सिरुबारीसँग लुकामारी खेल्दा . . .
२५ वर्षअघि रुद्रमानले सिरुबारीमा स्थानीय स्तरमा उत्पादित मकै, कोदो, ढिँडो, रोटी, गुन्द्रुकलगायतका नेपाली फुड ‘ब्रान्डिङ’ गर्नुभएको थियो।
‘नजिकको तीर्थ हेलाँ’ भने झैं जन्मथलो स्याङ्जाको पुतलीबजारबाट केही घण्टामै पुगिने सिरुबारी जानलाई अनुकूल समय नै मिलेको थिएन। औधी जान मन लागेको ठाउँ। स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं. १ मा रहेको सिरुबारी नेपालको मात्र नभई दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ हो।
दसैं, तिहारको फुर्सदको समय। फुर्सद र चाडबाडमा पारिवारिक भेटघाट र घुमघामले मन यसै रमाउँछ। यसपालि दसैंको टीका नभएकाले मनले त्यति आनन्द मानिरहेको थिएन। टीका लगाउन नपाउँदा मन उकुसमुकुस थियो। पर्यटन पत्रकार विष्णुकान्त घिमिरे दाइसँग कुरा भयो। ‘म पोखरा छु, तिम्रो गाउँ सिरुबारी घुम्न जान परो प्लान गरेर फोन गर।’ के खोज्छस्... भने झैं भयो, मन खुसीले गद्गद्। आफैं नपुगेकाले सिरुबारी जाने सहज बाटो र गाडीको व्यवस्थापनका लागि सिरुबारी होमस्टेकी अगुवा उर्मिला गुरुङलाई सम्पर्क गरें। मन अझ प्रफुल्लित भयो।
सिरुबारीका लागि पोखराबाटै सहजै बोलेरो जिप र गाडीहरू पाउने जानकारी गराएँ र गाडीवालासँग विष्णु दाइको सम्पर्कमा रहेर जीवनसाथी निशा सिग्देललाई लिएर मोटरसाइकलमै सिरुबारीतर्फको यात्रा तय गरें। सिरुबारी पुग्न अरू बाटा पनि थिए तर नागडाँडा–सेतीदोभान–माझकटेरी हुँदै सबैभन्दा सहज बाटो हो। पोखराबाट विष्णु दाइ, उपासना र सानी भान्जीसहित सिरुबारीका लागि बोलेरो छुटेको जानकारी पाएपछि हामी नागडाँडाबाट अघि–अघि सिरुबारीतर्फ लाग्यौं।
हल्का सिमसिमे पानी मोटरसाइकलको यात्रा। दसैंलगत्तै देशभर परेको पानीले धेरै ठाउँमा ठूलो क्षति पुर्याएको भएता पनि स्याङ्जा आसपासमा त्यति ठूलो पानी परेको थिएन। सोचें, हाम्रो यात्रालाई मौसमले पनि साथ दियो। सेतीदोभानबाट उकालो लाग्दै गर्दा स्याङ्जा आसपासका डाँडाकाँडाले थप उत्साहित बनाए। सिरुबारी जाँदै गर्दा बाटोमै भेटिन्छ, माझकटेरी गाउँ। निकै रमणीय। सिरुबारी हिँडेका पर्यटकलाई भुलाउने ठाउँ। पर्यटक पहिला खासै माझकटेरीमा नबसी सिरुबारी जाने भएकाले यहाँ अहिले ‘म्हाँजु भन्ज्याङ पार्क’को समेत निर्माण गरिएको रहेछ। गर्मी बिर्साउने चिसो हावा, पिङ र सेल्फी पोइन्टले सबै पर्यटकलाई लोभ्याउँछ।
हामी पनि लोभियौं, पार्कबाट देखिने हिमशृंखलामा। माझकटेरीमा रमाउँदै गर्दा चर्चित लोकगायक राजु परियारको गीतमा भने झै ‘बेझाङ गाउँमा रोधीघर थियो, त्यही रोधीघर पनि बिरानो भइदियो, दरौं सिरुबारी माझकटेरी’ बोलको गीतले गाउँले परिवेशलाई स्मरण गराइदियो। माझकटेरीबाट छोटो दूरीमा रहेको सिरुबारीको लागि यात्रा तय गर्यौं। दिउँसो करिब ३ बजेतिर हामी सिरुबारी पुग्यौं। सलल बगेको पिच सडकको ख रोमाञ्चकारी यात्रा र परम्परागत शैलीका घर र आत्मीय गाउँ। मनले मात्र हैन, आँखाले समेत शीतलता महसुस गर्यो।
दसैं बिदा भएकाले सायद चहलपहल थियो। दिउँसो बुकिङ गरेर गएकाले बासस्थल सहज भयो। यद्यपि ठूलो समूहको आवागमन हुने भएर सबैलाई एकैसाथ बाजागाजा र फूलमालाले स्वागत गर्ने तयारी रहेछ। सपरिवार आउने विष्णु दाइ र अर्को समूहमा भरत लम्साल। सबै पाहुना सिरुबारी आएपछि पाहुनाको स्वागतमा घन्कियो नाचु नाचु लाग्ने झ्याइँझ्याइँ बाजा। पाहुना सत्कार गर्ने सिरुबारीको शैली निकै उदाहरणीय लाग्छ। पाहुनालाई गाउँको प्रवेशद्वारबाट फूलमाला र पन्चैबाजाले स्वागत गरेर गुम्बामा दर्शन गराएपछि भुटेको मकै, आलुको अचार र मीठो चियाको चुस्की लगाउन पाइयो।
