दिने पनि समय, खोस्ने पनि समय ! समयले दिएपछि कसैले खोस्न सक्दैन अनि समयले नै खोसेपछि कसैले जति चाहे पनि दिन सक्दैन ! कस्तो अचम्म ! कस्तो अद्भुत् शक्ति समयको ! समयभन्दा शक्तिशाली को होला र यो संसारमा ? त्यसैले सायद समयभन्दा अघि कुनै कुरा वा काम सम्भव छैन।
कसैसँगको भेट होस् वा कुनै ठाउँको यात्रा। सबै समयले नै तय गर्दोरहेछ। नत्र किन कुनै ठाउँ जान्छु भनेर मनले चिताउँदा र प्रयास गर्दा पनि मान्छे पुग्दैन ? नत्र किन कोही पाइलो सारेर पनि यात्रा स्थगित गर्छ ? नत्र किन योजना बनाएर पनि अघि बढ्न सक्दैन ? नत्र किन कोही गन्तव्य पुग्दैन ?
अस्ट्रेलियादेखि इजरायलसम्म : गोसाइँकुण्ड जाने भन्यौं, झन्डै दस वर्ष लाग्यो। मुक्तिनाथ जाने भन्यौं, एक दशक नै लाग्यो। फेरि कहिलेकाहीँ मनले खासै नसोचे पनि तुरुन्तै पुगिने। अस्ट्रेलियाको यात्रा यस्तै भयो। सोच्दासोच्दै तय भयो, पुगियो अनि घुमियो पनि। जब कि अमेरिका जाने योजना बनाएर प्रयास पनि गरेकै हो एक दशकअघि नै तर अझै समयले स्वीकृति दिएको छैन। संयोग पनि कस्तो छोरो अञ्चितले झन्डै एक वर्षदेखि ‘प्रोसेस’ गरिरहेको थियो ‘स्टडी भिसा’का लागि।
अर्को बिहीबार (३ जुलाई २०२५) मेरो उड्ने मिति, आजको बिहीबार उसले भिसा पायो। सात दिनभित्रै सबै काम सकेर एकैदिन उड्यौं बाबुछोरा। सायद समयले साइत जुरायो। अस्ट्रेलियाबाट फर्किएकै भोलिपल्ट सोमबार फोन आयो, नेपालस्थित इजरायल एम्बेसीबाट। ‘गोपीजी, इजरायल जाने हो ?’ भयो अब ! समय सुनिश्चित भइसकेपछि कसको के लाग्छ ? इजरायलको परराष्ट्र मन्त्रालयको आयोजनामा आठदिने इजरायल भ्रमण भव्य ढंगले भयो, मिडियाको स्पेसल डेलिगेसनमा। विश्वकै सर्वोच्च स्थान सगरमाथा भएको देश नेपालबाट विश्वकै सबैभन्दा होचो भूभाग डेड सीसम्म पुग्ने मौका पनि उही समयले नै तय गरेको रहेछ। कहिले वर्षौं पनि कतै गइन्नँ, यस वर्ष सन् २०२५ मा थाइल्यान्डसमेत तीन देश घुग्ने अवसर जुर्यो।
गुमाउनुपछिको पाउनुको मजा : उसो त १२ वर्षपछि यसै वर्ष भारतको गुवाहाटी पुगें। त्यसबेला नजुरेको कामाख्या माताको दर्शन यसपटक पाइयो। यसमा पनि समयकै हात हुनुपर्छ। २०८२ को तिहारलगत्तै बुवाआमा, पत्नी, छोरा, भाइबुहारी, छोरी, भान्जा, दाजुभाउजू सबैसँगको भव्य यात्रा। बिग्रनुभित्र बन्नुको संरचना यसपटक प्राप्त भयो। छोरोलाई ८२ को दसैंमा झापा जान कसैको निजी कारमा जुर्यो। नत्र सार्वजनिक सवारीमा महाजात्रा देख्नु र भोग्नुपर्छ हरेक दसैंमा झैं। तर ऊ गएलगत्तै मूलतः राजधानी र आसपासमा महावर्षा भयो। भत्कायो, बगायो र कैयौं मान्छे मार्यो। सडकहरू भत्कायो। हिँड्नै नमिल्ने भएपछि हामी दुई मोटरसाइकलमै झापा हिँड्यौं कुलेखानीको बाटो भएर हेटौंडा निस्किएर।
