पाउरोटी : प्रेमदेखि युद्धसम्म

जीवनशैली

पाउरोटी : प्रेमदेखि युद्धसम्म

नेपाली खाना ताजा र पौष्टिकयुक्त हुन्छ। अब पश्चिमको प्रभावबाट मुक्त  हुने वा खानामा पनि पश्चिमी परिकार अँगाल्ने ? रोजाइ तपाईंकै।

सिड्नी सहरको क्विन भिक्टोरिया बिल्डिङ वरपरका होटल हुन् वा रेस्टुराँ, प्राय :  खचाखच देखिन्छन्। जहाँ धेरै किशोरकिशोरी हुने गर्छन्। उत्तिकै संख्यामा युवकयुवती पनि। थोरै मात्र प्रौढ।

गज्जब त के छ भने उनीहरूका अधिकांश टेबलमा एउटै खालका परिकार पाउरोटी (‘ब्रेड’) देखिन्छ। ग्लोबल लाइबेलिटी रिपोर्टलाई आधार मान्ने हो भने सिड्नी सहर विश्वका दस उत्कृष्ट सहरभित्र पर्छ। जहाँ अति सम्भ्रान्त नै किन नहुन् ? धेरैको भोक मेटाउने आहारा पाउरोटी नै हुने गर्छ। निम्नवर्गीयले समेत उस्तै रुचाउँछन् यो परिकार।

बिहान ‘ब्रेकफास्ट’, दिउँसो ‘आफ्टरनुन स्न्याक’, बिस्कुट, केक, फलफूल र कफी। त्यसमा पनि पाउरोटीको कुनै न कुनै परिकार परेकै हुन्छ। कुनै कामबीचको ‘कफी–ब्रेक’ होस् वा बेलुकीको नास्ता ‘इभिनिङ स्न्याक’मा समेत पाउरोटीकै परिकार खाइरहेका हुन्छन्। कतिसम्म भने रातिको खाना ‘डिनर’का बेलामा समेत पाउरोटी नै। केवल नाममात्र फरक हुन्छन्।

जस्तै, ‘स्यान्डविच’। यो पनि कम्तीमा तीन थरीका हुन्छन्। जसमा पाउरोटी मिसिएकै हुन्छ। अर्को हो ‘टोस्ट’। यो पनि पाउरोटी नै हो। जसलाई बटर, जाम र एभोकाडो टोस्टको संज्ञा दिन्छन्। पिज्जा, लामो पाउरोटी, बर्गर, ब्रेड पुडिङ, फ्रेन्च टोस्ट, गार्लिक ब्रेड, बेगेल, क्रोइसन्ट जुन नाम भने पनि पाउरोटी त मिसिएकै हुन्छ।

घरमा आउने अतिथि हुन् वा साथीभाइको स्वागत, पाउरोटीकै परिकार टक्र्याउने गरिन्छ। धेरैले आफ्ना घरका भान्छा (किचन)मा नेपालीले चामल, दाल, तरकारी ल्याएर राखे झैं पहिले नै ल्याएर राखेका हुन्छन्, पाउरोटी। अरूको त कुरै नगरौं। प्रेमी–प्रेमिकाहरूले समेत एकअर्कालाई पाउरोटी नै खुवाउन रुचाउँछन्। यस आधारमा त यहाँका प्रेमीप्रेमिकाले धेरै आर्थिक लगानी अर्थात् खर्च गर्न नपर्ने देखिन्छ। किनकि पाउरोटीका अन्य परिकारको तुलनामा निकै सस्तो हुन्छ।

तर नेपालका प्रेमीप्रेमिका महँगा हुँदा कतिको त उठीबास नै लागेका उदाहरण धेरै छन्। यसको अर्को मुख्य कारण प्रेमीप्रेमिकाको ‘डेट’का लागि सजिलो र हल्का खाना हुनु पनि हो। अझै भनौं, एकअर्काबीच साझा गर्न मिल्ने र कम झन्झट हुने खाना हो, पाउरोटी।

स्टाटिस्टाले गरेको एक सर्भेक्षणअनुसार अमेरिकामा १८ देखि ४४ वर्ष उमेरसमूहमा ‘ब्रेड’को खपत सबैभन्दा बढी छ। यो जर्मन अनलाइन प्लेटफर्म हो। यो अनलाइनको आँकडालाई मान्ने हो भने प्रेम पनि यस्तै उमेरमा बढी हुने गर्छ, जसले ‘डेट’मा जाँदा, बस्दा वा खाँदा सजिलो र हल्का खाना रुचाउँछन् वा मगाउने गर्छन्। जस्तै ‘स्यान्डविच’, बर्गर, पिज्जा, क्रोइसन्ट, टोस्ट आदि। 

