डा. रुइतको नेतृत्वमा प्रतिष्ठानले सस्तो, गुणस्तरीय र पहुँचयोग्य नेत्र उपचार प्रदान गर्दै लाखौं जनताको जीवनमा ज्योति पुर्याएको छ। उनीहरूले आधुनिक मोतियाबिन्दु शल्यक्रिया प्रणाली र सस्तो इन्ट्राअकुलर लेन्स उत्पादन र वितरणमार्फत स्वास्थ्य सेवाको दिगोपन सुनिश्चित गरेका छन्।
एक साधारण हिमाली गाउँबाट सुरु भएको उहाँको उज्यालो यात्राले प्रत्येक नेपालीको गर्व बढाउँछ। नेत्र–सर्जन डा. सन्दुक रुइतबारे अस्ट्रेलियन पत्रकार अली ग्रिपरले लेखेको पुस्तक पढ्दा र उहाँमाथि बनेका वृत्तचित्रहरू हेर्दा यसको पुष्टि हुन्छ। ताप्लेजुङको ओलाङचुङगोला जस्तो दुर्गम स्थानबाट उठेर हजारौं मानिसको आँखामा ज्योति फर्काउने व्यक्तित्व बनेका डा. रुइत केवल चिकित्सक होइनन्, उनी देशकै गौरव हुन्। उहाँको जीवनकथाले देखाउँछ कि देशप्रेम शब्दले होइन, कर्मले नापिन्छ।
नेपालका प्रख्यात नेत्र–सर्जन डा. सन्दुक रुइतको जीवन केवल एक चिकित्सकको उपलब्धि मात्र होइन, यो जनसेवा र मानवतामा आधारित समर्पणको कथा हो। ताप्लेजुङको दुर्गम ओलाङचुङगोला गाउँमा जन्मिएका रुइतले बहिनीको १५ वर्षको उमेरमा क्षयरोगबाट मृत्यु भएपछि ‘म चिकित्सक बन्नुपर्छ’ भन्ने निश्चय गरे। जुन निश्चयले उनलाई नेत्र चिकित्सकको रूपमा स्थापित गर्यो। सन् १९८० को दशकमा नेपाल ब्लाइन्डनेस सर्वेक्षणमा कार्यरत हुँदा उनले अस्ट्रेलियाका नेत्र विशेषज्ञ प्राडा फ्रेड हल्लोजसँग भेट गरे र उनीहरूले साझा लक्ष्य बुने।
त्यो लक्ष्य थियो, विकासोन्मुख देशका जनतालाई सस्तो, पहुँचयोग्य र गुणस्तरीय नेत्र उपचार उपलब्ध गराउने। जसको फलस्वरूप अस्ट्रेलियाको फ्रेड हल्लोज फाउन्डेसनको सहयोगमा काठमाडौंमा तिलगंगा आँखा केन्द्र (हाल तिलगंगा आँखा प्रतिष्ठान) स्थापना गरे। यो केन्द्रले मोतियाबिन्दु उपचारलाई सस्तो र पहुँचयोग्य बनायो। सन् १९९५ देखि आफ्नै अन्तर्राष्ट्रिय मापदण्डयुक्त इन्ट्राअकुलर लेन्स उत्पादन सुरु गर्यो, जुन हाल ५० भन्दा बढी देशमा प्रयोग भइरहेको छ।
तिलगंगा आँखा प्रतिष्ठानले अहिले नेपालका विभिन्न जिल्लामा ५६ ग्रामीण सामुदायिक आँखा केन्द्र, २६ सर्जिकल तथा प्राथमिक आँखा केन्द्र, तीन सामुदायिक आँखा अस्पताल र काठमाडौंमा केन्द्रीय आँखा अस्पताल सञ्चालन गरिरहेको छ। सन् १९९६ मा स्थापना गरिएको नेपाल आँखा बैंकले नेत्र प्रत्यारोपणमा देशलाई आत्मनिर्भर बनाएको छ भने आईओएल ल्याबले इन्ट्राअकुलर लेन्समा देशलाई आत्मनिर्भर बनाएको छ। यसरी डा. रुइतले आधुनिक प्रविधि, दीर्घकालीन पहुँच र सामाजिक जागरुकतालाई सँगसँगै अघि बढाउँदै नेपालमा नेत्र–चिकित्सा क्षेत्रमा नयाँ युगको सुरुआत गरेका छन्।
डा. रुइतले अवलम्बन गरेको तिलगंगा आँखा प्रतिष्ठानको सामाजिक उद्यमशीलता र दिगोपनको मोडेल विश्वमै उत्कृष्ट मानिन्छ।
डा. रुइतले विदेशी दाताको भरमा चल्ने परम्परा तोड्दै तिलगंगामा सामजिक उद्यमशीलता र दिगोपन नमुना उदाहरण प्रस्तुत गरेका छन्। रुइतले अवलम्बन गरेको तिलगंगा आँखा प्रतिष्ठानको सामाजिक उद्यमशीलता र दिगोपनको मोडेल विश्वमै उत्कृष्ट मानिन्छ। जसले नेपाललाई आँखा उपचारमा आत्मनिर्भरमात्र होइन, कम लागतमा उच्च गुणस्तरीय इन्ट्राअकुलर लेन्समा विश्व बजारमा उपलब्ध गराउनेदेखि विश्वमा दृष्टिदान गर्ने राष्ट्रको रूपमा समेत परिचित गराएको छ। यो सामाजिक उद्यमशीलता र दिगोपन मोडेलको अध्ययन गर्न अमेरिकाका प्रतिष्ठित विश्वविद्यालयमा उच्चशिक्षा अध्ययनरत