बडादसैंमा बुवाआमा र मान्यजनको हातबाट टीकाजमरा लगाएर आशीर्वाद थापेलगत्तै सुजुकीको एफजेड भी थ्रीको सहजतामा घुम्न निस्कियौं। जन्मेहुर्केको झापाकै अनेक ठाउँ जसको नाममात्र सुनेको तर नघुमेको अवस्थामा ५० वर्षपछि पुगें, छिमेकी मोरङको पनि त्यस्तै ठाउँ घुमें, घुम्यौं। समयले साइत नजुराएर सायद ससुराली (पाँचथर, फिदिम) मा दसैंमा टीका पाँच वर्षसम्म ‘ग्याप’ हुन्छ। यस पटक योजना बनाए पनि समयले भाग खोसिदियो, जुठो पर्यो। २०५१–५३ सालमा धनकुटा बहुमुखी क्याम्पसबाट अंग्रेजी र राजनीतिशास्त्रमा बीएड गरें। ५÷६ वर्षपछि एकचोटी पुगें, त्यसपछि साइत जुरेको थिएन। २२ वर्षपछिको धनकुटाले गजबको ‘फ्ल्यासब्याक’ दियो।
ब्याचलर, बहुमुखी र बाबुछोरा : छोरो अञ्चितलाई पनि घुमाउनु थियो। दुईपांग्रे भी थ्रीमा लाग्यौं, झापाको गौरादहबाट इटहरी धरानहुँदै धनकुटा। ६ कात्तिक २०८२ को बिहीबार समय तोकिएको रहेछ हाम्रो। भेटेडारको स्काई वाकको मजा लिँदै पुग्यौं बहुमुखी क्याम्पस। यो त्यस्तो संयोग पर्यो, जुन विरलै मिल्ला। छोरो स्नातक पढ्न थालेपछि म स्नातक पढेको क्याम्पस पुगेछौं। म दुई वर्ष बसेको सिरुवानीस्थित राम डंगोलकै घरमा बस्यौं, जहाँ पारिवारिक भावले बास गरेको छ। भोलिपल्ट हिलेहुँदै पाख्रीबास पुगेर झापा फर्कियौं।
कात्तिक ८ मा पितापुर्खाको थातथलो (थातबास) तेह्रथुमका लागि साइत जुर्यो। एक काम दुई पन्थ अपनायौं। राजधानी खाल्डोमा पसेपछि झापा घर नै सरदर वर्षमा एक पटक पुगिन्छ, पाहुना झैं। पाँचथरबाट पनि झन्डै एकदिनको बाटो। फेरि त्यहाँबाट एक पनि एक बिहानको गाडीको यात्रा रहेछ, तेह्रथुमको कोयाखाला सम्दु। त्यसैले एउटै प्रयासबाट दुईवटा उद्देश्य पूरा गर्न खोज्यौं यात्रामा। जीवनसंगिनी कमलालाई सार्वजनिक सवारीमा पठाएर भी थ्रीमा बाबुछोरा झापा–इलाम–पाँचथर पहाडतिर उक्लियौं।
इलामको चियाबारी, कन्याम र फिक्कल घुम्ने छोराको रहर पूरा गर्ने उद्देश्यले यात्रा तय गर्यौं। बिर्तामोड झापास्थित पाउ पाथीभराको दर्शन गरेर १२ घण्टे यात्रामा फिदिम पुग्यौं। इलाममा सूर्योदयको झलक हेर्ने मनसुवाले श्रीअन्तु पनि पुग्ने सोचेथें। धन्य ! गइएनछ। फासफुस पानी पर्ने र हुस्से लाग्दै थियो, यात्रा चुनौतीपूर्ण भएकाले अचानक स्थगित गरेर अघि बढ्यौं। तर पनि फिदिम पुग्न हम्मेहम्मे !