ठूला सहरमा त डेटिङ क्याफे वा रेस्टुरेन्टहरू नै सञ्चालनमा छन्। त्यस्ता ठाउँमा हल्का परिकारहरू सजिलै पाइन्छन्। सँगै आजकलको डेटिङ संस्कृतिमा फास्ट फुडको रोमान्टिक प्रभाव उत्तिकै छ। फास्ट फुड, चिया/कफी, कुराकानी अनि निष्कर्ष...। एउटै प्लेटमा ब्रेड–स्यान्डविच बाँडीचुँडी खाने चलनले पनि स्नेह व्यक्त गर्न सघाउने गर्छ। युवा जोडीहरूले रमाइलो याद बनाउने क्रममा यस्ता खानाहरू बढी रोज्ने गर्छन्। पाउरोटीका परिकारमा शाकाहारी र मांसाहारी दुवै विकल्प छ। प्रेमी–प्रेमिकाहरूका स्वाद फरक भए पनि ब्रेडमा आधारित परिकारमा दुवैका लागि उपयुक्त विकल्प हुन्छन्। एक प्रेमी भन्छन्, ‘यस्तो खानाले डेटिङ अनुभवमा सहजता, रमाइलोपन र संवादको खुलापन ल्याउँछ।’

यो कुनै एक स्थानको संस्कार हैन। अस्ट्रेलिया, इजरायल, अमेरिका, बेलायतलगायत पश्चिमा मुलुकका धेरैजसोले पाउरोटीबाट बनेका परिकार रुचाउँछन्। जसका धेरै कारण भेटिन्छन्। अति व्यस्त जीवनशैली भएका सहरमा चुल्हो बालेर भात, दाल, तरकारी वा मासु पकाइरहने झन्झट गर्नुको साटो काटेर वा टोस्ट गरेर सीधै खान मिल्ने अनि बिहान अफिस/काममा वा स्कुल/कलेज जान हतार हुने भएकाले पनि धेरैको रोजाइमा पाउरोटी पर्ने गरेको पाइन्छ।

युद्ध रणनीति र पाउरोटी  :  पाउरोटीका रोचक एवं ऐतिहासिक तथ्य र प्रसंगहरूमा युद्ध रणनीति पनि एक हो। यसोभन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। तर कुनै बेला पाउरोटी (ब्रेड) युद्ध रणनीति र सैन्य आपूर्ति प्रणालीको महŒवपूर्ण हिस्सा थियो। सैनिकहरूको मुख्य खाना थियो। उनीहरूले एक हप्तादेखि एक महिनासम्म टिक्न पाउरोटीको प्रयोग सामान्य मान्थे।

प्रथम र दोस्रो विश्वयुद्धतिरका सैनिकलाई लामो समय टिक्ने, सजिलै बोक्न मिल्ने अनि छिटो खान सकिने भोजन चाहिन्थ्यो। त्यसका लागि सेनाले यस्ता खालका पाउरोटी उत्पादन गर्न सैनिक क्याम्पमा आफ्नै मोबाइल बेकरी बनाएका थिए। ती युनिटले सैनिक क्याम्पमा घुम्ती रूपमा रोटी पकाउने व्यवस्था गर्थे। तयार पारिएका पाउरोटी अत्यन्त सुक्खा हुन्थ्ये। जुन हप्तौंसम्म बिग्रिँदैन। त्यसलाई सैनिकहरूले सुप, चिया वा पानीमा भिजाएर कपाकप खान्थे।

हार्डट्याक अति कडा हुन्थ्यो कि सैनिकहरूले यसलाई फलामको पात भनेर जिस्क्याउने गर्थे। वार ब्रेड क्यापेन्स पनि भएको थियो। अमेरिकी र बेलायती सरकारले नागरिकलाई गहुँ बचाउने सन्देश फैलाउन यस्तो अभियान चलाएका रहेछन्। जसलाई ‘इट वार ब्रेड टु सेभ ह्वेट’ भन्थे। भीषण युद्धका कारण अन्न उत्पादनमा ठूलो असर परेकाले यस्तो उपाय अपनाएका थिए।

