मुसहरमा महिनावारी पीडा

मुसहरमा महिनावारी पीडा

जनकपुरधाम : जनकपुरधाम–७ स्थित मुसहरी बस्तीकी १५ वर्षकी रञ्जिता सदा ७ महिनाको छोरा काखीमा च्यापेर बसिरहेकी थिइन्। अनुहारमा बालापन झल्किरहेकाले उनमा मातृत्वको थकान स्पष्ट देखिन्थ्यो। रञ्जिताको विवाह दुई वर्षअघि भएको हो। त्यतिबेला उनी १३ वर्षकी मात्र थिइन्।

महिनावारी भएको एक वर्षभित्रै उनले विवाह गर्नुप¥यो। पहिलो महिनावारी भएको करिब डेढ वर्षमै उनी आमा बनिन्। बच्चा ढिलो भएकोमा उनले घरपरिवारबाट निकै गालीगलौज सहनुप¥यो। महिनावारीपछि बाध्य भएर छिटो विवाह गर्ने दबाबमा परेकी रञ्जिता महिनावारीका विषयमा खुलेर बोल्न चाहदिँनन्।

जनकपुरधाम उपमहानगरपालिका–७ मुसहरी (मुसहर समुदाय बस्ने टोल)मा रञ्जिताभन्दा थोरै जेठी सुमित्रा सदाको विवाह पनि १२ वर्षकै उमेरमा भएको थियो। अहिले १७ वर्ष पुगेकी सुमित्राका दुई सन्तान छन्। महिनावारी भएलगत्तै उनको बिहेको लागी घरमा कुराकानी सुरु भएको थियो। 

‘महिनावारी भएपछि छोरी ठूली भइन्,’ १७ वर्षकी सुमित्रा सदा भन्छिन्, ‘मेरो पनि पहिलो महिनावारीपछि नै विवाहको कुरा सुरु भएको थियो।’ उनलाई पनि महिनावारी खुलेर बोल्ने विषय होइन जस्तो लाग्छ। उनीहरूका कुरा सुन्दा लाग्छ, मुसहर बस्तीमा महिनावारी केवल शारीरिक परिवर्तन होइन, बाल्यकाल अन्त्यको संकेत बनेको छ।

महिनावारी लाज र विवाहको बाध्यता
मुख्य सहरभन्दा बाहिर माटोका ससाना झुपडी र साँघुरा कोठाहरूमा जेनतेन जीवन निर्वाह गर्ने मुसहर समुदायमा महिलालाई महिनावारीका विषयमा न त जानकारी छ न उनीहरूलाई महिनावारी विभेद हो, हिंसा हो भन्ने नै चेतना छ। मुसहर समुदायमा महिनावारी अझै लज्जा र मौनताको विषय हो। ‘कोही बोल्दैन, कोही बुझ्दैनन्,’ ५५ वर्षीया सुकैया सदा भन्छिन्, ‘हामी मुसहरले महिनावारी हुँदा गोसाइँ पूजा गर्दैनौं। तर खेतको काम, भाँडाकुँडा, सबै गर्नै पर्छ। महिनाको चार दिन काम रोक्दा खाने कसरी ? ’

सुकैयाजस्तै अधिकांश महिलाले आज पनि महिनावारीका बेला कपडाको टालो नै प्रयोग गर्छन्। बजारमा पाइने महिनावारी प्याड किन्न उनीहरूसँग पैसा हुँदैन। शौचालयको अभाव, फोहोर कपडाको प्रयोग र सरसफाइ नहुँदा उनीहरू प्रजनन स्वास्थ्यका गम्भीर समस्या भोग्न बाध्य छन। तर, यो अवस्था उनीहरूका लागि ‘सामान्य’ बनिसकेको छ। महिनावारीका बेला हुने अशुद्धता र बेइज्जतीको संस्कारले समाजमा एउटा गहिरो धारणा बसिसकेको छ, ‘महिनावारी भएपछि छोरी विवाह योग्य हुन्छ।’ यही सोचले मुसहर किशोरीको जीवनबाट शिक्षा खोसिन्छ र बालविवाहको ढोका खोलिन्छ।

महिनावारीसँगै रोकिन्छ शिक्षा, बढ्छ विवाहको दबाब
महिनावारी सुरु भएको केही महिनामै धेरै मुसहर किशोरी विद्यालय जान छोड्छन्। ‘स्कुलमा महिनावारी भयो भने कपडा फेर्ने ठाउँ नै छैन,’ सुमित्रा सम्झिन्छिन्, ‘त्यसपछि पढ्न मनै लागेन।’ महिनावारी विभेदको अन्त्यमा काम गरिरहेकी अभियन्ता डा.राधा पौडेलका अनुसार महिनावारीलाई अशुद्धता र लाजसँग जोड्ने सोचले बालविवाहलाई सामाजिक स्वीकृति दिएको छ। उनको अध्ययनमा भनिएको छ, ‘महिनावारी सुरु भएपछि छोरी ‘बालिका’ होइन, ‘वधू’ को रूपमा हेर्ने परम्परागत सोचले हजारौं केटीको जीवन चक्र तोडिदिन्छ।’

उचित शिक्षा र चेतनाको कमीले मुसहर महिलाले परिवार नियोजनका साधनको प्रयोग प्रभावकारी रूपमा गरेको पाइँदैन। परिणामस्वरूप आफैं बाल्य अवस्थामा भएको बेला बच्चा जन्माउने समुदायका अधिकांश महिलाले महिनावारी व्यवस्थापन, महिनावारी विभेद र महिनावारीको सहजताका विषयमा ध्यान पु¥याएको देखिँदैन। जसले गर्दा उनीहरू स्वास्थ्य जटिलताको समेत सामाना गरिरहेका छन्।

