माओवादी केन्द्रमा टुट–फुट
काठमाडौं : जेन–जी आन्दोलनपछि नेतृत्व परिवर्तन गर्ने भन्दै माओवादीले पदाधिकारी र केन्द्रीय समिति भंग गरी मंसिरमा विशेष महाधिवेशनको मिति तोक्यो। तर, अध्यक्ष प्रचण्डले एकीकृत समाजवादीलगायत ९ दलसँग एकता प्रक्रिया सुरु गरे। महाधिवेशन टार्न र नेतृत्वमा कायमै रहन प्रचण्डले एकताको ‘नाटक’ रचेको भन्दै जनार्दन शर्मा, राम कार्की लगायतका नेताहरूले छुट्टै पार्टीको घोषणा गरेका छन्। तर, प्रचण्डको नेतृत्वमा ९ घटकबीच एकता हुँदैछ। एकता घोषणा सभा बिहीबार तोकिएको छ।
माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एसलागयतका ९ घटक मिलेर ‘नेपाल कम्युनिस्ट पार्टी’ नामक नयाँ पार्टीको घोषणा हुनेछ। गत कात्तिक १६ गते ८ बाम शक्तिहरूबीच भएको १८ बुँदे सम्झौतामा हस्ताक्षर गरेर एकता गर्ने घोषणा गरेका छन्। जसमा प्रचण्डको माओवादी केन्द्रसहित एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल, नेकपा (साम्यवादी), नेकपा (माओवादी समाजवादी) र नेकपा सहभागी छन्। यसमा विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीबाट विभाजित चिरन पुनको समूह सामेल छ।
गोपाल किरातीले नेतृत्व गरेको देशभक्त समाजवादी मोर्चा पनि थपिएको छ। माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त बनाएर एकीकृत पार्टी गठन हुने बताइएको छ।
माओवादी फेरि फुट्यो
१० वर्षे जनयुद्धको रापतापबाट खुला राजनीतिमा आएको माओवादी केन्द्र फेरि फुटेको छ। शक्ति आर्जन गर्न प्रचण्ड लाग्दा माओवादीबाट जनार्दन शर्माको समूहले विद्रोह गरेको छ। नेकपा एकीकृत समाजवादीलगायत ८ दलसँग एकता गर्ने पूर्वसध्यामा नेकपा माओवादी केन्द्र फुटेको हो।
पार्टीका पूर्वउपमहासचिव जनार्दन शर्मा, पूर्वसचिव राम कार्की, पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखेलगायतले माओवादी पार्टी परित्याग गर्दै ‘प्रगतिशील अभियान नेपाल’ नामक राजनीतिक अभियानको घोषणा गरेका छन्। मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै नेता शर्माको समूहले माओवादी पार्टीबाट अलग भएको बताएका छन्। महाधिवेशन आयोजक समितिका संयोजक प्रचण्डसँग दुई वर्षदेखि नेता शर्माले पार्टीको नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र पार्टी संगठन पुनर्गठनका लागि संघर्ष गर्दै आएका थिए।
नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ राजनीतिक ध्रुवीकरणको घोषणा गर्दै माओवादी जनार्दन शर्मा, राम कार्कीलगायतले ‘प्रचण्ड’ सँगको चार दशकको राजनीतिक यात्राबाट ‘डिभोर्स’ लिएका छन्। प्रचण्ड २०६४ सालको संविधानसभा सदस्यको निर्वाचनसँग खुला राजनीतिमा आएपछिका दिनमा झन्–झन् कमजोर बन्दै गएका छन्। यसअघि बाबुराम भट्टराई, मोहन वैध (किरण), नेत्रचन्द विप्लवलगायत नेताहरूले माओवादीबाट विद्रोह गर्दै साथ छाडेका थिए। प्रचण्डले २०७५ सालमा नेकपा एमालेसंग पार्टी एकता गरेका थिए। सत्ता लुलुपत्ताका कारण एमाले र माओवादी मिलेर बनेको नेकपा फुटेको थियो।
प्रतिक्रिया दिनुहोस !