थ्यांक्स् गड ! यु सेभ्ड अस : उकालो–ओरालो र घुमाउरो सडक सञ्जाल ! बाटो भत्किएर ठाउँठाउँमा समस्या। उज्यालो हुञ्जेल त जेनतेन हुइँकियौं। साँझ पर्यो, पानी बढ्यो। हुस्से थपियो, बेलाबखत त बाटो छ छैन, अगाडि के कसो छ केही थाहा भएन। प्लेन बादलभित्र पसे झैं हुन्थ्यौं। एउटा ‘टर्निङ’ आयो, त्यो पनि ठाडो उकालो। जहाँ चिप्लो अनि ठूल्ठूला खाल्डाखुल्टी। भी थ्रीले पनि हार्यो। म चालकले अलिकति होस पुर्याउन नसकेको भए त्यो हिलोमा पछारिँदा भीरबाट तल कहाँ पुगिन्थ्यो कुन्नि !
अब त चिसोले आफूलाई कठोर बनायो। पन्जा लगाए पनि हातले ह्यान्डिल समाउनै नसक्ने भयो। मुटु कमाउन थाल्यो सिरेटो पनि थपिँदा। ७ बजेको थियो, राँके। डगडगी काम्दै दाउरामा गाईको शुद्ध दूधको अत्यन्तै मीठो चिया खाइयो। भिजेका लुगाफाटाले अलि न्याय पाए। कठ्यांग्रिएका हातखुट्टाले सास फेरे। पौवा पुग्दैथियौं। विपरीत दिशाबाट आउने सवारीको ‘लाइट’ले बाटोको अन्दाज गर्नै कठिन हरेक पटक। क्रस भएपछि धन्य जोगिएछौं भन्थ्यौं।
यस्तैमा जंगलको बाटो त्यो पनि ‘टर्निङ’मा साँघुरो सडकमा एउटा ‘फुल बडी ट्रक’ आउँदै रहेछ। अन्दाजमा बाटो क्रस गर्नुपर्ने ! त्यसमा पनि ठिही चिसोले कामेको मुटु, कठ्यांग्रिएको हात। सकेसम्म छेउ च्यापें। ट्रकले पनि मोड पुर्याउन हामीतिरै च्यापेछ। क्रस भइरहँदा मन अत्तालिएको थियो। कटेपछि रोक्नै पर्यो। यसो पछाडि र तल हेरेको हंसले ठाउँ छाड्यो। निष्पट अँध्यारोमा तल झरेको भए कसैले थाहा पाउने थिएनन्, उद्धारको त सम्भावना कहीँ कतै थिएन। मनबाट निस्कियो, ‘थ्यांक्स गड !’
पाँचथरले बाई बाई, तेह्रथुममा ‘वेलकम’ : फिदिम पुगेको तेस्रो दिन हामी दुई र मामा उत्सवको मोटरसाइकलमा भान्जो (छोरो अञ्चित) तेह्रथुमतिर लाग्यौं। तमोर नदीमा पुगेपछि पाँचथरलाई छाड्यौं र तेह्रथुमलाई समायौं। पाँचथरले ‘बाई बाई’ भन्यो, तेह्रथुमले ‘वेलकम’ गर्यो। तेह्रथुम मेरा लागि तेस्रो, संगी कमलाका लागि अनगिन्ती तर छोराका लागि पहिलो यात्रा । तमोर जो त्रिवेणीघाटमा पुगेर अरुण र सुनकोशी नदीमा मिसिन्छ र सप्तकोशी बन्दछ। सप्तकोशीसँग त हरेक वर्षजसो भेट हुन्छ, भेटिन्छौं अनि छुट्टिन्छौं। मध्यपहाडी राजमार्ग यतिबेला मूलतः पहाडी भूभागका बासिन्दाको मुहार फेर्ने विकासको मूलआधार बनेको छ। जसले तेह्रथुमवासीको पनि जनजीवनमा अत्यन्तै सहज बनाएको रहेछ। सडक सञ्जाल विकासको जग मानिन्छ। भनिन्छ, सडकले बाँकी विकास क्रमशः ल्याउँछ। त्यहाँ पुग्दा ठ्याक्कै त्यही ‘फिलिङ्स’ आएथ्यो ममा।