गहुँको अभाव हुँदा सैनिक र नागरिकले गहुँबाहेक अन्य अन्न मिसाएर पकाएको रोटी खान थाले। मकै, जौ र आलुको पीठो मिसाएर बनाइने वार ब्रेड। विस्तारै सस्तो, छिटो र भरपर्दो स्रोतबाट बनेका ब्रेड अर्थात् पाउरोटी खाने क्रम तीब्र भयो। सैनिकहरूको यस्तो खानपानको सिको गर्दै सामान्य नागरिकले समेत ‘ब्रेड खाने बानी’ विकास गर्न थाले।

युद्धपछि घर फर्किएका सैनिकहरूसँगै बानी (आदत) भित्रियो। उनीहरूले घरमा पनि ब्रेड माग गर्न थाले। यस्तो देखासिकी घरबाट समाजमा फैलियो। जसले गर्दा बेकरी सेना प्रणालीकै हिस्सा त बन्यो। पश्चिमी समाजमा यसले लोकप्रियता समेत बढायो। सैनिकहरूले ब्रेडका विभिन्न रूपलाई बाँच्न र लड्न प्रयोग गरे। जसले ब्रेडलाई सामान्य जीवनमा पनि लोकप्रियता दिलायो। अहिले पश्चिमी मुलुकहरूमा पाउरोटी सस्तो, लामो समय टिक्ने र सुपर मार्केटहरूमा सजिलै पाइने खाद्यवस्तु बनेको छ। पश्चिमी खानाको इतिहास र संस्कृति अनुसार पाउरोटी पुरानो र मुख्य भाग हो। रोटी र रक्सी धार्मिक वा सामाजिक अभ्यासमा समेत प्रयोग हुन्छ।

१० हजार वर्षअघिको अर्को प्रसंग  :  करिब १० हजार वर्षअघि मानवले कृषि क्रान्ति सुरु गर्दा गहुँ र जौ खेती गर्न थाले। यी अन्नबाट पिठो बनाएर पानीसँग मिसाएर आगोमा सेकेको रोटी पहिलो ‘ब्रेड’ मानिन्छ। जुन मध्यपूर्व र मिश्रमा प्रारम्भिक रूपमा बनाइएको थियो। पछि युरोप पुग्यो। गहुँको उत्पादन, सजिलो पकाउने र पेट भर्ने क्षमता भएका कारण ब्रेड लोकप्रिय भयो।
धार्मिक र सांस्कृतिक महत्त्व  :  इसाई धर्ममा ब्रेडलाई पवित्र मानिन्छ। चर्चमा ‘रोटी र रक्सी’ लाई येशु ख्रिष्टको प्रतीकका रूपमा लिइन्छ। यहुँदी धर्ममा पनि अनलिभेन्ड ब्रेड अर्थात् बिना फुलेको रोटी पवित्र पर्वहरूमा प्रयोग हुन्छ। यस्तो धार्मिक संस्कार र परम्पराले पश्चिमी मुलुकमा मानिसको दैनिक जीवनमा ब्रेडको प्रयोग अनिवार्य जस्तै हुन पुगेको छ।

औद्योगिक क्रान्ति  :  युरोप र अमेरिकाजस्ता देशमा पाउरोटी बनाउने ठूला साना मेसिन, मिल र बेकरीहरू प्रशस्त छन्। उद्योगहरू भएकाले उत्पादनसँगै खपत बढ्दै गएको छ। अनगिन्ती प्रकारका पाउरोटीमा मानिसको रुचि अर्थात् जिब्रोले रुचाएको स्वाद पाइन्छ। व्यापक उत्पादन, बजारमा तीव्र प्रतिस्पर्धाका भएकाले गरिबदेखि धनी सबै वर्गले खरिद गर्न र खान सक्ने पाउरोटी बजारमा ल्याइएकाले पनि ठूला र धनी देशको आहारा पाउरोटी हुन पुगेको हो भन्दा फरक नपर्ला।
जीवनशैलीको परिवर्तन  :  सहरमा मानिस व्यस्त हुन थाले। छिटो पकाउने खाना चाहियो। यसले गर्दा सुपरमार्केट र फास्ट फूड संस्कृतिको विकास हँुदै गएको छ। उपभोक्तावादी समाजमा तयारी खाना लोकप्रिय भयो। यसले पनि पश्चिमी मुलुकमा पाउरोटी खाने चलन बढेको हो।
पोषण र फाइबर स्रोत  :  पाउरोटी विशेषगरी साबुत अन्नबाट बनेको खण्डमा फाइबर, भिटामिन बी र आइरनजस्ता पोषक तŒवहरूको राम्रो स्रोत हुन सक्छ। साबुत अन्नले पाचनमा मद्दत पुर्‍याउँछ र रक्तमा चिनीको स्तरलाई नियन्त्रणमा राख्न सहयोग पुर्‍याउँछ।
पश्चिमी खानाको प्रभाव  :  सहर तथा पर्यटकीय क्षेत्रमा पश्चिमी खानाको प्रभाव बढ्दो छ। जसका कारण ग्राहकहरूले पनि ब्रेडमा आधारित नास्ता खोज्ने गर्छन्। स्वदेशी हुन् वा विदेशी आगन्तुक, धेरै युवा पुस्ता ब्रेडमा आधारित परिकारप्रति झुकाव राख्छन्।