विद्यार्थी हरेक वर्ष नेपाल आउँछन्।
यस मोडेलअन्तर्गत शुल्क तिर्न सक्ने बिरामीले पूर्ण शुल्क तिर्छ। पूर्णशुल्क तिर्न नसक्ने बिरामीले सहुलियत शुल्क तिर्छ। शुल्क तिर्न नसक्ने बिरामीले निःशुल्क उपचार प्राप्त गर्छ। यसरी पूर्ण शुल्क तिर्न सक्ने बिरामीको शुल्कबाट बचत भएको रकमबाट गरिबको निःशुल्क उपचार गरिन्छ। शैक्षिक तथा तालिम कार्यक्रमबाट देशविदेशका लागि कम लागतमा उच्चस्तरीय सेवा दिन सक्ने स्पेसियलिस्ट, सब–स्पेसियलिस्ट र सुपर–स्पेसियलिष्ट जनशक्ती तयार भएको छ। यसैगरी, इन्ट्राअकुलर लेन्स विदेशमा निर्यात गरी विदेशी मुद्राको आय र बचतबाट देशका विभिन्न जिल्लामा ग्रामीण सामुदायिक आँखा केन्द्र, सर्जिकल तथा प्राथमिक आँखा केन्द्रहरूको सञ्चालनमा टेवा पुगेको छ, जसले संस्थालाई विदेशी दाताको दानमा निर्भर हुनबाट जोगाएको छ।
देशको स्पेसियलिटी सहितको उत्कृष्ट आँखा अस्पताल, सामुदायिक आँखा अस्पताल, ५० भन्दा बढी देशमा इन्ट्राअकुलर लेन्स निर्यात, आँखा बैंक, शैक्षिक तथा तालिम कार्यक्रम, संगठित तथा व्यवस्थित बाह्य कार्यक्रम, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली र पारदर्शी लेखापरीक्षण प्रणालीले तिलगंगालाई विश्वस्तरीय बनाएको छ। जसको आर्थिक दर्शनलाई आधुनिक आर्थिक स्थायित्व मोडेलको रूपमा व्याख्या गर्न सकिन्छ। जहाँ एकपटकको लगानीले निरन्तर आम्दानीको स्रोत उत्पन्न गर्छ, जसबाट सेवा प्रवाहमा निरन्तरता र दिगोपना रहिरन्छ।
डा. सन्दुक रुइतले दीर्घकालीन आम्दानीका विविध स्रोत सिर्जना गर्दै यस मोडेललाई व्यवहारमा लागू गरेका छन्। इन्ट्राअकुलर लेन्स कारखाना, अस्पताल, तालिम कार्यक्रम र अनुसन्धानलाई स्थायी वित्तीय स्रोतको रूपमा विकसित गरेर तिलगंगा आँखा प्रतिष्ठानले सेवाको निरन्तरता सुनिश्चित गरेको छ। यसले नेपालमा मात्र नभई विश्वभरका लाखौं मानिसलाई दृष्टिदान प्रदान गरेको छ। नेपाललाई गुणस्तरीय स्वास्थ्य सेवा निर्यात गर्ने राष्ट्रको रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाएको छ। नेपालमा धेरै संस्थाहरू विदेशी दातृ निकाय वा आयातमा निर्भर रहँदै अस्थायी समाधान खोज्छन्। तर तिलगंगाले दानलाई खर्च नभई सम्पत्तिमा रूपान्तरण गर्ने प्रणाली अपनाएको छ। यो मोडेलले दाताको विश्वास मात्र बढाएको छैन, स्वास्थ्य क्षेत्रमै पारदर्शिता र दिगोपनको नयाँ मापदण्ड स्थापित गरेको छ।
यसैले तिलगंगा अन्य क्षेत्रका लागि पनि अनुकरणीय मोडेल बनेको छ। रुइतले जीवनभरको योगदानका लागि थाइल्यान्डको प्रिन्स महिडोल अवार्ड र सन् २००६ को रमोन म्यागासासे अवार्ड फर पिस एन्ड इन्टरनेसनल अन्डरस्ट्यान्डिङ (एसियाको नोबेल पुरस्कार) सहित अनेक अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन्। उनको दृष्टि अझै पनि अविचल छ। सस्तो, गुणस्तरीय र सबैको पहुँचमा हुने आँखा उपचार विश्वभर पुर्याउन उनी दृढ छन्। जसरी उनी कहिल्यै थाक्दैनन्, त्यसरी नै उनको सपना पनि थाक्दैन। भनिरहन्छन्, ‘दृष्टिको शक्ति केवल आँखामा होइन, दृष्टिकोणमा हुन्छ।’