मध्यपहाडी राजमार्गले कोरेको विकास : विकासको आधुनिकतासँग परम्परागत संस्कृति जोडिएको पायौं, चुहानडाँडा पुग्दा। नयाँ काठको रोटेपिङ हेर्दै लोभलाग्दो। छेवैमा जंगल, जंगलमा हजारौं रुख। काट्यो, ल्यायो, बनायो। गाउँ भनेको गावै हो। खासमा पत्रपत्रिका र भिडियोमा देखेका हामी राजधानीबाट पुगेकाले त्यसमा रमायौं। केहीबेर खेल्यौं तर पिङ घुमाउने मान्छे खै ? सबै गाउँले युवा कि सहर कि विदेश ! ‘ओहो दुईजनाको बलले नि नभ्याउने रै’छ !’ भिडियोमा उसकी आमालाई कैद गरिरहेको अञ्चितले भन्यो। हामी साला–भेनाको बुताले पिङ घुमाउन नसकेको यथार्थ उसले पोख्दै
थियो। खासमा पिङमाथि दुई युवा उक्लिएर खुट्टाको सहारा र बलले बलो थिचेर घुमाइँदो रहेछ।
त्यसपछि संक्रान्तिबजार टेक्यौं। धेरै पटक सुनेको पहिलो पटक पुगेको म। आठराई गाउँपालिकाको मुकाम रहेछ संक्रान्ति। पाँचथरको फिदिमबाट ५३ किलोमिटर दूरीमा। इवा, छातेढुंगा, ह्वाकु, चुहानडाँडा, थोक्लुङ, संक्रान्ति बजार र खाम्लालुङ गाविस मिलाएर संघीयतापछि आठराई गाउँपालिका बनेको रहेछ। समुद्री सतहबाट २,१५० मिटर अग्लो डाँडो संक्रान्ति। चिसो तर मजा त्यसमै थियो। वर्षैभर चिसो हावा चलिरहनु त्यो संक्रान्ति डाँडाको विशेषता। हामी प्रकृतिप्रेमी, माछापुच्छ्रे, कुम्भकर्ण र मकालु आँखा अगाडि हेर्न पाउँदा आँखासँगै मनै अघायो।
यी सबै सन्दर्भ र घटना सम्दु पुग्दा आँखाभरि घुमे चलचित्रको दृश्य झैं। विगतमा धेरै पटक प्रयास गरे पनि यो पितापुर्खाको थातथलो तेह्रथुमको कोयाखोलास्थित सम्दु टेक्ने सौभाग्य ५० वर्षको उमेरमा मात्र मिल्यो पंत्तिकारलाई।
सम्दु पुग्दाको सकस : छेवैमा रहेछ गोपी (ढुंगाना) काकाको घर। पहिलो भेटघाट छोट्याएर छोटो बाटो समातेर ओरालो झर्दैथियौं। पाइलैपिच्छेजसो छुट्टिनै बाटाहरू देखेपछि अलमल अलमल भइरह्यो। जसलाई भेट्यो, सोध्यो गथ्र्यौं। एकजना युवकलाई सोध्यौं, गम पाएरै सायद उल्टै उनैले सबै सोधे। ढुंगानाकै ज्वाइँ रहेछन्। उनको ससुराली र हामी पुग्ने कलकत्ते ढुंगानाको घर, एउटै ! बाटो एकजनाले मोटरसाइकल हाँकेर सम्दु, कोयाखोला पुग्नै धौ धौं। सालोभाइ उत्सव यसै मोटो, छोरो पनि मोटै त्यसमा ती थपिए। थपिए पनि, उत्सवले थपे पनि जसरी बुझे नि भो। स्वार्थ एउटै भयो, सजिलो दुवैलाई भयो। सास्ती त हाँक्ने उनैलाई थाहा होला।