पाउ ‘उबय’  :  यो शब्द पोर्चुगिज भाषाबाट आएको हो। पोर्चुगलका व्यापारी जब भारत गोवाजस्तो सहरमा गए, त्यतिबेला साथमा पाउ पनि सँगै लगे। यही शब्दलाई कालान्तरमा हिन्दी, मराठी, नेपाली आदि भाषामा पाउरोटी भन्न थालियो। पाउभाजी, ब्रेड पकउठा, अण्डापाउ, वडापाउ आदि परिकार प्रसिद्ध भए। नेपालमा पनि अंग्रेज र भारतीय प्रभावसँगै ‘पाउ’ भन्ने प्रचलन सुरु भयो। अचेल पाउरोटी साधारण स्लाइस ब्रेड वा बेकरीमा पाइने सामान्य ब्रेड बुझिन्छ। खासमा पोर्चुिगज भाषाको शब्द उबय हो।

विश्व रेकर्ड  :  गिनिज विश्व रेकड्र्सअनुसार, सबैभन्दा धेरै पाउरोटी टर्कीका बासिन्दाले खाने गर्छन्। यो मुलुकमा प्रतिव्यक्ति वार्षिक खपत शीर्ष स्थानमा रहँदै आएको छ। लगभग १९९.६ किलो प्रतिव्यक्ति प्रतिवर्ष खपत भएको पाइन्छ। दोस्रो स्थानमा बुल्गेरिया पर्छ। जहाँ प्रतिव्यक्तिले करिब १३१.१ केजी पाउरोटी उपभोग गर्छन्। उमेरसँगै खाने क्रम पनि घट्दै जाने गरेको तथ्यांकले बताउँछ। उमेर ढल्केपछि स्वास्थ्यका कारण परम्परागत खाना रोज्ने गरेको पाइन्छ।

नेपालमा पाउरोटीको प्रभाव
नेपालमा पाउरोटी अझै मुख्य रोजाइ र खानामा पर्दैन। धेरै नेपालीले पाउरोटी सामान्य नास्ताका रूपमा लिन्छन्। मुख्य खाना भात, ढिँडो, रोटी (आटाको), गुन्द्रुक, तरकारी, मासु, दाल, चिउरा, चना, मकै नै हो। अर्को कारण, ताजा पकाएको खाने बानी। तातो दालभात र ताजा तरकारी छाडेर पाउरोटी कसैले खाँदैनन् भन्दा हुन्छ।

पश्चिमी शैलीको प्रभाव नपरेका गाउँघरमा त परम्परागत खाना नै प्राथमिकतामा पर्छ। तर काठमाडौं, पोखरा, विराटनगर, नेपालगन्जजस्ता ठूला सहरमा पश्चिमी प्रभाव देखिँदै र बढ्दै पनि छ। जसले गर्दा, क्याफे र बेकरीहरूमा ब्रेड, स्यान्डविच, टोस्ट, क्रोइसन्ट आदिको बिक्री देखिन्छ। तर यसका अवगुणहरू पनि छन्। नेपाली खाना ताजा र पौष्टिकयुक्त हुन्छ। अब पश्चिमको प्रभावबाट मुक्त हुने वा खानामा पनि पश्चिमी परिकार अँगाल्ने ? रोजाइ तपाईंकै।

पुस्तकमा पाउरोटी पश्चिमी मुलुकमा पाउरोटीको सुरुवात प्रभाव र आवश्यकताका बारेमा धेरै विद्वानहरूले ठूल्ठूला किताब नै लेखेका छन्। पहिलो पटक सन् १८८७ मा जोन डी. बिलिङ्सले एउटा किताब लेखेका थिए, 

