जिन्दगी जिन्दावाद !
ए... राम्रो ‘म’ !
मज्जाले डुब्नू पौडिनू
यति पौडिनू कि
आकाशको गर्त भेटियोस्
अरूको चस्मा नलाउनू
आफ्नै मन छ
सेतो भुवाजस्तो
त्यसैको पछिपछि लाग्नू
माथिमाथि पुग्नू, खूब उड्नू
यति उड्नू कि रकेटले नभेटोस्
यति कुद्नू कि लखेट्नेले पत्तो नपाओस्
उड्नू तर अर्काको बाटो नछेक्नू
उडिरहनू तर धरातल नबिर्सनू
गुडिरहनू तर आकाश नबिर्सनू
अरूको तक्मा नभिर्नू
आफ्नो मालिक आफैं बन्नू
आफ्नो नोकर आफैं बन्नू
आफैं नारी, आफैं पुरुष
आफैं मन्जन आफैं ब्रस
आफैं मलम, आफैं डाक्टर
हो सबै आफैं गर्नू
गारो–सारो कसैलाई नपार्नू
मन हो बिच्किएला
तर, आँसुमा नबग्नू
बगिहाले आफैंलाई देखाउनू
ऐना हेर्नू, खिसिक्क हाँस्नु
आफ्नै मन हो भुलाउनू
रुन नपुगे फेरि ऐनामै जानू
भन्नू– नरोऊ राजा तिम्रो म छु
गन्नू– मेरो त मै पो हूँ
म मेरो नरहे
के बाँकी रहन्छ र ?
फेरि भन्नू– आई लभ मी
फेरि जप्नू– आई लभ मी
अरू त अरू पो हुन्
अरूप्रति आस नडुलाउनू
आस फर्केर बतास बन्छ
आस तर्केर बलेनी खस्छ
आस त ब्याज लिन्छ
चिमोट्छ
आस त स्याज खोज्छ,
गिजोल्छ, गाँसैपिच्छे ठोस्छ
उखेल्छ
आस जति छोड्यो
राम्रो भन्ठान्छ टाउको
तर छोड्न त मान्दै मान्दैन
मन हुन्छ चाम्रो
शरीर हो थाक्छ कैले
गोडा हो काँप्छ कहिले
सम्झाउनू, चिन्ता नगर गोडा म छु नि
सम्झाउनू, नचिच्या घुँडा म छु नि
एक गिलास पानी आफैंसँग माग्नू
गोली आफैं झिक्नू, दबाई आफैं बन्नू
धन्यवाद कान भन्नू, धन्यवाद नाक भन्नू
भोज गर्नू आफ्नै, धन्यवाद ज्यान भन्नू
मोज गर्नू आजै, भोलिको लोली नगाउनू
हिजोको झोली नभिर्नू, लडाइँ आफैं गर्नू
सिँढी आफैं चढ्नू, गौंडा आफैं झर्नू
लौरो आफैं बन्नू, अरूको लौरो खोसिन्छ
पैताला आफैं सार्नू, अरूको पैतालामा लडिन्छ
रूखसँग बात मार्नू र खित्का छाड्नू
हावा अँगाल्नू र लडीबुडी खेल्नू
जून पिउनू र मात्नू
घाम जिउनू र हाँस्नू
माटो खेल्नू र नाच्नू
फूल गाउनू र झुल्नू
तिमीलाई दुख्दा आफ्ना चिन्नू
आफ्नाले दुःखाउँदैन, बुझ्नू
शत्रुले छोड्दैन, गम्नू
तिम्रो खुसीमा दुखिरहने
अनि तिम्रा दुःख ढुकिरहने
तिम्रो होइन, फगत चिन्नू
चुप लागेर हिँड्नू
जानेलाई नछेक्नू
आउनेलाई नहेप्नू
मनको बारीमा फुल्नू
मनकै बारीमा डुल्नू
उफ्रिनू, गाउनू, हाँस्नू
अनि मज्जाले नाच्नू
गीत आफ्नै, प्रीत आफ्नै
जीत पनि आफ्नै
जिन्दगी जिन्दावाद !
मेरो ज्ञान हुर्रे !
सेतो मन हुर्रे !
मेरो मन हुर्रे !
जिन्दगी जिन्दावाद !
- जगन्नाथ पौडेल । हाल, अमेरिका
प्रतिक्रिया दिनुहोस !