बाइकमा थियौं– लड्दैपड्दै त नभनौं खैर कोया खोला पुग्यौं। पारि तर्नै कठिन भो। वारि अलिवर नागराजाले बाटोमै रोके, छलेर कट्यौं। केही संकेत हो कि ! खोलामा झन्डै पछारियौं। आमा–छोराले पारी सम्दु नपुग्ने बरु फर्किएर डाँडागाउँ (माइती–मावलीगाउँ) घुम्दै गर्ने बताए । अझ अप्ठ्यारो बाटोहुँदै बाँकी तीन सम्दु पुग्यौं। कान्छो ज्वाइँ (हिमाल निरौला) भएको थाहा भो बाटोमै। ‘कलकत्ते बा’ ! अब उनैले अपहत्ते गर्न थाले।
ब्रान्ड ‘वनपाले’ र स्वर्ग झैं सम्दु ! : अर्को ब्रान्ड बनेका बा ‘वनपाले’ ! अर्थात् हाम्रा हजुरबा। दुई बाको घरबीचको दूरी ५ मिनेट रहेछ। सपरिवार हजुरबा २०२४ असोजमा झापा गौरादह झर्नु भएको रहेछ। लिम्बू दाइलाई घरजग्गा बेचेको बुझ्यौं ठूलो अनि फिजारिएको पीपलबोट पुगेपछि। छेवैमा रहेछ पितापुर्खा बसेको घरगाउँ। हजुरबा, बुवा बसेहुर्केको घर त देख्न पाइनँ तर वनपाले ब्रान्ड जोगाउने घरजस्तै सानो एउटा जीर्ण संरचना देखें। धन्य ! जोगाइदिएछन् गाउँलेले। एक वर्षअघि ठूलोबुवा लक्ष्मीप्रसाद, बुवा दीननाथ र कान्छी फुुपू डोलकुमारी मिश्र दशकौंपछि सम्दु पुग्नुभएको थियो।
सम्दु त स्वर्ग ! समस्या एउटै देखें– सडकको। गुणस्तर सडक हुने हो भने संक्रान्ति बजार आधा घण्टाको गाडीको बाटो। हरियाली नै हरियाली। फर्कूं नै लागेन। बस्ने अवस्था थिएन। भौतिक पूर्वाधारको अभाव त अझै थियो भने २०२०÷२२ सालमा कुन गति थियो होला ? पानीको समस्या, स्कुल पुग्ने समस्या, बजार पुग्ने समस्या, अनेक समस्या। तर त्योबेलाको समृद्धि अहिले के होला र ? गाउँलेपन, आफ्नोपन, सद्भाव, सुमधुर सम्बन्ध सबै रहेछ अहिले पनि।
कोयाखोला, गौरादह र वनपाले बाको झोला : २०६८ असोजमा हजुरबा पुष्पलाल (वनपाले) र डेढ वर्षपछि ०६९ फागुनमा हजुरआमा बाटुलादेवीले यो संसार छाडेर जानुभो। अहिलेको समृद्ध सहर दमकलाई स्याल कुद्ने ठाउँ छाडेर हजुरबाले धेरै धान फल्ने ठाउँ गौरादहको पनि हाँसखोरामा खेत किन्नु भएको रे, परिवारलाई धानको भात खानको दुःख नहोस् भनेर। एक घण्टा पैदल यात्रामा पुगिने गौरादह बजारमा घर बनाए पनि ‘मैले झोला बिसाको यही ठाउँमा मर्छु, तिमेरु पछि जे गर’ भन्नुहुन्थ्यो। भयो त्यस्तै उहाँहरूले देह झोला बिसाएकै ठाउँमा त्याग्नुभो। वर्ष दिनपछि गौरादह बजारमा घर बनाएर सर्यौं। सल्लाहले त होइन, संयोगले चारै बुवाको परिवार बजार सर्यो, हाँसखोरालाई शून्य पारेर।