हालै डा. रुइतमाथि लगाइएका आधारहीन आरोपहरूले नेपाली जनमानसमा गहिरो दुःख र आक्रोश उत्पन्न गरेका छन्। तिलगंगा आँखा प्रतिष्ठानमा अन्तर्राष्ट्रिय स्तरमा पारदर्शिता, गुणस्तर र मानवतावादको उच्च उदाहरण बनेको छ। उनले व्यक्तिगत अन्तर्राष्ट्रिय पुरस्कारहरू समेत संस्थामा समर्पण गरी आफ्नो निष्ठा र समर्पण प्रमाणित गरिसकेका छन्। पछिल्ला वर्षहरूमा नेपालमा राजनीतिक अस्थिरता, सामाजिक ध्रुवीकरण र सञ्चार माध्यममार्फत फैलिने गलत सूचनाले डा. रुइतजस्ता व्यक्तित्वमाथि अन्यायपूर्ण आरोपलाई बलियो बनाएको छ।
विदेशी संस्थासँग पारदर्सी सहकार्यलाई ‘षड्यन्त्र’ वा ‘विदेशी नियन्त्रण’को रूपमा चित्रण गर्ने प्रवृत्तिले वास्तविक देशभक्त र जनसेवकहरूको प्रतिष्ठा नै चुनौतीमा राखेको छ। यस्तो परिस्थितिमा वैज्ञानिक दृष्टिकोण, तथ्यमा आधारित बहस र प्रमाणमुखी मूल्यांकन आवश्यक देखिन्छ। राजनीति र स्वार्थको आधारमा प्रतिष्ठित व्यक्तित्वमाथि आरोप लगाउनु केवल समाजमा असन्तोष र अविश्वास बढाउने काम हो। यस्ता व्यक्तित्वमाथि ‘विदेशी एजेन्ट’ वा ‘राष्ट्रद्रोही’को आरोप लगाउनु केवल अज्ञानता, ईष्र्या र राजनीतिक स्वार्थको परिणाम हुन सक्छ। जसले बरु उल्टै देशको गौरव र अन्तर्राष्ट्रिय प्रतिष्ठामा चोट पुर्याउँछ। तिलगंगा आँखा प्रतिष्ठानको स्थापना फ्रेड हल्लोज र डा. रुइतको मित्रता, दुर्गम गाउँमा अन्धोपनको पीडा देख्ने अनुभव र अग्रजहरूको सामूहिक प्रयासको प्रतिफल हो। प्रोजेक्टको प्रारम्भिक दशकमा पूर्ण रूपमा अस्ट्रेलियाली सहयोगमा सञ्चालित यस संस्था आज आफैंमा सक्षम निकायको रूपमा सञ्चालित छ। रुइतले ५० लाखभन्दा बढी मानिसलाई दृष्टि प्रदान गर्दै नेपाललाई विश्वसामु चिनाएका छन्। भारतको पद्मश्री, फिलिपिन्सको रामोन म्यागासेसे र अन्य दर्जनौं अन्तर्राष्ट्रिय पुरस्कार उहाँको मानवीय सेवाको साक्षी हुन्।
नेपालको स्वास्थ्य क्षेत्र हाल पनि चुनौतीपूर्ण अवस्थामा छ। दुर्गम जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा सीमित छ र आय असमानताको कारण गरिब नागरिकले उचित उपचार पाउन कठिनाइ भोगिरहेका छन्। त्यस्तो परिस्थितिमा डा. रुइतको नेतृत्वमा प्रतिष्ठानले सस्तो, गुणस्तरीय र पहुँचयोग्य नेत्र उपचार प्रदान गर्दै लाखौं जनताको जीवनमा ज्योति पुर्याएको छ। उनीहरूले आधुनिक मोतियाबिन्दु शल्यक्रिया प्रणाली र सस्तो इन्ट्राअकुलर लेन्स उत्पादन र वितरणमार्फत स्वास्थ्य सेवाको दिगोपन सुनिश्चित गरेका छन्। देशको दीर्घकालीन स्वास्थ्य भविष्य र प्रतिष्ठित व्यक्तित्वको संरक्षणका लागि तथ्य र प्रमाणमा आधारित मूल्यांकन अपरिहार्य छ। डा. रुइतजस्ता व्यक्तित्वको योगदानमाथि शंका होइन, सम्मान र सराह्रना गर्नुपर्ने समय आएको छ। हामीलाई विश्वास छ कि चन्द्रमामा दाग मिथ्या हो किनकि यसबाट धर्तीमा उज्यालो कम हुँदैन।
प्रतिक्रिया दिनुहोस !