सफा चिटिक्क परेका घर, आँगन, परम्परागत शैलीले यहाँ आउने सबैलाई तनावबाट समेत मुक्ति दिलाएको पायौं।
साँझ परिसकेको थियो। हामी ५ जनाको टिममा पत्रकार बुद्धिसागर मरासिनी पनि थपिनु भयो। राति अबेरसम्म गुरुङ समुदायका घाटु, सोरठी, सालैजो, भ्याउरे, भजन चुड्कालगायतका संस्कृतिमा झुम्यौं। कहिल्यै ननाचेका विदेशी पर्यटकसमेत सांस्कृतिक साँझले कम्मर मर्काउने माहोल सिर्जना गराइदियो। सफा चिटिक्क परेका घर, आँगन, परम्परागत शैलीले यहाँ आउने सबैलाई तनावबाट समेत मुक्ति दिलाएको पायौं। भोलिपल्ट एकाबिहानै खुलेको मौसम र सिरुबारीको सिरानबाट देखिने धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेदेखि लमजुङसम्मका हिमालले पर्यटकलाई थप मोहित बनायो। यसबाहेक गुरुङ गुम्बा, गुरुङ संग्रहालय र सिरुबारीबाट १० किलोमिटर टाढा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरको दर्शन पनि गर्न पाइने रहेछ।
आँधीखोला गाउँपालिका–१, स्याङ्जाको गुरुङ बस्ती सिरुबारी १ हजार ६ सय १० मिटरको उचाइमा छ। सिरुबारीलाई होमस्टे बनाउन स्व. क्याप्टेन रुद्रमान गुरुङले साहसिक पाइला चाल्नुभयो। उहाँकै पाइला पछ्याउँदै अन्यत्र अनुसरण गरेको बताइन्छ। २०५४ सालमा गाउँले साथीहरूको सहयोगमा ग्रामीण पर्यटन (होमस्टे) सुरु गर्नुभयो। सिरुबारीमा होमस्टे सञ्चालनपछि जिल्लामा मात्र हैन, देशभर नै होमस्टे सञ्चालनको लहर चल्यो। नेपालको मात्र नभई दक्षिण एसियाकै पहिलो नमुना सामुदायिक होमस्टे देशभरका अन्य होमस्टेको पाठशाला बन्यो। अनि बने क्या. गुरुङ होमस्टे र ग्रामीण पर्यटनका पिता।
२०६७ सालमा रुद्रमानलाई ग्रामीण पर्यटनका नायकसमेत घोषणा गरियो। पाहुनालाई गाउँलेकै भान्छामा खुवाएर गाउँलेकै घरमा बास बसाउने सामुदायिक होमस्टेको परिकल्पनाकार उनै रुद्रमान हुन्। सिरुबारीमा २०५४ देखि पाहुना राख्न थालिएको भए पनि २०५७ सालमा यसलाई नेपालकै पहिलो नमुना पर्यटन गाउँ घोषणा गरियो। होमस्टे सुरु गर्दा सिरुबारीमा ४३ घर थिए। जसमा ३५ घरमा होमस्टे सञ्चालन गरियो। एकैपटक सबै घरमा पाहुना राख्न सुरु नगरिए पनि विस्तारै सबै घरमा पाहुना भरिएका थिए। अहिले स्थानीयहरू पलायन भएसँगै अहिले यो संख्या घटेर २० घरमा मात्र होमस्टे सञ्चालनमा छन्। सिरुबारीका प्रायजसो घरमा ब्रिटिस वा भारतीय सेनामा छन्। उनीहरू पेन्सन निस्केपछि काठमाडौं, पोखरालगायतका सहरतिर पलायन भए। जसकारण होमस्टे सञ्चालक पनि घटे।
२५ वर्षअघि रुद्रमानले सिरुबारीमा स्थानीय स्तरमा उत्पादित मकै, कोदो, ढिँडो, रोटी, गुन्द्रुकलगायतका नेपाली फुड ‘ब्रान्डिङ’ गर्नुभएको थियो । तर हाल होमस्टेमा आउने पर्यटकलाई स्थानीय स्तरमा उत्पादित खानेकुरा र स्थानीय संस्कृतिमा लोभ्याउनुको साटो कतिपय होमस्टेले बजारमा उत्पादित अखाद्य खानेकुरालाई प्रश्रय दिने गरेका छन्। सिरुबारीमा पनि बजारमा पाइने पापड, प्राउनलगायतका कुराहरूलाई ‘फ्राइै’ गरेर पर्यटकलाई दिनुको सट्टा मकै, कोदो र फापरका परिकारहरू उत्पादनमा जोड दिने र त्यस्ता खानेकुराबाट पर्यटकलाई अझ बढी खुसी बनाउन सकिन्छ। राज्यले स्थानीय तहमार्फत दिने अनुदान होमस्टेको विकासमा भन्दा पनि भौतिक संरचना निर्माणमा लगानी गरिनुले वास्तविक होमस्टे नै लोप हुने खतरामा पुगेका हुन्। सिरुबारीका घरहरू चिटिक्क भए पनि परम्परागत शैलीबाट नै निर्माण गर्न सके पर्यटकको मन जित्न समय लाग्ने छैन।
प्रतिक्रिया दिनुहोस !