स्वास्थ्य र अधिकार दुवैबाट वञ्चित
जनकपुरस्थित स्वास्थ्यकर्मी मञ्जु साह भन्छिन्, ‘मुसहर महिलाले महिनावारीका बेला गर्नुपर्ने व्यवस्थापन, सरसफाइ, आराम वा खानपानमा ध्यान दिनुहुन्न। धेरैजसोले फोहोर कपडा प्रयोग गर्नुहुन्छ, जसले यौनअंग र पाठेघरमा संक्रमण निम्त्याउँछ।’ सानै उमेरमा विवाह, प्रारम्भिक गर्भधारण र कमजोर स्वास्थ्यले उनीहरूको जीवन निरन्तर जोखिममा रहेको उनको भनाइ छ। महिनावारीका बेला महिनावारी व्यवस्थापन र मर्यादित जीवनशैली नअनाउनु उनीहरूको स्वास्थ्य बिग्रने मात्र होइन, मानव अधिकारको उल्लंघन पनि रहेको उनले बताइन्।

विभेदको गहिरो अवस्था
राष्ट्रिय जनगणना २०७८ अनुसार, नेपालमा मुसहर जनसंख्या २ लाख ६४ हजार ९ सय ७४ छ, जसमा मधेस प्रदेशमा मात्र १ लाख ७९ हजार १ सय ५३ छन्। तर पाँच वर्ष माथिका मुसहरहरूको साक्षरता दर ३५.८ प्रतिशत र मधेसमा त झन् ४ प्रतिशतमात्र छ। त्यसैले उनीहरू महिनावारी, स्वास्थ्य र अधिकारका विषयमा अझै अनविज्ञ छन्। एक अध्ययनका अनुसार ६३ प्रतिशत मुसहर महिलाको विवाह १५ देखि १९ वर्षकै उमेरमा हुन्छ। यो तथ्यांकले देखाउँछ कि महिनावारीपछि ‘ठूली भइन्’ भन्ने सोच नै बालविवाहको प्रमुख कारण हो।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार, मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको संख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ। राष्ट्रिय जनगणनामा उल्लेख गरिएको विवरणअनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने २७.७ प्रतिशत छन्। यसैगरी १० देखि १४ वर्षको उमेरभित्र विवाह गर्ने ९.३ प्रतिशत र १० वर्ष उमेरमुनि विवाह गराइने ०.२ प्रतिशतसहित यो संख्या ३७.२ प्रतिशत हुन्छ। १८ र २० वर्ष उमेरबीच विवाह गर्ने ३९.५ प्रतिशत छन्। 

दुलाहाको उमेर २० देखिए पनि दुलही १७ वर्षका भएका पाइएका छन्। उमेर नपुगी विवाह भएका महिला ३९.५ प्रतिशतको आधा हुँदा कुल उमेर नपुगी विवाह हुनेको संख्या ५० प्रतिशतमाथि पुग्ने देखिएको छ। मधेसमा विवाह हुने औसत उमेर नै १८ वर्ष रहेको राष्ट्रिय जनगणना, २०७८ ले देखाउँछ। पुरुषको उमेर २० वर्ष भए पनि महिला १७ वर्षसम्मका पाइएका छन्। बालविवाहको यो अवस्था अन्त्य गर्न जिल्लाका स्थानीय तहले विभिन्न सामाजिक संघसंस्थासँगको सहकार्यमा सामाजिक जागरण अभियान सञ्चालन गर्दै आएका छन्। बालविवाह न्यूनीकरणका लागि स्थानीय सरकारले विद्यालयमा बालबालिका र अभिभावकबीच जनचेतनामूलक कार्यक्रम, सडक नाटक प्रदर्शन, बाल क्लबको गठन, तालिम र बालमैत्री कार्यक्रम सञ्चालन गरिरहेको छ। तर, कुनै पनि स्थानीय तहले बाल विवाहलाई महिनावारी विभेदसँग जोडेर आजसम्म छलफल गरेका छैनन्। 

महिनावारी विभेद अन्त्यबिना बालविवाह अन्त्य असम्भव 
मधेस प्रदेशको नीति तथा कार्यक्रममा ‘मर्यादित महिनावारी’ को विषय छोइएको छैन। विद्यालयहरूमा महिनावारी प्याड वितरण बाहेक मुसहर बस्तीसम्म पुग्ने कुनै कार्यक्रम छैन। मर्यादित महिनावारीका अभियन्ता डा. पौडेलका अनुसार महिनावारी विभेद केवल स्वास्थ्यको कुरा होइन, यो सत्ता, संस्कृति र लिंग असमानताको गहिरो जरो हो। 

रञ्जिता र सुमित्राजस्ता किशोरीको जीवन केवल व्यक्तिगत पीडा होइन, संरचनागत अन्यायको दर्पण हो। महिनावारी सुरु भयो, अनि उनीहरूको बालापन समाप्त भयो। जबसम्म महिनावारीलाई लाज होइन, मर्यादा र अधिकारको विषय भनेर स्वीकारिँदैन, तबसम्म मुसहर बस्तीका रञ्जिताजस्ता किशोरी बालविवाहको चक्रमा बाँधिइरहने उनले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.