटले पराजित भएको हो।
लिग २ को अंक तालिकामा हाल अमेरिका शीर्ष स्थानमा रहेको छ। २४ खेलबाट ३६ अङ्क जोडेको अमेरिका शीर्ष स्थानमा रहेको हो। यो श्रृङ्खलामा पनि अमेरिकाले क्लिन स्वीप गर्यो। नेपालले १९ खेलमा १२ अङ्क जोडेर सातौं स्थानमा रहेको छ। समान खेल खेलेको यूएई ८ अङ्कसहित पुछारमा रहेको छ।
नेपाली टोलीमा आज केही परिवर्तन देखिन सक्नेछ। आजको खेलमा अनिल शाह र शाहब आलमले मौका बनाउन सक्छन्। मिडल अर्डरमा विशेषगरी भीम सार्की र आरिफ शेखमध्ये कुनै एकजना ब्याटरको स्थानमा अनिलले मौका पाउन सक्छन्। बायाँ हात स्पिनर ललित राजबंशीले पछिल्ला केही खेलहरूमा विकेट निकाल्न सकेका छैनन्। उनको स्थानमा शाहब आलमले आज टिममा स्थान बनाउन सक्छन्।
प्रतिक्रिया दिनुहोस !