यी सबै दृश्य सम्दु पुग्दा आँखाभरि घुमे चलचित्रको दृश्य झैं। विगतमा धेरै पटक प्रयास गरे पनि यो पितापुर्खाको थातथलो तेह्रथुमको कोयाखोलास्थित सम्दु टेक्ने सौभाग्य ५० वर्षको उमेरमा मात्र मिल्यो मलाई। सम्झिएँ, राजधानीमै चिने पनि प्राडा अभि सुवेदीले कार्यक्रमहुँदी भन्नुहुन्थ्यो, मेरो गाउँले। ९९ पुग्नुभएका कलकत्ते बाको घर पुग्यौं। बा खाटमा सुतिरहनु भएको थियो। हक्की स्वभाव अझै थियो, युवावस्था कस्तो थियो होला ? पहिलो भेटमा यस्तै आयो मनमा (महिना दिन नबित्दै कलकत्ते बा बित्नु भएछ)। फिदिम पुग्नुपर्ने हतार थियो, समूह विभाजित थियो। काकीले बास नबसी हुन्न भनेर हिँड्नै दिनु भएन। १०÷११ जनाको त्यो परिवारका सबैले अपहत्ते गरेपछि खाजा खाएर बाटो ततायौं।
बिमानन्ददेखि वनपाले (पुष्पलाल)सम्म : वंश र कुलको महŒव र गरिमा सबैले जान्नुबुझ्नु पर्छ। काठमाडौं गोकर्ण बिर्ताबाट बसाइँ सरेर तेह्रथुम सम्दु पुग्नुभएछ, बिमानन्द। उहाँका एक सन्तान लक्ष्मीनारायण। उहाँका पाँचमध्ये जेठो श्रीविलास। उहाँका तीमध्ये जेठो रंगलाल। रंगलालका सन्तान जयनारायण र चिन्तामणि। जयनारायणका रन्धता, मनिकर्निका र पुष्पलाल। पुष्पलाल (वनपाले) हजुरबुवाका लक्ष्मीप्रसाद, मुक्तिप्रसाद, कर्णाखर, दीननाथ, कमला, डोलकुमारी, गेयनाथ र पोमप्रसाद। बुवा खालमा कर्णाखर र गेयनाथ देख्न पाएनौं। दीननाथको म जेठो सन्तान। माइलो बालकृष्ण, बैनी हिमा र कान्छो टीकाराम। ममाथि दिदी र ममुनिको भाइलाई गुमाएछौं। अहिले पुष्पलाल–बाटुलादेवीका सन्तान हामी ७० भन्दा बढी छौं। तीन सय मिटर वर आइपुग्दा एकजना लिम्बू दाइले बाटोमा कुरा गर्दै घरभित्रै पुर्याए, आफ्नोपन आभास गराए। झमक्क साँझ पर्दा फिदिम पुग्यौं।
ह्यात्रुङ झरना र घनघस्याको उकालो : काठमाडौं–तेह्रथुम यात्रामा सोचेको सबै ठाउँ पुग्यौं, घुम्यौं तर एसियाकै अग्लो (३६५ मि.) झरना ह्यात्रुङ पुग्न पाएनौं। जुन विश्वकै ३० अग्ला झरनामा पर्छ। दसैं सकिए पनि वर्षा भइरहेकाले गएनौं। सँगै गर्वले छाती उचो भएथ्यो, शिर ठाडो भएथ्यो, यस्तो पर्यटकीय गन्तव्य पितापुर्खाको थलो सम्दु (तत्कालीन गाविस)मै रहेछ। मन चस्स भो, कास ! सुविधासम्पन्न सडकले ह्यात्रुङ छोएको भए ! विकसित देश भएको भए यो गर्थे र पुर्याउँथे पचासौं लाख पर्यटक।
छोरालाई इलामहुँदै झापा पुग्ने गाडीमा पठाएर जीवनसाथी कमला र म भने फेरि फिदिमबाट संक्रान्ति, कोयाखोलाहुँदै वसन्तपुर, धनकुटा, धरान भएर झापा फर्कियौं। डा. तारानाथ शर्माले ‘घनघस्याको उकालो’ निबन्ध लेखे । जब कोयाखोलाबाट भीमकाय पहाडको ठाडो उकालो, फेदापको त्यो पनि एउटा पहाडलाई मोटरसाइकलबाट झन्डै ४५ मिनेट घुमेको घुम्यै गर्नुपर्यो। लाग्यो, घनघस्याको उकालो के उकालो ! उनी यो पहाड उक्लिएका भए ! सारा घुमें, यति भव्य पहाडसँग पहिलो पटक भलाकुसारी भयो।
प्रतिक्रिया दिनुहोस !