‘हार्डट्याक एन्ड कफी  :  द अन रिटन स्टोरी अफ आर्मी लाइफ’ नामक किताबमा अमेरिकी गृहयुद्धको समयका सिपाहीको दैनीकी वर्णन गर्दै।
त्यो बेला सैनिकले के खान्थे ? कसरी सुत्थे ? शिविर कसरी सञ्चालन हुन्थ्यो ? जस्ता कुरा उनको किताबमा छ। उनी अमेरिकी गृहयुद्धका बेला स्वयंसेवकहरूबाट गठन भएको १०औं ‘म्यासाचुसेट्स आर्बिटरी लाइट आर्टिलरी’का भूतपूर्व सैनिक थिए। अनुभवका आधारमा लेखेको पुस्तकमा पाउरोटी खानुको कारण प्रस्ट पार्दै भनेका छन्, ‘त्यो बाहेक अरू विकल्प खोज्न कठिन अवस्था थियो।’

अर्का लेखक जर्ज स्मिथ एन्ड को.को किताबमा पनि आहारा संकलनको कुरा उल्लेख छ। जसमा उनले भनेका छन्, ‘पाउरोटी नै मुख्य आहारा हुन्थ्यो।’ उनी पनि गृहयुद्धका भूतपूर्व सैनिक हुन्। यी लेखकहरूले त्यतिबेला पाउरोटी जस्तो साधारण खाद्य पदार्थ कसरी दैनिक जीवनमा महŒवपूर्ण हिस्सा बन्न पुगे भनेर प्रस्ट पारेका छन्।

अर्का लेखक पिटर स्कोलियर्सले पनि ‘पाउरोटीको इतिहास  :  उपभोक्ता’ नामक किताबको मुख्य बुँदामा नै पाउरोटीको सामाजिक महŒव उल्लेख गर्दै ‘१८औं र १९औं शताब्दीमा पाउरोटी नै सामान्य मानिसहरूको मुख्य आहार थियो’ भनेका छन्। उनका अनुसार एउटा परिवारले आफ्नो आम्दानीको एक तिहाइ रकम पाउरोटीमै खर्च गर्दथ्यो। तर आजकल ब्रेड निकै सस्तो छ। जसमा मानिसले कुल खर्चको एक प्रतिशतभन्दा कम खर्च गर्छन्।

पिटर लेख्छन्, ‘उतिबेला सरकारले ब्रेडको मूल्य नियन्त्रण गथ्र्यो। अनाजको भण्डारण गरिन्थ्यो। र, खाद्य संकटमा वितरण व्यवस्था मिलाइन्थ्यो। युद्ध र संकटको समयमा सरकारले ब्रेडको गुणस्तर, प्रकार र वितरण तय गथ्र्यो।’ शिक्षा र स्वास्थ्यसम्बन्धी नीति बनाउने निकायले ब्रेडको उत्पादन र खपतमा दीर्घकालीन असर हुनेगरीको व्यवस्था गरे।

बेकर्सको भूमिका समुदायमा महŒवपूर्ण थियो तर प्रतिस्पर्धा र सुपरमार्केट आएपछि साना बेकरीहरू लोप हुँदै गएको पाइन्छ। किताबका भनिएको छ, ‘पाउरोटी सत्ता, शक्ति र विरोधको प्रतीक पनि बन्यो। मूल्यवृद्धिका कारण दंगा, आन्दोलन पनि भएका छन्। इतिहासमा ब्रेडलाई लिएर जनआन्दोलन भएका प्रमाण छन्।’

यो पुस्तक पाउरोटीको इतिहासमात्र होइन। यो त तत्कालीन पश्चिमी समाज, अर्थतन्त्र, शक्ति सन्तुलन र संस्कृतिको ऐना हो। किताबमा  ब्रेडले कसरी सामान्य मानिसको जीवन, अर्थतन्त्र र सरकारको नीतिलाई प्रभावित गर्छ भन्ने गहिरो अध्ययन यसमा गरिएको छ।

अमेरिकी गृहयुद्ध सन् १८६१ देखि १८६५ सम्म र दोस्रो विश्वयुद्ध सन् १९३९ देखि १९४५ सम्म भएको थियो। नेपोलियन युद्ध १८०३ देखि १८१५ सम्म भएको थियो। त्यसबेलाको गृहयुद्धमा सेनाले ब्रेडलाई मुख्य ऊर्जा स्रोतको रूपमा राख्थ्यो। सैनिकहरूले सुक्खा रोटी र कफीसँग ब्रेड खान्थे, जसले लामो समयसम्म ऊर्जा प्रदान गथ्र्यो। रुसको सन् १९४०–५० को दसकको युद्धकालीन खाना गाढा रोटी थियो। जुन सैनिक र सामान्य जनताले खान्थे।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.