विमानस्थलमा बा  !

विमानस्थलमा बा  !

विमानस्थलको बहिर्गमन गेटमा 

पासपोर्ट देखाएर म भित्र पसें 
बा गेट समातेर टक्क अडिनु भो 
अहिले हामी भित्र–बाहिर भएका छौं 
बाका मुख बन्द छन् 
आँखा र मन बोलिरहेका छन् 
म हिँड्नै लाग्दा
बाले छुन खोज्नु भो 
फलामजस्तै दरिला मेरा बाका हात 
कर्कलाजस्तै लुला बने 
तै ढाड, काँध र टाउकोमा छुनु भो 
टाउकोमै हात अड्याएर 
केही आशीर्वचन बोल्नुभो 
म थोरै झुकें 
बाले ‘भाग्यमानी भएस्’ भन्नुभो 
अनि बच्चाले झैं प्रश्न गर्नुभो–
आमालाई के भन्दिउँ ?
ढक्क फुलेको मेरो छाती 
तप्प आँखाबाट चुह्यो 
यो नुनिलो पानीमा
आमाको रगत र दूध मिसिएको छ 
अब यो 
शरीरका छिद्र छिद्रबाट 
पसिना बनेर निस्कनेछ 
र, सिञ्चित हुनेछ विदेशी भूमि !
जसै मैले सपनाको सुटकेश लतारें 
अन्योलमा मेरा गोडा लड्खडाए 
केहीबेर उल्टो हिँडे
बालाई हेर्दै हेर्दै 
दूरी बढ्दै गर्दा मेरो अनुहार बिग्रियो 
बाले दुईटा हातले भित्तो समात्नु भो 
एयरपोर्टका हजारौं मान्छेलाई 
बाले देख्दै देख्नु भएन 
बस्, बाका नजरमा म मात्रै छाएँ 
म टाढिदै जाँदा 
बाका आँखामा अरू पनि ठोक्किए 
निमेषभरलाई बाले तर्क गर्नुभयो 
‘अरू पनि त गएका छन् !’
अरू किन गए बालाई के थाहा ?
मुटु टाढिनुको कारण पो थाहा थियो 
परिवारसँगै पेट बढ्यो 
दिनदिनै रिन बढ्यो 
उमेरसँगै रोग बढ्यो 
कतै तिर्नु छ, कतै दिनु छ 
केही किन्नु पनि छ 
घर बनाउनै छ, गोठ छाउनै छ 
हिजोको बक्यौता र भोलिको भैपरी तिर्न 
छोरै अडाना राख्नु प¥यो 
विदेश पठाउनु प¥यो 
बाले देश पाल्नु भो 
देशले बाको छोरो पाल्न सकेन 
देशले बालाई एक थान नागरिकता 
र छोरालाई एक थान पासपोर्ट दियो 
नागरिकता पढ्न नजान्दा 
ज्योति गुमेजस्तो लागेको थियो 
पासपोर्टले बाको आँखै फुटेजस्तो भो
बा एकोहोरिनु भो 
चल्नु चल्मलाउनु भएन 
ठम्म उभिई मात्र रहनु भो 
जिन्दगीभर जोडेको परिवारका 
लथालिंग पानाहरू सम्झिनु भो 
र देख्नु भो टाढा मलाई 
बेचिएको पाठो झैं लुरुलुरु हिँडेको 
बालाई ज्वरो आए झैं भो 
रौं ठाडा भए 
‘जीवनभर जोतिएर पनि किन गरिब भएँ ?’
बाले स्वयम्भूलाई सम्झिएर प्रश्न गर्नु भो–
सानोमा मैले घोकेको कविता सम्झनु भएछ, 
‘स्वयम्भूका दुइटा आँखाले
न्याय अन्याय छुट्ट्याई हेर्छ ।’
बाले फेरि मतिर हेर्नु भो 
पहिला म छेकिएँ 
अनि मेरो छायाँ हरायो 
र, लगेजको टुप्पो छेकियो 
बाले केही देख्नु भएन 
चकमन्न ! सन्नाटा !
बिहान मैले घुमाएको पशुपतिनाथतर्फ फर्केर 
बाले दस औंला जोड्नुभो 
र, सोध्नुभयो – 
हे देव ! हे महादेव !
यो जुनीमा छोरासँग भेट होला ?
कानभित्रै मौरी कराएजस्तो भो !
बाले माथि हेर्नुभयो 
जहाज देखियो, टोपी खस्यो 
ए ! छोरो त उडेछ 
बा थचक्क बस्नु भो !

सतीश चापागाईं । पाल्पा, हाल अमेरिका


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.